‘हाउगुजी’ विज्ञान शिक्षा

हरि गजुरेल 

सिकाइका पुराना सिद्धान्त, मान्यता र शैली बदलिँदै गएका छन् । अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेर आफ्ना औँलाहरुमा संसार घुमाइरहेको छ । धूलोट, सिलोट, दूधेखी, खरी वा हरिया पात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैनन् । अहिलेको संसार ज्ञानमा अडेको छ । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ ।

त्यसैले अहिलेको पुस्ताको सिक्ने शैली फरक छ । विद्यालयको कक्षा कोठाको चौघेराले वा ४५ मिनेटका दरले हुने दैनिक सात घण्टी पढाइले मात्रै उनीहरुको सिकाइ भोक र तलतल मेट्न सक्ने पनि देखिदैन । सिकाइका अनन्तः बाटाहरु छन् ।

असीको दशकको अन्त्य र नब्बेको दशकको सुरुवातसँगै संसार इण्टरनेटको यूगमा प्रवेश ग¥र्यो । सन् १९९२ पछि इमेलमा सर्वसाधारणको पहुँच बढ्यो र सीमित किताबमा मात्रै रहेका ज्ञानका स्रोतहरु बदलिँदै गए । सन् २००० पछि नयाँ प्रविधि जडान भएका स्मार्ट फोनहरुको सुरुवातसँगै विभिन्न सिकाइको नयाँ चरण सुरु भयो । नेपालमा पनि २०४६ साल पछि भएको ठूलो विकास भनेको सञ्चार र शिक्षाको विकास हो । परिणाम सबै सित सूचनाको पहुँच छ । सञ्चारको पहुँच छ । मोबाइल सेवा प्रदायकहरुको सेवा गाउँ गाउँसम्म फैलिएको छ ।

स्कूलमा विज्ञान शिक्षा
पक्कै पनि हाम्रा विद्यालयमा गतिलो कक्षा कोठा छैनन् । कक्षा कोठा भएकामा कालो पाटी छैनन् । कालो पाटी भएकामा लेख्ने चक छैन । चक र कालो पाटी दुवै भएकामा शिक्षक छ्रैनन् । र शिक्षक पनि भएकामा जाँगर छैन । यस्तो बेला मोबाइल एप्सको प्रयास कतिलाई अस्वभाविक पनि लाग्न सक्छ । अहिलेको जमानामा भौगोलिक, सांस्कृतिक, सामाजिक तथा पूर्वाधार अभावका कारण औपचारिक सिकाइबाट बञ्चित हुनु जतिको दुःख र लाजमर्दो कुरा अर्को हुनै सक्दैन । त्यसैले अभाव मात्रै भनेर हात बाँधी बस्ने हो भने नयाँ कुराको सुरुवात हुन सक्दैन ।

नेपालमा करिब ३६ हजार सामुदायिक र करिब ६ हजार निजी विद्यालयमा गरेर झण्डै ७५ लाख स्कुले विद्यार्थी छन् । त्यस मध्ये माध्यमिक तहमा ५ लाख, उच्च माध्यमिक तहमा ५ लाख छन् । ९ विश्वविद्यालयमा झण्डै ५ लाख उच्च शिक्षा विद्यार्थी अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्यांङ्कले देखाउछ । शिक्षामा राज्यको सञ्जाल सबैभन्दा ठूलो र शक्तिशाली छ । राज्यको कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ४ प्रतिशत अर्थात् कुल बजेटको १६ प्रतिशत शिक्षामा बिनियोजन हुदै आएको छ ।

कठै विज्ञान शिक्षा !
तर विज्ञान शिक्षाको अवस्था भने दयनीय छ । आर्थिक वर्ष २०७१÷७२ मा ४ लाख ५ हजार विद्यार्थी एसएलसी परीक्षामा सामेल भएकोमध्य एक लाख ९२ हजार उत्तीर्ण भए बाँकी २ लाख १३ हजार अनुत्तीर्णमध्ये १ लाख ६३ हजार ९ सय ७९ जना अर्थात् ७७ प्रतिशतको गणितमा बिग्रिएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार अनुत्तीर्णमध्ये ७० हजार ५७ जनाले मात्रै साउन २२ गते गणितको मौका परीक्षा दिन पाएकाथिए । तिमध्य पनि अधिंकाश विज्ञानमै अनुत्र्तीण भएका थिए । हरेक वर्ष यस्तै खालको नतिजा किन दोहोरिदै आएको छ त ?

