स्मार्ट कृषि प्रणाली अपनाइदै

आकाशे पानीमा भर पर्ने कृषक आजभोली सौर्य उर्जा मार्फत् जमिनको पानी तानी खेती गर्छन्।

 लक्ष्मण डंगोल

नवलपरासी हिजोआज देउचुली नगरपालिका–१७ कुलेनीका ३५ घर धुरी किसानले आधुनिक कृषि विधि अपनाएर खेती गर्छन् । केही किसान मोबाइल एसएमएसबाट मौसमी विवरणदेखि बजार भाउ बुझ्नेसमेत गर्दा रहेछन् । जसले बजार भाउ थाहा पाउन सरल भएको कुलेनी मिश्रित सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष तुलाराम सुवेदी बताउँछन् ।

कुलेनीका किसानहरु पछिल्लो केही वर्षदेखि खेतमा काम गर्ने जनशक्तीको अभाव हुदै आएको थियो । खेतमा काम गर्ने जनशक्ति अभाव भएपछि आधुनिक खेती प्रणाली अपनाइएको देउचुलीका ६६ वर्षे शिव पुरी बताउँछन् । आधुनिक खेती विधिले सजिलो भएको पुरीको भनाइ छ ।

पुरीका अनुसार केही वर्ष अघिसम्म गाउँमा खेती गर्न पानीको ठूलो समस्या थियो । “मंसर-पुष-माघमासमेत खोलाको पानीले खेती गरिन्थ्यो तर अहिले त्यो संभव छैन,” उनी भन्छन्, “खोलाको पानीले खेती पनि सप्रन्थ्यो ।”

हिउँदेयाममासमेत पानी पाइन्थ्यो तर खहरे खोला सुख्खा भएपछि हालसालै जडान गरेको सौर्य प्रविधिमा आधारित सिचाई प्रणालीले उनको त्यो आशा जागेको छ । शिव पुरी भन्छन्, “आधुनिक कृषि प्रविधिले हाम्रो श्वास धानेको छ । पानी पाइएपछि उब्जनी बढेको छ ।”

विगतका वर्षहरुमा पानीको हाहाकारले सोचेजति उब्जनी हुन नसकेको उनको कथनी थियो । जस्तोसुकै जातका विउ लगाएपनि प्राण धान्ने पानी नभएपछि मनग्य उब्जनी हुदैन्थ्यो । तर अहिले कुलेनी मिश्रिस सौर्य सिचाइ प्रविधि भित्र्याएपछि उनको त्यो छट्पटाहटलाई राहत मिलेको छ ।

“मंसिर-पुषमा पनि कमसे कम एक झरी वर्षात हुन्थ्यो पहिले तर अहिले जलवायु परिवर्तनले होकी आकाशबाट पानी पर्दैन । खोलामा पनि पानी छैन । खेतीलाई पानीको समस्या टरेको छ तर कृषिलाई थप आधुनिक बनाउन सकेको छैन” उनी थप्छन् ।

कतिपय प्राविधिक कुरा गैरसरकारी संस्था जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानिय पहल, (ली–वर्ड) ले सिकाउने गरेका किसानहरु बताउँछन् । “कतिपय नौला कुरा बुढेस कालमा सिक्न नसक्ने,” पुरी भन्छन्, “नयाँ पिढिलाई सिकाउन सके राम्रो हुने देखिन्छ ।”

जलवायुमैत्री गाउँको कल्पना  

हिउँदामा कुलेनी क्षेत्रमा पानीको अभाव तथा दीगो कृषि प्रणाली अपनाउन जलवायुमैत्री गाउँ परियोजना संत्र्चालनकोलागि पहल गरेको ली-वडका उत्तम शर्मा बताउँछन् । जलवायु परिवर्तनसँग जुध्न समानुकुलित हुने क्षमता वृद्धि गर्न योजनाले काम गर्नेछ । जसअनुरुप अमेरीकास्थित एरीजोना स्टेट विश्वविद्यालयले ८० प्रतिशत अनुदान १७ लाख ३५ हजार ५ सय ८८ रकम आर्थिक सहयोग गरी कुलेनीमा सौर्य सिचाइ जडान गरिएको शर्मा बताउँछन् । सुख्खा क्षेत्र पहिचान गरी दातृ निकायबाट ली-वडले सहयोग जुटाएको बताइन्छ । बाँकी २० प्रतिशत ३ लाख ५ हजार रकम ३५ घर धुरीले व्यवस्था गरेको कुलेनी मिश्रित सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष तुलाराम सुवेदी बताउँछन् । जसबाट साँढे ६.७ हेक्टर क्षेत्रफलमा सिंचित हुन्छन् ।

