संष्कारयुक्त सिकाई नहुनुमा खोट कस्को ?

त्यो शिक्षा, यो शिक्षा

वि. स. १९१० मा दरबार हाइस्कुल खुल्यो । सोही समयबाट नेपालमा विद्यालय तहको शिक्षाको औपचारिक सुरु भएको मानिन्छ । यो हिसाबले १ सय ६४ बर्षको यो कालखण्डमा सामुदायिक विद्यालयका संख्या थपिएर २९ हजार हाराहारी पुगेका छन भने निजी क्षेत्रबाट यो अवधीमा सात हजार विद्यालय थपिएका छन् ।

शिक्षा विभागको पछिल्लो तथ्यांकअनुसार विद्यालय तह (कक्षा १–१२)मा ७२ लाख ४८ हजार दुई सय ८५ विद्यार्थी अध्ययनरतछन् ।यो अवधिमा शिक्षण पेशाकासाथैं सिकाइका प्रविधिमा अकाश र जमिनको अन्तर आएको छ । प्रविधिको विकास हुँदै गर्दा व्यक्तिको नैतिक मूल्य–मान्यता र कर्तव्यजस्ता विषयहरु पढाईका विषय हुन छाडे । यी विषय प्रथामिकतामा परेनन् । गुरुकालिन शिक्षाका विद्यार्थीहरु कर्तव्यपरायण, नैतिकवान् र इमान्दार हुन्थे । तर अहिलेको शिक्षाले माटोको माया गर्न सिकाएन,अभिभावकबीचको दुरी बढायो ।

शिक्षालाई परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यलाई जोड्ने बिषयमा न त नीति निर्माण तहमा बस्नेहरुले चासो देखाए । न त पाठ्यक्रम बनाउनेहरुकै ध्यान दिए । पाठ्यक्रममा संस्कार र नैतिक मूल्य मान्यताका कुराहरु नअटाएपछि विद्यालय र शिक्षकका लागि यी महत्वपूर्ण कुरा मूल्यहीन ठहरिए । अभिभावकहरुका लागि छोरा छोरीहरुले जस्तो शिक्षा हासिल गरेर भए पनि डाक्टर,इन्जिनियर,पाइलट नै बनाउनु छ । उनीहरुले पनि आफ्ना सन्तानलाई नैतिक,मुल्य,मान्यता र सभ्यतागत कुराहरु सिकाउन सकेनन् । फलत हाम्रो विद्यालय शिक्षा लगाम विनाको घोडाजस्तो बन्न पुग्यो । शिक्षाविद् विद्यानाथ कोइराला निजी विद्यालयहरुले संस्कारगत कुरा सिकाउनै नचाहेको आरोप लगाँउछन् । हाम्रो शिक्षाले संस्कार विगारेको कुरा स्वीर्काछन् पाणीनि स्कुलका प्रिन्सिपल कर्णबहादुर शाही । भन्छन्,‘पहिलो त हाम्रो पाठ्यक्रम नै परीक्षामुखी मात्र भयो । परीक्षामुखी मात्र हुने तर जीवनमा नदेखिने शिक्षा खासै उपयोगी हुँदैन । जीवन उपयोगी शिक्षा भनेकै विद्यार्थीहरुको बानी, व्यवहार, बोलीचालीमा परिवर्तन ल्याउन सक्ने,सुधार ल्याउन सक्ने शिक्षा हो ।’

अन्योलमा अभिभावक
नयाँ बर्ष सुरु भएसँगै विद्यालय र अभिभावकहरु चटारोमा हुन्छन् । विद्यालय विद्यार्थी भर्नाका लागि हतारिएका हुन्छन भने अभिभावक उपयुक्त विद्यालयको खोजीमा । नयाँ शैक्षिक सत्र सुरुवात भएसँगै अन्योलमा छन् अभिभावकहरु । आफ्ना सन्तानलाई कहाँ पढाउने र कस्तो विद्यालयमा पठाउने भन्ने अन्योलताले अभिभावकहरुमा डेरा जमाइरहेको छ । यतिखेर अभिभावकहरु आफ्ना बालबालिकालाई सार्थक शिक्षा दिने उपयुक्त शैक्षिक संस्थाको खोजीमा छन् । यो महत्वपूर्ण समयमा सही शैक्षिक संस्थाको छनोटले विद्यार्थीको भविष्यलाई नै उज्ववल बनाउने उच्च सम्भावना रहन्छ । अर्काेतिर गलत रोजाइले पछुतो गराउनेछ । अभिभावकहरु अलमलमा छन । कस्तो विद्यालयलाई राम्रो मान्ने ? हिजोआज विद्यालयमा बालबालिकालाई व्यवहारिकभन्दा पनि सैद्धान्तिक ज्ञान थोपरिएको छन् ।