शिक्षाविद विद्यानाथ कोइराला फलामे ढोका मानिएको एसएलसीमा सबैभन्दा वढि विज्ञानका विद्यार्थी अनुत्र्तीण भएका कारण पेश गर्दै दोष शिक्षकलाई लगाउछन । भन्छन् ‘शिक्षकहरुले पढाउन नजानेर नै यस्तो नतिजा आएको’ तर्क पेश गर्दछन् । ‘उनीहरुले विज्ञान र गणित जस्ता विषयलाई ‘हाउगुजी’को रुपमा अगाडि सारे । त्यही कारण विद्यार्थीहरुयो विषयसँग तर्सिए । लाइफ साइन्स, होम साइन्सलाई साइन्समा जोड्नु सकिएन, यही सबैभन्दा ठूलो गल्ती भयो । ’शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले नतिजा सुधार गर्न शिक्षा संकाय नपढेकाले पनि लाइसेन्समा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको बताए । ‘शिक्षा संकाय पढेकामा विषयवस्तुप्रति जति ज्ञान हुनुपर्ने हो, त्यसको अभाव छ,’ उनले भने, ‘त्यसको असर नतिजामा देखियो ।’ सरकारले गत माघ २६ मा शिक्षक सेवा नियमावली संशोधन गरी विज्ञान, गणित, अंग्रेजी, लेखालगायत विषयमा अन्य संकाय पढेकाले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ ।

एसएलसीमा विज्ञान विषयमा फेल हुनेको संख्या दोस्रो स्थानमा छ । द्वारेका अनुसार विज्ञानमा एक लाख ५६ हजार ६३ विद्यार्थी अनुत्तीर्ण भएका थिए । यसमध्ये ५६ हजार एक सय चारजना पूरक परीक्षामा सहभागी हुनसके । सैनिक आवासीय महाविद्यालय सल्लाघारीका विज्ञान शिक्षक उज्ज्वल थापा श्रेष्ठ व्यावहारिक कक्षा सञ्चालन नगर्दा विज्ञानमा बढी अनुत्तीर्ण हुने बताउँछन् । ‘प्राक्टिकल कक्षा कम भयो । कतिपय विद्यालयमा सामग्री नै छैन,’ केन्द्रको विज्ञमा सूचीकृत उनले भने, ‘शिक्षकले पाठ्यक्रमको विषयवस्तु बुझाउन नसक्दा पनि अनुत्तीर्ण हुन्छन् ।’ शिक्षकलाई कक्षाभार संख्या बढी हुँदा शैक्षिक सामग्री बनाउन समस्या हुने उनले बताए ।

विज्ञान शिक्षाले स्कूलमा पारेको प्रभाव

विद्यालय तहमा विज्ञान शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न नसकेसम्म उच्च माध्यमिक वा विश्वविद्यालय तहको विज्ञान शिक्षाको गुणस्तरमा सुधार आउन सक्दैन । विद्यार्थीमा वैज्ञानिक सोच र उत्सुकता विकास गर्न पनि विद्यालय तहदेखिनै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नु जरुरी छ । विद्यालयमा विज्ञान शिक्षा सैद्धान्तिक कक्षामा सीमित हुने भएकाले नै विद्यार्थीले विज्ञान विषय राम्ररी बुझ्न पाएका हुँदैनन । फलतः विद्यार्थीलाई विज्ञान विषय जटिल र निरस बन्न पुग्छ ।

विज्ञानलाई दैनिक जीवनसँग जोड्नु आवश्यक

विज्ञान शिक्षालाई जवसम्म आत्मसाथ गरी हामी अगाडि वढ्न सक्दैनौं तबसम्म यो ‘हाउगुजी’कै रुपमा रहन्छ । 

डा. हरि लम्साल,
सह सचिव, शिक्षा मन्त्रालय

विज्ञान शिक्षाको अवस्था कस्तो पाउनुहुन्छ ?
अध्ययन/अध्यापन गराउने काम स्कूल तह देखि नै सुरु गरियो । तर,दुःखद कुरा व्यवहारिक ढंगले बुझाउन र प्रयोग गर्न सकिएन । विद्यार्थीहरुलाई वातावरण संरक्षण गर्नुपर्दछ भनेर पढाइयो तर व्यवहारिक जीवनमा प्रयोग भएको पाइएन । सिकेको कुरालाई दैनिक जीवनमा प्रयोग गर्ने पाटोमा हामी धेरै चुक्यौं । ‘पेडागोजी’मा पनि समस्या छ ।

