जगदीशपुरमा लाटोकोसेरो–हुचिल उत्सव

रिभोसाइन्स संवाददाता

काठमाडौं– अन्तर्राष्ट्रिय लाटोकोसेरोे महोत्सवको अवसरमा कपिलवस्तु जिल्लाको निग्लीहवा गाविसस्थित जगदीशपुरमा लाटोकोसेरो तथा हुचिल उत्सव २०७३ आयोजना गरिने भएको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ भन्ने नारासहित उक्त प्रदर्शनी स्थानीय जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाको आयोजनामा गर्न लागिएको हो ।

माघ २१ र २२ गते दुई दिनसम्म चल्ने महोत्सवमा निःशुल्क चरा अवलोकन, तस्बिर खिच्न तथा लाटोकोसेरोको बारेमा जानकारी दिनका लागि अस्थायी लघु संग्रहालय अवलोकन गर्ने व्यवस्था मिलाइएको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए ।

‘किसानको साथी भनेर चिनिने तर, संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । नेपालमा यस किसिमको उत्सव मनाउन थालेको ६ वर्ष भइसकेको छ । यस्तो उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाउने गरिन्छ,’ आचार्यले जानकारी दिए ।

उक्त अवसरमा गाविस एवं विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कविता तथा निबन्ध प्रतियोगिता आयोजना गरी विजेतालाई पुरस्कृत गरिनेछ । लघु म्युजियममा लाटोकोसेरोको जानकारी भएका सूचना पाटी, चित्र तथा फोटोे प्रदर्शनी, गहँुको छ्वालीबाट बनाइएका लाटोकासेरोका तस्बिर, लाटोकोसेरोको रोबर्ट राखिनुका साथै लाटोकोसेरोका आठ प्रकारका आवाज सुन्न मिल्ने व्यवस्थासमेत मिलाइने भएको छ । उत्सवमा इच्छुक सहभागीको अनुहार तथा नङमा निःशुल्क लाटोकोसेरो तथा हुचिलको चित्रसमेत बनाइने व्यवस्था गरिने छ । उक्त अवसरमा संरक्षणसम्बन्धी प्रवचन तथा नेपालकै सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट प्रदर्शनीसमेत आयोजना गरिनेछ । कार्यक्रम सुरु हुनुअगावै स्थानीय विद्यालयमा लाटोकोसेरो संरक्षणसम्बन्धी चेतना शिविर सञ्चालन गरिनेछ ।

उत्सवलाई जिवन्त बनाउनका लागि पहिलो दिन डोरी तान्ने खेल, चिक्का खेल प्रदर्शन, लठ्ठी प्रदर्शन, भmुमरा नाँच, धोबी नाँच, झर्रा नाँच, भजन, आला गीत, कौवाली गीत, आमा समुहको नाँच, कुर्सि दौड, देखाउने कार्यक्रमहरु तय गरिएका आयोजकले जनाएका छन् ।

उत्सवको दोस्रोे दिन डोरी तान्ने, लाठी नाच, सोरठी नाच, विरह नाच, सायरी, मगर नाच (कौडा), गडासी नाच, मोहरम बाजा, वन क्याम्पसको वन्यजन्तुसम्बन्धी नाच, संरक्षण प्रवचन, प्रकृति संरक्षण पुरस्कार, स्थानीय संरक्षण पुरस्कार, संस्थागत सम्मान आदि गरिने कार्यक्रम छ ।

उत्सवको पहिलो दिन (माघ २१ गते) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । मानिस स्वस्थ नभई प्रकृति संरक्षण गर्न नसक्ने हुनाले शिविर आयोजना गर्न लागिएको हो । मानिस उपचार गर्न आउँदा लाटोकोसेरो संरक्षणको सन्देशसमेत लिएर घर फर्कने आयोजकको विश्वास छ । निःशुल्क स्वास्थ्य शिविरका लागि बुटवलको लिस्ट कलेज, नेशनल प्याथ ल्याब र एप्पल इन्टरनेशनल काठमाडौंले सहयोग गरेका छन् ।

उत्सवको अन्तिम दिन माघ २२ गते नेपालका तीन तथा एक बेलायती वैज्ञानिक गरी चारजनालाई प्रकृति संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कृत व्यक्तित्वलाई जनही नगद २५ हजार सहित ताम्रपत्र तथा खादाबाट सम्मान गरिनेछ ।

संरक्षण पुरस्करबाट पुरुस्कृत हुनेहरूमा वरिष्ठ चराविद् डा. हेमसागर बराल, प्रा. डा. भरतराज सुब्बा, पत्रकार कृष्णमणि बराल, क्यारोल इनस्किप र टीम इनस्किप रहेका छन् । काठमाडौं, गैरीधारा निवासी बरालले जीवनका ३० वर्ष चराको अनुसन्धान र संरक्षणमा खर्चेका छन् । बैदाम–६, पोखराका पत्रकार बराल अन्नपूर्ण पोष्टसँग आबद्घ छन् । इलाम गजुरमुखी– ३ निवासी प्रा. डा. सुब्बा अनवरत चरा संरक्षण क्षेत्रमा लाग्दै आएका छन् । बेलायतको इन्स्किप जोडीले नेपाललगायत भारतीय उपमहाद्वीपमा चराहरूको अभिलेख तयार गरी संसारभर यस क्षेत्रको महत्व दर्शाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यसैगरी स्थानीय संरक्षण पुरस्कारबाट कपिलवस्तुका पत्रकार मनोज पौडेल तथा तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डेयलाई सम्मानित गरिने भएको छ । संस्थागत सम्मानतर्फ साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसन र ग्लोबल प्राइमेट नेटवर्क नेपाल सम्मानित हुने भएका छन् ।

नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव किन ?

