भौतिक शास्त्रले कसरी समृद्धि ल्याउँछ ?

प्रा.डा उदयराज खनाल

विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं । विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ । वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं । नारा नारामै मात्र सीमित भैसक्यो ।
– प्रा. डा. उदयराज खनाल

प्रसिद्ध भौतिकशास्त्री अब्दुस सलामले भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्नुभएको छ । गरिबीबाट उन्मुक्ति पाउने हो भने भौतिकशास्त्रको प्रयोग नगरी सम्भव छैन भन्ने सलामको धारणा हो । त्यसको उदाहरणका लागि अहिले प्रयोग भैरहेको माइक्रो प्रोसेसरलाई लिन सक्छौं । यो आधारभूत रूपमा बालुवाको कण हो । बालुवाको सानो कणलाई विभिन्न प्रक्रियाको माध्यमबाट अहिले सुनभन्दा महत्वपूर्ण वस्तु माइक्रो प्रोसेसर बनाइन्छ । नोबेल पुरस्कार जित्ने ट्रान्जिस्टर हे¥यौं भने एउटा टेबलभर अटाउने छ । त्यसलाई सानो बनाउँदा अहिले एउटा बालुवाको कणभित्र १ सय २८ गिगाबाइट ट्रान्जिस्टर अटाउन सक्ने प्रविधिको विकास भएको छ । यो त एउटा उदाहरणमा मात्रै हो। यस्तै विषयले गर्दा भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भनिएको हो।

सन् १९८९ मा प्रोफेसर सलाम नेपालमै आउनुभएको थियो । यस क्षेत्रको गरिबीको कारणले उहाँ निकै दुःखी हुनुहुन्थ्यो । यस क्षेत्रलाई कसरी गरिबीमुक्त बनाउन सकिन्छ भन्ने विषयलाई विचार गरेर नेपालमा उच्च प्रविधियुक्त केन्द्र बनाउने प्रस्ताव थियो । त्यसमा विशेषगरी सूचना विज्ञान , पदार्थ विज्ञान  र जैविक प्रविधि विषयहरूमा अनुसन्धान गराउने चाहना थियो।

सो प्रविधि केन्द्रमा चीन, भारत, पाकिस्तानसहित यस क्षेत्रको वैज्ञानिकहरुले, विश्वका विख्यात वैज्ञानिकसँगको सहकार्यमा अनुसन्धान गर्न पाऊन् भन्ने थियो । तर, दुर्भाग्य त्यो कार्यक्रम अघि बढ्न सकेन । त्यस समयमा सूचना विज्ञानले मानिसलाई यति धेरै धनी बनाउँछ भन्ने नीति निर्माण तहमा बस्नेहरूले सोचेकै थिएनन् । सलाममा दुरद्रष्टा हुनुहुन्थ्यो र उहाँले भविष्य देख्नुभएको थियो।

त्यसबेला भारतको बैङ्गलोरमा विज्ञानको राम्रो विकास भए पनि ‘सिलिकन भ्याली अफ इन्डिया’ को रूपमा भने आइसकेको थिएन । बैङ्गलोरको विकास देखेपछि नेपालले केही गल्ती सच्याउने कोसिश ग¥यो, बनेपामा सूचना प्रविधि पार्क भनेर खोलियो तर निकै ढिलो भैसकेको थियो । त्यो पनि उपयोगी हुनसकेको छैन ।

