आइटीमा अब्बल बन्दै नेपालका बैंकहरु

हरि गजुरेल  _


बैंकिङ इतिहास-
प्राचिन रोमन वा वैदिक कालमा ऋण, व्याज र लेनदेनका अभ्यासहरु भएका प्रशस्त तथ्य र उदारणहरु छन् । तथापि सन् १६९४ मा बैंक अफ इंग्ल्याण्डको स्थापनालाई आधुनिक बैंकिङको शुरुवातको रुपमा लिने गरिन्छ । अहिले संसारमा धेरै प्रकृतिका वित्तिय कारोवार र लेनदेन गर्ने संस्थाहरु छन् । नेपालका सन्दर्भमा भने तत्कालिन राजा त्रिभुवनबाट वि.सं. १९९४ कात्तिक ३० गते नेपाल बैंकको उद्घघाटन भएको दिनदेखि औपचारिक रूपमा नेपालमा बैंकिङ कारोबार सुरु भएको मान्ने गरिन्छ । नीजि क्षेत्रको ५१ प्रतिशत शेयर र सरकारको ४९ प्रतिशत शेयर रही नेपाल बैंक सञ्चालनमा आएको झण्डै १९ वर्ष पछाडि एनआइडिसि बैंक खुलेको थियो ।

नेपाल बैंक सञ्चालनमा आएको झण्डै तीन दशकपछि अर्थात विसं २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भयो । यस सँगै औपचारिक वित्तिय सेवालाई देशभर विस्तार गर्ने कार्यले तीव्रता पाउदै गयो । त्यसको दुई वर्ष पछाडि विसं २०२४ सालमा कृषि विकास बैकको स्थापना भयो । सरकारले उदार आर्थिक नीति लिएसँगै विदेशी बैंकहरु भित्रनेक्रम सुरु भयो । यही मेसोमा ४२ सालमा नविल बैंक भित्रियो यो सँगै हालको नेपाल इन्भेष्टमेन्ट बैंक,हिमालयन बैंकहरु भित्रिए । यो क्रमले निरन्तरता पाउदै २०७१÷७२ को अन्त्यसम्ममा ३० वटा वाणिज्य बैंकहरु ८६ वटा विकास बैंकहरु, ५९ वटा वित्त कम्पनीहरु र ३१ वटा लघुवित्त संस्था गरी बैंक तथा वित्तिय संस्थाहरुको कुल संख्या २ सय ७ थियो । राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने÷ गाभिने नीति ल्याएसँगै यो संख्या घट्दै गइरहेको छ । आर्थिक वर्ष ७२÷७३ को मौद्रिक नीतिमा उल्लेख गरिए अनुसार हाल नेपालमा क वर्गको वाणिज्य बैंकको संख्या ३० वटा,ख वर्गको विकास बैंकको संख्याः ७९ वटा, ग वर्गको फाइनन्स कम्पनीको संख्याः ५० वटा र घ वर्गको लघुवित्त कम्पनीको संख्या ३६ गरी हाल १९५ वटा बैंक तथा वित्त कम्पनी सञ्चालनमा छन । बैंक तथा वित्त कम्पनीहरुले चुक्ता पूँजी वढाउनुपर्ने नीति राष्ट्रबैंकले लिएसँगै बैंकहरुको यो संख्या अझै घट्ने अनुमान गरिएको छ ।

बैंक र प्रविधि
आधुनिक बैंकिङको परिभाषा भने अलि फरक कोणबाट गर्न सकिन्छ । नेपालमा सूचना प्रविधिको राम्रो पहुँच र प्रयोग भएको क्षेत्र बैंकिङ हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा ‘टेलिकम्युनिकेसन पछि आइटीको प्रयोग गर्ने संस्था तथा कम्पनी भनेकै बैंक तथा वित्त कम्पनीहरु भएको’ दावी गर्दछन ।
प्रायः सबै बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउदै लगेका छन् । ‘औपचारिक रूपमा नेपाल बैंकको कारोबार सुरु भएको अवस्थादेखि आजको दिनसम्मको बैंकिङ सेवामा ठूलो परिवर्तन आइसकेको बताउछन’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा ।

पुरातन अवस्थामा कागजे र तमसुके बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको अनुभव छ, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाको । पछिल्लो चरणमा बैंकहरुको प्रतिष्पर्धा प्रविधिमा भएको वैंकर्स संघका उपाध्यक्ष तथा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको वुझाई छ । बैंकहरु प्राविधिक रुपमा प्रतिष्पर्धाको यस्तो मैदानमा उत्रिएका छन कि तीनको प्रतिष्पर्धाको दौड देखेर यतिखेर राष्ट्रबैंक पनि दंग छ । मोवाइल बैंकिङ,इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङ तर्फ नेपालका बैंकहरु अगाडि वढिरहेका छन । पछिल्लो चरणमा बैंक बैंक बीच प्रतिष्पर्धा प्रविधिमै छ,कुन बैंकले राम्रो सेवा र सुविधा दिने भन्ने विषयमा । जुन बैंक प्राविधिक रुपमा सक्षम र सवल छ त्यही बैंक नै अव्वल देखिदै गएको उदाहरण भेटिएका छन ।

अधिकांश नगदमा आधारित कारोबार भएकोमा पछिल्लो समय प्रविधिमा आधारित ‘भर्चुअल’ कारोबार बढाउन राष्ट्रबैंक पनि उत्साहित देखिएको छ । यस्तो कारोबार बढेमा बैंकिङ सेवा छिटो छरितो हुने, हरेक स्थानमा बैंकिङ पहुँच हुने तथा नोट बढी फाहोर भई परिवर्तन गरिरहनुपर्ने समस्याबाट समेत छुटकारा मिल्नेछ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बैंकिङ र प्रविधि बीचको सम्बन्धलाई औल्याउदै भन्छन ‘अहिलेको समयमा कम्प्युटरमा बैंकिङ सफ्टवेयरको प्रयोगबाट सेवा दिनु सामान्य र आधारभूत आवश्यकता भैसकेको छ । अवको जमाना भनेकै पेपरलेश बैंकिङको हो । ’यसको प्रयोगलाई विस्तार र व्यापक बनाउँदै ग्राहकहरू समक्ष आधुनिक सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ ।

यस्तै नेपालका बैंकहरुले अवलम्वन गरेको अर्काे प्रविधि इन्टरनेट बैंकिङको हो । यो प्रविधिको प्रयोगमार्फत कुनै निश्चित बैंकका जुनसुकै शाखा कार्यालयबाट सजिलै पैसाको कारोबार गर्न सकिन्छ । यस्तो सुविधालाई एबिबिएस सेवा भनिन्छ । यस्तो सुविधा प्रायः सबै वाणिज्य बैंकहरू र केही विकास बैंक तथा फइनान्स कम्पनीहरूले दिइरहेका छन् । एटिएम अर्थात् जुनसुकै समयमा पैसा निकाल्न सकिने मेसिनको सुविधा प्रायः सहरी क्षेत्रमा विस्तार भैसकेको छ । ‘जसले गर्दा पैसाको आवश्यकता पर्नासाथ जहाँसुकैबाट पनि मेसिनको प्रयोगमार्फत आफूलाई चाहिएको रकम सजिलै निकाल्न सकिन्छ । यससँंगै जल्दोबल्दो रूपमा मोवाइल र इन्टरनेट बैंंकिङजस्ता सेवाहरू प्रयोगमा विस्तार भइरहेका छन् । यसबाट ग्राहकले आफ्नो खातासम्बन्धि सम्पूर्ण जानकारी घरमा बसेरै हेर्न सक्ने सुविधा प्राप्त गरेका छन् । यसबाट बैंकिङ क्षेत्रमा जनताको पहँुच बढ्ने तथा सस्तो, सुरक्षित र सरल सेवाप्रदान गर्न सकिने हुँदा यो प्रविधि छिटो गतिमा विकास भइरहेको छ ।’ एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको बुझाई हो यो । यस्तै भर्खरै सुरु भइरहेको अर्को प्रविधि भनेको पैसा जम्मा गर्ने मेसिनको प्रयोग हो । यसको प्रयोग सामान्य रूपमा गर्न सकिन्छ । प्रविधिको विकासले थोरै जनशक्ति परिचालनबाट छिटो रूपमा धेरै काम गर्न सकिन्छ । जसले गर्दा आन्तरिक खर्चमा कमी आई मुनाफा कमाउने सम्भावना बढी हुने बैंकरहरुले राम्रै सँग बुझेका छन त्यही कारण अधिकांश बैंकहरु प्रविधिमैत्री बन्न पुगेका छन ।

प्रविधि उपयोगको हिसाबले बैंकिङ क्षेत्र
नेपालमा दुरसञ्चार क्षेत्र पछि सबैभन्दा वढि आइटीको प्रयोग गर्ने क्षेत्रमा पर्दछ नेपालका बैंक तथा वित्तिय क्षेत्रहरु । ‘प्रविधि प्रयोगका दुष्ट्रिमा कति आधुनिक भयो भनेर मूल्यांकन गर्ने पहिलो आधार सेवाग्राहीले कति प्रतिशत बस्तु र सेवाको खरिदकार्य भौतिक वा नगद प्रयोग नगरिकनै सम्पन्न गर्न सक्छन् भन्ने हो । दोस्रो, बैंकले लिने र दिने सेवा, रिपोर्टिङ र क्लियरिङ प्रणाली कति कागजबिहिन भयो र तेस्रो, सेवा प्रदायको समय पहिलेको दाँजोमा कति छिटो हुँदैछ भनेर हेर्ने हो । यी पाँचैवटा पक्षमा नेपालको बैकिङ प्रणालीले लिएको दिशा र लक्ष्य बेठिक छैन ।’ राष्ट्र बैंकका प्रवत्ता त्रिलोचन पंगेनी भन्दछन । उपभोग्य बस्तुहरुको खरिदमा डेबिट र क्रेडिट कार्डहरु ‘स्वाइप’ गर्ने प्रचलन बढ्दो छ । तर, प्रविधि अवलम्बनको हाम्रो जुन गति छ, त्यो चाहिँ विश्व दौडलाई भेट्टाउन सक्ने खालको छैन । नेपालमा प्रचलनमा ल्याइएका कार्ड , नेट बैंकिङ र मोबाइल बैंकिङ, तीनवटै प्रविधिको प्रयोगले समयको गतिलाई पक्रिन सकेका छैनन् । छिमेकी मुलुक भारतमै पनि बढ्ढो अनलाइन शपिङ र इ–कमर्शका अन्य गतिविधिहरुमा नेट बैंकिङको प्रयोग शहरी क्षेत्रमा साधरण भइसकेको छ। तर, हाम्रो देशमा यो प्रविधिको प्रयोग त्यसरी फैलिन सकेको छैन। समस्या बैंकिङ क्षेत्रको मात्रै होइन । मोबाइल बैकिङको प्रचार त छ, तर त्यो खातामा भएको कारोबारको एसएमएस पठाउने काममा मात्र सिमित छ भने हुन्छ । यससँग सम्बन्धित कानून र नियमहरु पर्याप्त मात्रामा बनेका छैनन् । यति भन्दैमा विज्ञान तथा प्रविधिको विकासमा नेपालको बैंकहरुले पुर्याएको योगदानलाई भुल्नु नहुन्ने ठान्छन सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल ।

सेवा पहुँच
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ३० वटा वाणिज्य बैंकहरुको शाखा संख्या १६५६ वटा छ । यस्लाई कूल जनसंख्याको अनुपातमा हेर्दा एउटा बैंकले १६ हजार ९ सय ४६ जनालाई सेवा पुर्याउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयद्धारा प्रकाशित आर्थिक सर्वक्षणमा उल्लेख भए अनुसार मर्जरको लहर आएसँगै २ सय ७ वटा बैक तथा वित्तिय संस्था एक आपसमा गाभिएर हाल १९५ वटामा झरेको छ ।देशैभरी रहेका बैंक तथा वित्तिय संस्थाहरुको शाखा संख्या करीब ३ हजार ४ सय छ भने औसतमा प्रति शाखा जनसंख्या अनुपात करिब ७ हजार ७ सय छ । क, ख र ग वर्गका वित्तिय संस्थाहरुमा भएका निक्षेप खाता संख्या करिब १ करोड २८ लाख र घ वर्गका संस्थाको अनुमानित २ लाख खाता संख्यालाई जोडेर झण्डै ४० प्रतिशत जनसंख्यामा औपचारिक बैंकिङ सेवा पुगेको दावी गरिदैछ । तर यो निश्कर्ष खासै भरलाग्दो छैन । किनभने खाता खोल्नेहरुमध्ये औसत दुईवटा खाता खोलेको मान्ने हो भने पहुँचको औसत आँकडा घटेर २२ प्रतिशत ओर्लिन्छ । त्यस्तै निश्क्रिय खाताको संख्या पनि निकै छ ।

प्रविधि भित्राउनमा कुन बैंक पहिलो ?
हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन । तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक क्रेडिट कार्ड भित्राएको हो । त्यस्तै वि सं २०५२ सालमा नै एटिएम मेसिन नेपालमा भित्रिइएको थियो । उक्त मेसिन प्रथम पटक हिमालयन बैंकले भित्राएको हो । त्यस्तै हिमालयन बैंक सुरुवात भएको वर्ष ताकै उस्ले टेलि बैंकिङ सेवाको सुरुवात गरेको थियो । त्यसको सात वर्ष पछाडि इन्टरनेट बैंकिङ भित्रियो । इन्टरनेट बैंकिङ भित्राउने कुमारी बैंक पहिलो बन्न पुग्यो । त्यसको २ वर्ष पछाडि अर्थात ६१ सालबाट एसएमएस बैंकिङ सुरुवात भयो । यस्को सुरुवात लक्ष्मी बैंकले गर्यो । प्रविधिले यति सम्म गरेको छ कि स्वचालित टे«लर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिदै छन । सत्तरीको दशकसम्म आइपुग्दा व्रान्चलेस बैंकिङ हुँदै ट्यावलेट बैंकिङसम्म नेपालका बैंकहरु पुगिसेकका छन ।

