/चुनौति बन्दै इन्जिनियरिङ शिक्षा

चुनौति बन्दै इन्जिनियरिङ शिक्षा

विद्यार्थीहरुमा नयाँ विषयवस्तुको खोजी गर्ने वानी हराउँदै गएको देखिन्छ । पठन सामग्री अत्यधिक भएपनि अध्ययन गर्ने बानी घट्दै गएको छ ।

–लक्ष्मण डंगोल
उचित वातावरण र राम्रो अवसर पाएमा नेपालका इन्जिनियरले धेरै राम्रो काम गर्न सक्छन् । त्यसकोलागि इन्जिनियर उत्पादन गर्ने संस्थाको पनि उतिकै मजबुद हुनु पर्दछ । तर नेपालमा त्यसो हुन नसकेको कतिपय विज्ञहरु औंल्याउँछन् ।

एक्काइसौं शदाब्दी सुहाउँदो इन्जिनियरिङ शिक्षा हुुनुलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञानको भण्डारण हुनु जरुरी छ । अर्को भनेको इन्जिनियरिङ शिक्षालाई परिमार्जन गर्दै लानु राज्यको दायित्व हुन्छ । यदि इन्जिनियर कमसल भएमा त्यसबाट निम्तने परिणाम पनि नराम्रै हुन्छन् ।

पूर्वाधार विकासका विज्ञ इन्जिनियर सूर्यराज आचार्य एक्काइसौं शताब्दीको इन्जिनियरमा समय सुहाउँदो ज्ञान हुनु अपरिहार्य ठान्छ्न । उनी इन्जिनियरका लागि सैद्घान्तिक तथा विशिष्ट प्राविधिक ज्ञान आवश्यक रहे पनि नेपालका इन्जिनियरमा यो ‘गुण’ खस्कँदै गएको बताउँछन् । कारणः इन्जिनियरिङ शिक्षा प्रणाली पुरानै ढर्राबाट सञ्चालन हुँदा यस्तो अवस्था निम्तिएको हो उनी भन्छन् ।

पुल्चोक इन्जिनियरिङ कलेजका क्याम्पस प्रमुख प्रा.डा. गोकर्णबहादुर मोट्रा, उनको त्यो विचारसँग सहमत छन् । तर त्रिवुवन विश्वविद्यालयका पाठ्यक्रम समय सुहाउँदो भएको दावी गर्छन् । फरक यति मात्र हो प्रयोगात्मक शिक्षामा प्रयोग हुने उपकरण पुराना भएको छन् । केहीलाई परिमार्जन गर्न आवश्यक बजेटको जोहो गरिरहेका छौ, प्रा. मोट्रा भन्छन् ।

एकातिर, राज्यले इन्जिनियनियरिङ शिक्षालाई प्रभावकारी तथा प्रविधियुक्त बनाउनका लागि उचित वातावरण बनाउन सकेको छैन । अर्कातिर, निजी क्षेत्रबाट सञ्चालित कलेजले सीमित स्रोत–साधनका बाबजुद त्यसतर्फ काम कदम चाल्न सकेका छैनन् । इन्जिनियरिङको पाठ्यक्रम समयअनुसार परिमार्जन हुन नसक्दा सिकाइमा त्यसको प्रत्यक्ष असर परेको देखिन्छ । तर कतिपय इन्जिनियर कलेजका सञ्चालन प्रयोगशालाका ल्याव चुस्त राखेका बताउँछन् ।

पुरानो पाठ्यक्रम
विज्ञहरु त्रिभुवन विश्वविद्यालयसँग सम्वन्धित इन्जिनियरिङ कलेजमा वषौ पुराना पाठ्यक्रममा आधारित विषयवस्तुको पढाइ हुँदै आएको भन्छन् । त्यसपछि खुलेका पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङको पाठ्यक्रममा केही परिमार्जन गर्न खोजे पनि त्यसको पूर्ण कार्यान्वयनमा पनि कमजोरी देखिन्छ ।

