आज वेलुकी खग्रास चन्द्र ग्रहण

काठमाडौं । आज वेलुकी ५ बजेर ३६ मिनेट देखि ८ बजेर ५६ मिनेट जाँदा खग्रास चन्द्रग्रहण नाङ्गो आँखाले देख्न सकिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अवलोकनकर्ताले ६ बजेर ३६ मिनेट देखि १ घण्टा १६ मिनेट सम्म अर्थात् ७ बजेर ५२ मिनेट सम्म चन्द्रमालाई तामा रंगमा देख्न सकिनेछ । यस अवधिलाई खग्रास भनिन्छ। त्यसपछि ग्रहण क्रमसः कम हुदै राति ८ बजेर ५६ मिनेटमा सकिनेछ ।

नासोका अध्यक्ष भट्टराईले यस बर्ष अंग्रेजी जनवरी महिनामा दुईवटा पूर्णे परेको बताए । उनले यस्तो दुर्लब अवस्था १५२ वर्ष पछि देखिएकोले बढी महत्वकासाथ हेरिएको बताए ।

वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहणका हेर्दा हानी नोक्सानी गर्दैन । त्यसैगरी वैदिक मान्यता अनुसार पनि चन्द्रग्रहण सामान्य प्रक्रिया हो भनिएको पाइन्छ । तर पूराणहरुभने मत बाझिएको पाइन्छ जस अनुसार राशी अनुसार ग्रहणलाई अवलोकन गर्नु भनिएको छ ।

खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।

चन्द्र ग्रहण कसरी हुन्छ ॽ

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ। यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ ।

चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छाँयाले चन्द्रमा छेकिन्छ, जसलाई नै चन्द्रग्रहण भनिन्छ ।

ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको हुन्छ । ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास भनिन्छ भने केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ ।

ग्रहण ‌औंसी र पूर्णिमामा लाग्छ । सृर्य ग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ ।

सूर्य, पृथ्वी र चन्द्रमा पुर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ।

त्यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ। यी दुई बिन्दुहरुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ।

सुपरमुन के हो

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा अन्डाकार बाटोमा गर्दछ । यस्तो बाटोबाट परिक्रमा गर्दा चन्द्रमा कहिले पृथ्वीको नजिक आउँने वा कहिले टाढा जान्छ । त्यसैले पूर्णिमाको समय चन्द्रमा पृथ्वीको अधिक नजिक आउनुलाई सुपरमुन भन्ने गरिन्छ। ग्रहणको बेला मात्र सुपरमुन देखिने भन्ने हुँदैन ।

ग्रहणको समयमा आज चन्द्रमा पृथ्वीबाट करिब ३,५८,००० किलोमिटरको दुरीमा रहनेछ। पृथ्वी र चन्द्रमाको औसत दुरी ३,८४,००० किलोमिटर हो।

ब्लू–मून के हो ?

ग्रेगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पुर्णिमा परे दोस्रो पुर्णिमालाई ब्लु–मुन भनिन्छ । नेपाली समय अनुसार गत जनवरी २ तारिखमा पूर्णिमा परेको थियो भने जनवरीको अन्तिम दिन आज पनि पुर्णिमा परेको छ।