किन सहज भएन ई बैंकिङ ?
नेपालका बैंक तथा बित्तीय संस्थाहरुले ईन्टरनेट बैंकिङ र मोबाईल बैंकिङको योजनाहरु धमाधम ग्राहकहरुलाई बाडिरहेका छन् तर त्यो निकै साँघुरो दायरामा छ । तपाईले एक बैंकमा रहेको आफ्नो खाताबाट अर्को बैंकमा खाता रहेको अरु कसैलाई ईन्टरनेटमार्फत रकम भुक्तानी दिन खोज्नु भयो भने असंभव प्रायः छ । आखिर किन हुन सकेन बहु बैंक ईन्टरनेट बैंकिङ कारोबार ? नेपालमा ईन्टरनेट बैंकिङ सूरु भएको दश बर्षपछि मात्र भारतमा ईन्टरनेट बैंकिङ संचालनमा आएको थियो तर भारतीय बैंकिङ क्षेत्रले यही माध्यमको प्रयोग गरी फड्को मारिसकेको छ भने नेपालको बैंकिङ क्षेत्र कानुन र संयन्त्रको अभावले अनेक समस्या झेल्दै छ । नेपालमा बैंक स्थापना भएको ६५ बर्षपछि सन् २००२ मा ईन्टरनेट बैंकिङको अभ्यास थालिएको थियो । बाह्र बर्ष अगाडि कुमारी बैंकले सुरु गरेको यस अभ्यासलाई अहिले धेरै बैंकहरुले पछ्याईरहेका छन् तर अन्तर बैंकस्तरमा विस्तार हुन सकेको छैन् । ईन्टरनेट बैंकिङमा ग्राहक बढेसँगै इन्टरनेट तथा मोवाइलको माध्यमबाट भुक्तानी (पेमेन्ट गेटवे) गर्ने संस्थाहरु पनि नेपालमा थपिँदैछन् । अनलाइन बैंकिङ उपभोक्ता र अनलाईन भुक्तानी गर्ने संस्थाहरुको संख्या बढेसँगै यिनीहरुले गर्ने कारोबार पनि बढेको छ ।

तर, करोडौ रुपैंयाको कारोबार गर्ने यी संस्थाहरुलाई ब्यवस्थित र नियन्त्रण गर्ने कानुन र संयन्त्रको विकास नहुँदा त्यस्ता कारोबारहरुको बैधता र विश्वासनियतामा प्रश्न उठिरहेको छ । अन्तरबैंक ईन्टरनेट बैंकिङ कारोबार गर्न मल्टिपल बैंक सेन्टल सिष्टमको स्थापना नहुदा अहिले भईरहेका ई–बैकिङका कारोबारमा प्रश्न उठेको हो । मेघा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाह भन्छन् ‘कारोबार नियमन र नियन्त्रण गर्ने निकाय नहुँदा अनिमितता हुने पनि शंका उत्पन्न भएको छ ।’ नबिल वैंकका ईन्टरनेट वैंकिङ विभागका प्रमुख निरज शर्मा भन्छन ‘राष्ट्रवैंकबाटै यसमा नीति नियम बन्न ढिलाइ हुँदा समस्या भएको हो ।’ ईन्टरनेट पेमेन्ट गेटवेलाई नियन्त्रण गर्न छुट्टै मापदण्ड नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी स्वीकार गर्छन् ।

‘इन्टरनेटबाट हुने आर्थिक कारोबारलाई नियन्त्रण गर्न निर्देशिका बनाउन हामी अध्ययन गरिरहेका छौ,’पंगेनीले भने– ‘गेटवे कम्पनीले वित्तीय कारोबार गर्ने भएकाले बैंक अन्तर्गत रहेर उनीहरुले कारोबार गर्नुपर्छ ।’ राष्ट्र बैंकसँग नेपालमा गेटवे कम्पनी कति छन् र कस्तो किसिमको कारोबार गरिरहेका छन् भन्नेबारे अनभिज्ञ छ । उनले भने ‘अनलाइनबाट कारोबार गर्ने कम्पनीहरु कति छन् भन्नेबारे राष्ट्र बैंक अध्ययन गर्दैछ ।’ लामो समय देखि अनलाइन भुक्तानी कारोबार सञ्चालन गरिरहेका ठमेल डटकमका सञ्चालक बालकृष्ण जोशी ‘कानुनी स्पष्टता नहुँदा काम गर्न निकै कठिन भईरहेको ’ बताउँछन् । उनले चाडै नै ल्याउन लागेको नयाँ ‘प्रडक्ट’ लाई पनि कानुनी र प्रक्रियागत समस्याले पिरोल्ने चिन्ता छ । नेपाल क्लियरिङ हाउसका प्रमुख निलेशमान सिंह प्रधानले ‘ईन्टरनेट बैकिङको नयाँ गेटवे प्रविधि र प्रणाली ल्याउन समय लागेकोले समस्या भएको’ बताए । बैंकर्स एसोसियन अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल ‘ ई–बैकिङ विस्तारको क्रममा रहेकाले समस्या समाधान गर्दै जानुपर्ने’ बताउंछन् । आधुनिक बैंकिङ प्रणाली भित्राउनमा राष्ट्र बैंकले चासो नदेखाएको उनको आरोप छ । त्यस्तै तर्क छ एस डेभपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको, रिभो साइन्ससँग कुराकानी गर्दै श्रेष्ठले ‘नेपालमा प्रविधि भित्राउनमा नीजि क्षेत्रको देन उल्लेख्य रहेको ’ सुनाए । तर, नेपाल राष्ट वैंकका प्रवत्ता पंगेनी ‘शहरिया ग्राहक र स्मार्टफोन र कम्प्युटर चलाउन जान्नेका लागि ईन्टरनेट बैंकिङ सजिलो माध्यम भए पनि दुरदराजका जनताका लागि तत्कालको आबश्यकता नभएको’ तर्क गर्छन् । उनी भन्छन् – ‘राष्ट्र वैंकले काठमाडौंका मान्छेका लागि मात्रै सोचेर हुँदैन, दुरदराजका मान्छे र ग्राहकका वारेमा पनि सोच्नुपर्ने भएको हुँदा यस तर्फ ध्यान नगएको हो । ’ नेपाल बैंकर्स एसोसियसनका निर्देशक अनिल शर्माको धारणा पनि पंगेनीको सँग मिल्दो छ । बैंकहरुको लक्ष्य काठमाडौंवासी मात्रै नभइ दुर्गम ठाँउसम्म पुग्ने रहेको हुँदा ई–बैंकिग कारोवार फस्टाउन नसकेको उनी बताउंँछन् । सरकारले चाडै कानुनी प्रबन्ध र संयन्त्रको ब्यवस्था गरिदिनुपर्ने तर्क गर्ने बैंकरहरु भन्छन् – कानुन र संयन्त्र आए ग्राहकले एक बैंकबाट अर्को बैंकको खातामा कम्प्युटर वा मोबाईलको एउटा बटन दबाएर क्षणभरमै रकम जम्मा गर्नसक्ने थिए ।

बैंकिङ र सफ्टवेयरका कुरा
बैंकिङ सिस्टममा बैंकको मुटु हो कोर बैकिङ । नेपालको बैंकहरुमा मुख्यतया चलेको सफ्टवेयर आइफेलेक्स, ट्युमिनस, फिनिकल हो जो विदेशबाट आयातित सफ्टवेयर हुन भने अधिकांश बैंकहरुले नेपालमै बनेको पुमोरी सफ्टवेयर चलाउदै आएका छन । जुन सफ्टवेयर नेपाली कम्पनी मर्कनटाइलले बनाएको हो । अहिले बजारमा प्रयोग भएका सफ्टवेयरमध्ये २० प्रतशितले मात्र क्वालिटी एस्सुरेन्समा ध्यान दिएका छन,’ सफ्टवेयर गुणस्तरसम्बन्धी काम गर्न स्थापना भएको इमिनेन्स वेयजका फाउन्डर तथा सफ्टवेयर इन्जिनियर नारायण कोइराला भन्छन, ८० प्रतिशतका सफ्टवेयरमा क्वालिटी एस्सुरेन्स छैन।’ यसको प्रमुख कारण सफ्टवेयर प्रयोगकर्ता नै यस विषयमा सचेत नभएको उनको तर्क छ । सामान्यतया सफ्टवेयरहरू ५–७ हजारदेखि करोडौंसम्मका हुन्छन् । सफ्टवेयर कत्तिको सुरक्षित र राम्रो बनाउने भन्ने विषय पैसामा भर पर्छ । ‘पछिल्लो समय विभिन्न साइटहरु ह्याक हुने, बैंकिङ सिस्टमभित्र गएर पैसा चोर्ने, विभिन्न कम्पनीका सूचना चुहाउने प्रवृत्ति बढ्नु गुणस्तरीय सफ्टवेयर नभएरै हो । गुणस्तरीय सफ्टवेयर हुने हो भने ह्याकिङ हुनबाट बच्न सकिने’ उनी बताउँछन् । तर सफ्टवेयर आफ्नो केही गल्ती नभएको र प्रविधिलाई दोष दिनु चाही हास्यस्पद ठान्छन बैंकरहरु ।

बैंक सुरु हुनुपूर्व नेपालमा सम्पूर्ण मौद्रिक कारोबारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । पछि आर्थिक उदारीकरण सुरु भएपछि बैंकहरू संख्यात्मक रूपमा मात्र बढेका छैनन्, उनीहरूले प्रदान गर्ने सेवा, सुविधा र अत्याधुनिक प्रविधिमार्फत कुनै पनि स्थानबाट रकम झिक्न तथा राख्न मात्र नभएर घरमै बसी–बसी कारोबार गर्न सकिने अवस्था सम्भव भएको छ । साथै घरमै वा विश्वको कुनै पनि कुनामा बसेर आफ्नो हरेक किसिमका कारोबारको रेखदेख गर्न सकिने अवस्थाको सिर्जना भएको छ । बैंकहरूले अत्याधुनिक किसिमका प्रविधिबाट आम ग्राहकहरूलाई सेवा दिँदा सानादेखि ठूलासम्मका काम अब प्रविधिकै सहयोगमा सम्भव भइसकेको छ । कुनै कुरा किनमेलका लागि अब गोजीमा पैसा बोकेर हिँड्ने चलन हराउँदै जान थालेको छ, अर्थात् नगदमा आधारित कारोबार घट्दै गइरहेको छ । प्रविधिले घरमै बसेर इन्टरनेट तथा मोवाइलबाट बिल भुक्तानी सेवा तथा खरिद बिक्री गर्न सकिने व्यवस्था सिर्जना गरेको छ ।

कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामो लाइन बस्नु पर्दथ्यो । अझ खानेपानी, बिजुली या अन्य सेवाका बिल भुक्तानीका लागि दिनभर लाइन नै बस्नुपर्ने बाध्यता थियो । तर अहिले अवस्था फेरिएको छ । अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो रहेको छ । नेपालमा मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा कतिले लिएका छन् भन्ने यकीन तथ्याङ्क राष्ट्रबैंकसँग छैन । तर नेपालमा मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङका सफ्टवेयर निर्माण गरेर अधिकांश नेपाली बैंक र विदेशमा समेत सफ्टवेयर निर्यात गर्ने एफवान सफ्ट कम्पनीका अनुसार करिब ३२ लाख प्रयोगकर्ताले मोवाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् ।

यस किसिमको सेवामा प्रयोगकर्ताको आकर्षण निकै बढेको छ । राष्ट्रबैंकले मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा शाखारहित बैंकिङ सेवाबाट शहरमा मात्र केन्द्रित भएको बैंकिङ सेवा ग्रामीण भेगमा समेत पुगेको र आगामी केही वर्षमै बैंकिङ सेवा सबै कुनाकाप्चामा पुग्ने भन्दै यस किसिमको भर्चुअल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । नेपालमा हाल अधिकांश वाणिज्य बैंकले इन्टरनेट बैंकिङको सुविधा दिएका छन् भने अधिकांश वाणिज्य बैंकले मोवाइल बैंकिङको सुविधा दिएका छन् । पछिल्लो समय वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्था पनि यस किसिमको सेवा दिनका लागि आकर्षित भइरहेका छन् । इन्टरनेट बैंकिङ कारोबार गर्दा वान वे फ्याक्टर र टु वे फ्याक्टर गरेर दुई किसिमको प्रणालीबाट कारोबार हुन्छ । वान वे फ्याक्टरमा कारोबार गर्दा कसैले युजरनेम र पासवर्ड पत्ता लगाएर रकम चोरी हुन सक्छ तसर्थ भरपर्दो र सुरक्षित कारोबारका लागि टु वे फ्याक्टर प्रयोग गर्नु आवश्यक छ । ‘टु वे फ्याक्टर’मा आफूले कारोबार गर्दा मोवाइलमा जानकारी आउँछ र मोवाइलमा आएको कोड लिएर कारोबार गर्दा यो सुरक्षित हुने गर्दछ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालय शमशेर राणा आफूहरुले टु वे फयाक्टर प्रयोग गरिरहेको बताउँछन । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत शर्मा भन्छन ‘प्रविधिको विकासमा सरकार भन्दा नीजि क्षेत्र धेरै अगाडि छ । पेमेन्ट गेटवेको व्यवस्था सरकारले नै अगाडि नल्याएसम्म ‘इ कमर्स’ अगाडि जान सक्दैन ।’