गैंडालगायत वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेपछि लाटोकोसेरोको संरक्षणमा चासो बढेको हो । औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा यस पक्षीको अवैध कारोबार हुने गर्छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले तीस जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार लाटोकोसेरो तथा हुचिल मारिनुका साथै विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको पाइएको छ ।

यसका साथै गुलेली प्रयोग गरी लाटोकोसेरोलगायत चरा मार्ने गरेको भेटिएको छ । अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसले लाटोकोसेरोको बच्चालाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । लाटोकोसेरोको बासस्थान विनास तीव्र रूपमा भइरहेको छ । नेपालमा कानुनी रूपमा लाटोकोेसेरोलाई पाल्न, दुःख दिन, बेच्न नपाइनेबारे स्थानीयलाई जानकारी नरहेको पाइएको छ । यसले कृषि क्षेत्रमा गर्ने महत्वपूर्ण योगदानबारे उनीहरू अनभिज्ञ छन् । स्थानीय तथा सरोकारवालालाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरोको के महत्व छ ?
मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३००० वटासम्म मुसाहरु खाने गर्छन् । मुसा बाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुिलत राख्न पनि यो पक्षीको मुख्य भूमिका रहन्छ । लाटोकोसेरोको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्छ । लाटोकोसेरोसहित सबै चरामा आधारित पर्यटन विकासमार्फत् मानवीय जीविकोपार्जनमा सहयोग पुग्छ । लाटोकोसेरोको आवाजले साँझ परेको तथा बिहान भएको संकेत गर्दछ ।

लाटोकोसेरो कस्तो चरा हो ?
लाटोकोसेरो प्रायः राति तथा बिहान सक्रिय हुने तथा सिकार गर्ने चरा हो । त्यसो त लाटोकोसेरोले दिउँसो पनि आँखा देख्छ । लाटोकोसेरोकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । लाटोकोसेरोले रुखको टोड्का, भुइँ, घरका खोपी तथा पहरमा फूल पार्छ र बच्चा कोरल्छ ।

यसको तौल ३१ ग्रामदेखि ४ किलो ५०० ग्रामसम्म हुन्छ । लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाँले ढाकेको हुनाले उड्दा आवाज आउँदैन । लाटोकोसेरोले आफ्नो टाउको एकापट्टि मात्र पनि २७० डिग्रीसम्म घुमाउन सक्छ । नेपालमा यिनीहरूको बासस्थान तराईदेखि हिमालसम्म फैलिएको पाइन्छ । हालसम्म २२ प्रकारका लाटोकोसेरोका प्रजाति अभिलेख गरिसकिएको छ, जसमध्ये ९ प्रजाति नेपालमा दुर्लभ मानिन्छन् । विश्वमा करिब २ सय २५ प्रजातिका लाटोकोेसेरा पाइन्छन् ।

जगदीशपुरबारे थप जानकारी

जगदीशपुर गाउँमा पर्यटन प्रवद्र्घनलाई ध्यानमा राखेर बाहिरबाट आउने पाहुनाका लागि होमस्टे व्यवस्था गरिएको छ । होमस्टेबाहेक होटलमा बस्न चाहनेका लागि पनि उक्त व्यवस्था छ । मानवनिर्मित सबैभन्दा ठूलो जगदीशपुर ताल (१ सय ५७ हेक्टर) चराहरूको लागि स्वर्ग मानिन्छ । यस क्षेत्रमा १ सय ६८ प्रजातिका चरा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका घस्रने प्रजाति तथा ४३ प्रजातिका माछा पाइन्छन् । यस क्षेत्रमा यादव, थारु, मुसलमान, गुरुङ तथा ब्राह्मण क्षेत्रीको मिश्रित बसोबास रहेको छ ।

वैज्ञानिक वन व्यवस्थापनका लागि अब्बल मानिएको तिलौराकोटको साझेदारी वनसमेत नजिकै रहेको छ । बौद्व धर्मप्रति आस्था राख्नेहरूलाई इतिहासमा सामूहिक रूपमा बध गरिएको लम्बुसागर ताल पनि नजिकै रहेको छ । बुद्घकालीन प्रसिद्घ स्थल गोटिहवा, कुदान र निगालीकोट उत्सव स्थलबाट पैदल दुरीमा रहेका छन् ।