भौतिकशास्त्रमा मात्रै होइन अर्थशास्त्रमा पनि यस्तै धारणा विकास भएको पाइन्छ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनले भारतको बंगाल र चीनको भोकमरीको अध्ययन गरेर निकाल्नु भएको निष्कर्ष के हो भने ‘गरिबी र भोकमरी’ राजनीतिले उत्पन्न गर्ने हो । विकास गर्नका लागि चाहिने मुख्य स्रोत भनेको ‘मानव संसाधन’ मात्रै हो, प्राकृतिक स्रोत त सहायक हुन् । मानव संसाधनलाई सेनले मुख्य विषयको रुपमा प्रस्तुत गर्नु भएको थियो । प्रामाणिक सिद्धान्तले मात्रै नोबेल पुरस्कार पाउँछ । यसका उदाहरण धेरै छन् । सिंगापुर कुनै प्राकृतिक स्रोतले भरिपूर्ण देश होइन । मानव संसाधनको बलमा विकास गरेको हो । मिजी क्रान्तिपछि जापानले विज्ञानको क्षेत्रमा विकास गर्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्यो । त्यसपछि नै जापान धेरै विकसित भएको हो । नेपाल टेलिभिजनमा पहिलो ‘ओसिन’ भन्ने जापानी टेलिसिरियल आउथ्यो । जापानीहरूले नेपालीहरुले सिकुन् भनेर दिएको हुनसक्छ – ओसिन बच्चा हुँदा जापान गरिब भएदेखि विश्वयुद्ध समाप्त भएर बुढी हुँदासम्म कसरी विकास ग¥यो भनेर देखाएको छ । पहिले जापानको कृषि नेपालकै जस्तो थियो। किसानले कमायो, आधा साहुलाई दियो, आधा ऋणहरू तिर्दै सकियो, घरमा खाने नै छैन । बालबालिका भोकैभोकै बसेका छन् । त्यस्तो अवस्थाबाट विकास गरेर जापान अहिलेको अवस्थामा पुगेको हो । त्यसमा विज्ञानकै देन छ । मलेसियालाई हेर्ने हो भने महाथीर बिन मोहम्मद ठूलो उद्योग सुरु गर्दा पश्चिमाहरूले खिसी गरे । तर, उनले सो कुरामा ध्यान दिएनन् । अहिले नेपालमा अरुभन्दा सस्तोमा मलेसियाली मोटर पाइन थालेको छ ।

हामी नेपाली धेरै मिहनेती छौं । नेपाली दाजुभाइ÷दिदीबहिनीहरूले मरुभूमिमा गएर पशुपालन र खेती गरेर अरबीहरूलाई धनी बनाएका छन् । उनीहरूले निर्माणको क्षेत्रमा ठूला ठूला परियोजनामा काम गरेका छन् । तर, नेपालको भने खेत बाँझो नै छाडिएको छ । धेरै अघिको कुरा होइन २०–२५ वर्षअघि नै नेपालले भारततर्फ धान निर्यात गर्दथ्यो । अहिले भारतीयहरूले आफ्नो उत्पादनलाई यति वृद्धि गरे कि नेपालमा उत्पादन गर्नुभन्दा भारतबाट ल्याएर बिक्री गर्नु धेरै सजिलो भयो । कैयौं उत्पादन प्रतिस्थापन भएका छन् र नेपालको कैयौं धानको प्रजाति पनि गुमाएको अवस्था छ । त्यसैले विज्ञानको माध्यमबाट देशको विकास गर्ने राष्ट्रिय प्रतिबद्धता नभई नेपाल अघि बढ्न सक्दैन ।

बाधक

विज्ञानले के गर्छ भनेर भौतिकशास्त्रमा मात्रै भनेर हुँदैन । सबै विषय एक प्रकारले सँगसँगै विकास गर्दै लैजानुपर्ने हुन्छ । विज्ञानले के गर्छ भनेर हामीले बुझ्न पनि सकेनौं र बुझाउन पनि सकेनौं । बुझाउन नसकेको दोष वैज्ञानिकहरुले लिनुपर्छ। समाजको विकास विज्ञानले गर्छ भन्ने महत्वपूर्ण विषय बुझाउन नसक्नु चाहिँ हाम्रै कमजोरी हो कि त्यतातर्फ नै ध्यान दिनुपर्छ ।

विज्ञानलाई नेपालमा राजनीतिक नाराको रुपमा मात्रै प्रयोग गरिररहेका छौं । विज्ञानलाई एक प्रकारको विशेषण बनाएर छाडिदियौं जस्तो लाग्छ । वैज्ञानिक शिक्षा र वैज्ञानिक भूमिसुधार भनेर भन्छौं । नारा नारामै मात्र सीमित भैसक्यो । वैजानिक अनुसन्धान नगर्ने तर वैज्ञानिक हुन खोज्नेतर्फ ध्यान गएको जस्तो देखिन्छ।