प्रविधिमा अब्वल बन्दै बैंकहरू
नेपालका अधिकांश वित्तीय सस्थाले प्रयोग गर्ने सफ्टवेयर पुमोरी हो । विन्डोज प्लेटर्फममा आधारित सफ्टवेयर मर्कन्टाइलले उत्पादन गर्दै आएको छ । यसमा इन्टरनेट बैंकिङ, एटिएम, स्विफट इन्टरफेस, पुमोरी डाटा एक्स्चेन्जलगायतका सुविधा छन् । बैंकको आवश्यकताअनुसार पुमोरीको सफ्टवेयरको मूल्य ५ लाखदेखि ५० लाख रूपैयासम्म पर्छ । एनसिसी, एनबी, नेपाल बैंक, किस्ट, राष्ट्रिय बाणिज्यलगायतका बैंकले यसको प्रयोग गरेका छन् ।
प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस)ले बनाएको बैंक प्लस ‘क’ बर्गको लुम्बिनी, ‘ख’ बर्गको एनडिइइपीका साथै करिब १ दर्जन फाइनान्स कम्पनीले प्रयोगमा ल्याइरहेको सिस्टम हो ‘एनालिस्ट उपहार’ जोशी भन्छन् । यसले इलेक्ट्रोनिक्स चेक क्लियरेन्स सुविधासहित इन्टिग्रेटेड भर्सन ४ लाख रूपैयाँमा उपलब्ध गराउने सिनियर कस्टमर सपोट एक्ज्युकेटिभ अशोककुमार साहले बताए ।
त्यसबाहेक अधिकांश ठूला बैंकले फिन्याकल, ग्लोबस, फ्लेक्स क्युवलगायतका विदेशी सफ्टवेयरसमेत प्रयोग गर्दै आएका छन् । फिन्याकल विश्वमा बैंकका लागि निकै प्रतिष्ठित मानिन्छ । अन्तरशाखा बैंकिङ कारोबारका लागि यो सफ्टवेयर निकै उपयोगी छ । यसको डिजास्टर रिकोभरी डाटा सेन्टरले कुनै दुर्घटनामा हार्डवेयरमा क्षति पुगे पनि डाटा पुन प्राप्त गर्न सघाउँछ । यसको मूल्य ४ करोडदेखि सुविधाअनुसार १० करोडभन्दा बढी पर्छ । एनआइसी एशिया, एभरेस्ट, ग्लोबललगायतका बैंकले यसको प्रयोग गर्छन् ।
र्ओयाकल बेसको ‘फ्लेस क्युव’ अर्को चल्तीको ‘सफ्टवेयर’ हो । नेपालका लागि विक्रेता नेपा सफ्टका र्ओयाकल हो । यसको मूल्य हार्डवेयर र मेन्टेनेन्ससमेत गरी ८ करोडदेखि ४३ करोडसम्म पर्छ । यसलाई जनता, लक्ष्मी, मेगा, सिद्धार्थलगायतले प्रयोग गर्दै आएका छन् ।
ग्लोबस नेपालका केही ठूला बैंकहरूले प्रयोग गर्दै आएको अर्को सफ्टवेयर हो । स्वीट्जल्याण्डको टेमेनोस गु्रपले डेभलप गरेको यो सफ्टवेयर कृषि विकास, कुमारी, माछापुच्छ्रेलगायतका बैंकले प्रयोग गर्छन् । यसको मूल्य २ करोडभन्दा बढी पर्छ । नेपालका केही विकास बैंक र वित्तीय संस्थाले रूविकोनलगायतका सफ्टवेयर पनि प्रयोग गर्ने गरेका छन् ।

अन्य केही प्रविधि
नेपालका अधिकाशं बैंकले प्रयोग गर्ने प्रमुख सफ्टवेयर सिविएस हो । यसले रकम राख्न, झिक्न, ब्याजको गणनालगायतका काम गर्न सघाउँछ । एमआइएसले बैंकका हरेक शाखाको दैनिक नाफा र घाटाको हिसाव निकाल्छ । यसले कुन शाखाका कति निक्षेप जम्मा भयो, कति ऋण गयो, कुन शाखाका रकम फ्रिज भएर बसेको छ, कुनमा नगदको अभाव छ भन्ने जानकारी ब्यवस्थापन तहका व्यक्तिहरूलाई गराउँछ । यसैलाई विश्लेषण गरेर ब्यवस्थापनले नगदको प्रवाह एक शाखाबाट अर्कोमा गराउने, ऋण लगानी गर्ने गर्छन् ।

लोन मेनेजमेन्ट सफ्टवेयरले ऋणका लागि ग्राहकले निवेदन दिएपछि त्यसमा बढेको प्रक्रियाको सम्पूर्ण विवरण देखाउँछ । यसले ऋणको कागजात कुन शाखामा, कुन अधिकारी कहाँ पुगेको छ, स्वीकृत हुने र नहुने अवस्थाबारे जानकारी दिन्छ

एलसी ग्यारेन्टी र बिल्स मेनेजमेन्ट सफ्टवेयरले ब्यक्तिले खोलेको एलसी, बैंक ग्यारेन्टी, विल्सको अवस्था, त्यसको अवधि, म्याद सकिएको जानकारी समयमै ब्यक्ति र बैंकका अधिकारीलाई दिन्छ । डेबिट र क्रेडिट र पस कार्डलाईं सम्बन्धित बैंकसँग आइएसओ इन्टिग्रेसन सफ्टवेयरले जोड्छ । नेपालमा भिसा, मास्टरकार्ड, स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)लगायतका कार्ड प्रयोगमा छन् । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङका लागि पनि छुट्टाछुट्टै सफ्टवेयर छन् ।

आइटी अडिट गर्ने निर्देशन दिएका छौं

त्रिलोचन पंगेनी
प्रवत्ता,नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिमा उल्लेख भए अनुसार हाल हामी कहाँ ३० वटा वाणिज्य बैंक,७९ वटा विकास बैंक,फाइनन्स ५० र लघुवित्त कम्पनी ३६ वटा गरी जम्मा १९५ वटा बैंक तथा वित्त कम्पनीहरु सञ्चालनमा रहेका छन । आर्थिक सर्वक्षणलाई आधार मान्ने हो भने कूल जनसंख्याको ४० प्रतिशत जनसख्या मात्र बैंकिङ पहुँचमा छन । अझै ६० प्रतिशत जनता बैंकिङ पहुँच भन्दा बाहिर छन । अर्थशास्त्रकै भाषामा भन्नुपर्दा यो पैसाको यूग हो । पैसाको कारोवार सँगै रिष्क र रिर्टनको कुरा जोडिएर आँउछ । वित्त आफैंमा गाह्रो कुरा हो । त्यही कारण पनि वित्तिय साक्षरता अत्यन्त जरुरी छ । र यस्को आवश्यकता पनि छ । नेपाल राष्ट्र बैंकले यस सन्र्दभमा नीति नै ल्याइसकेको छ । हाम्रा अधिकांश बैंकहरु शहरकेन्द्रीत भए । तर साक्षर हुदैमा पनि नहुँदो रहेछ भन्ने हामीसँग केही उदाहरण छन् । जस्तो राष्ट्रबैंकले भारतीय पाँच सय र हजारको नोट नचलाउनुस गैह्रकानुनी हो भन्यो तर यस्तो नोट चलाउनेमा यूवा र शिक्षितहरु नै वढि भेटिए ।

नयाँ नयाँ प्रविधि आँउदै जान्छ पूरानो प्रविधि हराउदै जान्छ । एटिएममा कार्ड हाल्दा पैसा नदिन पनि सक्छ । हामीकहाँ सञ्चालित एटिएम कार्ड नै परिवर्तन गर्नुपर्ने कुरा उठिरहेको छ । ह्याकरहरुले यस्ता कार्डका कारण ग्राहकको पैसा चोरिदिनसक्ने सभ्भावना पनि छ । प्रविधिको गलत प्रयोग गर्ने प्रवृत्ति संस्था बाहिरबाट भन्दा पनि संस्था भित्र बाटै हुने गरेको उदाहरण हामीले देखेका छौं । बैंकहरुको डेविट क्रेडिटको अडिट त गरी नै राखेका हुन्छन तर आफैंले प्रयोग गरीरहेको सिस्टम अडिट गर्ने गरेका छैनन् । नेपाल राष्ट्रबैंकले सिष्टम अडिट गर्नका लागि बैंकहरुलाई सुझाव र निर्देशन दिएको पनि हो । हरेक समय बैंकहरु सिष्टमको अडिट गर्नुपर्दछ । यसै वर्ष देखि हरेक बैंकहरुले आइटीको समेत अडिट गर्नुपर्ने छ । नेपाल राष्ट्रबैंकले सुपरभिजनमा जाँदा आइटीका विज्ञ र इन्जिनियरहरुलाई पनि सँगै लैजाने गर्दै आइरहेको छ । आजसम्म नेपालका बैंकहरुमा आइटीकै कारण त्यस्तो समस्या परेको थाहा छैन । यद्यपि पछिल्लो चरणमा जुन बैंकको आइटीको अवस्था राम्रो छ उक्त बैंक राम्रो ठहरिएको छ । यद्यपि आइटी चलाउने भनेको त्यही बैंकका कर्मचारीहरु नै हुन र वदमासी हुने पनि कर्मचारीबाटै हो । जुन केही समय अगाडि हामीले कृषि विकास बैंकमा देख्यौं ।



मेगाको नयाँ एप

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना हरेक ग्राहकलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘हात–हातमा बैंकिङ’ नामक विशेष अभियान सुरु गरेको छ ।

मेगा बैंकमा खाता रहेका सबै ग्राहकलाई आफ्नो खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने गरी ‘हात–हातमा बैंकिङ अभियान’ ल्याइएको मेगा बैंकले जनाएको छ । मेगा मोबाइल बैंकिङ सेवामा स्वतः दर्ता हुने गरी ल्याइएको यो योजना आफ्ना सबै ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउन थालेको मेगा बैंकले जनाएको छ । यो सेवा लिन इच्छुक नभए नजिकको शाखा कार्यालय वा डीआरइजी टाइप गरि १७१७ मा एसएमएस गर्न बैंकले आफ्ना खाताधनीहरुलाई अनुरोध गरेको छ । मोबाइल बैंकिङ सहज बनाउन मेगाले यसअघि नै एन्ड्रोइड र एप्पल एप्स पनि ल्याइसकेको छ । मेगा मोबाइल बैंकिङमार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रुपमै आफ्नो बैकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन् । साथै, मोबाइलबाटै आफ्नो खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकको लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानी, विनिमय दर, एटीएम उपलब्ध स्थान, बैंक शाखा ठेगानाबारे जानकारी लिन सक्ने बताइएको छ । यसका साथै, ग्राहकले सहजै मोबाइल रिचार्ज पनि गर्न सक्नेछन । यो सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध छ   । 


नेपाल बैंकको भचुर्अल एकाउण्ड

नेपाल बैंकमा भच्र्युअल बैंक एकाउण्ट प्रविधिको प्रयोग गर्न लागेको छ । यो प्रविधि बैंकिङ क्षेत्रमा विश्वमा नै पहिलो प्रयोग हुने भएको छ । यस प्रविधिको प्रयोगसँगै नेपाल बैंकका ग्राहकहरुको दैनिक कारोवारलाई थप सहज बनाउन सकिने बैंकले जनाएको छ । भच्युर्अल एकाउण्ट खोलेपछि ग्राहकले दैनिक रुपमा विभिन्न व्यापारिक केन्द्रहरुमा गरिने भुक्तानीको प्रकृयालाई अनलाईन तथा इकमर्शको माध्यमबाट सहज र सरल हुनेछ ।

‘यो प्रविधि आजको आवश्यकता मात्र नभै भुक्तानी प्रकृयालाई सुरक्षित बनाउनु पनि हो । यसमा टोकल सिस्टममा आधारित भच्युर्अल बैंक एकाउण्ट मार्फत भुक्तानी गर्ने प्रविधि र हालै विकसित एनएफसी (नियर फिल्ड कम्यूनिकेशन) प्रविधिमा आधारित कार्ड तथा कन्ट्याकलेस मोवाईल मार्फत भुक्तानी गर्ने प्रविधि समावेश हुनेछ’ बैंकले भनेको छ । यस्तो प्रविधिको प्रयोग गर्नको लागि नेपाल बैंकले हालै अमेरिकाको नुपे इन्टरनेशनल इन्कर्पोरेट कम्पनीसँग रणनीतिक सम्झौता गरेको जनाएको छ ।


‘सिइओले टेक्नोलोजी बुझिन भनेर सुख पाउने अवस्था छैन’ 

हिमालयन शमशेर राणा,
प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेड

नेपालमा टेलिबैंकिङ भित्राउने पहिलो बैंकको रुपमा परिचित छ हिमालयन बैंक । ५२ सालमा टेलिबैंकिङ भित्राउदाको समय र अहिलेको समयमा के फरक पाउनुहुन्छ ?

हिजो र आजको यो समयमा आकाश जमिनको अन्तर भइसकेको पाँउछु । त्यो समयमा हामी नेपालीहरुले नै बनाएको सफ्टवेयर पुमोरी प्लस चलाउथ्यौं । अहिले टि टवान्टी फोर चलाउदैछौं । यो बीचमा विजनेश ‘ट्रयान्जक्सन’ धेरै वढि सकेका छन । ५२ सालतिर हाम्रो दैनिक विजनेश ट्रयान्जक्सन एक दुई हजारको हाराहारीमा थियो भने अहिले ३५ देखि ४० हजारको हाराहारीमा पुगिसकेको अवस्था छ ।

एटिएम मेसिन नेपालमा पहिलो पटक भित्राउने बैंकको रुपमा हिमालयन बैंक चिनिन्छ । एटिएमको भित्राउदाको त्यो अवधी र यो अवधीलाई कसरी हेर्नुहुन्छ ?

पछिल्लो समयमा बैंकको प्रतिष्पर्धा भन्नु नै आइटीमा छ । अहिले त सबैं बैंकहरुले एटिएम राखेका छन । आइटी अन्र्तगत कार्ड डिभिडेन्ट चार वटा छन । कोर बैंकिङ, स्वीचिङ, कार्ड म्यानमेन्ट सफ्टवेयर र रेमिट्यान्स सफ्टवेयर छ । सबैभन्दा महत्वपूर्ण चाँही स्वीचिङ सफ्टवेयर हो । त्यसमा सबै जोडिन्छ । सबै सुरक्षित गर्नलाई राष्ट बैंकले पछिल्लो समयमा आइटी पोलिसी ल्याएको छ । हामी सोही अनुरुप काम गरिरहेका छौं । हामीले सबै नेटवर्क सुरक्षित गरेका छौं । मलाई लाग्छ, अन्य बैंकहरुले सबै नेटवर्क सुरक्षित गरेका छैनन् ।

भनेपछि,हिमालयन बैंकमा ह्याकरले ह्याक गरेर ग्राहकहरुको पैसा चोर्ने सभ्भावना अत्यन्त न्यून छ ?

