|
Getting your Trinity Audio player ready…
|
विज्ञान प्रविधि, कला, साहित्य र सङ्गीतलगायत विभिन्न विधामा प्रदर्शनी हुनेछ।

दिक्तेल, खोटाङ, वैशाख ०१ । हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँग सहकार्य गरी पाँच दिने ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी-२०८३’ आयोजना गरिने भएको छ ।
वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन गरिने विज्ञान प्रदर्शनीमा विद्यालय तहदेखि उच्च प्रविधियुक्त चाइनिज ईभी कारसमेत प्रदर्शनी हुनेछ । त्योसँगै, एआई रोबटिक्स्, मानिससँग कुराकानी गर्ने भुन्टेलाई विशेष आकर्षणको रूपमा हेरिएको आयोजकले जनाएको छ ।
नगरपालिका क्षेत्रमा पहिलो पटक हुन लागेको विज्ञान प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीहरूको प्रदर्शनी प्रतिस्पर्धा, रोबोकार रेस, वक्तृत्व कला र हाजिरी जवाफ प्रतियोगिता हुनेछ । रोबोकार रेसका लागि नगरपालिकाले २३ विद्यालयका लागि प्रत्येक विद्यालयलाई एक थान रोबोकारसमेत प्रदान गरिसकेको छ ।

काठमाडौँ उपत्यकाबाट सहभागी हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), काठमाडौँ विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, वाल्मीकि क्याम्पस, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो), बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बिएसएन), रोवटिक्स एसोसिएसन अफ नेपाल (र्यान), स्वायड अफ चेन्ज मेकर्स, कान्तिपुर प्लानेटोरियम, युथ डेण्टिस्ट्री नेपाल, तथा जागरण डेण्टल क्लिनिक र एसपीजी अटोमोवाइल्स प्रा. लि, इनोभेसन हब र बत्स फोटो ग्यालरीको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विद्यार्थी तथा शिक्षकका लागि छुद्र गह खोज्ने कार्यशाला हुनेछ । सो कार्यशालापछि विद्यार्थीहरूले घरमा बसेर मोबाइल वा कम्प्युटरको सहायताले छुद्र ग्रह खोज्न सकिने नासोले जनाएको छ।
ग्रामीण भेगका विद्यार्थी लक्षित बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष नवीन नारायण मुननकर्मीले जैविक मल तथा जैविक प्रविधिका थप आयामहरूमा कार्यपत्र प्रस्तुत गर्नेछ । त्यसैगरी, युथ डेण्टिस्ट्री नेपाल, तथा जागरण डेण्टल क्लिनले निशुल्क दाँत परीक्षण तथा दाँतसम्बन्धी स्वास्थ्यमूलक जानकारी दिनेछन् ।
विद्यार्थी तथा शिक्षकका लागि वैदिक गणितको कार्यशाला हुनेछ । वाल्मीकि विद्यापीठका प्रा.डा. जयन्त आचार्यले प्रशिक्षण दिने बताइएको छ । स्वायड अफ चेन्ज मेकर्सका प्रवन्ध निर्देशक सुशील भट्टराईले रकेटका बारेमा जानकारी दिने तथा विद्यार्थीहरूलाई ग्लाइडर बनाएर उडाउन सिकाउने भएको छ ।

त्यस्तै, विज्ञान शैक्षिक बहस तथा विद्यालयमा आधुनिक शिक्षाको विकासको रूप रेखा तयार पार्न सहयोगी हुने बहस तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । मेलामा सांस्कृतिक झाँकी, परम्परागतता माटो तथा फलामको भाँडा बनाउने रैथाने प्रविधिको प्रदर्शनीसमेत हुनेछन् । त्यस्तै, नगरपालिकामा उत्पादित खाद्य तथा कृषि उत्पादन, बाँस तथा धातुले बनेका सामग्री प्रदर्शनीमा राखिनेछ ।
आधुनिक गाई तथा माछा पालन फार्म र औधोगकरणका लागि चाहिने मेशिनरी पार्टस्को अवलोकन तथा त्यसको थप चर्चा गरिने बताइएको छ । जडीबुटी खेती तथा फलफूल खेतीका लागि आवश्यक पर्ने वनस्पतिसम्बन्धी ज्ञान आदान-प्रदान हुने खालका वनस्पतिको नामकरण गरिएको बिरुवा प्रदर्शनी हुने उल्लेख छ ।
नेपालको तर्फबाट अन्तरिक्षमा साना भू-उपग्रह निर्माण तथा प्रक्षेपणमा भूमिका खेलिरहेका अन्तरिक्ष प्रतिष्ठान नेपालले सानो भू-उपग्रह’ सस्तो स्याट’ प्रदर्शनीमा राखिने आयोजक हिमाल माविका अध्यक्ष सत्यमणि राईले बताए । उनका अनुसार एसपीजी अटोमोवाइल्सले पछिल्लो समय चाइनाबाट नेपाल भित्र्याएका एआई सुविधायुक्त ईभी कारको प्रदर्शनी हुनेछ ।
साहित्य, कला र संगीतको यस विज्ञान मेलामा अवलोकन गर्न पाइने प्रदर्शनी संयोजक सूर्य राईले रिभोसाइन्सलाई बताए । “खोटाङमा यस किसिमको प्रदर्शनी पहिलो हो,” उनले भने, “यसले खोटाङ जिल्लालाई थप परिभाषित गर्न मद्दत मिल्नेछ।”
“कोशी प्रदेशको आर्थिक सहयोगले यो सम्भव हुन गएको छ,” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले भने, “यो प्रदर्शी उत्कृष्ट मात्र होइन भविष्यमा हाम्रा बालबालिकाले एआई कसरी दैनिक जीवनमा प्रयोग गर्ने भन्ने उद्देश्यले ‘रेड पाण्डा’ मुखारित रोबट बनाएको हो।”
हामीले पहिलो पटक यस किसिमको विज्ञान-गणितसँग सम्बन्धित प्रदर्शनी आयोजनाले विद्यार्थीहरू हौसने आकलन गरिएको छ । सीमित स्रोत तथा भौगोलिक विकटतामा हामीले विज्ञान प्रदर्शनी गरिएको हिमालय माविका प्रिन्सिपल पदम राईले भने,”यो नमुना प्रदर्शनी हो, हामी आफैले यस पटक व्यवस्थापन गरेका छौँ, भविष्यका कार्यक्रममा विद्यार्थीलाई समेत सँगै आयोजक टिममा राख्नेछौ।”

Leave a Reply