अहिले बाग्मतीको दुवैतर्फबाट अतिक्रमण भयो, अति नै भएपछि पर्खाल लगाइएको छ । हामीलाई लाग्न सक्छ, हामीले राम्रो काम ग¥यौ । तर, त्यो कुन आधारमा गरिएको छ बुझ्न र बुझाउन खोजिएको छैन । यसै पटक पनि साउन महिनामा लगातार तीन दिन पानी पर्दा त्यसको सतह निक्कै माथिसम्म आइसकेको थियो । लगातार एक साता पानी पर्ने हो भने बाग्मती नदीको दुवै क्षेत्र डुब्छ । यो गम्भीर विषय हो । यसमा ‘हाइड्रोलोजिस्ट’ले हिसाब गर्नुप¥यो । अधिकतम कति पानी पर्छ, नदीको बहाव कस्तो छ ? त्यसको बाँध निर्माण गर्दा त्यसैअनुसारको सरचना बनाउनुपर्ने हुन्छ । मनसुनको समयका लागि मात्रै ध्यान दिएर बनाएर भएन सधैं पानी आउनका लागि ‘रिजर्भवायर’हरू बनाएर नदीमा न्युनतम पानीको प्रवाह भैरहने प्रणाली बनाउनुपर्ने हुन्छ ।

बाटोको बिस्तारको अवस्था पनि त्यस्तै रहेको छ । एक दिन कुनै निकाय आउँछ मुख्य ‘पिलर’लाई आधा मिटर परतिर सार भनेर चिह्न लगाउँछ । मुख्य पिलर हटाएपछि घरको भार कसरी थाम्छ भन्ने विषयमा नसोची, त्यसको योजना नबनाइ बाटो मात्रै चौडा बनाएर न ट्राफिक जाम घटेको देखिन्छ, न पैदल यात्रीलाइ कुनै सुविधा पुगेको छ । अहिले मोटर चलाउने र पैदल यात्री दुवैलाई गाह्रो हुने प्रणाली विकास हुँदै गएको छ । फ्लाइओभर जस्ता धेरै विकल्प छन् , तर हामीले त निरीह पैदलयात्रुलाई अग्ला पुल चढ्न बाध्य पार्ने अव्यवहारिक उपाय मात्र खोज्छौं, कुनै दीर्घकालीन योजना छैन ।

कृषि क्षेत्र पनि उच्च प्रविधियुक्त भैसक्यो । प्रविधिको प्रयोग गरेर थोरै जनशक्तिबाट धेरै उत्पादन गरिन्छ । ‘ड्रोन’लाइ युद्धमा प्रयोग गरेको धेरै पढ्छौं, कृषि क्षेत्रमा हुन थालेको थाहा छैन । ठूला–ठूला खेतमा कुन स्थानमा पानी पुगेको छ वा छैन ? कुन स्थानका बोटविरुवालाई किराले खान लाग्यो? कहाँ सुक्न लाग्यो ? कुन स्थानमा चाहिने भन्दा बढी पानी भयो ? यो सबै विषयलाई हेर्न ड्रोनबाट प्राप्त हुने तथ्यांकलाई विश्लेषण गरेर काम हुन थालेको छ । एउटा वातानुकुलित कोठाभित्र बसेर खेती गर्न सकिने प्रविधिको विकास हुँदैछ । तर, नेपालमा भने वैज्ञानिक भूमिसुधार भनेको खेतलाइ टुक्रा टुक्रा बनाएर वितरण गर्दै, प्रत्येकलाई एउटा–एउटा कुटो कोदालो दिएर खाद्यान्नको उत्पादनमा वृद्धि हुन्छ भन्ने प्रचार गरिन्छ । यो अन्तर्रा्ष्ट्रिय जगतको व्यवहार र अनुभव विपरीत रहेको छ । अहिले, अवस्था कस्तो बनेको छ भने नेपालीहरुले पञ्जाव वा हरियाणातिर गएर अर्काको धान वा गहुँ काट्यो भने परिवार पाल्न सक्छन् । तर, आफ्नैमा खेती गर्ने हो भने गुजारा चलाउन सक्ने अवस्थामा छैनन् ।

