यतीको खोजीमा जापानी टोली नेपालमा 

काठमाडौँ । हिममानव ‘यती’ले विश्वकै ध्यान आकृष्ट गर्न सफल भएको छ । नेपालको हिमाली क्षेत्रमा रहेको हिममानव यतीको खोजी गर्न नेपाल आएको जापानी ‘एनएचके टेलिभिजन’को टोलीले प्रा.रामकुमार पाँडेसँग चार घन्टा अन्र्तवार्ता गरेको छ ।

महालंगुर क्षेत्रका शेर्पा संस्कृतिमा अभिन्न रहेको यती हजारौँ वर्षअघिदेखि नेपालको हिमाली क्षेत्रका विभिन्न ठाउँमा रहेको कुरा पर्वतारोहीहरूले प्रकाश पारेका छन् । हिममानव यतीबारे दुर्गम क्षेत्रका बासिन्दालाई समेत जानकारी भएको छ ।

यती सम्बन्धी अध्ययनमा व्यस्त प्रा.पाँडेले सन् १९७७ मा ‘यती टेल्स’ (यती भन्छ) र पछि क्रमशः थप दुई कृति ‘यती अकाउन्ट्स’ (यती विवरण) र ‘यती मिस्ट्री’ (यती रहस्य) गरी तीन कृति अंग्रेजीमा लेखी प्रकाशनमा ल्याइसक्नुभएको छ । चौथो पुस्तक यती सर्चमा (यतीको खोजमा) लाग्नुभएका प्रा.पाँडेले यतीका बारेमा नेपालमा प्रशस्त जानकारी भएको र यसकै कारण विश्वको ध्यान नेपालमा बढिरहेको कुरा बताउनु भयो ।