बालबालिकालाई एकआपसमा प्रतिस्पर्धा गरी सबैभन्दा अब्बल हुन सिकाइएको हुन्छन् । उनीहरूलाई जसरी हुन्छ सफल मान्छे बन्न प्रेरित गरिन्छ । तर असल हुन सिकाउने विद्यालयका संख्या नगन्य मात्र छ । संष्कृतिविद् डा.गोविन्द टण्डनका शव्दमा ‘हाम्रा विद्यार्थीहरुलाई ठूलो र प्रख्यात व्यक्ति बन्न सुझाइनुभन्दा पनि असल र इमान्दार बन्न प्रेरित गर्ने प्रकारको शिक्षाको अति आवश्यक’ देख्छन् । अगाडि थप्छन् ‘हाम्रा विद्यालय शिक्षामा पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । यस्तो शिक्षा प्रणाली नै सुधार्न ढिला भइसकेको उनको टिप्पणी छ । मानवीय मूल्य–मान्यता र संस्कारको ज्ञानबिनाको शिक्षा अपुरो, अव्यवहारिक र लगाम बिनाको घोडाजस्तै बन्ने संष्कृतिविद्हरुको चिन्ता छ । शिक्षाविद्हरु समेत विद्यालयले आफूलाई करेक्सन गर्न ढिला भइसकेको टिप्पणी गर्दछन् । शिक्षाविद् डा.विद्यानाथ कोइराला ‘विद्यालयले साना बालबालिकालाई अनावश्यक कृत्रिमता वा बनावटीपन सिकाएको’ प्रति गुनासो गर्दछन् । थप्छन् ‘हाम्रो विद्यालयहरु अग्रेजका दलाल भए । उनीहरुलाई यहाँको माटो,धर्म,संस्कार र संस्कृति सिकाउनुभन्दा अमेरिका र युरोपियन मुलुकहरुको संस्कार सिकाउनुमा गर्व गर्न थाले । यही कारण हाम्रो शिक्षा विग्रियो । संस्कार विग्रियो ।’

यही चिन्ता हो संष्कृतिविद् डा.गोविन्द टण्डनको पनि । भन्छन् ‘यो विग्रेको परिपाटी सुधार्न युद्धस्तरमा नजाने हो भने कुनै दिन हामीसँग पछुताउनुको अर्काे विकल्प बाँकी रहनेछैन् ।’

कस्तो विद्यालय रोज्ने ?
अब प्रश्न उठ्छ कस्तो विद्यालय राम्रो मान्ने ? सबै अभिभावकको एउटै धारणा छैन । कसैले नतिजा राम्रो आएको विद्यालय राम्रो मान्छन् भने कतिपयले विद्यार्थीको चौतर्फी विकास गर्ने संस्था राम्रो मान्छन् ।

एनप्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाही पढाइका साथै व्यक्तित्व विकास गर्ने विद्यालय राम्रो हुने बताउँछन् । शाहीले थप्छन् ‘विद्यार्थीलाई एक्स्पोजर गराउने, स्वस्थ हुन सिकाउने, समाज चिनाउने र समग्रमा व्यक्तित्व विकास गर्ने शैक्षिक संस्था राम्रा हुन् । ती संस्थाले तत्काल सर्टिफिकेट दिने मात्र होइन, जीवन जिउन सिकाउँछन् ।’ ‘विद्यालयमा सुरक्षित भौतिक पूर्वाधार, विद्यार्थी अनुसार शिक्षण सामग्री, पुस्तकालय, ल्याव, खेलमैदान, वरिपरीको वातावरण, शुद्ध खानेपानी, सफा एवं पहँुच योग्य चर्पी, कक्षाकोठा (प्रकाश, आकार, डेक्सबेन्च आदि) प्रविधि मैत्री व्यवस्थापन भए नभएको अभिभावकले ध्यान दिनु पर्दछ । यसका साथै सरसफाइ र विद्यालयको सुरक्षा सम्बन्धि व्यवस्थाको ख्याल राख्नुपर्दछ । यो भन्दा पनि महत्वपूर्ण कुरा विद्यालय संस्कारी छ वा छैन ? त्यहाँका सञ्चालकदेखि शिक्षकहरुसम्म कस्ता छन् ? विद्यालय कतिको पूरानो हो ? प्रतिष्ठा कतिको राम्रो छ ? आफ्ना नानीबाबु विद्यालयमा भर्ना गर्नुपूर्व यी यावत कुरा केलाउन’ आग्रह गर्दछिन सिद्धार्थ विद्यापीठको प्राचार्य दीपिका थापा ।