विज्ञान शिक्षा ‘हाउगुजी’ बनेर रहनुको कारण के हो ?
मुख्य कुरा त शैक्षिक सामाग्रीको अभाव हो । विज्ञान शिक्षालाई जवसम्म आत्मसाथ गरी हामी अगाडि वढ्न सक्दैनौं तबसम्म यो ‘हाउगुजी’कै रुपमा रहन्छ । कक्षाकोठमा पढाउने विधिलाई परिवर्तन गर्नु अति आवश्यक छ । विज्ञान हाम्रो दैनिक जीवन हो भन्ने ढंगले जवसम्म विद्यार्थीहरुलाई बुझाउन सक्दैनौं तबसम्म यो शिक्षा हाउगुजी बन्नपुग्दछ ।

विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुको अध्यापन शैलीमा पनि केही त्रुटी छ तिनको सुधार जरुरी छ भन्ने लाग्दैन ?
हो, निश्चय पनि पढाउने शैलीमा केही परिवर्तन हुनु जरुरी छ । तर हाम्रो अध्ययन÷अध्यापन सिमित स्रोत तथा साधनकै भरमा हुँदै आएको छ । चन्द्रग्रहण, सूर्यग्रहणको विषयमा अध्ययन÷अध्यापन गर्नु परेको खण्डमा कालोपाटीमा लेखेरै पढाउनु पर्ने अवस्था छ ।

शिक्षामा राज्यले कूल वजेटको झण्डै १६ प्रतिशतको हाराहारीमा वजेट विनियोजन गर्दै आएको छ । यद्यपि लगानी गरेअनुरुपको प्रतिफल नआउनुको कारण के हो ? दोषी को हो ? सरकार वा शिक्षक ?
सम्रगमा सरकार मात्र नभएर यस्को दोषको हिस्सा सबैको भागमा जान्छ । नीति निर्माता नहुँदा सरकार तर्फ फर्कन पर्दछ । बनाइएका नीतिहरु कार्यन्वयन नहुँदा शिक्षकहरु तिर फर्कन पर्दछ । नेपालको राजनीतिक,सामाजिक वातावरणबाट शिक्षा निरपेक्ष रहन सक्दैन । लगानी गरेअनुसार अपेक्षित नतिजा नआउनुमा हामी सबै दोषको भागिदार हुन्छौं ।

स्कूले तहमा विज्ञान शिक्षा जसरी एउटा हाउगुजीको रुपमा रहेको छ,यही कारण हो कि हरेक वर्ष एसएलसीमा गणित विषय पछाडि सबैभन्दा वढि विद्यार्थी विज्ञानमा अनुत्र्तीण हुँदै आएका छन । यस्लाई सुधार गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग के कस्ता योजना छन ?
पाठ्यक्रमलाई सरलीकृत ढंगले रुपान्तरण गर्ने हाम्रो पहिलो योजना हो । विद्यालय सञ्चालक, म्यानेजरहरुलाई अभिमुखिकरण तालिम दिदै आएका छौं । शिक्षकलाई तालिम दिने, समुदाय र विद्यालय बीचको सम्बन्धलाई अझै मजवुत बनाउन सहयोग गर्ने, सचेतना जगाउने काम पनि गर्नुे आवश्यक छ । यी दुई बीचको सम्बन्ध समधुर हुन सकेको खण्डमा शैक्षिक सामाग्री जुटाउन र प्रयोगशालाको निर्माणमा केही सहजता हुने देखिन्छ । सरकार एक्लैको प्रयासले मात्र पनि सोचेजस्तो प्रतिफल हासिल हुन नसकेको हो ।

‘विज्ञान शिक्षालाई हाउगुजी बनायौं ’