ह्याकरले के गर्ला ? भनेर नै हो जहिले पनि थ्रेड हेर्नुपर्ने । वाहिरबाट मात्र होइन ,भित्र पनि हेर्नुपर्ने हुन्छ । कस्ले कति खेर लग गर्यो भन्ने हामीले जानकारी राखेका हुन्छौं । मुख्य इस्यु सिस्टमले के गर्यो भनेर नै माइक्रोसफ्ट सिस्टम सेन्टरलाई हामीले इम्लिमेन्ट गरेका छौं । त्यो सिस्टमले सबै पोर्ट र राउटरहरुको मनिटर गरिरहेको हुन्छ । दोश्रो कुरा, कुन लेभलको स्टाफलाई कति एक्सेस दिने हामीले निर्णय गरेका हुन्छौं । एक्सेस पाएको स्टाफले कति पटक लग गर्यो, त्यसको रेकर्ड आइटी अन्र्तगतको सेक्रेट डिपार्टमेन्टले हेरेको हुन्छ । हाम्रो लग मनिटरिङ अर्काे कम्पनी टस्ट्र वेभ भन्ने ठूलो कम्पनीलाई दिएका छौं । उस्ले हामीलाई मनिटरिङ गर्दछ । कसैले तपाईको कार्ड चलायो भने त्यसको म्यासेज तपाईलाई आइहाल्छ । त्यसकारण रिस्क हुने सम्भावना अत्यन्त कम पाँउछु ।

लामो समय देखि यहाँ बैंकिङ क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यही हिसाबले बैंकिङ र प्रविधि बीचको सम्बन्ध चाँही कस्तो पाउनुहुन्छ ?

बैंकिङ भनेको टेक्नोलोजी बाटै चल्ने हो । प्रविधिको सबैभन्दा वढि प्रयोग गर्ने भनेकै बैंक हो । पछिल्लो समयमा कार्ड,एटिएम,इन्टरनेट बैंकिङ,मोवाइल बैंकिङ हुँदै टयावलेट बैकिङ सम्म बैंकहरु गइसकेका छन । अन्य बैंकहरु भन्दा हिमालयन बैंक फरक छ । जस्तो,तपाई हिमालयन बैंकको इन्टरनेट बैंकिङको ग्राहक बन्नुभयो २ प्रकारको यथेन्टिक छ । इन्टरनेट बैंकिङ कारोबार गर्दा वान वे फ्याक्टर र टु वे फ्याक्टर गरेर दुई किसिमको प्रणालीबाट कारोबार हुन्छ । वान वे फ्याक्टरमा कारोबार गर्दा कसैले युजरनेम र पासवर्ड पत्ता लगाएर रकम चोरी हुन सक्छ तसर्थ भरपर्दो र सुरक्षित कारोबारका लागि टु वे फ्याक्टर प्रयोग गर्नु आवश्यक छ । टु वे फ्याक्टरमा आफूले कारोबार गर्दा मोवाइलमा जानकारी आउँछ र मोवाइलमा आएको कोड लिएर कारोबार गर्दा यो सुरक्षित हुने गर्दछ । हिमालयन बैंकसँग फरक प्रकारको इन्रनेट बैंकिङ छ अन्य बैंकहरुमा यस्तो छैन । सफ्टवेयर नयाँ ल्याउदा पनि बैंक पोलिसि मिल्छ भने मात्र ल्याएका छौं । धेरै सेक्युरिटि पोलिसी अपनाएका छौं । सिइओले टेक्नोलोजी बुझिन भनेर सुख पाउने अवस्था छैन ।

हिमालयन बैंकलाई पाँच लाख भन्दा वढि ग्राहकहरुले विश्वाश गरेका छन । ती सबै ग्राहक साक्षर छन भन्ने त छैन तर निरक्षर ग्राहकहरुका लागि वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थाहा छैन,यस तर्फ बैंकले सोच्नु आवश्यक छ कि छैन ?

आजसम्म वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम नै भनेर चलाएको छैन । तर, एटिएम कार्ड चलाउनै नजान्ने ग्राहक सभ्भववत हाम्रो बैंकमा छैनन् । सावा अक्षर चिनेका ग्राहकहरुले इन्ट्रक्सन हेरेको भरमा चलाउन सक्छन । मोवाइल फोन आए पछि अझैं धेरै सजिलो भएको छ । मलाई लाग्छ धेरै ग्राहकले बुझेनन् भने ग्राहक केन्द्रमा गएर बुझ्ने गरेका छन र सहजै बुझ्न सक्दछन पनि ।

नयाँ प्रविधि भित्राउने सम्बन्धमा बैंकसँग के कस्ता योजना रहेको छ ?

मोवाइल बैंकिङ भित्राउदै छौं । विशेषतः यो एप वेश रहेन्छ । सभ्भवतः दशैं अगाडि नै लञ्च गर्दैछौं । त्यस्तै, व्राञ्चलेन्स बैंकिङ अन्र्तगत केही फरक गरौं भन्ने हाम्रो सोच हो । बैंकको एजेन्टले फोनमार्फत जोडिन सक्छ नै । बैंकको ग्राहक नै नभए पनि डोमेस्टिक टान्सफर गर्न सक्छ । यो सभ्भवत दोश्रो क्वाटर सम्ममा हामी लञ्च गर्दैछौं ।

अनलाइन पेमेन्टको व्यवस्था चाही कस्तो छ ?

अवको जमाना भनेको नै इ कमर्सको हो । हामी इ कर्मसमा गइसकेका छौं । यो सेवा सुरु गर्ने हाम्रो बैंक नै पहिलो हो ।

भनिन्छ, विज्ञान प्रविधि र बैंकिङ एक अर्काेको परिपुरक हुन । पछिल्लो चरणमा नविल बैंकले नाष्टसँग सहकार्य गरेर पाँच लाख राशीको पुरस्कारको व्यवस्था गरेको छ । उसैगरी विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल संस्थाहरुसँग हिमालयन बैंकले सहकार्य गर्न सक्छ कि सक्दैन ?
सक्छ, नसक्ने भन्ने कुरै हुदैन । अहिले हामीले वृद्धाश्रम र वालकहरुको पढाइको लागि सहयोग गर्दै आइरहेका छौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा सोचेको छैनौं । अव केही विचार गर्नेछौं । साइन्स तथा टेक्नोलोजीको क्षेत्रमा हामीले गर्ने सक्ने भनेको यो विधा अध्ययन गरेका जनशक्ति हायर गर्ने हो÷जो गरिरहेका छौं । तर, समस्या आइटीमा आएका जनशक्ति यहाँबाट केही सिक्छन र अनि विदेशिन्छन । त्यही कारण आइटीमा हामीले धेरै ‘पे’ गरेका छौं । ताकी त्यस्ता जनशक्ति विदेशिने अवस्था नआओस । हामीकहाँको ठूलो समस्या भनेको स्किल ग्यापको देख्छु । आइटीका विद्यार्थीहरु प्रायः विदेशमा पढेरै आएका भेटिन्छन । नीजि माइक्रोसफ्ट, ओराकलले यस्तो शिक्षा दिइरहेको छ तर सरकारी तवरबाट अथवा भनौं, विश्वविद्यालयबाट यस प्रकारको शिक्षा दिइएको पाइदैन ।

एउटा कृषकले ऋण चाहेको खण्डमा घर जग्गा धितो राखेर सहजै ऋण पाँउछ अथवा भनौं, उस्लाई बैंक तथा वित्त कम्पनीहरुले समेत पत्याउछन् । तर आइटीको क्षेत्रमा कार्यरत व्यक्तिलाई ऋण चाहेको खण्डमा बैंकले पत्याउदैन किन ?

हामी कहाँ एक दुईपटक वाहेक आज सम्म त्यस्तो माग आएको छैन । एक दुइपटक सफ्टवेयर डेभलप गर्नका लागि ऋण लिन आएका थिए । हामीले दिएका पनि हौं । हाम्रो हिमाल रेमिट जस्ले बनायो उसलाई ,पेरोल सफ्टवेयर ,ह्युमन रिसोर्ससको सफ्टवेयर निर्माण गर्दा हामीले नै ऋण प्रदान गरेर बनाएका हौं । प्रस्ताव आएको खण्डमा हामीलाई लगानी गर्नमा कुनै समस्या छैन ÷गर्दछौं ।

विज्ञान वरदान त हुँदै हो तर कहिँलेकाहीँ यो अभिशाप बन्दोरहेछ । पछिल्लो चरणमा बैंकिङ सफ्टवेयर भित्र गएर ह्याकिङ गर्ने प्रविधि वढ्दो छ । बैंकहरुको डेविट क्रेडिटको अडिट भएझै नियामक निकायले सफ्टवेयरहरुको अडिट गर्नु पर्छ कि पर्दैन ?

थ्रेड त जँहा पनि छ । राष्ट्र बैंकले यस वर्ष देखि आइटी पोलिसि ल्याएकोछ । राष्ट्र बैंकको अडिटले हालसम्म डेविट क्रेडिट मात्रै हेर्दै आएकोमा अबको एक वर्ष भित्रमा आइटीको समेत अडिट गर्नुपर्ने उस्ले नीति ल्याएको छ । यो नितान्त राम्रो कुरा हो ।


‘आइटीको क्षेत्रमा सबैभन्दा वढिले रोजगारी पाएका छन’

कृष्ण प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत
राष्ट्रिय वाणिज्य बैंक

बैंकिङ र प्रविधि बीचको सम्बन्ध कस्तो पाउनुहुन्छ ?
प्रविधि र बैंकिङ बीच अन्योन्याश्रित सम्बन्ध छ । यसले बैकिङ क्षेत्रलाई सरल त बनाएको छ नै सर्वसाधरणहरुमा सहज पहुँच पनि पुुर्याएको छ । टेलिकम्युनिकेसन पछिको बैंकिङ क्षेत्रमा नै होला सभ्भवत सबैभन्दा वढि प्रविधि प्रयोग भएको । टेलिकम्युनिकेसन पछि प्रविधिको सम्बन्धमा सर्वसाधरणले सिधै महशुश गर्न सक्ने क्षेत्र भनेकै बैंकिङ हो । अवको जमानामा प्रविधि विनाको बैङ्किको कल्पना समेत गर्न सकिदैन ।

राष्ट्रिय वाणिज्य बैंकले के कस्ता प्रविधिको प्रयोग भइरहेको छ ?
प्रविधि भन्नाले हामीले सेवालाई प्रविधि मार्फत जोड्ने हो । हाम्रो सम्पूर्ण कारोवार कम्युटरकृत हुँदै गइरहेका छन । १६२ शाखा नै (एभिबिएस) एनि व्रान्च बैंकिङ सिस्टममा जोटिएका छन । एटिएम कार्ड बैंकिङका साथै एसएमएस बैंकिङ,मोवाइल,इन्टरनेट बैंकिङ सेवा सञ्चालित छन । ग्राहकहरुले फोन ट्रान्सफर गर्ने देखि पैसा लिने सबै गर्न सक्छन । हामीले ई कर्मसको सुरुवात समेत गरेका छौं । राष्ट्रिय वाणिज्य बैंकको प्रविधिको प्रयोगमा सबैभन्दा वढि पार्टिसिपेन्ट मोवाइल बैंकिङमा पाइएको छ । मोवाइल बैंकिङ अघिल्लो वर्ष बाट मात्र सुरु गरेको हौं । यो अवधीमा प्रयोगकर्ताको संख्या झण्डै १ लाख ४० हजार पुगिसकेको छ ।

नयाँ प्रविधि भित्राउने सम्बन्धमा बैंकसँग के कस्ता योजना छन ?
सफ्टवेयर परिवर्तन गर्न खोजिरहेका छौं । अहिले स्ट्यान्डर्ड सफ्टवेयर कुन हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छौं । जो अन्तराष्ट्रिय स्तरको होस । अहिले हाम्रो कुल कारोवारको ४० प्रतिशत कारोवार बैंकमा नगई हुन्छ । प्रतिष्पर्धी बैंकहरुको बीचमा नयाँ नयाँ प्रविधि भित्राउदै जाने हाम्रो योजना रहेको छ ।

समग्रमा बैंकको आइटीको अवस्था कस्तो छ ?
प्रतिष्पर्धी छ । अस्तिको भूकम्पको समयमा समेत हाम्रो बैंक नै लिड बैंक बन्न सक्यो । आइटीको क्षेत्रमा कर्मचारी र विज्ञहरु हाम्रो बैंकमा कार्यरत छन । वाणिज्य बैंकको प्रविधि शाखामा कार्यरत कर्मचारीको संख्या मात्र २६ अफिसर र १९० साहायक गरी २१६ कर्मचारी कार्यरत छन । यो बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो संख्या हो । टेलिकम्युनिकेसन पछाडि आइटीमा सबैभन्दा वढिले रोजगारी दिएको सभ्भवत वाणिज्य बैंक नै हो ।

सर्वसाधरणले बुझ्ने भाषामा भनिदिनुहोस न, व्रान्चलेन्स बैंकिङ के हो ?
बैंकको व्रान्च नहुने, एजेन्ट मार्फत बैंक चल्ने प्रविधि हो । अहिले हाम्रो एकपटकमा पन्ध्र हजार राख्ने,पन्ध्र हजार झिक्ने गर्न सकिन्छ । दिनमा तीनपटकको दरले पैतालिस हजार सम्म राख्न र झिक्न सकिन्छ । बैंकमा हाम्रो उपस्थिती रहदैन तर हाम्रो सेवा पाइरहेका हुन्छन । हाल हाम्रो २९ वटा व्रान्चलेन्स बैंकिङ छ । यसै आर्थिक वर्षमा ९१ पुर्याउने हाम्रो लक्ष्य छ ।