करेक्सनको बाटो
घर नै संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्कुल हो । त्यसैले बालबालिकाको व्यक्तित्व विकासका लागि आमाबाबु र परिवारले राम्रो वातावरण, संस्कार र अनुशासनपूर्ण व्यवहार सिकाउनु पर्दछ । असल पाठशाला घर जस्तै प्रथम गुरु बाबुआमा नै हुन् । घरमा सभ्यता, संस्कृति, मूल्य, मान्यता, बोलीचाली र आचरण नसिकेका बालबालिकालाई असल व्यक्ति बनाउन कठिन हुने कतिपय विद्यालय प्रध्यापकहरु सुनाउछन् ।

‘समग्रमा अहिलेको शिक्षा प्रणालीले विद्यार्थीलाई केही ज्ञान–बुद्धि त दिएको छ तर विवेक दिएको छैन । विवेक— असल र खराब छुट्याउन सक्ने सामथ्र्य हो । शिक्षा आर्जन गरेर मानिसले आर्थिक उन्नति त गरेका छन् तर मानसिक रूपमा मानिस झनै दुःखी, अशान्त, अधैर्य र रोगी भइरहेको’ टिप्पणी गर्दछिन मनोविद् डा. गंगा पाठक । उनकै शव्दमा ‘अभिभावकले बच्चाहरुको अभिक्षमता खोजी गर्नेभन्दा महत्वकाक्षी होडबाजीका पछाडि लाग्दा धेरै समस्या देखिएको छ । उनीहरुमा धेरै असर पारेको छ । आफ्नो बच्चाको क्षमता के छ ? भन्ने विषयमा उहाँहरुको ध्यानै जाँदैन । तर छिमेकीको छोरा डाक्टर÷पाइलट बनेको देखेपछि आफ्ना सन्तान पनि डाक्टर/पाइलट बनाउन खोज्नुहुन्छ । जर्वजस्त आफ्ना रुची अनुसार बालबालिकालाई धकेल्दा यस्को असर टिनएजमा उनीहरुले देखाउन थाल्छन् ।’

कतिपय विद्यालयका सञ्चालक/प्रिन्सिपलहरुले संस्कारगत कुराहरुलाई अवलम्बन गरिसकेको देखियो÷भेटियो । निजी तहबाट सञ्चालित केही आंैलामा गन्न मिल्ने विद्यालयहरुमा मात्र संस्कारगत मुल्य मान्यताहरुका आधारमा सिकाई भइरहेको पाइएको छ । उनीहरुले हिडेको बाटो हिड्न अरु विद्यालयहरुले ढिलो गर्नु हुँदैन् ।

खोट अभिभावकको
विद्यालयमा हामीले शिक्षा दियौं तर संष्कार दिन सकेनौं । न त संष्कार सिकाउने विषयमा अभिभावकहरुले चासो देखाए न त विद्यालयले नै रुची देखायो । यो मामलामा दोषी को ? विद्यालयका सञ्चालक ÷प्रिन्सिपलहरुलाई प्रश्न गर्दा अभिभावकलाई दोष देखाउने र अभिभावकलाई प्रश्न गर्दा विद्यालयले बालबालिका विगारे भन्ने आरोप लगाउने गरेको भेटियो । तर,संष्कृतिविद् डा.गोविन्द टण्डन पाठ्यक्रम नै यो अनुकुलको नभएको टिप्पणी गर्दछन । भन्छन,‘पाठ्यक्रम नै नभए पछाडि विद्यालयका शिक्षकहरुले कहाँबाट पढाउन ?’ तर शिक्षाविद् विद्यानाथ कोइराला यो मान्ने पक्षमा छैनन् । शिक्षा र संस्कार विगार्ने नै निजी विद्यालय भएको टिप्पणी गर्दै अभिभावक तथा पाठयक्रम र परीक्षा प्रणालीलाई दोष देखाएर उनीहरु भाग्न नमिल्ने बताँउछन् ।