हामीले सही रुपमा शिक्षा सुधारका लागी बहस र छलफल गर्न सकेनौँ ।

प्राडा विद्यानाथ कोइराला, शिक्षाविद्

हरेक वर्षको एसएलसीको नतिजामा गणित विषय पछाडि सबैभन्दा वढि विद्यार्थी विज्ञान विषयमा अनुत्र्तीण हुँदै आएका छन, यस्को कारण के हो ?
सिधै भन्न सकिन्छ । हाम्रा शिक्षकहरुले पढाउन नजानेर नै हो । उनीहरुले विज्ञान र गणित जस्ता विषयलाई ‘हाउगुजी’को रुपमा अगाडि सारे । त्यही कारण विद्यार्थीहरु यो विषयसँग तर्सिए । लाइफ साइन्स,होम साइन्सलाई साइन्समा जोड्नु आवश्यक छ । हामीलाई वाडुली लाग्दछ, डकार आउछ त्यो साइन्स हो कि होइन । हो भने त्यसलाई शिक्षकले साइन्समा ढालेर बुझाउन सक्नुप¥र्यो । गाँउघरमा हाडीमा मकै भुटिन्छ,त्यो साइन्स हो कि होइन । हो भने यसरी साइन्स हो भनेर मास्टर्सले विद्यार्थीलाई बुझाउनु प¥र्यो । तर,हामी कहाँका शिक्षकले विज्ञानलाई निकै कठिन विषयका रुपमा बुझे र कठिन तरिकाले बुझाए । यही कारण विज्ञान, गणित जस्ता विषय हाउगुजी बन्न पुग्यो । यी विषयलाई शिक्षकले हाउगुजीको रुपमा अगाडि सारेको हुँदा कठिन भएको हो ।

 

शिशु तहदेखि दश कक्षासम्मलाई आधरभूत तह मानिन्छ तर यी तहमा अध्ययनरत विद्यार्थीहरुले कुनै वैज्ञानिक प्रयोग गरिएको देख्न पाइदैन ?
यही त गल्ती भयो,विज्ञान शिक्षा भनेको नै फरक शिक्षा हो भनेर हामीले पढायौं । गाँउघरमा आधि गाग्रो पानी वोक्दा गाग्रो छचल्कियो,भरी गाग्रो पानी बोक्दा पानी छचल्किएन तर यस्मा भएको साइन्स खोजेनौं । अर्थात विज्ञान भनेर हामीले अन्यन्त्रै खोज्यौं घरमा भएका जीवनमा भएका विज्ञान तर्फ चासो नै देखाएनौं । तरकारीमा पहिला बेसार र पछाडि नुन राख्छौं तर यो किन हो भनेर कहिले पढाएनौं अर्थात हाम्रो विज्ञानलाई लगेर ज्ञानसँग जोड्ने तर्फ ध्यानै दिएनौं । साइन्स इज एभ्रिवेयर भनेर हामीले कहिल्यै विद्यार्थीहरुलाई बुझाउन सकेनौं । शिक्षकका लागि त मन्त्रालयले प्रसस्त काम गरेको छ नी, जस्तै आवश्यक तालिम दिएकै छ, उनीहरुको जीवन बृत्ति चलाईदिएकै छ, अझै के गर्नु पर्यो सरकारले शिक्षकलाई ?

अहिले दिदैँ आएको तालिम बन्द गरिदिउँ । अनि शिक्षाका हाकिमहरुलाई स्कुल स्कुलमा पठाउँ । हाकिमहरु पनि जिल्लामै बस्ने शिक्षकलाई पनि तालिमका नाममा जिल्लामै बोलाए कसरी गाउँमा पढाईको अवस्था सुध्रिन्छ ? मैले भनिसके शिक्षकलाई भूमिका दिउँ, उनीहरुलाई भूमिका बनाउन दिए, यो मैले गरेको हो भनेर गर्छन् । अहिलेकै बजेटले यो सबै सकिन्छ । बरु यहाँ चाहिने भनेको प्रशिक्षण हो । बेला बेला सबै शिक्षकलाई चरणबद्ध रुपमा ‘ओरिन्टेशन’ र ‘रि–ओरिन्टेशन’ दिउँ । मैले धेरै गर्न सक्छु भनेर प्रेरित गराउँ, गर्नेहरु थप हौसला पाएर धेरै गर्छन् । नगर्नेहरु बाहिर आउँछन् । अनि जसले राम्रा गरे उनीहरुलाई पुरस्कृत गर्नुपर्यो । नराम्रालाई गर्ने मौका र थप प्रेरणा दिनुपर्यो ।

अर्को भनेको जसले राम्रोसंग पढाउँछ । विद्यार्थीलाई बुझ्ने गरी पढाउँछ । उसलाई तालिम चाहिदैन । बरु जसले विद्यार्थीलाई बुझाएर पढाउन सकेका छैनन, उनीहरुलाई राम्रोसंग बुझाएर पढाउने शिक्षक कहाँ पठाउँ । उनीहरुलाई एकै विद्यालयमा पारिदिऊँ । र त्यसको नियमित अनुगमन र निगरानी गरौँ । यसो गरे शिक्षकहरुले एक बर्षमै नेपालका सामुदायिक विद्यालय कायापलट गर्छन् । यसको सुरुवात एसएसडिपी शिक्षकलाई बनाउन दिएर हेरौं न !