ति बाहेक खाद्यबाली तथा नगदेबालीलाई आवश्यक पर्ने पोषणको आधुनिक तरीका सिक्दै गरेको बतउँछन् उनीहरु । आजभोली गाउँमै प्राविधिक सहयोग पाइदा उनीहरु खुशी देखिन्छन् । सरकारी कृषि विज्ञहरुले सुझाएका पोषण तथा अन्य प्रकारका खेती गर्ने प्रविधिको जानकारी दिने गरेको छ । कतिपय कृषकले रैथाने जातका गहुँ खेती गरेको छ । सँगसँगै नगदेबाली पनि लगाएका छन् ।

ली-वडका उत्तम शर्मा किसानहरुलाई गाउँमै खाद्य सुरक्षा विधि,  सामुदायिक विउ व्यांकको स्थापनालगायत जलवायु परिवर्तन र त्यसँग जुध्न पहल गरेको बताउँछन्। थोपा सिचाई प्रविधि र जिरो टिलेजजस्ता विधि अपनाएर कुलेनीमा आजकल खेती गरिरेहेको छ ।

विउ-विजन छनोट

किसानहरुले उन्नत जातका गहुँका विउ लगाएका छन् । त्यसमा केही रैथाने जातका पनि छन् । कृषि वैज्ञानिक मदनराज भट्ट नेपालभर ३ प्रतिशत रैथाने र ९७ प्रतिशत उन्नत जातका गहुँ बाली लगाउने बताउँछन् । देशभर प्रचलित ४३ जातका गहुँका विउहरु छन् ।

 भट्टका अनुसार कूल खेतीयोग्य जमिनको ६० प्रतिशत तराईको भूभागमा विजय, गौतम र भृकुटीजस्ता जातहरु लागाइन्छ भने पहाडी ३३ प्रतिशत र हिमाली ७ प्रतिशत क्षेत्रमा धवलागिरी र स्वर्गद्वारीजस्ता जातहरु लगाउने गरेको छ ।

ती बिउ नेपाली वैज्ञानिकहरुले पहिचान गरेका उन्नत जातका विउ भएको कृषि वैज्ञानिक भट्ट उल्लेख गर्छन् । जसका कारणले पछिल्लो एक दशकमा गहुँको उत्पादन बढेको पाइएको छ तर तापक्रम वृद्धि उत्पादनमा असर परेको भट्ट औल्याउँछन् ।

कृषि वैज्ञानिक मदनराज भट्टका अनुसार गहुँका विउ नेपाल मात्र नभइ भारत, वांग्लादेश, भूटान र पाकिस्तानमा समेत पुगेको छ । वांग्लादेश तथा भूटानमा नेपाली विज्ञले पहिचान गरेका डाँफे जातका गहुँ बाली लगाउने गरेको भट्ट बताउँछन् । उनी नेपाल दक्षिण एशियामा गहुँ उत्पादन गर्ने तेस्रो मुलुक भएको बताउँछन् ।

सामुदायिक विउ व्यांक

 गाउँमा अन्यत्र विउ खोज्न तथा किन्न जानुभन्दा सामुदायमा वीउ संरक्षण गर्न राम्रो मानिन्छ । त्यही अनुसार कावासोती-१४ अग्यौली गाउँमा रैथाने तथा उन्नत जातका विउ जोगाउन सामुदायिक विउ व्यांक (संकलन केन्द्र)को स्थापना गरेका छन् । सरकारी, गैरसरकारी तथा स्थानिय पहलमा विउ संकलन केन्द्रको स्थापना गरेको छ । जसमा अन्नबाली ७५, तरकारी-६६, कोशेवाली-१८ र तेलबाली-८ गरी १६७ प्रकारका संरक्षण गरेका छन् । रैथाने धानका विउ अनदी, झुपुरे, झिनुवा र छ्याङ्ग्रालगायतका छन् । गहुँका रैथाने तथा उन्नत जातका विउहरु छन् ।

संकलन केन्द्रले उन्नत जातका विउ-विजन २०७० सालदेखि बिक्रीवितरण समेत गर्दै आएका छन् । कृषि केन्द्रमा पाइने विउ गाउँमै पाउँदा कृषकहरु फाइदा भएको कृषि विकास कृषक समितिका सदस्य उत्तमकुमार सिग्देल बताउँछन् ।

साल केजी
२०१३ १०३८ केजी
२०१४ २६७४४केजी
२०१५ ४७७९२केजी
२०१६ २७२९२केजी
२०१७ १८५४४केजी

सूरुमा ५ लाखको विउ पूजी कोष स्थापना गरी विउ खरीद गरी सञ्चालन गरेको थियो । सदस्य उत्तमकुमार सिग्देलका अनुसार हालसम्म १८०७ घरधुरी लाभाम्वित भैसकेको छ । कृषि जैविक सूचना केन्द्र बनाउन उद्देश्य अनुरुप काम भैरहेको छ । जस अनुसार विउ संकलन तथा बिक्री वितरण गर्ने काम भैरहेको समितिका सदस्य उत्तमकुमार सिग्देल बताउँछन् ।

