‘विज्ञान प्रविधिको सामुहिक एजेन्डा’ आवश्यक

विज्ञान प्रविधि विना मानिसको जीवन निरर्थक छ । मानव जीवनको हरेकपाटोमा यसको महत्व बढ्दै गएको छ । त्यही विज्ञान प्रविधिको अवस्था नेपालमा भने नाजुक छ । नेपालका मुख्य रिसर्च सेन्टरको अवस्था धिमा गतिमा चलायमान छ । अन्यले विकास गरेको प्रविधिको प्रयोग गर्न नसकेर प्रविधिमा खिया लागेको छ । यस्तो अवस्थामा नेपालको विज्ञान प्रविधिमा गरेको लगानीसमेत निरर्थक बनेको छ ।

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय जेनतेन चलिरहेको छ । सँगै स्थापना भएका विदेशका अन्य विश्वविवद्यालयले हरेक दिन नयाँ प्रविधिको अविष्कार गरिरहेका छन् । तर त्रिविवि भने कर्मचारी भर्तीकेन्द्र र पार्टीको मनोवृत सिद्धान्तमा चल्दै, प्रतिदिन राजनीतिक चंगुलमा फसेको देखिन्छ ।

नेपालमा विज्ञान तथा प्रविधिको विकासकालागि स्थापीत नास्टको स्थिति पनि नाजुक देखिन्छ । योआफै चल्न सक्ने अवस्था छैन । नास्टले आफ्नै नीति तथा कार्यक्रमको स्पष्ट खाका कोर्न नसकेको अवस्था छ । यहाँ भएको वैज्ञानिकहरुको उर्जा पनि जागिरमा बदलिएको छ । त्यस्तै, नेपालकै अर्को वैज्ञानिक संस्था रिकास्टको अवस्था पनि अत्यन्तै नाजुक नै छ । यसको पनि आफ्नो स्पष्ट खाका छैन । उपलब्ध स्रोतसाधन पनि थन्किएका छन् ।

रिसर्चको लागि अनुदान दिने संस्थाहरु छन् नेपालमा । विश्वविद्यालय अनुदान आयोग(युजिसी), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट), नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), वीपी प्लानेटोरियम लगायतले नेपालमा अनुदानको प्रबन्ध मिलाउँदै आएको देखिन्छ । यसरी हरेक वर्ष नयाँ र पुरानालाई दिएको अनुदानले अहिलेसम्म ‘माखो’ मार्ने अनुसन्धान गरेको देखिदैन । राज्यले नगण्य अनुदान छुट्याइएको तर त्यसको पनि सहि सदुपयोग गर्न सकेका छैनन् नेपालका अनुसन्धान केन्द्रहरुले ।

बजेटको फेहरिस्त नियाल्दा राज्यले विज्ञान प्रविधिको क्षेत्रमा नगण्य प्रतिशत लगानी बढाएकै देखिन्छ । अनुसन्धानको नाममा पनि बजेट छुट्टाएकै छ । तर हाम्रा अनुसन्धानको अवस्था झाराटराई छ । तथ्याङ्क नै हेर्ने हो भने हाम्रो विज्ञान प्रविधिको विकास शून्य छ ।

नेपाल सरकारले विज्ञान तथा प्रविधिको प्रवद्र्धन गर्न विज्ञान मन्त्रालयको स्थापना गरेको छ । यसले राष्ट्रिय हितमा विज्ञानको विकासका लागि नीति निमार्ण गर्नेदेखि लिएर भावी योजनाको लगि बजेटको व्यवस्था मिलाउन पर्ने हो, तर यसको आफ्नै स्पष्ट नीति छैन । स्पष्ट नीतिको बावजुतपनि सरकारले राष्ट्रिय विज्ञान दिवस भव्यताकासाथ मनायो । यसले ढिलै भएपनि नेपालको वैज्ञानिक संस्थाको बेथिति बाहिर आउन मद्दत मिलेको छ । नेपालको वैज्ञानिक संस्थाले गरेको नगण्य कामको उजागर गरेको छ । वास्तवमा रिसर्च कस्तो, कति लगानी र राज्यलाई के फाइदा हुन्छ भन्ने कुरा राष्ट्रिय विज्ञान दिवसमा सरकारका अनुसन्धान केन्द्रहरुले राखेको स्टलहरुबाट बेथिति प्रस्ट हुन्छ । राज्यको दायित्व भनेको संस्था खोल्ने र रकम छर्ने होइन । उसले भएका संस्थालाई दीगो रुपमा चलाउनु पर्ने हुन्छ । राज्य सञ्चालन गर्ने मुख्य दल, सधै ‘पेण्डुलम’ झै हुनुभनेको ‘विज्ञान प्रविधिको सामुहिक एजेन्डा’ विकास गर्न नसक्नु हो ।