चुनौती बन्दै विज्ञान शिक्षा

–माधवप्रसाद तिवारी/काठमाडौँ ।

प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएसँगै दुई महिनासम्म शिक्षा प्रणालीको सम्बन्धमा विभिन्न कोणबाट बहस हुने गरेको छ । हरेक वर्षझैँ यस वर्ष पनि शिक्षा प्रणालीका कमजोरीका विषयमा बहस भइरहेको छ । प्रवेशिका परीक्षामा अधिकांश विद्यार्थी अनुत्र्तीण भएको नतिजा सार्वजनिक भएपछि कस्को कति कमजोरी भन्ने बहस पनि चलिरहेको छ । गणित र विज्ञान विषयमा अधिकांश विद्यार्थी अनुत्र्तीण हुँदा शिक्षा पद्धतिमाथि नै प्रश्न उठेको छ । यसरी प्रश्न उठेको यो नै पहिलो घटना भने हैन । विगतमा पनि नतिजा प्रकाशन भएपछि यस्ता बहस हुने गरेका हुन तर हरेक वर्ष दुई विषयमा बढी विद्यार्थी अनुत्र्तीण हुँदा भने विषय शिक्षकहरु माथि गम्भीर प्रश्न खडा भएको छ ।

प्रवेशिका परीक्षा दिएका बिद्यार्थी मध्ये धेरै गणित बिषयमा फेल भएका छन् । गणितपछि विज्ञान बिषयमा धेरै विद्यार्थी फेल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार विज्ञानमा १ लाख ६१ हजार २ सय ६० विद्यार्थी फेल भएका छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे सिकाइको कमजोरीका कारण गणित र विज्ञानमा धेरै विद्यार्थी अनुत्र्तीण भएको बताउँछन् । उनी भन्छन्, ‘समग्र शिक्षाकै पुनसंरचना गर्नुपर्ने भएको छ । जसले समयानुकुल शैक्षिक कार्यक्रम बनाउन मद्दत मिल्छ ।’

‘‘विद्यालयमा पढाइ हुने विज्ञान शिक्षा जटिल छैन । तर हामीले कहिल्यै विद्यार्थीको इच्छा बुझ्ने कोशिश गरेनौँ र हाम्रो मूल्यांकन र अनुगमन भएन जसको प्रभाव परीक्षाफलमा देखियो । अनि वहस र छलफल चाहिँ प्रवेशिका परीक्षाको नतिजा पछि मात्रै ।’’ कुमरी–१ नुवाकोटको लक्ष्मीश्वरी माविमा विज्ञान शिक्षा अध्यापन गराउने शिक्षक शंकर मुडभरीले भनेजस्तै विद्यालय स्तरमा पढाइ हुने विज्ञान शिक्षा त्यती जटिल हैन र छैन पनि तर त्यही विषयमा अधिकांश विद्यार्थी अनुत्र्तीण हुन्छन । विद्यालय स्तरको शिक्षामा गणित र विज्ञान मुख्य चुनौती बनेको छ । यसरी चुनौति बन्नुको पछाडि विषय शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र परीक्षाप्रणाली मुख्य कारक छन् ।

विज्ञान शिक्षाका सम्बन्धमा हुने वहसहरु प्रवेशिका परीक्षा पछिमात्रै हुँदा पनि यसमा सुधार आउन सकेको छैन । परीक्षाफल प्रकाशित भएको केही समयमा बहस गरेरमात्र यसमा व्यापक सुधार आउन सक्ने देखिदैन किनकी किनकी कक्षा १० मा पुग्दामात्रै विद्यार्थीले विज्ञान पढेका होइनन् । सामुदायिक विद्यालयमा कक्षा ६ देखिनै विज्ञान पढाइहुने गरेको छ । त्यसकारण त्यही कक्षादेखि नै विद्यार्थीलाई विषयको बारेमा थप ज्ञान दिने र बाहिरी ज्ञान हाँसिल गर्न पनि उत्प्रेरित गर्नुपर्ने हुन्छ । प्रयोगात्मक पक्ष कमजोर हुँदा सामुदायिक विद्यालयका विद्यार्थीमा विज्ञानप्रति खासै रुची पनि देखिएको छैन । कतिपय विद्यार्थीहरु त बाध्यताको कारण विज्ञान पढ्नु परेको बताउँछन । काठमाडौँको बोहोराटारमा रहेको ज्ञान मन्दिर माध्यामिक विद्यालय प्रवेशिका परीक्षा उत्तीर्ण गरेका अनिश तिवारी भन्छन ‘‘विज्ञान अनिवार्यबाट हटाइ ऐच्छिक बनाउनुपर्छ की त जीवनसँग जोडेर विज्ञानको अध्यापन गराउनुपर्छ ।’’