बैंकको अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था के कस्तो छ ?
अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था छ । तर हामी मात्र तयार भएर हुदैन रहेछ । युटिलिटि सर्भिस दिने संस्थाहरु पनि तयार हुनुपर्यो । हामीले नेपाल टेलिकम,विद्युत प्राधिकरणहरुसँग कुरा अगाडि वढाइरहेका छौं । हामीले मात्र तयारी गरेर पनि हुँदैन सेवाग्राहीरुहरु तयार हुनुपर्यो,उहाँहरुले बुझ्नुपर्यो ।
नेपाल क्लियरिङ हाउसले केही महिना अगाडि देखि विद्युतिय चेक क्लियरिङको व्यवस्था गरेको छ । यसबाट यहाँहरुलाई कारोवार गर्नमा केही असहजता भएको छ ?
एकैचोटी नयाँ प्रविधमा जाँदा केही असहजता त पक्कै हुन्छ तर बैंकिङ सेवालाई सरल बनाउनका लागि हामी यो प्रविधिमा जानै पर्दछ । संसारभर नै क्लियरिङको व्यवस्था हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रलाई प्रथामिकताको सूचीमा राखेर लगानी गर्दै आइरहेको छ । विकासको मेरुदण्ड मानिन्छ विज्ञान तथा प्रविधि । यही क्षेत्रमा कार्यरत नाष्ट,रिकाष्ट,नार्क जस्ता संस्थाहरुसँग राष्ट्रिय वाणिज्य बैंकले सहकार्य गर्नसक्ने अवस्था कतिको छ ?
यस्ता संस्थामा हामीले लगानी गर्न कुरा भएन तर यी संस्थाका बैज्ञानिकहरुका अनुसन्धानबाट निस्केका नयाँ नयाँ प्रविधि कहाँ प्रयोग गर्न सकिन्छ त्यो प्रयोग गर्न सक्छौं र प्रयोग गर्न तयार पनि छौं । अबको आवश्यकता भनेको जीवन उपयोगी प्रविधिको हो । जस्तो एउटा किसानले कालिमाटीमा फलफुलको मुल्य कति छ त्यो आफ्नो मोवाइलमा हेर्न सकोस । हरेक क्षेत्रलाई प्रविधि मार्फत लैजान सक्यौं भने बस्तु सरल र सस्तो हुन्छ । बस्तुको सरल र सहज उपयोग गर्न पाएको खण्डमा ग्राहक सन्तृष्ठ हुन्छन । पछिल्लो समयमा नयाँ नयाँ प्रविधि प्रयोग गर्ने विषयमा किसानहरुले जानकारी लिने गरेको पाइएको छ ।

बैंकलाई के कस्तो प्राविधिक समस्या छ ?
अघि पनि भने,हामी मात्र प्रविधिले सम्पन्न भएर हुँदैन । हामीले सेवा दिने मान्छे पनि प्रविधि बुझेको हुनुपर्यो । हामीले मोवाइल बैंकिङ सेवा दिएर मात्र के गर्ने ? हाम्रो ग्राहकले मोवाइल बैंकिङ बुझ्दैनन भने । यसका लागि दुबै पक्ष तयार हुनुपर्यो । यसकै लागि हामीले वित्तिय साक्षरता सँगसँगै लैजान खोजिरहेका छौं ।

पछिल्लो चरणमा बैंकिङ सफ्टवेयर भित्र गएर सूचना चुहाउने,ह्याक गर्ने,ग्राहकको पैसा चोर्ने गरिएको पाइएको छ । यसो हुनुको पछाडि नेपालका बैंकहरुले प्रयोग गर्ने सफ्टवेयर कमसल भएको बताइन्छ,खास कारण के हो ?
दुइवटै कुरा हो, एक त यस खालको ज्ञान भएको मान्छे पनि भए, जस्ले ज्ञानको दुरुपयोग गरे । अर्काे रोक्ने कमजोरी पनि हो । समस्यारहित केही पनि हुँदैन । त्यसलाई रोक्ने व्यवस्था गर्ने हो । अहिले विश्वभर नै टेक्नोलोजी ‘फ्रड’ गर्ने घटनाहरु देखिन्छ । त्यसको तुलनामा हामी कहाँ त्यति धेरै क्षति भएको छैन । सुरक्षाका सवालमा हामी सचेत छौं ।


 

‘ट्याब बैंकिङ् भित्राउदैछौं’
अनिल केशरी शाह
प्रमुख कार्यकारी अधिकृत,मेगा बैंक

लामो समय देखि यहाँ बैंकिङ क्षेत्रमा कृयाशिल हुनुहुन्छ, बैंकिङ र प्रविधि बीचको सम्बन्ध कस्तो पाउनुभएको छ ?
नेपालमा मात्र होइन,संसारलाई नै हेर्ने हो भने बैंकिङ भनेकै प्रविधि हो भन्ने लाग्छ ।यस्ता दिन पनि थिए,रेकर्डहरु यत्रा यत्रा ठड्डामा राखिन्थ्यो । अहिले वित्तिय संस्था खोल्ने भनेकै प्रविधि राम्रो भए खोल्न सकिन्छ अन्यथा सकिदैन । वित्तिय संस्थाको ‘नर्भस सिष्टम’ भनेकै प्रविधि हो । टेक्नोलोजी यस्तो भइसकेको छ कि हाम्रो सबै शाखा एक अर्काेमा कनेक्सन भएका छन । कसैले एकपटक विराटनगरबाट डिपोजिट गर्यो भने स्याफ्रुवेशीबाट पैसा निकाल्न सक्ने अवस्था छ ।

यहाँ तत्कालिन ग्रिनलेज,नविल हुदै मेगा बैंकमा आइपुग्नु भयो । यी तीन बैंक मध्ये मेगा बैंकले के कस्तो फरक प्रविधिको प्रयोग गरिरहेको छ ?
एउटै परिवारमा कोहीलाई गुलियो मनपर्ला,कसैलाई नुनिलो । स्ट्यान्डर्ड चार्टड भनेको ‘ग्लोवल’ बैंक थियो । उस्को आफ्नै सफ्टवेयर थियो । जहाँ शाखा खोले भए पनि केही समस्या आयो भने हेड अफिस बाटै सामाधान हुन्थ्यो । नविल बैंकले फिनिकल सफ्टवेयर चलाउथ्यो । अहिलेको सफ्टवेयरको तुलनामा महंगो भए पनि उस्ले त्यही चलाउथ्यो । हामी नयाँ बैंक,आइफ्ेलेक्स चलायौं । कुन चाँही राम्रो सफ्टवेयर भन्नु भन्दा पनि म कस्तो व्यवसाय गर्ने भन्ने महत्वपूर्ण कुरा हो । जस्तो खालको विजनेश गर्ने हो त्यसअनुसारको सफट्वेयर छान्ने हो ।

मेगा बैंकमा के कस्ता प्रविधि प्रयोग भइरहेका छन ?
सुरुवातको कोर बैंकिङ् सिस्टममा आइफेलेक्स सञ्चालन गरिरहेका छौं । एटिएम पहिला हाइटेक लाग्थ्यो,अहिले साधरण भइसक्यो । प्रविधि नभएको भए मान्छेले अमेरिका देखि यहाँ आँउदा गोजिभरी पैसा बोक्नुपर्दथ्यो । हाम्रो डेविट कार्ड छ । यसका अलवा क्रेडिट कार्ड सञ्चालनमा ल्याउदैछौं । इन्टरनेट बैंकिङ छदैंछ । मेगा रेमिट सञ्चालनमा ल्याएका छौं । हामीले सञ्चालनमा ल्याएको मध्य यूनिक भनेकै शाखारहित बैंकिङ् हो । अरु भन्दा हाम्रो फरक रिसिट निस्कन्छ । चारवटा औला हालेपछि व्यक्तिको पहिचान हुन्छ । पैसा निकालेपछि अर्थात जम्मा गरेपछि मेसिनबाट नेपालीमा आवाज आँउछ ‘तपाइको खातामा पैसा यति छ ।’ हाम्रो नेपाली कम्पनीले नै डिजाइन गरेको र बनाएकोे प्रविधि हो यो । हामीले तत्कालै भित्राउन लागेको नयाँ प्रविधि भनेको ट्याव बैंकिङ हो । जुन नेपालका कुनै पनि बैंकले भित्राएका छैंनन् ।

बैंकमा आइटीको अवस्था कस्तो छ ?
बैंकको आइटी कस्तो छ भन्ने कुरा बैंकको आइटी डिर्पाटमेन्टमा काम गर्ने कर्मचारी कस्तो छ त्यसैमा निर्भर गर्दछ । मान्छेहरु भन्छन कम्युटर आइभिएमको किनेको रैछ,राउटर हेरान्सिसको किनेको रहेछ तर चलाउने त मान्छे नै हो । हाम्रो बैंकमा आइटीमा ७ जना कार्यरत हुनुहुन्छ । टिम राम्रो छ । यद्यपि समस्या त आइरहन्छ । कहिले चट्याङले हानेर,भोल्टेजका कारण,कनेक्सन ड्रप गरेर समस्या ल्याइदिन्छ । समस्या आयो भन्दैमा सिस्टम नराम्रो भन्ने होइन । समस्याको कति छिटो सामाधान हुन्छ,टिम कतिको राम्रो छ त्यसैमा भर पर्दछ । आइटी कति राम्रो छ भन्नुभन्दा पनि त्यहाँ कार्यरत कर्मचारीको दक्षतामा नै भर पर्ने कुरा हो ।

इन्टरनेट बैंकिङ्को सम्बन्धमा बैंकसँग के कस्तो योजना छ ?
इन्टरनेट बैंकिङ् हामीले बैंक स्थापना भएदेखि नै सुरुवात गरेका हौं । यसलाई ग्राहक फ्रेन्डली बनाउँदैछौं । धेरैजसो एनजिओ÷आइएनजिओहरुले चलाउछन । यो बैंकिङ्मा मैले सबैभन्दा वढि सभ्भावना देखेको परदेशिएका नेपाली दाजुभाई दिदीबहिनीहरु हुन । यसमा दशांै हजार केश आइरहेका छन । विदेशबाट जीवनसंगिनीको नाममा पैसा पठाउदा न श्रीमति रहने न पैसा रहने समस्या वढ्दै छ । अहिले हामी भन्दैछौं । खाता खोल्नुस एउटा आफ्नै नाममा र अर्काे श्रीमति अर्थात कुनै आफन्तको नाममा । परिवारलाई चाहिने कति हो त्यही बसेर इन्टरनेट मार्फत ट्रान्सफर गर्न मिल्दछ । इन्टरनेट बैंकिङ्को सबैभन्दा ठूलो सभ्भावना देखेको चाँही प्रवासी नेपाली हुन ।

अन्य बैंकको तुलनामा मेगा बैंकको व्रान्चलेस बैंकिङ्मा के फरक छ ?
हलो देखि हाइड्रो सम्म हाम्रो बैंकको नारा नै हो । हाम्रो ब्राञ्चलेन्स बैंकिङ मार्फत कृषकहरुलाई ऋणको व्यवस्था समेत गरेका छौं । अरु बैकहरुको भन्दा हाम्रो शाखारहित वैंकिङ फरक छ । यस कारण सेवा पुर्याइरहेका पनि छौं,साथैं पैसा पनि बनाइरहेका छौं यसैबाट ।

अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था कस्तो छ ?
हाम्रो मेगा रेमिट छ । संसारको जुन कुनै कुनाबाट पैसा पठाउन सकिन्छ । नेपालभर पैसा पठाउन पनि सक्छौं । अनलाइन मार्फत भन्नाले हामी आफैं पठाउन सक्दैनौं । हाम्रो एजेन्ट मार्फत पैसा पठाउने हो ।

मेगा बैंकले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत नाष्ट,नार्क,रिकाष्ट जस्ता संस्थाहरुसँग सहकार्य गर्न सक्छ कि सक्दैन ?
सहकार्य त गर्नसक्छ । यस्मा दुई चिज हेर्नुपर्दछ । बैंकले टेक्नोलोजीको क्षेत्रमा लगानी नगरेर यस्ले वुम नगरेको भन्ने मान्न म तयार छैन । जो नेपाली विद्यार्थीहरु हुनुहुन्छ उहाँहरुले यहाँ काम गर्न वातावरण नै पाउनुभएको छैंन । बैंकले पत्याएन,ऋण दिएन भनेर विदेशिने कमै होलान । एउटा वातावरण छैन, वातावरण नेपाल सरकार र तपाई हामी सबै मिलेर बनाउने हो । धितो विना हामीले ऋण दिन सक्दैनौं । राष्ट्र बैंकले यो नीति ल्याएको छ । आइटीमा काम गर्नेहरुसँग धितो विल्कुलै कम हुन्छ । उनीहरुको धितो भनेको दिमाग हो । सफ्टवेयर डेभलपमेन्ट गर्नेहरुको एउटा ल्यापटप मात्र हुन्छ,त्यो क्लिक भयो भने उहाँ अरवपति बन्नुहुन्छ । तर हामीलाई धितो जग्गा,घर चाहिन्छ । आइटीको धेरै ठूलो सभ्भावना छ । तर वातावरण कसरी बनाउने ? राष्ट्रबैंक,विज्ञान तथा प्रविधि मन्त्रालय,अर्थमन्त्रालय,बैंक तथा वित्तिय संस्था बसेर यस सम्बन्धमा नीति बनाउनु आवश्यक छ ।

नविल बैंकले नाष्टसँग सहकार्य गरी पाँच लाख राशीको पुरस्कार दिनेक्रम सुरुवात गरेको छ । मेगा बैंकले यस्तै सहकार्य गर्न सक्छ कि सक्दैन ?
देशकै पहिलो ज्वाइन्ट भेन्चर बैंकको रुपमा स्थापित बैंकले पुरस्कार दिनु राम्रो हो । हामी ‘फ्लो’ गरौंला । यद्यपि पाँच÷दश लाखको पुरस्कारले समस्याको सामाधान हुदैन । काम गर्न वातावरण बनाउनु पर्दछ । अहिले जे समस्या भए पनि बैंकलाई दोष दिने प्रवृत्ति वढ्दै गएकोछ । ढुकुटीमा राखेर मात्र त पैसा वढ्दैन । हामी ऋण दिन चाहन्छौं तर दिइएको ऋण फिर्ता हुने आधार बन्नुपर्यो ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा बैंक तथा वित्तिय संस्थाका साथै नीजि क्षेत्रको सहभागिता बढाउने कुरा अगाडि सारेको छ । यस्लाई कसरी हेर्नुहुन्छ ?
यो कुरा सकरात्मक हो । तर,काम कतिको हुन्छ ? भन्ने तथ्य हेर्ने वनेपामा बनेको आइटी पार्कलाई नै हेरे पुग्दैन र ? सानो भए पनि काम गरौं, कुरा मात्र ठूलो गरेर के गर्ने ? नेपाली यूवाहरुलाई काम गर्न वातावरण कसरी बनाउने ? हामी तयार छौं तर उहाँहरु तयार हुनुहुन्छ त ? बैंक तथा वित्तिय संस्थाको एउटा पिलर नै आइटी हो । छिमेकका दशौं लाख यूवा आइटीमा आवद्ध छन । हाम्रोमा हेरौं न कस्तो अवस्था छ ।

बैंकलाई प्राविधिक रुपमा समस्या छ कि छैंन ?
छ, हामीलाई चाहिने प्रविधि नभएर होइन तर त्यस्को मूल्य धेरै महंगो छ । कोर बैंकिङ् सिस्टममा एउटा सफ्टवेयर भन्नुस । त्यो सिडीको बजारमूल्य कति पर्दछ ? दुई सयमा आँउछ । तर करोडौं पर्दछ । दुई सयमा आउने सफ्टेवयरलाई करोडौं किन तिरिस भन्दै नियामक निकायले सोध्यो भने के जवाफ दिने ? आइटीमा राम्रो मान्छे नेपालमा बस्दैन । त्यस्ता जनशक्तिलाई कसरी स्वदेशमा नै टिकाइराख्ने ? सबैभन्दा ठूलो चुनौती हो यो । पेटको आगो त सबैको बल्दछ । जबसम्म वातावरण बन्दैन तबसम्म ड्रेनलाई खुल्लै छाड्नुस,ब्रेनलाई बाहिर जान दिनुस । कमसेकम तीनिहरुको परिवार त भोकभोकै मर्दैन ।

मेगा बैंकको नारा छ हलो देखि हाइड्रोसम्म । हाइड्रोवालाहरुलाई त आवश्यक नहोला, तर हलो चलाउनेहरुलाई आइटी सम्बन्धी जानकारी आवश्यक छ कि छैन ? तपाई आफैं बैंकर्स संघको उपाध्यक्ष समेत हुनुहुन्छ, वित्तिय साक्षरता सम्बन्धी जानकारी दिनुपर्दछ कि पर्दैन ?
वित्तिय साक्षरता बढाउनु जरुरी छ । आइटीमा त झनै जरुरी छ । काठमाडौंको पाँचतारे होटलमा बसेर दुर्गम गाँउमा के आवश्यक छ भनेर हामीले अनुमान गर्न सक्दैनौं । पैसाका कुरा हो यो । चकलेट,गोलभेडाको कुरा होइन । परिवार पछि सबैलाई पैसाकै माया लाग्दछ, जस्तो लाग्दछ । ग्राहकलाई यो कारोवार गरेर मेरो पैसा सुरक्षित छ भन्ने विश्वाश हुनुपर्दछ । त्यो प्रविधि चलाएर ग्राहकलाई फाइदा हुनुपर्यो । वित्तिय क्षेत्रमा प्राविधिक क्रान्ति ल्याउने हो भने मान्छेलाई टेक्नोलोजी के चाहिने हो त्यो हेर्नुपर्दछ । म सँग यस्तो प्रविधि छ कसरी बेच्न सक्छु भन्यो भने कहिले सफल हुदैन । मेगा बैंक त्यही रुपमा अगाडि वढिरहेको छ ।

पछिल्लो चरणमा बैंकिङ सफ्टवेयर भित्र गएर सूचना चुहाउने,ह्याक गर्ने,ग्राहकको पैसा चोर्ने गरिएको पाइएको छ । यसो हुनुको पछाडि नेपालका बैंकहरुले प्रयोग गर्ने सफ्टवेयर कमसल भएको बताइन्छ,खास कारण के हो ?
होइन,अमेरिकन सरकारले समेत चलाइरहेको सफ्टवेयर हामी चलाइरहेका छौं । इकोनोमिक प्रश्न आँउछ यस्मा । यस्ता फायरवालहरु पनि छन बैंकको एक वर्षको नाफा नै त्यही फायरवालको खरिद गर्दा जान्छ । व्यालेन्स गर्ने कुरा, हामीलाई कतिसम्मको थ्रेट छ त्यसलाई ध्यान दिनुपर्दछ । घर कत्रो छ त्यसमै भर पर्दछ । घर भन्दा ठूलो पर्खाल बनाउनु पर्ने अवस्था नेपालको बैंकिङ क्षेत्रमा आइसकेको छ जस्तो लाग्दैन । थ्रेट छैन त म भन्दिन ।


‘मर्जरका कारण रोकिएको हो ’

उपेन्द्र पौडेल,

अध्यक्ष, नेपाल बैर्कस एसोसियन 

तथा प्रमुख कार्यकारी अधिकृत,एनएमबी बैंक

नयाँ सफ्टवेयर भित्राउने कुरा चलिरहेको थियो, अहिले के भइरहेको छ ?
मर्जरका कारण रोकिएको हो,चार वटा संस्था मर्ज गर्दछौं । त्यसले गर्दा यो उपयुक्त समय होइन भन्ने सोचेर हो नयाँ सफ्टवेयर खरिदको कुरा रोकिएको । मर्ज पूरा भएपछि त्यसबारेमा सोच्छौं ।

लामो समय देखि यहाँ बैंक्ङिक क्षेत्रमा क्रृयाशिल हुनुहुन्छ । बैंकिङ् र प्रविधि बीच कस्तो सम्बन्ध पाउनुभएको छ ?
नङ र मासुको जस्तो सम्बन्ध छ । बैंकिङ सेवा सुविधा न्यूनतम शुल्कमा गर्नका लागि प्रविधिको उपयोग नगरी हुँदै हुदैन । प्रविधि विनाको बैंकिङ अगाडि बढ्न सक्दै सक्दैन । अव यस्तो अवस्था आइसक्यो कि प्रविधि विनाको बैंकिङ्को कल्पना समेत गर्न सकिदैन ।

एनएमबी बैंकमा झण्डै एक लाख ६० हजार ग्राहक छन । बैंकको सबै ग्राहक साक्षर छन भन्ने पनि छैन । त्यस्ता ग्राहकहरुलाई वित्तिय साक्षरता कार्यक्रम आवश्यक छ कि छैन ?
खाँचो छ । मान्छे एक हिसाबले साक्षर त भयो तर वित्तिय हिसाबले अझै पनि साक्षर हुन सकेको छैन । तर हामीले त्यति ठूलो समस्या देखेको छैन । काउन्टर फ्यासिलिटि छ । त्यहीँबाट नबुझेका कुरा ग्राहकहरुले सोधपुछ गरी बुझ्ने गरेका छन । अधिकाश ग्राहकहरु प्रविधि प्रयोग गर्नमा सक्षम छन । वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमको आवश्यकता त छ । आफ्नो हस्ताक्षर समेत गर्न नसक्नेलाई समेत खाता खोल्न सक्ने सुविधा बैंकले दिएको छ । कम्युटरनै चलाउन नसक्ने ग्राहकलाई इन्टरनेट बैंकिङ चलाउ भन्न मिलेन । कम्युटर नै चलाउनका लागि त बैंकले सिकाउन सक्दैन । बैंकले जति प्रविधिको प्रयोग अन्य निकायले गर्न सकेको छैन । एनबी बैंकसँग अहिले ४ वटा व्रान्चलेन्स बैंकिङ छ । निकट भविष्यमा नै यस्को संख्या २४ वटा पुग्दैछ । हाम्रा कतिपय सूचना मोवाइल,इन्टरनेट मार्फत ग्राहकहरुमा जाने गरेको छ । बैंक भनेको सधैं नयाँ प्रविधिसँग अपडेट भइराख्नु पर्दछ । नयाँ कुरा म चलाउदिन भन्न थाल्यो भने बैंक पछाडि परिहाल्दछ ।

यहाँ आफैं बैंकर्स संघमा अध्यक्ष हुनुहुन्छ वित्तिय साक्षरता कार्यक्रमलाई अगाडि बढाउनका लागि बैंकर्स संघले केही भूमिका खेल्छ ?
हाम्रो आफ्नो बैंकिङ् प्रमोसन कमिटि छ । जहाँ जहाँ ‘फङ्सनल एरिया’ छ त्यहाँ क्लास लिइदिने,साक्षरता वढाउनका लागि के कस्ता क्लासको आवश्यक पर्दछ त्यसमा सघाउने काम गरिरहेको छौं ।

नयाँ प्रविधि भित्राउने सम्बन्धमा के कस्ता योजना रहेको छ ?
ग्राहकहरुलाई छिटो छरितो सुविधा दिनका लागि भनेर नै प्रविधि भित्राउने हो । बैंकका लागि जे जस्ता प्रविधि प्रयोग गर्नुपर्ने हो त्यस प्रकारको प्रविधि प्रयोग गरिरहेका छौं । भित्रिएका नयाँ योजना नै एनएमबी बैंकले ल्याउने नै छ । चिप बेस कार्डको तयारी गरिरहेका छौं । अनलाइन मार्फत हामीले भुक्तानी गर्न व्यवस्था गरिरहेका छौं ।

कृषीमा कार्यरत एउटा कृषकले सहजै ऋण पाँउछ उसँग धितो राख्नका लागि जग्गा,घर हुन्छ तर विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिलाई ऋण चाहिएको खण्डमा उ सँग धितो राख्ने कुनै चिज हुदैन र उस्लाई बैंकले समेत विश्वाश गर्दैन भन्ने आरोप लाग्ने गरेको छ नि ?
बैंक सार्वजानिक संस्था हो । लगानी गर्नेहरुको भन्दा २० गुणा सम्म वढि लगानी सर्वसाधरणको रहेको हुन्छ। भोली गएर कर्जा फिर्ता हुन्छ भन्ने लाग्यो भने मात्रै बैंकले कर्जा दिने हो । हामीले कसरी हेर्नुपर्दछ भने तपाइको आफ्नो पैसा हो भने त्यो व्यक्ति वा संस्थालाई ऋण दिनुहुन्छ कि हुदैन भनेर सोच्न आवश्यक छ । हामी त्यही ढंगबाट सोच्छौं र ऋण प्रवाह गर्दछौं । बैंकको पैसा भन्दैमा जस्लाई पायो त्यसलाई ऋण दिने कुरा पनि भएन । यसो भन्दैमा वौद्धिक समुदायलाई उपेक्षा गर्न खोजिएको होइन । कुनै प्रपोजल ल्याएर यो काम हुनसक्छ भनेर विश्वाश दिलाउन सक्यो, भने बैंकले ऋण दिनसक्छ । धितो नभएर काम नगरेको भन्ने होइन । समस्याको जड हो, हाम्रो सिष्टम । आजको दिनमा पनि कुनै व्यक्ति, संस्थाले कारोवार गर्दछ भने त्यो कारोवारको रिफ्लेक्सन देखिने अवस्था छैन । त्यसलाई रि इन्फोर्स कस्ले गर्ने ? आज जुन इक्युमेन्टमा लगानी गरेको छ त्यसैले फेल खायो भने के गर्ने ? हामीले लगानी गरेको सय प्रोजेक्ट मध्य दुइवटा मात्रै चिप्लियो भने त्यो बैंक त गयो । दोश्रो, हाम्रो पूरानो सोचाई हामी बाहिर आउन सकेका छैनौं । विना धितो ऋण दिदा मान्छे जेल गएका उदाहरण पनि छन । प्रोजेक्टमा फाइनेन्स गर्ने व्यवस्था राज्यले गरिदिनुपर्दछ । आज घरजग्गामा लगानी गरेकोमा कर्जा उठाउनका लागि बैंकले पोजिसन लिएर काम गर्न सक्ने अवस्था छैन भने कसरी विना धितो ऋण दिनसक्ने अवस्था रहन्छ ?

भनिन्छ, विज्ञान प्रविधि र बैंकिङ एक अर्काेको परिपुरक हुन । पछिल्लो चरणमा नविल बैंकले नाष्टसँग सहकार्य गरेर पाँच लाख राशीको पुरस्कारको व्यवस्था गरेको छ । उसैगरी विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल संस्थाहरुसँग एनएमबी बैंकले सहकार्य गर्न सक्छ कि सक्दैन ?
सक्छ,यस्तो खालको प्रस्ताव आएको खण्डमा । अव त बैंक पनि ठूलो हुदैछ । विज्ञान तथा प्रविधिको क्षेत्रमा क कस्ले के के गरेका छन भनेर प्रकाशमा आउदैनन् । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको सफलताको कथा कसैले शेयर गर्दैन । लडाई, झगडा गरेको,मन्त्रीले भाषण गरेका कुराहरु मात्रै प्रथामिकतामा पाँउछन । हाम्रा ठूला मिडियाहरुले विज्ञान तथा प्रविधिको समाचारलाई कति स्थान दिएका छन ? हामीले अहिलेसम्म प्रविधिमा काम गरेको व्यक्तिको नाम महाविर पुनको सुनेका छौं ? त्यस बाहेक अरु कसैको वारेमा सुनेका छौं । त्यस्ता कुरालाई अझै घचघचाउनु पर्यो ।

विज्ञान तथा प्रविधि वरदान त हुदैहो, तर पछिल्लो दिनमा प्रविधि अभिसाप बन्दै गएको छ । बैंकिङ प्रविधि भित्र गएर ह्याकिङ गर्ने,सूचना चुहाउने,ग्राहकको पैसा चोर्ने क्रम वढ्दै गएको छ । त्यसलाई रोक्नु बैंकरहरुका अगाडि चुनौती बन्दै गएको छ । कसरी रोक्न सकिन्छ यस्ता विकृती ?
फायरवाल लगाउने, इन्ट्रनल कन्ट्रोल गर्ने कुरा पनि सँगसँगै उठ्दछ । यहाँ एकदमै राम्रो सफ्टवेयर भित्राएका भनिएका बैंकहरुमा समेत कमजोरी भइरहेको छ । कसरी मनोटोरिङ गर्ने भन्ने कुरामा पनि निर्भर गर्दछ । निश्चय नै क्वालिटीको सफ्टवेयर चाहिन्छ भन्ने कुरामा कोही कसैमा दुइमत नहोला ।