भौतिकशास्त्रको प्रयोग वा अध्ययन भनेको भौतिकशास्त्रको प्रकृतिको अध्ययन गर्ने विज्ञान मात्रै होइन । यसमा विकास भएको विधि र प्रविधिभित्र धेरै नै मानवीय पक्षको विषयहरू रहेका छन् । जुन धेरै क्षेत्रमा उपयोग गर्न सकिन्छ । अहिले वित्तीय क्षेत्रमा ब्याजको पूर्वानुमान गर्नका लागि , ‘फेनामानले’ क्वान्टम प्रणालीको परिवर्तन अध्ययन गर्न बनाएको ‘पाथ इन्टेग्रल’को विधि प्रयोग भैरहेको छ । यस विधिबाट निश्चित समयमा ब्याज कति हुन्छ भनेर गणना गर्ने गरिएको छ । यसरी नै अन्य सामाजिक आयाममा भौतिकशास्त्रका विधिहरुको प्रयोग भैरहेको छ । निकैअघि अमेरिकाले ‘सुपर कन्डक्टिङ सुपर कोलाइडर (SSC)’ क्षमताको एउटा ‘पार्टिकल एक्सेलरेटर (Particle accelerator)’ बनाउँदै थियो। त्यो अहिले फ्रान्स र स्विट्जरल्यान्डको सिमामुनि रहेको ‘लार्ज हाडरन कोलाइडर (Large Hadron Collider)’ भन्दा निकै ठूलो र शक्तिशाली हुनेवाला थियो। त्यो योजना प्रारम्भ भै सुरुङ खन्न थालेको केही समय नहुँदै बजेटको अभाव देखाउँदै अमेरिकी संसदले रोकिदियो। त्यस समयसम्म कैयन् वैज्ञानिकहरू त्यस काममा संलग्न भइसकेका थिए । कतिलाई ‘कम्प्युटर सेमुलेट’ गर्ने तालिम दिइसकिएको थियो । सो कार्यक्रम बन्द भएपछि त्यसमा संलग्न भएका भैतिकशास्त्रीहरु लाखापाखा लागे। त्यसको एक डेढ वर्षपछि ती कहाँ–कहाँ गए भनेर अध्ययन भएको थियो । त्यस अध्ययनले ती व्यक्तिहरु वित्तीय संस्थाहरुमा कार्य गरिरहेका रहेछन् भन्ने जानकारी दियो । सो रिपोर्ट ‘नेचर जर्नल’मा पनि प्रकाशित भएको थियो । सुपर कन्डक्टिङ सुपर कोलाइडर योजना ‘प्रोटोन एन्टी प्रोटोन’ जुधाउने र त्यत्रो धेरै नोइजबाट एउटा सिग्नल लिने एक गणितीय विधि थियो । यसमा ‘नन लिनर डाइनामिक्स’हरू अध्ययन गर्नका लागि कम्प्युटेसनल विधिहरू विकास गरिएका थिए । त्यसको प्रयोग गरेर उनीहरूले ब्याजदर र शेयर बजारको उतारचढावलाई पूर्वानुमान गर्ने विधिहरू विकास गरेर वित्तीय कम्पनीलाई धेरै नाफा पनि कमाइदिएका रहेछन् । यसरी भौतिकशास्त्र मात्रै होइन, भौतिकशास्त्रका विधिहरूको मानवीय जीवनमा प्रयोग हुँदै आएको छ।

सुपर कन्डक्टिङ, सुपर कोलाइडर योजना ‘प्रोटोन एन्टी प्रोटोन’ जुधाउने र त्यत्रो धेरै नोइजबाट एउटा सिग्नल लिने एक गणितीय विधि थियो । यसमा ‘नन लिनर डाइनामिक्स’हरू अध्ययन गर्नका लागि कम्प्युटेसनल विधिहरू विकास गरिएका थिए । त्यसको प्रयोग गरेर उनीहरूले ब्याजदर र शेयर बजारको उतारचढावलाई पूर्वानुमान गर्ने विधिहरू विकास गरेर वित्तीय कम्पनीलाई धेरै नाफा पनि कमाइदिएका रहेछन् । यसरी भौतिकशास्त्र मात्रै होइन, भौतिकशास्त्रका विधिहरूको मानवीय जीवनमा प्रयोग हुँदै आएको छ ।