शिक्षामा सुधार नहुनुमा शिक्षा मन्त्रालय वा सरकार दोषी छ की शिक्षकहरु बढी दोषी छन् ?
सबैभन्दा वढि दोषी शिक्षकहरु छन, उनीहरुले गर्न सक्थे । उनीहरुलाई गर्न लगाइएको छैन । र त्यो वातावरण अहिले विथोलिएको छ । हलो लिएर खेत जोत्न गएको छ खेत राम्रोसँग जोतिएन भने दोष हलीलाई जान्छ नि । अनो,फालि,गोरुलाई दोष दिएर हली पन्छिन मिल्दैन ।
अनि सरकार अथवा शिक्षा मन्त्रालय पनि दोषी छैन । त्यहाँ धेरै क्षमतावान मान्छेहरु छन् । जसले शिक्षामा धेरै गर्न सक्छन् । र गरिरहेका पनि छन् । तर त्यहाँ पनि वातावरण दोषी छ । राजनीतिक रुपमा ६÷६ महिनामा परिवर्तन हुने सरकार अनि विना कार्यक्रम र योजना नै शिक्षा मन्त्रालयको बागडोर सम्हाल्ने राजनीतिक दल र नेताहरुले गर्दा वातावरण विग्रिएको हो । यसले कर्मचारीलाई निष्क्रिय बनाइदिएको छ । अनि हामी जो छौँ, हामीले पनि सही रुपमा शिक्षा सुधारका लागी बहस र छलफल गर्न सकेनौँ । खाली राजनीतिक दलका नेतालाई गाली गरेर बस्यौँ । शिक्षामा काम गर्नुपर्छ । तर हामी काम नगरी कुरा मात्र गरेर बस्यौँ । अनि मन्त्रालयका कर्मचारीमा स्वदेशी कार्यक्रम लैजाने र विद्यालय सुधारका लागी गाउँ गाउँ पुग्ने, अनुगमनलाई कडा बनाउने भन्दा पनि तारे होटलका सेमिनारमा जाने, विदेशी कार्यक्रमलाई बढी प्राथमिकता दिने काम भए । त्यसैले शिक्षा मन्त्रालय विदेशी डोनरहरुले चलाएका छन्  ।

शिक्षामा बजेट कम भयो अनि सुधार गर्न सकिएन भन्ने उनीहरुको गुनासो सधैं रहन्छ नी !
अन्तराष्ट्रिय मान्यता अनुसारको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा हुनु पर्ने हो । त्यो छैन । अहिलेको बजेट १२ प्रतिशत मात्र छ । यो सत्य हो । तर बर्षेनी सरकारको मात्र करिब १ खर्ब बजेट छ । यो कम हो र ? बजेट कम भयो भन्नु शिक्षकलाई तबल पुगेन भन्ने हो की के हो ? शिक्षकलाई खान पुग्न तलब दिए उनीहरुले नै शिक्षामा कायापलट गर्छन् । कोही अर्को चाहिदैन । यसको समिक्षा किन गरिदैन ? यहाँ शिक्षकलाई पुगेकै छ । तर विद्यार्थीले पढ्न पाएका छैनन् । जति पढ्नुपर्ने हो पढाइएको छैन । जसरी पढ्न र पढाउनु पर्ने हो त्यसरी पढाइएको छैन ।
अनि बजेट कम भयो भनेर काम नगरी पन्छिएर हुन्छ ? बर्षेनी सरकारकै बजेट पर्याप्त छ सुधार गर्न । कोही विदेशीको पद्धति र बजेट हामीलाई चाहिएको छैन । तर खाने र बाड्ने कामलाई मात्र प्राथमिकता दिइएको छ । त्यसैले मैले भनेको विदेशी डोनरले शिक्षा मन्त्रालय चलाएका छन् । यदि सरकारले सही रुपमा काम गर्ने हो भने विदेशी पैसा ल्याउन र बाड्नु भन्दा हामीसंगै भएको पैसा शिक्षाको सुधार र विकासका लागी काफी छ ।

 