गुणस्तरीयतामा जोड
पछिल्लो समयमा इन्जिनियरको संख्या बढ्दै गए पनि त्यसको तुलनामा गुणस्तर वृद्धि हुन सकेको देखिँदैन । गुणस्तरीय शिक्षाका लागि सरकार र निजी क्षेत्रका कलेजले समन्वयात्मक ढंगले जसरी अगाडि बढ्नुपर्ने हो त्यो भएको पाइँदैन ।

नेपाल इन्जिनियरिङ कलेज एशोसिएसनका अध्यक्ष रामेश्वर रिजाल राज्यको निजी कलेजलाई हेर्ने दृष्टिकोण सही नभएको बताउँछन् । ‘पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्न नपाएका विद्यार्थीले निजी कलेजमा भर्ना पाएर अध्ययन गरिरहेका छन्, यसबाट कम्तीमा देशको पुँजी बाहिर जानबाट रोकिएको छ,’ निजी कलेजले सरकारले बनाएको नीतिनियम पालना गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरे पनि नियामक निकायले अनावश्यक झमेला थप्ने गरेको आरोप उनले लगाए । ‘हामीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्नु त परै जाओस्, असजिलो अवस्था खेप्नुपरेको छ,’ उनी थप्छन् ।

हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेज स्कुल अफ साइन्सका प्रमुख तोयानारायण पौडेल, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने विद्यार्थी उत्कृष्ट हुने तर अन्य कलेजमा पढ्ने कमशल हुने मान्यता त्याग्नु पर्ने बताउँछन् । विद्यार्थीहरुलाई सही परामर्शको अभाव खड्दै गएको छ । यसले प्रविधिको उच्चतम प्रयोग हात–हातमा हुँदा अध्ययन अध्यापनमा विकास हुनु पर्ने हो तर त्यसो हुन नसकेको पौडेल बताउँछन् ।

विद्यार्थीमा नयाँ विषयवस्तुबारे खोजी गर्ने बानी हराउँदै गएको देखिन्छ । पठन सामग्री व्यापक भए पनि अध्ययन गर्ने बानी घट्दै गएको छ । त्यसमा पनि आजभोली सबैभन्दा बढी इन्जिनियरिङ कलेजहरुमा विद्यार्थीहरुले हडताल गर्छन् । यसले नियमित नियमित कक्षा सञ्चालन समस्या हुने गरेको छ । जसले गर्दा समयमा पाठयक्रम नसकिने र त्यसले विद्यार्थीको शैक्षिक उपलब्धीमा असर परेको नेशनल कलेज अफ् इन्जिनियरिङका प्रिन्सिपल प्राध्यापक इ. टीकाबहादुर गलामी बताउँछन् ।

पछिल्लो समयमा भारतीय कलेजहरुले सस्तो सुल्कमा इन्जिनियरिङ पढाउन लैजाने प्रवृद्धिप्रति नीजि इन्जियिरिङ कलेजहरु चिन्तित देखिन्छन् । त्यस्ता प्रलोपनमा नपर्न अभिभावक तथा विद्यार्थीलाई चनाखो हुनु पर्ने कतिपय कलेज सञ्चालहरु बताउँछन् ।

कतिपय कलेज सञ्चालक पाठ्यक्रम सुधार गरेर विश्व बजारको माग अनुसार इन्जिनियर उत्पादन गर्ने हो भने समस्या समाधान हुने तर्क तर्क गर्छन् ।

तर त्यसकोलागि ‘गुणस्तरीय शिक्षामा ध्यान दिनु वाहेक अन्य विकल्प नभएको नेपाल कलेज अफ् इन्फरमेशन टेक्नोजलीका प्रिन्सिपल ई. निरञ्जन खकुरेल बताउँछन् । त्यो समस्या समाधान परिषद्ले इन्जिनियरको परिक्षा लिने व्यवस्थासँगै समाधान हुने तर्क गर्छन प्रिन्सिपल खकुरेल ।

जनशक्ति खाँचो
एकातिर उत्पादित इन्जिनियरमा जस्तो खालको आत्मविश्वास र दक्षता हुनु पर्ने हो त्यो नहुँदा प्रतिस्पर्धी बजारमा बिक्न गाह्रो हुन्छ । सीमित संख्यामा रोजगारीको सम्भावना भएकाले इलक्ट्रोनिक्स इन्जिनियरले योग्यता अनुसार काम पाउन नसकेका यसैको उदाहरण हो ।

अर्कोतिर इन्जिनियरिङमा विद्यार्थीले भौतिकशास्त्र‚ रसायनशास्त्र‚ गणित‚ वातावरण विज्ञान‚ मेकानिक्सलगायत विषय पढ्नुपर्छ । यी विषय पढाउनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको कलेज सञ्चालकको भनाइ छ ।
पाठ्क्रमको बोझले ठूला सपना देखेका नीजि कलेजका विद्यार्थीहरु कालान्तरमा थला पर्छन । उनीहरुमा विषयगत ज्ञानको बोझ छँदै थियो । कालान्तरमा तेस्रो सेमेस्टरमा गैसकेपछि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउन चुनौतिपूर्ण हुन्छन् । त्यस्तो कल्पना गर्न सकिएन भने अवरोध आउने एकजना इन्जिनियरि पढ्दै गरेका विद्यार्थी सरोज पौडेल । उनका अनुसार कतिपय विद्यार्थीलाई २२सम्म व्याक लागेको उदाहरण छन् । प्लस टुमा ८० प्रतिशत ल्याएका पनि इन्जिनियरिङमा गएर विषय लागेपछि नैराश्यता हुने गरेका उनी बताउँछन् । नीजि कलेजमा शिक्षण शुल्क अधिक भएकोले कति विद्यार्थीहरु कलेजमा रकमले सटिफिकेट आउने स्वभाव राखेको पाइने पौडेल बताउँछन् ।

मार्यादित इन्जिनियर
पछिल्लो समय इन्जिनियरको संख्या बढेसँगै गुणस्तरको बारेमा विभिन्न प्रतिक्रिया आइरहेका बेला परीक्षा लिएर मात्र प्रमाणपत्र दिनुपर्ने कुरा उठिरहेको छ । तर, नेपाल इन्जिनियरिङ परिषदले परीक्षाको व्यवस्था गर्ने गरी ऐन संशोधन गर्नका लागि प्रस्ताव मन्त्रालय पठाएको साँढे दुई वर्षभन्दा बढी समय बिते पनि काम अगाडि बढेको छैन । ‘कतिपय अवस्थामा मलाई परिषद नै छ कि छैन जस्तो लाग्छ, यसले प्रभावकारी ढंगले काम गर्न सकेको छैन,’ अध्यक्ष साह भन्छन् । इन्जिनियरलाई पेशाप्रति मर्यादा बनाउन रोजगारदाताले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । ‘गुणस्तरहीन इन्जिनियरलाई काममा लगाउँदा लगानीकर्ता आफैं समस्या पर्छन् । त्यो पक्षलाई राम्ररी हेर्नुपर्छ,’ उनी भन्छन् ।

युनिभर्सल इन्जिनियरिङ साइन्स कलेजका प्रबन्ध निर्देशक रामचन्द्र कँडेल भन्छन्, ‘इन्जिनियरलाई मयादित बनाउन परिषदले इन्जिनियािरङ परिक्षाको व्यवस्था गर्नुपर्ने मान्यता राख्छन् । उनीजस्तै अधिकांस कलेजमा संञ्चालक पनि परिक्षा लिनु पर्नेमा जोड दिन्छन् । तर परिषद् त्यो काम अगाडि बढाउन सकेको देखिदैन ।

विकल्प
इन्जिनियरिङ शिक्षालाई समयअनुकूल बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गरी नेपाललाई कस्ताखाले इन्जिनियर चाहिएको हो, त्यसमा स्पष्ट हुनुपर्छ । निजी कलेज पढेर औसत ज्ञान र सीप सिकेका इन्जिनियरलाई तालिमको व्यवस्था गरेर दक्ष बनाउन पर्नेमा विज्ञहरु जोड दिन्छन् । ति बाहेक आवश्यक भौतिक संरचना, योग्य शिक्षक, प्रयोगशाला, फिल्ड वर्कलगायत पक्षमा ध्यान दिनु जरुरी छ ।