‘जिरो टिलेज’ प्रविधिको अनुसरण

आजकल कुलेनीका किसानले आधुनिक प्रविधि जिरो टिलेजको अनुसरण गरेका छन्। कृषि विज्ञका अनुसार पछिल्लो समय तराईका ९० प्रतिशत जमिनमा खन-जोत नगरी बिउ छर्ने ‘जिरो टिलेज’ विधि अपनाइएको छ । यो प्रविधिको सहायताले धान काटेपछि बाजोमा सिधै जिरो टिलेज यन्त्र आफैले विउ तथा मल हाल्ने हुन्छ ।

विज्ञहरु हातले छरेको र मशिनले छरेको गहुँमा अन्तर हुने बताउँछन् । परम्परागत प्रविधिभन्दा आधुनिक प्रविधिमा खर्च कम लाग्ने बताइएको छ । कतिपय किसानले पुरोनो विधि र नयाँ विधिको अन्तर थाहा पाउन केही क्षेत्रफलमा दुवै विधि परिक्षण गरेको छ । आवश्यक मलजल त्यही किसिमले गरेको छ । हातले गहुँ छर्दा प्रति कट्ठामा दुइमुरी फलेको पाइएको कृषक शिव पुरी बताउँछन् । उनले मशिनले छरेकोमा साँढे दुई मुरी फलेको बताए ।

मल-जलका कुरा

आधुनिक कृषि प्रणालीमा तोके अनुसार मल-जल गर्न सके राम्रो उत्पादन हुने सरकारी अधिकारीहरु बताउँछन् । तर किसानले मल हाल्न नजान्दा उब्जाउ कम हुने गरेको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेषरमन उपाध्याय किसानहरु हिजोआज मलजलमा सजग भएको बताउँछन् ।

कुलेनी रजरका शिव पुरीले पहिले मल पाइदा मात्र हाल्ने, नपाइदा नराख्ने गदर्थे तर अहिले मल प्रयोग विधिको प्राविधिक ज्ञान पाएपछि सोही अनुसार प्रयोग गर्ने गरेको बताउँछन् । “नाइट्रोजन, पोटास र जिंक बाहेक एक कट्ठामा १५/१६ डोको बस्तुको मल हाल्ने गरेको,” उनी भन्छन्, “मल कम भएको अवस्था १० डोको हाल्ने गरेका छौं ।”

बढ्दो उब्जनी            

कृषिमा आधुनिक यन्त्रको प्रयोगसँगै वैज्ञानिक खेती प्रणाली अपनाइँदा गहुँखेतीमा उत्पादन बढेको पाइएको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेष रमन उपाध्याय बताउँछन् । यसले पछिल्लो समय गहुँ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको कृषि वैज्ञानिकहरुको भनाइ छ । 

करिब छ दशकअघि प्रति हेक्टर ११ सय किलो गहुँ फल्ने गरेकोमा आर्थिक वर्ष ७१/७२मा प्रति हेक्टरमा करिब २६ सय किलो उत्पादन भएको थियो । तर आर्थिक वर्ष ७२/७३मा १ सय किलो कम उत्पादन भइ प्रति हेक्टर २५ सय किलोमा झरेको थियो। विज्ञहरु, उत्पादनमा थप वृद्धि गर्न आधुनिक प्रविधिसँगै आवश्यक पोषण तत्वहरु नाइट्रोजन, फस्फोरस, जिङ्क, बोरोन र युरियालगायतको अनुपात मिलाउनुपर्ने बताउँछन्।

तरपनि कतिपय स्थानमा पोषणको मात्रा मिलाउन नजान्दा फुस्रे गहुँ बाली हुने गरेको बताइन्छ । फागुनतिर तातो हावा बहने तथा उच्च तापक्रम हुनेहुदाँ उत्पादन घट्ने गरेको छ । यसको मुख्य कारण भनेको गहुँ लगाउने समय ढिलो भएको कृषि वैज्ञानिक मदनराज भट्ट बताउँछन् । त्यसैले धान काट्ने वितिक्दै बाजो खेतमा ‘जिरो टिलेज’ मशिनले समयमा गहुँ लगाउन सकिन्छ । यसले उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

यसरी पछिल्लो समय कृषि पेशामा आधुनिक प्रविधिको आकर्षण बढ्नुमा कम खर्चिलो र कम जनशक्ति लाग्ने भएको कृषि वैज्ञानिकहरु बताउँछन् । उनीहरुका अनुसार गत आर्थिक वर्षमा देशभर करिब साढे ७ लाख हेक्टर क्षेत्रफलमा गहुँको खेती गरेको छ । यद्यपि भौगोलिक कारणले पहाडी तथा हिमाली भेगका किसानमाझ यस्ता प्रविधि पुर्याउन नसकेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेष रमन उपाध्याय बताउँछन् ।

विज्ञहरु गहुको उत्पादन पूर्वी नेपालमा कम हुने हुन्छ । सबैभन्दा बढी पश्चिम कैलाली र कञ्चनपुरमा फल्ने गरेको छ । कैलालीमा प्रति हेक्टर साँढे ३ टन सम्म गहु उत्पादन हुने आंकडा पाइन्छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *