अब प्लास्टिकबाटै इन्धन

अब फालिएको फोहोरबाट समेत इन्धन निस्कने भएको छ । जापानको एउटा संस्थाले फोहरका रुपमा मिल्काइने प्लाष्टिकबाट पेट्रोल बनाउने मेसिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)लाई हस्तान्तरण गरेको छ ।
जापानस्थित इको पार्टी नामक संस्थाले नेपाललाई प्लाष्टिकबाट इन्धन बनाउने मेसिन उपलब्ध गराएसँगै प्लास्टिकबाटै इन्धन निर्माण गर्न सकिने भएको हो ।
मेसिन हस्तान्तरणसंगै प्लास्टिकबाट इन्धन निकाल्ने सम्बन्धी द्विपक्षीय समझदारी समेत गरिएको छ । सो समझदारीमा नास्टका प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पार्टीका अध्यक्ष चिसेको माचुमोतोले हस्ताक्षर गरेको हो । इको पार्टी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ ।

हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ ।
इको पार्टी जापानका अध्यक्ष माचुमोतोले नेपालका हिमालबाट सुरु भइ प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिमा काम गर्न लागेको बताउनुभयो ।

नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा रवीन्द्रप्रसाद ढकाल परीक्षणका रूपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्राउन पाउँदा आफूहरूलाई खुसी लागेको बताउनुभयो । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ । नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोतल एक किलोग्राम प्रशोधन गर्दा ७०० मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोतलको बिर्को प्रयोग गर्दा ८०० मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ ।