साउथवेस्टनका विद्यार्थीले गरे जर्मनीको अध्ययन भ्रमण

काठमाडौँ । बसुन्धरास्थित साउथबेस्टन स्टेट कलेजमा अध्ययनरत केहि विद्यार्थीहरूले शैक्षिक तथा सांस्कृतिक अनुभव आदानप्रदान गर्ने क्रममा दुई साताको जर्मनीको अध्ययन भ्रमण पूरा गरेका छन् । जर्मनीको सिटि काउन्सील अफ हेजवर्ग, इन्टरकल्चर सेन्टर अफ हेजवर्ग र जर्मन इस्पेरान्तो युथको औपचारिक निमन्त्रणमा कलेजका विद्यार्थीले सो अध्ययन भ्रमण गरेका हुन ।

नेपालको कला संस्कृति जर्मनीमा प्रदर्शन गर्ने, जर्मनीका विद्यार्थीसँग अनुभव आदान प्रदान गर्ने र जर्मनीले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलताका बारेमा जानकारी लिने उद्देश्यले सो अध्ययन भ्रमण गरिएको हो ।

जर्मनी कला र संस्कृतिमा निकै सम्वृद्ध र धनी रहेको तथा नेपालको पुरानो सहयोगी राष्ट्र भएकोले नेपालका विद्यार्थीले जर्मनीको भ्रमणमा विशेष रुचि देखाएका हुन् ।

कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीको नेतृत्वमा स्नातक र दश जोड दुई तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थी अध्ययन भ्रमण सहभागी थिए ।

जर्मनीमा रहँदा विद्यार्थीले त्यहाँको ऐतिहासिक सहर फ्रेन्कफर्ट, बर्लिन, हेजवर्ग, हाइडिलवर्ग, कोलिनको भ्रमण गरेका थिए । साथै बर्लिन विश्वविद्यालय, इएमए जिम्नासीयम विद्यालय, जर्मनीको ऐतिहासिक पहिचान बर्लिन पर्खाल, जर्मनीको संसद्को भ्रमण गर्ने अवसर विद्यार्थीले पाएका थिए ।

त्यसअवसरमा नेपाली विद्यार्थीले जर्मनीको हेजवर्ग सहरका मेयर लुज पिटर्स, पूर्वमेयर जेरार्ड वाल्टर्स, उपमेयर उलरीच स्र्काम्के, राजनीतिक दलका नेता तथा विद्यार्थीको उपस्थितिमा नेपाली नाँच, नेवारी नृत्य, ऐतिहासिक तामाङ सेलो, गुरूङ नृत्य, तवला वाद्यबादन र नेपाली राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

नेपाली टोलीलाई न्यानो स्वागत गर्दै हेजवर्ग सिटीका मेयर लुज पिटर्सले भ्रमण कार्यक्रमबाट आफूहरूले नेपाली कला, संस्कृति तथा परम्परा बारे जान्ने अवसर पाएको उल्लेख गर्दै आगामी दिनमा यस खाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
त्यसअवसरमा नेपाली विद्यार्थीलाई गैरनेपाली आवासीय संघका महासचिव कुमार पन्तले स्वागत गरेका थिए । यस कार्यक्रमले दुई पक्षीय सम्बन्धको मात्र नभई दुई देशको शिक्षा, कला, संस्कृत जस्ता विषयहरूमा अझ बढी गाढा सम्बन्ध पु¥याउने विश्वास लिइएको छ । भ्रमणको अगुवाई गर्नुभएका कलेजका भाइस प्रिन्सिपल केसीले नेपाली विद्यार्थीले जर्मनीको विकासकोे अवस्था, समाज, सामाजिक संरचना, शिक्षाका विषयमा जानकारी हासिल गर्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै भ्रमण सफल भएको बताउनुभयो । जर्मनीका सम्वद्ध अधिकारी र विद्यार्थीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको जनाइएको छ ।