हामी कहाँ के भयो भने विज्ञान तथा प्रविधिको विकास हुनसक्छ ?
हामी कहाँ विज्ञान तथा प्रविधि कहिल्यै प्रथामिकतामा परेन । विज्ञान तथा प्रविधि तत्काल प्रतिफल दिने क्षेत्र होइन ।यो लामो समय पछि प्रतिफल दिने विषय हो । हामी तत्कालै प्रतिफल खोज्छौं । आज लगानी गर्यौ भने दश वर्षपछाडि मात्र प्रतिफल दिन्छ विज्ञान तथा प्रविधिले । ढिलो चाँडो हामीले यो क्षेत्रमा लगानी गर्नैपर्दछ । हामी कहाँ जे जति प्रविधि भित्रिइएका छन सबै विदेशबाट । हामी आफैंले प्रविधि निर्माण गरेको निकै कम उदाहरण छ । बनेका प्रविधिहरुको समेत प्रमोशन गर्ने वातावरण बन्न सकेको छैन । हामी आफैंले,आफ्नो माटो सुँहाउदो प्रविधि बनाउन सक्यौं भने मात्र हामी अव्वल हुन्छौं । आज कोरिया सामसुङ मोवाइल र हुन्डाई दुइवटा बस्तुका कारण त्यहाँको आर्थिक अवस्था नै कहाँबाट कहाँ पुग्यो । टोयटा गाडीका कारण जापान सम्बृद्ध बन्न पुग्यो त्यो कुराको रियलाइज हामीले गर्न सकेनौं । हामी कहाँ क्षमता नभएको होइन तर इन्करेज गर्ने मान्छे भएन ।


‘नयाँ सफ्टवेयर भित्राउने योजना छ ’

ज्ञानेन्द्र ढुंङ्गाना
प्रमुख कार्यकारी अधिकृत
एनबी बैंक

पहिलोका दाँजोमा प्रविधिको प्रयोगमा आकाश जमिनको अन्तर आइसकेको छ । सुरुका दिनमा बैंकहरुको ध्यान पैसा कसरी कमाउने भन्नेमा मात्र केन्द्रीत थियो । अहिले बैंक तथा वित्त कम्पनीहरु सर्वसाधरणको विश्वाश जित्नका लागि पैसा कसरी सुरक्षित राख्न सकिन्छ भन्ने तर्फ बैंकहरुले आफ्नो ध्यान केन्द्रीत गर्न थालेका छन । यस्का लागि सबैभन्दा उत्तम माध्यम भनेकै प्रविधिको प्रयोग हो । प्रविधि र बैंक बीच नङ र मासुको जस्तो अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । एनबी बैंक पनि नयाँ नयाँ प्रविधिसँग अपडेट हुदै गइरहेको छ । त्यही अनुसार हामीले आफूलाई परिवर्तन गर्दै लगेका छौं । नयाँ प्रविधिसँग बैंकले आफूलाई रुपान्तरण गर्न नसकेको खण्डमा प्रतिष्पर्धाको यो दुनिँयामा बैंक पछाडि पर्दछ ।

१ लाख ५० हजार भन्दा वढि ग्राहक संख्या रहेको एनबी बैंकको ६७ हजार एटिएम कार्ड प्रयोगकर्ता ,२८ सय मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ४ हजार नाघेको छ । आफ्नै डेटा सेन्टर रहेको एनबी बैंकले सुविसु कनेक्टीभिटीको प्रयोग गरिरहेको छ । पुमोरी सफ्टवेयरले धान्न नसक्ने भए पछि नयाँ सफ्टवेयर भित्राउने बैंकको योजना रहेको छ । रामकोट,दधिकोट,कुशादेवी,भीमफेदी लगायतका ६ वटा स्थानबाट हामीले व्रान्चलेस बैंकिङ सेवा दिइरहेका छौं । यस्लाई बढाउदै लैजाने छौं । त्यस्तै,अनलाइन भुक्तानी गर्नका लागि इ सेवा प्रयोग गरिरहेको छौं ।

विज्ञान तथा प्रविधिको क्षेत्रबाट कर्जाको माग आएको खण्डमा सहयोग नगर्ने भन्ने प्रश्न नै उठ्दैन तर अहिलेसम्म माग भएको छैन । रिर्सचको क्षेत्रमा लगानी गर्न पाएको खण्डमा नगर्ने भन्ने कुरै आँउदैन । त्यस क्षेत्रमा सहयोग गर्दा कोर बैंकिङलाई नै सहयोग पुग्ने हो । सीप छ भने सफ्टवेयर धितो राखेर भए पनि ऋण लिन पाउने व्यवस्था राज्यले पनि गरिदिनु आवश्यक छ । (कुराकानीमा आधारित)


‘त्यो मेरै प्रस्ताव हो ’
भुवन दाहाल,प्रमुख कार्यकारी अधिकृत सानिमा बैंक

अबको यूगमा बैंकिङ भनेकै पेपरलेश बैंकिङ हो । हाम्रा अधिंकाश बैंकहरु र हामी त्यस दिशामा गइरहेका छौं । शुल्क घटाउनका लागि मात्र होइन कामलाई छिटो र छरितो ढंगबाट सम्पन्न गर्नका लागि समेत बैंकिङ क्षेत्रमा प्रविधिले विशेष भूमिका खेल्दछ । सानिमा बैंकले नेपालकै मर्कनाइटलको पुमोरी प्लस सफ्टवेयर चलाइरहेको छ । सभ्भवत यही आर्थिक वर्ष भित्रमा हाम्रो सफ्टवेयर परिवर्तन हुनेछ । यसका अलवा इन्टरनेट बैंकिङ,मोवाइल बैंकिङ,एटिएम कार्ड,भिजा कार्ड सञ्चालनमा ल्याइरहेका छौं । क्युएफआईको सहयोगमा व्राञ्चलेस बैंकिङ सुरुवात गरेका छौं यस्लाई पाइलट प्रोजेक्टको रुपमा अगाडि लैजाने सानिमा बैंकको योजना छ । त्यस्तै सानिमा बैंकको अनलाइन मार्फत भुक्तानी गर्न व्यवस्था सुरुका केही वर्षहरुमा ‘हेलो पैसा’ सञ्चालनमा ल्याएको थियौं , त्यसलाई परिवर्तन गरी हाल इ सेवा चलाइरहेका छौं । अलिक फरक ढंगको व्रान्चलेस बैंकिङ सुरुवात गरौं कि भन्ने हाम्रो ध्येय हो । क्यु एफ एक्स स्वचालित यन्त्र हो । यो यन्त्र भएपछि काउन्टरमा कुनै कर्मचारी बसि रहनु पर्दैन ।

नविल बैंकमा म कार्यरत रहँदा नाष्ट र नविल बैंक बीच सहकार्य गरी पाँच लाख राशीको पुरस्कार स्थापना गर्ने प्रस्ताव मैले नै गरेको हुँ । सानिमा बैंकसँग विज्ञान तथा प्रविधिकै क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगतको रकम खर्चे गर्ने त्यस्तो योजना त छैन । यद्यपि, प्रेस काउन्सिल सँगको सहकार्यमा पत्रकारीता पुरस्कार दिने निर्णय छिट्टै गर्ने तयारी गरिरहेका छौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी गर्नका लागि नीजि क्षेत्र बैंक तथा वित्त कम्पनीहरुको सभागिता बढाउने सम्बन्धमा आजसम्म बैंकर्स एसोसियनमासम्म छलफल भएको छैन । सरकारले नै स्पस्ट नीति बनाएर अगाडि बढेको खण्डमा अवश्य पनि बैंक तथा वित्त कम्पनीहरुले यस क्षेत्रमा लगानी गर्नेछन । पछिल्ला चरणमा बैंकबाट पैसा चोरी हुनेक्रम वढ्दो छ । त्यसमा प्रविधिको भन्दा पनि बैंकको आइटी क्षेत्रमा कार्यरत जनशक्तिहरुकै हात रहेको भेटिन्छ । यसो भन्दैमा विज्ञान तथा प्रविधिलाई अभिसाप नै हो भन्न त मिल्दैन । पछिल्लो चरणमा राष्ट्रबैंकले बैंक तथा वित्त कम्पनीहरुको आइटीको समेत अडिट गराउनुपर्न नीति ल्याएको छ । आशा गरौं, नेपालका बैंक तथा वित्त कम्पनीहरुको अवको वर्षहरुमा आइटीको प्रयोग गर्नमा अझै अव्वल हुनेछन । (कुराकानीमा आधारित)


‘सेक्युरिटि डिभाइस थप्दै छौं ’
युरेशमान कायस्थ
प्रमुख ,आइटी विभाग
एनसीसि बैंक

एनसीसि बैंकमा हाल मोवाइल बैंकिङ,इन्टरनेट बैंकिङ,भिजा कार्ड,डलर कार्ड लगायतका प्रविधिको उपयोग गरिरहेको छ । हाल सञ्चालनमा रहेको पुमोरी प्लस सफ्टवेयरलाई परिवर्तन गर्न सम्वन्धमा समेत बैंकले सोचिरहेको छ । त्यस्तै,व्रान्चलेस बैंकिङ सुरुवात गर्नेका लागि सिष्टम अपडेट भइसकेको छ । यस्तै यसकै लागि एजेन्ट समेत नियुक्त भइसकेको छ । एक तहमा टे«निङ समेत दिइसकेका छौं । लञ्च हुन मात्रै बाँकी छ । एनसीसि बैंकको अनलाइन मार्फत भुक्तानी गर्नका लागि इ सेवा चलाइरहेका छौं । बैंकको प्रविधि आजसम्म सुरक्षित छ, र सधैं सुरक्षित राख्ने हामीले प्रयास गरिरहेका छौं । सेक्युरिटि डिभाइस थप्ने हाम्रो बैंकको योजना छ । मोवाइल बैंकिङमा हाल १९ हजार प्रयोगकर्ता रहेका छन । यो संख्यालाई वढाउने लक्ष्य छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि राज्यले सहज रुपमा ऋण दिने व्यवस्था मिलाएको खण्डमा यो क्षेत्रमा लागेका जनशक्तिहरु निराश हुँदै विदेशिनु पर्दैनथ्यो । राज्यले प्रोत्साहन दिएको खण्डमा सधैं विदेशीहरुले निर्माण गरेको सामाग्री मात्र भित्राएर बस्नु पर्ने थिएन । नेपालीहरुले पनि आइटीको क्षेत्रमा धेरै देन दिनसक्छ । त्यसका लागि यूवाहरुलाई प्रोत्साहनको खाँचो छ र आइटी सम्बन्धी कडा नीति राज्यले ल्याउनु पर्दछ ।
(कुराकानीमा आधारित)


‘मोवाइल बैंकिङ भित्राउने तयारी गरिरहेका छौं ’
एनआइडिसि बैंक

एनआइडिसि बैंकमा इन्टर एभि भि यस सुविधा छ । यस्का अलवा एन पि एनमा आवद्ध रहि डेविट कार्ड इस्यु गरिसकेका छौं । मोवाइल बैंकिङ भित्राउने तयारी गरिरहेका छौं ।प्राविधिक रुपमा पूर्ण तयार भइसकेको छौं । अहिले बैंकका स्टाफहरुले मात्र चलाइरहेका अवस्था छ । साथसाथैं इन्टरनेट बैंकिङ,भिजा कार्ड भित्राउने बैंकको योजना छ । यद्यपि जनशक्ति र पूर्वाधारको अभावमा सफल हुन सकिरहेको छैन । त्यस्तै व्रान्चलेस बैंकिङ सुरु गर्ने योजना छ यद्यपि प्राविधिक समस्याका कारण सुरु हुन सकिरहेको छैन । नेपालको बैंकिङ क्षेत्रमा यदाकदा वदमासीका घटनाहरु नघटेका होइनन् तर यस्ता घटन घट्नुको पछाडि बाहिरका भन्दा पनि बैंक भित्रका कर्मचारीहरुको हात हुने गरेको वढि उदाहरण भेटिन्छन । प्राविधिक भन्दा पनि मानवीय गल्ती वढि जिम्वेवार देखिदै आएको छ । जिम्वेवारी पाएका मान्छेहरुबाट नै बदमासी हुने गरेको छ । प्राविधिक जनशक्तिहरुको आफ्नै खालको दुखेसो छ । त्यस्ता जनशक्तिलाई बैंकिङ क्षेत्रमा भ्याकेन्सी कल गर्दा एकरुपता छैन । कतै इन्जिनियर नै भनेर मागेको हुन्छ ,कतै वि सिए,विएस्सी,एमएस्सी भनेर मागिएको हुन्छ । अझै पछिल्लो चरणमा बैंकहरु मर्जमा जान थालेपछि झनै समस्या थपिएको छ । मर्ज पछाडि रोजीरोटी खोसिनेक्रम वढ्दै गएको छ । सेवा वढाएर भए पनि प्राविधिक जनशक्तिको रोजगारीको व्यवस्था गर्नका लागि बैंकहरुले भूमिका खेलिदिए राम्रो हुनेथियो ।


‘पुमोरी चलाउनै नहुने सफ्टवेयर होइन ’
सुयोग श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत,एस डेभलपमेन्ट बैंक

लामो समय देखि यहाँ बैकिङ क्षेत्रमा क्रियाशिल हुनहुन्छ । बैंक र प्रविधि बीचको सम्बन्ध कस्तो पाउनुहुन्छ ?
पछिल्ला २५ वर्षको तुलना गर्ने हो भने बैंकिङ र प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । पहिला पहिला ठूल ठूला ढड्डा हुन्थ्यो । पैसा निकाल्नका लागि बैंकमा घण्टौसम्म लाईन लाग्न जानुपर्दथ्यो । बैंक स्टेटमेन्ट निकाल्नका लागि समेत सबै लेखेरै निकाल्नुपर्दथ्यो । पहिला बैंकमा पैसा राख्दा उही फाइनन्सको खातामा पैसा राखेको जस्तो गरी राख्नुपर्दथ्यो । टेक्नोलोजीका कारण धेरै कुरा सभ्भव भएको छ । जमाना इ बैंकिङमा प्रवेश गरिसकेको छ । प्रविधिका कारण धेरै कुरा सहज भइसकेको छ । इ बैंकिङ,मोवाइल बैंकिङ हुदैं ट्याव बैंकिङमा प्रवेश गरिसकेको छ ।

सुरुमा एटिएम मेसिन आयो । एटिएम मार्फत नै डिपोजिट गर्न मिल्ने भए पनि यो चलन हामीकहाँ सुरु भइसकेको छैन । टेक्नोलोजीसँगै जोडिएर जोखिम आएको हुन्छ । प्रविधिले धेरै कुरालाई सजिलो बनाएको छ ।र सँगसँगै केही जोखिम पनि ल्याएको छ ।

एस डेभलपमेन्ट बैंकले के कस्ता प्रविधि प्रयोग गरिरहेको छ ?
अहिले सफ्टवेयर चाँही पुमोरी प्लस चलाईरहेको छौं । हाम्रो साइजको विकास बैंकको लागि पुमोरी नै राम्रो सफ्टवेयर हो भन्ने लाग्छ । केही कर्मसियल बैंकहरुले विदेशका ‘टि ट्वान्टीफोर’ चलाइरहेका छन । पुमोरी सफ्टवेयर चलाउनै नहुने सफ्टवेयर हो भन्ने लाग्दैन । एस डेभलपमेन्ट बैंकको मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या दश हजारको हाराहारीमा,एटिएम कार्ड प्रयोगकर्ता १७ हजार,इन्टरनेट बैंकिङमा सात हजार प्रयोगकर्ता पुगिसकेका छन । प्रविधिले धेरै सहजता त थपेको छ । अझैं पनि टेलिफोन, विजुलीको बिल तिर्दा अझै पनि मान्छेहरुका लागि पैसा तिरियो कि तिरिएन भन्ने त्रास कायमै छ । समग्रमा एस डेभलपमेन्ट बैंक आइटीमा सवल छ । आइटीका कारण बैंकले आजसम्म कुनै समस्या भोग्न परेको छैन । त्यस्तै अनलाइन मार्फत भुक्तानी गर्नका लागि एफ वान सफ्ट र इ सेवा सँग सहकार्य गरी भुक्तानी गर्ने सक्ने व्यवस्था गरेका छौं ।

बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्दछ कि पर्दैन ?
अवश्य पर्दछ । तर,बैंक एक्लैले गर्न सक्दैन । यसका लागि सरकारी निकायहरुसँग सहकार्य हुनु आवश्यक छ । वित्तिय साक्षरता सम्बन्धी प्रंसग वारम्वार डेभलमेन्ट बैंकर्स एसोसियनमा उठ्ने गरेको छ । तर यो विषयमा बैंकहरु मात्र नभएर राष्ट्र बैंक,अर्थ मन्त्रालय लगायतका निकाय पनि तात्नु आवश्यक छ । यी निकाय बीच सहकार्य हुनु अत्यन्त आवश्यक छ ।

एउटा किसानले ऋण चाहेको खण्डमा उस्ले आफ्नो घर,जग्गा धितो राखेर ऋण पाउने अवस्था छ तर एउटा आइटीको क्षेत्रमा काम गर्ने जनशक्तिका लागि ऋण चाहेको खण्डमा उसँग धितो राख्ने बस्तु नभएकै कारण बैंकहरुले पत्याउदैनन भन्ने गरिन्छ,सत्य हो ?
नेपालको प्रंसगमा हेर्ने हो भने अन्य क्षेत्रले बैंकबाट सिक्नुपर्दछ । बैंकिङ क्षेत्रले जति टेक्नोलोजीको उपयोग गरेको छ त्यति अन्य क्षेत्रले उपयोग गरेको छैन । यस्मा दोष नेपालको बैंकिङ क्षेत्रलाई मात्र दिने कि अन्य क्षेत्रलाई ? सानो उदाहरण हेरौ न, नेपालमा क्रेडिट कार्ड प्रचलन नभएकोत होइन नि तर अझै पनि क्रेडिट कार्डप्रति हाम्रो विश्वाश छैन । मैले भन्न खोजेको एक अर्काे प्रति अझै विश्वाशको वातावरण बनिसकेको छैन । बैंकले गर्ने भनेको डिपोजिटरहरुको पैसा सुरक्षित राख्ने । त्यही पैसा राखेर नाफा कमाउने हो । जव सम्म विश्वाशको वातावरण बन्दैन तव सम्म विना धितो ऋण दिने वातावरण बन्न सक्दैन । घर जग्गा हुने मान्छेले मात्रै ऋण पाउनु हुँदैन । विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्नेहरुका लागि बैंकहरुले सहयोगी भूमिका निर्काह गर्नुपर्ने हो । यद्यपि बैंक तथा वित्तसंस्थाहरुमा शेयर होल्डरको पैसा त थोरै हुन्छ ,धेरै पैसा भनेको बैंकका डिपोजिटरहरुको हुन्छ । त्यो पैसालाई सुरक्षितपूर्वक लगनाी गर्ने हो हामीले । समस्या त्यसैले पारेको हो ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा तपाईहरुसँग केही योजना छ ?
सामाजिक सुरक्षामा खर्चे गर्ने हाम्रो योजना हुन्छ । त्यस अन्र्तगत कुनै बैंकले कता लगानी गरिरहेको हुन्छ,कुनै बैंकले कता । हामीले त्यही अन्र्तगत नक्साल क्षेत्रको चौरमा लगानी गर्यौं । पहिला यहाँको फोहोरको डंगुर थियो अहिले हरियाली बनाएका छौं । पैसा धेरै ÷थोरै भन्ने आफ्नो ठाँउमा हुन्छ । कुनै त्यस्तो प्रंसग मिल्यो भने हामी पनि यो क्षेत्रमा लगानी गर्दछौं । हरेक अर्गनाइजेसनको आफ्नो आफ्नो योजना हुन्छ ।

विज्ञान तथा प्रविधि वरदान त हुदैहो, तर पछिल्लो समयमा प्रविधि अभिसाप बन्दै गइरहेको छ । बैंकिङ प्रविधि भित्र गएर ह्याकिङ गर्ने,सूचना चुहाउने,ग्राहकको पैसा चोर्ने क्रम वढ्दै गएको छ । त्यसलाई रोक्नु बैंकरहरुका अगाडि चुनौती बन्दै गएको छ । कसरी रोक्न सकिन्छ यस्ता विकृती ?
हामीले प्रविधिलाई दोष दिनु गल्ती हो । किनभने प्रविधि आफैंले कहिले पनि वदमासी गर्दैन,वदमासी गर्ने मान्छे, उस्कोे दिमाग हो । प्रविधिमा मात्र होइन हरेक चीजको केही फाइदा,केही वेफाईदा हुन्छन । यो कुरा चाँही बस्तुलाई हामी कुन आँखाले हेर्दछौं भन्ने कुरामा निर्भर गर्दछ । यदी प्रविधि नभइ दिएको हुँदो हो त हाम्रो बैंकका लागि १४० स्टाफको भरमा मात्रै काम गर्न सक्ने अवस्था रहदैन थियो । अधिकाशं मान्छेको वानी चाही उनान्सय वटा राम्रोको बीचमा एउटा नराम्रो खोज्नुमा हुन्छ । खास समस्याको जड यही हो ।

नेपाल क्लियरिङ हाउसले केही महिना अगाडि जारी गरेको विद्युतीय चेक क्लियरिङका कारण ग्राहकहरुले सास्ती भोग्नुपर्यो भन्ने गरिन्छ नि ?
ग्राहक भन्दा पनि बैंकलाई अन्योलता भएको हो सुरुमा । मलाई त ग्राहकलाई त्यस्तो तपाईले भन्नुभएजस्तो अन्योलता भएको थियो भन्ने लाग्दैन । नयाँ प्रविधि एकैपटक आँउदा सधैं यस्तै खालको समस्या हुन्छ । ग्राहक भन्दा पनि बैंकलाई अन्योलता भएर त्यही कन्फ्युजन ग्राहकमा लागु भएको चाही हुन सक्छ । दशकौं देखि हामी एउटा सफ्टमा काम गर्दै आइरहेका थिए तर एक्कासी विद्युतीय चेक लागु हुँदा अप्ठ्यारो भएको हो । यद्यपि एक न एक दिन हामी विद्युतीय चेक कारोवारमा जानै पर्दछ । एमआइसिआरमा जाँदा धेरै सुरक्षित छ । एमआइसिआर पनि अहिले डिम्याट भएको अन्योलता जस्तै हो । डिम्याट के हो भन्ने धेरै ग्राहकलाई थाहा छैन त्यस्तै खालको समस्या सृजना भएको हो । तर यो नगरी नहुने कुरा हो ।

अन्त्यमा, नेपालमा विज्ञान तथा प्रविधिको विकास हुन नसक्नुको खास कारण के हो ?
यसमा हामी सबै जनता नै जिम्वेवार हौं । हामी हरेक चीजमा सरकारको मुख ताकेर बस्छौं । देश बनाउने भनेको जनताले हो । हामी कहाँ जे पनि सरकार,राजनीतिक दललाई दोष दिन्छौं तर हामी आफैंले के गरेका छौं त ? ३० वर्ष अगाडि सम्म नेपालको बैंकिङ क्षेत्रमा कोही पनि आउन चाहदैनथियो । न त व्यवसायिकता थियो न कमाई नै तर हिजोको र आजको समयमा आकाश जमिनको अन्तर भइसकेको छ । आज क्रिम मान्छेहरु बैकिङ क्षेत्रमा आउन चाहन्छन । त्यसका लागि यो क्षेत्र प्रतिको चार्म कुनै नेता वा राजनीतिक पार्टीले गरेको त होइन नि । विज्ञानकै क्षेत्रमा लाग्ने मान्छेले पनि यति गरेर देखाउन सक्नु पर्यो कि भोली त्यो स्थानमा जानका लागि सबैले खुट्टा उचाल्न सक्ने अवस्था आओस । विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि यस्तै सुधार हुनेमा आशावादी छु ।


‘ व्रान्चलेस बैंकिङ् उपयोगी छैन ’
कृष्ण प्रसाद लामिछाने
प्रमुख कार्यकारी अधिकृत, कैलाश विकास बैंक
तथा
अध्यक्ष, डेभलपमेन्ट बैकर्स एसोसियसन

विज्ञान तथा प्रविधिलाई नकरात्मक दृष्ट्रिकोणले हेर्ने कुरै भएन । हामी अत्यन्त सकरात्मक ढंगले विज्ञान तथा प्रविधिलाई हेर्दछौं । त्यसमाथि प्रविधि विना बैंकिङ अगाडि वढ्नै सक्दैन । प्रविधिले धेरै सहजता थपेको छ हाम्रो जिन्दगीमा । हिजोको जस्तो पैसा बोकर हिड्नु पर्दैन । एक ठाँउमा पैसा राखेर हिडेपछि पैसा बोकेर हिड्ने समस्या अहिले रहेन । कार्ड मार्फत जहाँबाट जसरी पनि पैसा निकाल्न सक्ने अवस्था छ । प्रविधि विना बैंकिङ सञ्चालन हुनै सक्दैन । प्रविधिकै कारण बैंकको सञ्चालन खर्च समेत घटेको छ । प्रविधिले बैंकिङलाई धेरै हदसम्म सुरक्षित बनाएको छ । बैकिङबाट प्रविधि छुट्टिन सक्दैन ।

कैलाश विकास बैंकले मोावइल बैंकिङ्,एसएमएस बैंकिङ् ,इन्टरनेट बैंकिङ् सञ्चालनमा ल्याइरहेका छौं । यीनिहरुलाई अपग्रेड गर्दै जाने हाम्रो योजना हो । तत्काल व्रान्चलेस बैंकिङमा जाने हाम्रो योजना छैन । कतिपय अवस्थामा व्रान्चलेस बैंकिङ् उपयोगी नभएको पाइएको छैन । जस्तो कतिपय गाँउहरुमा बैंकलाई विश्वाश गर्दैनन् भने त्यहाँ एउटा तोकिएको एउटा एजेन्टलाई विश्वाश गर्नेु जटिल कुरा हो । यस सम्बन्धमा भोली आवश्यक परेको खण्डमा विचार गर्न सक्छौं । अहिले नेपालमा भएका बैंकहरु उच्चतम प्रविधि प्रयोग गरिरहेका छौं । मलाई लाग्छ, राम्रो सक्षम कर्मचारी आइटीमा भएन भने बैक बैंक नै रहदैन । तर,समस्या के भने दुर्गम स्थानमा रहेको विकास बैंकहरुलाई हाइटेक बुझेका जनशक्ति पाउन गाह्रो । काठमाडौं वेश भएको हुँदा, कैलाश विकास बैंकलाई त्यस्तो खालको प्राविधिक समस्या छैन । साधरणतया प्रोजेक्ट लञ्च गर्दा कम्तीमा पनि पाँच वर्षका लागि हेर्ने गरेका छौं । भर्खरै हामीले डिजाष्टर रिकभरी साइड लञ्च गरेका छौं । वाणिज्य बैंकहरुसँग यस्तो खालको प्रविधि रहेको भए पनि निकै कम विकास बैंकहरुसँग मात्र यस प्रकारको प्रविधि छ ।

दुःखद पक्ष, नेपालमा अहिले पनि धेरै जनता बैंकिङ साक्षरता बाट वाहिर छन । बैकहरुले बैंकिङ साक्षरता बढाउने काम चलाइरहेका छन तर समस्या के भने सर्वसाधरणहरु यो बैंकले आफ्नो स्वार्थका लागि भनेको हो भन्ने अर्थमा बुझिदिदा हुने गरेको छ । वित्तिय साक्षरता बढाउने सम्बन्धमा सरकारी निकायबाट केही काम भइरहेको छैन । अर्थ मन्त्रालयले उति चासो दिइरहेको देखिदैन ।

सरकारले नै विज्ञान तथा प्रविधिको क्षेत्रमा आजसम्म केही पनि नगरेको अवस्था छ । जति पनि सफ्टवेयर बनेको छ सबै नीजि क्षेत्रबाट भएको हो । हामी कहाँ विज्ञान तथा प्रविधि मन्त्रालय छ, उस्को काम तलव भत्ता खानेमै सिमित छ । स्वरोजगार कोषले विना धितो गरेको लगानी कसरी फस्यो त्यही ढंगमा विना धितो ऋण दिएर हामी डुब्न चाहदैनौं । सबै मान्छे इमान्दार भएको भए, पैसा तिर्दछन भन्ने बैकलाई लाग्न पर्यो । सर्टिफिकेट लिएर बैकले पैसा दिएको पनि हो । तर बैंक आफैं समस्या पर्यो । त्यही कारण पनि बैंकले विना धितो ऋण दिन नसकेको हो । प्रविधिमा हामी अनुभव गर्दै सिक्दै परिवर्तन गर्दै जाने हो । विज्ञान तथा प्रविधि माथिको लगानी भनेको सागपात माथि गरेको लगानी जस्तो आज गरेर भोली प्रतिफल आउने बस्तु होइन । (कुराकानीमा आधारित)