यद्यपि विद्यार्थी संस्कारी बनाउने मामलामा अभिभावक समेत चुकेको यर्थाथ हामीले भुल्नु हुँदैन । अभिभावक संघ नेपालका पूर्व अध्यक्ष सुप्रभात भण्डारीका शव्दमा ‘ घर विद्यार्थीको पहिलो पाठशाला हो । घर र परिवार भनेको बच्चाको व्यवहार बनाउने वा बिगार्ने मुख्य आधारभूत सामाजिक संस्था हो । जब एउटा घर राम्रो हुन्छ, समाज राष्ट्र र विश्व नै राम्रो हुन्छ । घर परिवारको हेरचाह, माया ममता, गरिने व्यवहार, संस्कृति र संस्कार जस्ता चिजले प्रत्यक्ष प्रभाव पार्ने’ टिप्पणी गर्दछन् । भक्तपुरमा अवस्थित सिद्धार्थ विद्यापीठको प्रध्यापक तथा प्याव्सन उपाध्यक्ष (महिला) दीपिका थापा ‘पढाउनुको अर्थ पाठ्यक्रम घोकाउनु मात्र नभएर बालबालिकालाई जीवनमा सफल हुने तालिम दिनु’ भएको बताउँछिन् ।’

अधिकांश अभिभावकको आफ्नो आचरण खराब भएर बिग्रिएको भए पनि आफ्ना बालबालिका असल बनाउन चाहन्छन् । फेरि अभिभावक संघ नेपालका पूर्व अध्यक्ष सुप्रभात भण्डारी थप्छन् ‘आफू असल भई आफ्ना सन्तानका लागि नमूना बनेर मात्र सपना पूरा हुने’ बताँउछन् ।

लठ्ठी देखाएर अनुशासन ?
अनुशासन भन्ने कुरा वाह्य वातावरणले सृजना गर्नु क्षणिक हुन्छ जब सम्म विद्यार्थी स्वतः स्फुर्त रुपमा अन्तर हृदयबाट प्रेरित हुदैन तब सम्म अनुशासनको पाठ घोकाएर, जवरजस्ती लादेर अपेक्षाकृत नतिजा हात लगाउन सकिदैन । अनुशासन भन्ने चिज लठ्ठी देखाएर हासिल नहुने शिक्षाविद् डा विद्यानाथ कोइरालाको भनाई छ ।

आजको युग सबै व्यस्त हुने, आमाबुबाको न्यानो माया ममता नपाइ वात्सल्य जीवन एक्लो महसुस गरी विताएका बालबालिकाले भोलि उनीहरुका सन्तानलाई कसरी हुर्काउलान् ? अभिभावक भन्दा उनीहरुका संगति र साथी नै प्यारो लाग्ने, उनीहरुसँगै समय व्यतित गर्ने हुदा स्वभाविक रुपमा उनीहरुको माया, ममता र सत्प्रेम उनीहरुसँग हुनु स्वभाविक भएको टिप्पणी विद्यालय सञ्चालकहरु गर्दछन् ।

बालबालिका भनेका कोमल माटो हुन् । विद्यार्थीलाई के बनाउने कस्तो बनाउने मुख्य जिम्मेवारी र भुमिका अभिभावक तथा विद्यार्थीहरुकै हुन्छ । संस्कार सिक्ने उमेर भनेकै विद्यालय तह हो । अहिले हामी हाम्रा विद्यार्थीमा जे भर्दछौं भोली त्यही बाहिर निस्कने हो । विद्यालय शिक्षा र संस्कार सँगसँगै सिकाउनुपर्दछ । संस्कार विनाको शिक्षाको खासै महत्व रहदैन । तर अहिले हामीले दिइरहेको शिक्षामै समस्या रहेको देख्छन् संष्कृतिविद् डा गोविन्द टण्डन ।

‘संस्कार सिकाउने पाठ्यक्रम नै छैन’

डा. गोविन्द टण्डन, संष्कृतिविद्

शिक्षा जीवनसँग जोडिनुपर्दछ । हामीले हाम्रा बालबालिकाहरुलार्य जीवनसँग जोडिने शिक्षा दिन सकेनौं । हाम्रा बालबालिकाहरुले धर्म,संष्कृति र सम्पदा जीवनयापनसँग जोडिने शिक्षा सिक्ने मौका नै पाएनन् । हामीसँग यस प्रकारको पाठ्यक्रम नै छैन । पाठ्यक्रममा नै नभएका कुरा विद्यालय र त्यहाँका शिक्षकहरुले विद्यार्थीहरुलाई कसरी सिकाउँन ?