‘‘पाठ्यक्रम र पाठ्य पुस्तकको तालमेल समेत छैन । शिक्षकहरु विज्ञानलाई जिवनउपयोगी ढंगबाट पढाउँदैनन । अझ ग्रामीण भेगका कतिपय विद्यालयमा त विषय शिक्षक नै छैनन । अनि अनुत्तीर्ण हुने गाउँका विद्यार्थीका विषयमा सहरमा छलफल गछौँ । नानाथरीका अड्कलबाजी हुन्छ र निकासको बाटो पनि खोजिदैन ।’’ विज्ञान शिक्षक समाज काठमाडौँको अध्यक्ष गोपिचन्द्र पौडेल भन्छन । पौडेलले भनेजस्तै औसतमा देशैभरको गणित र विज्ञान विषयमा विद्यार्थीको सिकाइ कमजोर देखिएपनि तुलनात्मक रुपमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी बढी अनुत्र्तीण भएका छन् । निजी र सहरी क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यर्थीको भन्दा दुर्गमका विद्यार्थीमा समस्या देखिएको छ । नतिजामा विद्यार्थीमा समस्या देखिएपनि त्यसको भित्री कारण खोज्नु आवश्यक छ । धेरै वर्षअघिको विज्ञान र अहिलेको विज्ञान केही फरक निश्चित पनि छ । तर हामीले सोही अनुसार पुराना शिक्षक र पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्न सकेको पाइदैन ।
राज्यले प्रतिवर्ष एक विद्यार्थीलाई सरदर १० हजार रुपैयाँ लगानी गर्छ अर्थात प्रवेशिका परीक्षासम्मको लगानी जोड्ने हो भने एउटा विद्यार्थीमाथि राज्यले गर्ने लगानी झन्डै एक लाख पुग्छ । पाठ्यपुस्तक समयमा नपुग्ने, शिक्षकको योग्यता र आवश्यकताअनुसार तालिम र क्षमता विस्तार नहुनु, शिक्षामा अति राजनीतिकरण, विद्यालयको अुनगमन नुहनु, उचित दण्ड र पुरस्कारको व्यवस्था नहुनु आदि थप कारण पनि नतिजासँग जोडिएको विज्ञहरुको बुझाइ छ ।

गलपासो बन्दै गेस पेपर
गेसपेपरले विद्यार्थीको सिर्जनशिलता कमजोर बनाइदिएको छ । गेस पेपर र वल्ड इज गोल्डका कारण विद्यार्थी सिकाइमा भन्दा पनि घोकाइमा विश्वास गर्छन र सोही अनुसारको काम गर्छन । जसले गर्दा परीक्षामुखी बनेको विद्यार्थीको अध्ययन उत्तर दिँदा मौलिक बन्न सक्दैन । विज्ञान शिक्षक शंकर मुडभरी भन्छन ‘‘जसरी पनि घोक्नु पर्छ भन्ने मान्यताको कारण विद्यार्थी सिक्ने भन्दा पनि घोक्न तिर लाग्छन र घोक्नका लागि पुराना प्रश्नहरुको उत्तर भएको वल्ड इज गोल्ड र गेस पेपर सहज हुँदा त्यतै ध्यान दिन्छन ।’’ विज्ञानलाई विज्ञानमै उच्च शिक्षा हाँसिल गरेका शिक्षकले अध्यापन गराउनुपर्नेमा त्यसो हुन सकेको छैन ।

धेरैजसो निम्न माध्यामिक विद्यालयमा त विषय शिक्षककै अभाव छ । विज्ञान शिक्षक समाज काठमाडौँको अध्यक्ष गोपिचन्द्र पौडेल बताउँछन् । उनी भन्छन्, ‘‘विद्यार्थीको सिकाइको जग नै कमजोर भएपछि उनीहरुले विज्ञानलाई आफ्नो जीवनसँग जोडेर बुझ्न सकेका छैनन् ।’’ सरकारले गेस पेपरका कारण विद्यार्थीको सिर्जनशिलतामा ह्रास आएको भन्दै केही वर्षदेखि प्रकाशन र बिक्रिमा प्रतिबन्ध लगाएको छ । तर अनुगमनको अभावमा त्यसको कार्यान्वयन हुन सकेको छैन । नीतिगत रुपमा शिक्षा मन्त्रालयले निर्णय गरी शिक्षा विभागलाई कार्यान्वयन गराउन निर्देशन दिएपनि विचौलियाहरुको कारण महत्वपूर्ण काम नै प्रभावित बन्न पुगेको छ । गेस पेपर प्रकाशन गर्ने केही प्रकाशलाई प्रहरीले पक्राउ गरेको पनि हो तर कमजोर कानुनको फाइदा उठाउँदै उनीहरु पुनः लुकी चोरी सोही पेशामा आवद्ध भएका छन् ।