भौतिकशास्त्रलाई मुख्य रूपमा सपोर्ट गर्ने औद्योगिक क्षेत्र नै हो । तथापि, यसले रसायनशास्त्रलाई जति सहयोग गरेको पाइँदैन । भारतको पुना वा अन्य विश्वविद्यालय हेर्दा त्यहाँका औद्योगिक कम्पनीले रसायनशास्त्रको प्रयोगशालामा बढी सहयोग गरेको देखिन्छ । भौतिकशास्त्रले पाएको त्यति छैन । तर ,नेपालमा भौतिकशास्त्र पढेपछि पढाउने बाहेकको अवसर छैन । यसमा भौतिकशास्त्र पढ्नेहरूको पनि कसरी उद्यमशील हुने भनेर ध्यान दिन आवश्यक छ । देशमा सहुलियतमा पढेर निस्कनेहरुको कर्तव्य आफैले रोजगारी सिर्जना गर्नु पनि हो । परजीवी बन्नु होइन उद्योगी र उद्यमशील हुनु हो ।

अनुसन्धानलाई सहयोग गर्ने सरकारको नीति हुनुपर्छ । वैशाखमा भुइँचालो गयो नेपालले संकलन गरेको तथ्याङ्कहरुको अध्ययन गरेर धेरै विदेशीहरुले विद्यावारिधी गर्छन् वा विज्ञ भएर निस्कन्छन् । तर यहाँ तथ्याङ्क संकलन गर्ने काममा खटिएका कर्मचारीहरुको अघि बढ्ने कुनै बाटो छैन । केही बजेटको व्यवस्था गर्ने हो भने धेरै राम्रो विज्ञ निकाल्न सकिन्थ्या े। त्यसतर्फ हाम्रो ध्यानै गएन।

केही विषयमा ध्यान दिने हो भने भैरहेको स्रोतहरुबाटै राम्रो उपलब्धी प्राप्त गर्न सकिन्छ । जस्तै शिक्षण अस्पताललाई दुर्गम जिल्लाको स्वास्थ्य केन्द्रहरु सञ्चालन र व्यवस्थापन गर्न दिने हो भने अहिले जस्तो डाक्टर जान नमान्ने समस्या नै आउँदैन । आफ्नै अनुभवका लागि पनि उनीहरु दुर्गम क्षेत्रमा जान्छन् । यसरी नै हरेक शैक्षिक क्षेत्रहरुका विद्यार्थीहरुलाई दुर्गम क्षेत्रका सेवामूलक संस्थाहरुमा उनीहरुका विषय–क्षेत्र अनुसार खटाउन सकिन्छ । यसले सेवा त दिन्छ नै ती ग्रामीण र दुर्गम क्षेत्रका समस्याहरुका पहिचान गर्नका लागि सूचना तथा तथ्याङ्क उपलब्ध गराउँछ । यसले समस्या समाधानका लागि वैज्ञानिकलाई उपयुक्त प्रविधि विकास गर्नमा उन्मुख तथा उत्प्रेरित गराउन सक्छ।

विज्ञानका कुराहरू अपनाएर मात्र होइन, जनतालाई विज्ञान र वैज्ञानिक विचारहरु सिकाएर पनि समाजको विकास गर्न सकिन्छ । विज्ञान र ज्ञानमा जनताको पहुँच भएपछि मात्र समाज तथा मुलुकको प्रगति र विकास सम्भव छ ।

(त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र विभागका पूर्वविभागीय प्रमुख खनालले ‘नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स’ गत भदौ २५ गते राजधानीमा आयोजना गरेको ‘नेपालमा भौतिकशास्त्रःअवसर र चुनौती’ विषयक अन्तक्र्रियामा प्रस्तुत विचारको सम्पादित अंश नेपाल रिडर्स डटकमबाट लिइएको हो )