यो त सरकारी क्षेत्रको कुरा भयो तर नीजि क्षेत्रबाट पनि विज्ञान शिक्षा घोकाउने मात्र भयो व्यवहारिक र प्रयोगात्मक हुन सकेन नि ?
हो, नीजि विद्यालयहरुमा पनि विज्ञान शिक्षा प्रयोगात्मक हुन सकेन । घोकाउने काममा मात्र उनीहरु अगाडि भए । यो क्षेत्रका लागि उनीहरुमा केही गरौं भन्ने सोच छ । कहिलेकाही म विज्ञान प्रर्दशनीहरुमा जान्छु त्यहाँ स्कूलका विद्यार्थीहरुले पम्प खिचेर पानी निकालिरहेको प्रर्दशनमा राखेको देख्दछु । टारमा पानी छ,त्यसलाई विजुली वत्ति विना कसरी माथि ल्याउने ? ल तिमीहरुले दिमाग लगाएर यस्तो विषय प्रर्दशनीमा ल्याउ कस्ले भन्ने ? कस्ले निर्देशन दिने ? सरकारी क्षेत्रबाट ओरियन्ट दिने हो भने नीजि क्षेत्रले विद्यालय तहमा विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउन सक्दछन त्यस्का लागि सरकारी क्षेत्र नै जागरुक हुनु आवश्यक छ ।

आफैंमा गाह्रो होइन विज्ञान 

शिव कार्की,
अध्यक्ष, ललितपुर प्याव्सन

अधिकांश विद्यालयमा या त कुनै विज्ञान प्रयोगशाला नै हुँदैन वा भए पनि त्यस्तो प्रयोगशाला दयनीय अवस्थामा रहेको हुन्छ । 

विज्ञान विषय आफैंमा गाह्रो शिक्षा होइन । प्रयोगात्मक पाटो सबैभन्दा महत्वपूर्ण कुरा हो । विज्ञान सैद्धान्तिक भन्दा व्यवहारिक पाटोमा जोड दिनुपर्दछ । अझै पनि हुन नसकेको पाटो चाँही हामीले बुझाउन आवश्यक छ,हामीले बुझाउन सकेका छैनौं । हाम्रो पनि यसतर्फ ध्यान जान नसकेको हो । प्रारम्भिक अनुमानअनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या सबैभन्दा बढी हुनेगर्दछ । यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको पुष्टि हुन्छ । विज्ञान विषय आफैंमा कठिन विषय नभएपनि , विद्यालयमा विज्ञान पढाउने विधि प्रभावकारी नभएको कारण यस्तो समस्या आउने गरेको हो ।
विज्ञानको विशेषता भनेकै प्रमाणिकता र प्रयोगहरू हुन् । विद्यार्थीले कक्षामा पढेका वा सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित भएको हुनुपर्छ। विद्यार्थी आफँैले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्छ। तर हाम्रा अधिकांश विद्यालयमा दस कक्षासम्म विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन् ।

विशेषगरी सरकारी विद्यालयमा यसका लागि आवश्यक सुविधायुक्त प्रयोगशाला हुँदैनन् । भनिन्छ, विज्ञानमा सिद्धान्तबिनाको प्रयोग अर्थहीन हुन्छ र प्रयोगबिनाको सिद्धान्त अधुरो । त्यसैले विज्ञानमा सिद्धान्त र प्रयोग दुवैको त्यत्तिकै महत्व हुन्छ । तर हाम्रा शैक्षिक संस्थामा वैज्ञानिक प्रयोगलाई त्यति महत्व दिएको पाइँदैन। फलस्वरूप हाम्रो विज्ञान विषयको पठनपाठन सैद्धान्तिकमात्र हुने गरेको छ। विद्यार्थीले कक्षामा सिकेका विज्ञानका सिद्धान्त प्रयोगशालामा प्रयोगद्वारा प्रमाणित भएको देखेका हुँदैनन्। यिनै कारणले गर्दा पनि विद्यालय तहका विद्यार्थीका लागि विज्ञान गाह्रो विषय बनेको हुन्छ । अधिकांश विद्यार्थीका लागि जतिजति माथिल्लो कक्षा पुगिन्छ, विज्ञान उतिनै कठिन विषय बन्न थाल्छ ।
विद्यालयको विज्ञान प्रयोगशाला निर्माण गर्नेतर्फ उक्त लगानीको कुनै उल्लेखनीय अंश खर्चेको पाइन्न । अधिकांश विद्यालयमा या त कुनै विज्ञान प्रयोगशाला नै हुँदैन वा भए पनि त्यस्तो प्रयोगशाला दयनीय अवस्थामा रहेको हुन्छ। आजको वैज्ञानिक युगमा गुणस्तरीय विज्ञान शिक्षाको ठूलो महत्व छ ।