सिक्ने र सिकाउने शैली फरक
हाम्रो विद्यालयको कक्षा कोठामा विद्यार्थीको सिक्ने शैली र शिक्षकको सिकाउने दुबै शैली फरक देखिएको छ । जसको प्रभाव परीक्षाको नतिजामा समेत देखिएको छ । ‘‘हामी विद्यालयमा पाठ्य पुस्तक पढ्छौँ तर पाठ्यक्रमलाई ध्यान दिँदैनौँ अझ कतिपय विषय शिक्षकले पाठ्यक्रम नै पाएका छैनन् ।’’ विज्ञान शिक्षक समाज काठमाडौँको अध्यक्ष गोपिचन्द्र पौडेल बताउँछन । उनका अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक दुबैको तालमेल हुनुपर्छ । हामी कहाँ भएको पाठ्यपुस्तकहरु धेरै पुराना भएका छन भने त्यसभित्रका पाठहरु पनि असान्दर्भिक भएका छन । विज्ञानकै विषयमा कुरा गर्ने हो भने विद्यार्थीको दैनिक जिवनमा जोडिने गरी पुस्तक तयार पार्नु आवश्यक देखिन्छ । नेपाल भित्रै पनि विज्ञानले ठूला चमत्कारहरु गरिसेको छ जुन कुरा विद्यार्थीमाझ पुस्तक मार्फत पु¥याउन सकियो भन्ने उनीहरुको इच्छाशक्ति बढ्ने निश्चित छ । काठमाडौँको ज्ञान मन्दिर माध्यामिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण अनिश भन्छन विज्ञानले विद्यार्थीमा रुची जगाउनै सकेन । विद्यार्थीमा रुची जगाउन त परिवेश सुहाउँदो पाठ्य पुस्तक र पाठ्यक्रम हुनुपर्छ अनि सोही अनुसार शिक्षक पनि हुनुपर्छ उनको भनाइ छ ।

पुराणको शैलीमा पढाइन्छ पाठ्यक्रम
हाम्रो समाजमा विद्या आर्जन गर्न घोक्नै पर्छ भन्ने मान्यता नै बसेको छ । सायद त्यही कारणले होला ध्याउन्ते खेती र घोकन्ते विद्या भन्ने उखान जन्मिएको पनि । हाम्रा विद्यार्थीलाई अभिभावक र शिक्षक दुबैले सुरुमा विज्ञान भनेको त गाह्रो हुन्छ, बढी मिहेनत गर्नुपर्छ है भन्छन् । जसको असरले विद्यार्थीको मानसिकतामा डरको डेरा जमाउँछ । त्यसैको प्रभाव स्वरुप उनीहरु डरको मानसिकतामा सिक्ने भन्दा पनि बढी सोच्नतर्फ लाग्छन र आवश्यक मिहेनत गर्न पछि पर्छन । अर्को कुरा हाम्रो शिक्षण विधि भनेको शिक्षकले पुस्तकमा भएको कुरा बताउने भन्दा बाहेक अन्य रचनात्मक उपाय अपनाउँदैनन् त्यसैले विद्यार्थी धेरै उनुत्र्तीण हुनुको मुख्य दोष शिक्षकले नै लिनुपर्छ विज्ञान शिक्षक समाज काठमाडौँको अध्यक्ष पौडेल बताउँछन् । उनी भन्छन् ‘‘हामीले पढ्ने भनेको सिक्ने हो तर यहाँ पढ्ने भनेको परीक्षामा पास हुनका लागि मात्र हो भन्ने भ्रमहरु समेत छन् । जुन कुरालाई चिर्न अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्ष जागरुक हुनुपर्छ ।’’