जीवनसँग जोडिने धर्म, संष्कृति, संस्कारगत कुराहरु हामीले हाम्रा विद्यार्थीहरुलाई दिन सकेनौं । फलत उनीहरुमा बुवा, आमा, परिवार, समाज, देशको माटोप्रतिको माया रहेन ।

अर्को पाटो भनेको हामीले हाम्रा विद्यार्थीहरुलाई सूचना दियौं तर वास्तविक ज्ञान दिन सकेनौं । नेपाली विद्यार्थी अमेरिकी राष्ट्रपति ड्रोनल टम्पका बारेमा गुटी हाक्नसक्ने भए तर हाम्रै देशमा के छ ? हाम्रो मौलिक संस्कार संस्कृतिभित्र के छ ? भन्ने कुरा थाहा पाएनन् । तिम्रो संस्कारको विशेषता यो हो । तिम्रो संस्कृतिको विशेषता यो यो हो भनेर हाम्रा विद्यार्थीहरुले सिक्ने मौका नै पाएनन् ।

हामीसँग संसारमै नभएको अलौकिक भौगोलिक,सांस्कृतिक विशेषताहरु छन् । यो हाम्रा विद्यार्थीहरुलाई बुझाइदिने कस्ले ? अहिंशा परम् धर्म बनेर घोकाइयो तर अहिंसा के हो ? सिकाइएन् । पञ्चशीलका कुराहरु विद्यार्थीले सिक्ने मौका नै पाएनन् । अभिभावकहरुलाई पनि विद्यार्थीलाई ठूलो बनाउन पाए पुग्यो । असल बनाउने विषयमा उनीहरुको ध्यान गएन । संस्कारगत रुपमा हाम्रो यो विग्रेको परिपाटीलाई युद्धस्तरमा गएर नसुधार्ने हो भने पछाडि पछुताउनुको विकल्प हामीसँग रहदैन् ।

प्रा.डा.विद्यानाथ कोइराला, शिक्षाविद्

‘संस्कार सिकाउन चाहेनन्’

निजी विद्यालयले विद्यार्थीहरुलाई संस्कार सिकाएनन् भन्दा पनि चाहेनन् । म चाहेनन् नै भन्छु । चाहेको भए उनीहरुले गर्न सक्थें । निजी विद्यालयका सञ्चालकहरुका लागि मालिक भनेकै बेलायत, अमेरिका, जापान र युरोपका मुलुकहरु भए । पश्चिम भनेको काइदा हो भनेर पढाए, घोकाए । उतैका पाठ्यक्रम, उतैका विषयबस्तु घोकाए/पढाए । यहाँ केही पनि छैन । उता स्वर्ग छ भनेर विद्यार्थीको दिमाग भुटे । त्यही कारण अहिले पनि ती विद्यालयका सञ्चालकहरु मेरो विद्यालयमा पढेका विद्यार्थी यति जना अमेरिका/युरोप/पश्चिमामुलुक पुगे भनेर गर्व गर्दछन् ।

हाम्रो शिक्षा विदेशीको दलाली गर्नेमात्र भयो । यहाँ वुद्धि बेचेर बाँच्न सकिन्छ । जीवनयापन गर्न सकिन्छ भन्ने ढंगबाट सिकाइ नै भएन् । अझैं पनि ढिलाई भएको छैन । विद्यालयमा विभिन्न समुदायबाट विद्यार्थीहरु अध्ययनका लागि आएका हुन्छन् । उनीहरुबीचको पुस्तेनी अन्तरसंवाद चलाउन सकिन्छ । पहिचानका कुरा हप्तामा एक दिन राख्न सकिन्छ ।

नेपालमा यो यो सम्भवना छ हैं भनेर विद्यार्थीहरुलाई बताउन सकिन्छ । अभिभाव तथा पाठ्यक्रमलाई दोष देखाएर निजी विद्यालयका सञ्चालकहरु भाग्न पाउदैनन् । अभिभावकले नसकेर नै छोराछोरी विद्यालयमा पठाएका हुन् । नेपाल सरकारले लागू गरेको पाठ्यक्रम नै विद्यालयले पढाएका होइनन् । जुन जुन प्रकाशनका पाठ्यक्रम हाल्दा बढी कमसिन आँउछ त्यहीका पाठ्यक्रमहरु हालेका छन् । यसर्थ पाठ्यक्रम, परीक्षा प्रणाली, अभिभावकलाई दोष देखाएर आफू चोखिने प्रयास मात्र गरेका हुन् । उनीहरुले चाहेको खण्डमा हाम्रा नानी बाबुहरुलाई सजिलै संस्कारयुक्त शिक्षा दिन सक्छन् । तर दिनै चाहेनन् ।