प्रयोगात्मक काम प्रक्रियामात्रै
विद्यालय स्तरमा प्रयोगात्मक क्रियाकलापका लागि पर्याप्त साधनहरु छैनन् । जसले गर्दा प्रत्यक्ष अनुभव गर्नुपर्ने विषय समेत अन्दाजमा चित्त बुझाउनु पर्ने अवस्था छ । सहरी क्षेत्रमा रहेका निजी विद्यालयमा जहाँ केही न केही साधानहरु हुन्छन र प्रयोगात्मक कामका लागि सहज हुन्छ । उनीहरु रचनात्मक, जिज्ञाशु र लगनशील पनि देखिएका छन् तर जहाँका विद्यार्थीले अनुभवनै गर्न पाउँदैन उनीहरुका लागि त्यो त्यती महत्वको विषय बन्दैन । अधिकांश जनसंख्या कृषि पेशमा निर्भर भएको हाम्रो मुलुकमा कृषिमा भित्रिएका नयाँ नयाँ प्रविधि जुन गाउँघरमै हुन्छन् त्यसको समेत विद्यार्थीलाई समायोजन गरेर अध्यापन गराउन सकेका छैनौँ । तसर्थ विज्ञानलाई हामीले प्रविधिमैत्री शिक्षाको रुपमा विकास गराउनुपर्छ र समयानुकुल पाठ्यक्रम र पाठ्यपुस्तकमा परिवर्तन गर्नु आवश्यक छ ।

व्यवस्थापन समितिकै वेहाल
लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा राजनीतिक दलहरुको शक्ति प्रदर्शनको मुख्य केन्द्र विद्यालय बनेको छ । राजनीतिक दलहरुले अभिभावकको प्रतिनिधित्व हुनुपर्ने विद्यालय व्यवस्थापन समितिलाई समेत राजनीतिक दलहरुको प्रतिनिधि बस्ने निकायको रुपमा विकास गरिसकेका छन् । त्यसको एउटै ज्वलन्त उदाहरण भनेको विद्यालय व्यवस्थापन समितिको कुनै पनि पदमा पुग्न कुनै एउटा राजनीतिक दलको सक्रिय सदस्य बन्नु अनिवार्य छ । विद्यालयको सम्पूर्ण भौतिक व्यवस्थापन र शैक्षिक वातावरण सिर्जना गर्नका लागि गठन हुने समिति अहिले स्थानीय स्तरमा राजनीतिक पार्टीको शक्ति प्रदर्शन गर्ने अखडा बनेको छ । जसले विद्यालय रहेको र भएको शान्त र सुरक्षित वातावरणलाई समेत खलवल्याइ दिएको छ । विज्ञान शिक्षक समाज काठमाडौँको अध्यक्ष गोपिचन्द्र पौडेल भन्छन ‘‘भौतिक पूर्वाधार देखि आन्तरिक व्यवस्थापन मजबुद बनाउन क्रियाशिल हुनुपर्ने समितिले नेतृत्वमा भएका व्यक्तिको स्वार्थपूर्ति बाहेक अन्य रचनात्मक काम गर्न सकेको छैन ।’’ अभिभावकहरु आफ्नो बालबालिकाको शिक्षा र सिकाइको बारेमा शिक्षकहरु सँग अन्तरक्रियामा बस्नुपर्ने र घरमा विद्यार्थी सुहाउँदो वातावरण सिर्जना गर्न चुकेका छन् । सुरुदेखि नै आफ्नो बालबालिकाको सिकाइको बारेमा अभिभावकले चासो राखेर सुधारको प्रयत्न गर्ने हो भने शिक्षामा देखिएको कमजोरी धेरै हदसम्म कम हुने निश्चि छ ।

फेलको कारण शिक्षक
शिक्षासँग सरोकार राख्नेले प्रवेशिका परीक्षामा विद्यार्थी फेल हुनुको प्रमुख कारण शिक्षक भएको औंल्याएका छन् । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे शिक्षकले राम्रो पढाउन नसकेका कारण फेल हुनेको संख्या बढेको बताउँछन । द्वारे भन्छन् ‘‘विद्यालयमा केही शिक्षकले पढाएका छन केहीले छैनन, त्यसैको मारमा विद्यार्थी परेका हुन् ।’’ यसै सन्दर्भमा शिक्षाविद् डा. विद्यानाथ कोइराला पनि नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका शिक्षकका कारण नतिजा खस्केको बताउँछन् । उनी भन्छन् शिक्षकलाई आवश्यक तालिम, ज्ञान र सामाग्री छैनन्, जसले गर्दा उनीहरु आफैँ पनि समस्यामा छन् ।