हरेक मानिसले अद्भुत गुणको प्रयोग गरेर आफ्नो व्यक्तिपरक विचारको सजावट गर्नाले नै ऊ अन्य मानिस भन्दा फरक हुन्छ । त्यस्तै कलेजको पुस्तकालयमा होस् अथवा पासपोर्ट लिने लाइनमा प्रत्येक मानिसको आँखामा नयाँ सपना देख्ने र प्रत्येकले देख्ने हरेक सपनालाई न्याय दिएको अनि आफु ति कुराहरूमा हराएको देखेर अचम्मित हुने किरण अधिकारी माता राम कुमारी अधिकारी र पिता गोपी अधिकारीका एक मात्र पुत्र हुन् । भिन्न विचार धारा भएका संधैं आफ्नो व्यक्तिपरक विचारको खोजी गर्ने किरण अधिकारीको जन्म वि.सं. २०५२ सालमा धादिङ् जिल्लाको उत्तरी विकट गाउँ मार्पाकमा भएको थियो । सानै उमेरेदखि नै विज्ञानमा अधिक रूचि राख्ने किरण वुवा भारतीय सैन्य शक्तिमा संलग्न हुनुहुन्थ्यो । उनको आमा भने स्थानीय उप स्वास्थ्य चौकीमा नर्सको काम गर्थिन् ।
गाउँमा चलीरहेको माओवादी हिंसात्मक युद्धका कारण पाँचवर्षको उमेरमा उनकी आमाले उनलाई हजुरआमासँग धादिङ्बेसीमा राख्दिनु भएको थियो । हरेक हिँउदको छुट्टिमा उनी आफ्नी हजुरआमासँग करिव आठ घण्टाको पैदल यात्रा गरेर मार्पाक पुग्थे । त्यसवेला भएको गृहयुद्ध र यसले पारेको नोक्सान सम्झिँदा भावुक भएका किरण अधिकारीले रिभोसाइन्सलाई केहि पनि नाफा नभएर नोक्सानमात्र भएको कुरा प्रष्ट्याउँदै यस्ता युद्धले विद्यार्थी वर्गमा नकारात्मक असर परेको कुरा बताए । उनी भन्छन्, ‘मैले नर्सरीमा पढेको डेस्क र बेन्चहरू सेनाको भोजन टेवल बनेको थियो भने मैले पढेको कक्षा कोठाहरू गाईको गोठमा परिणत भएको थियो । आफ्नो भविष्य किताव र कापीहरू भित्र खोज्ने हामी जस्ता विद्यार्थी माथि यती अन्याय भएको थियो कि विहान स्कुल गएका हामीहरू वेलुकी घर फर्कन्छौं अथवा फर्कँदैनौ हाम्री आमा अन्योलमा थिइन् ।’
जन्मनुको अर्थ नबुझेसम्म आफु को हो भनेर भन्न सक्दिन भन्दै अधिकारी आउँदा दिनहरूमा जन्मनुको अर्थ खोज्जे बताउँछन् । आफ्नो भविष्य सुनिश्चित गर्दै जन्मको अर्थ खोज्न चाहनेहरूलाई सरकारले अवसर दिन नसकेको कारण आँखा भरी सजाइएको आशा रित्तो बन्न पुगेको उदाहरण पनि हामीसँग प्रसस्त छन् । साँच्चै वातावरण राम्रो भएन भने त्यहाँका उत्पादन राम्रो हुन सक्दैन र उत्पादन राम्रो नभएपछि भोलीको देशको स्थीती अन्योल हुनपुग्छ । अन्तरिक्षमा घर बनाउने सपना बोकेका किरण अधिकारी जस्ता सिर्जनशिल युवा विद्यार्थीलाई नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले नै वेवास्ता गरेपछि प्रगति सम्भव हुँदैन भन्ने कुरा सवैलाई थाहा छ । तर पनि हाम्रो सरकारले केहि गर्न सकिरहेको अवस्था छैन । तर आशा छ सरकारले अव यस्ता युवाहरूको सृजनाको कदरकोलागि सरकारले हरेक वर्ष विज्ञान प्रविधिको क्षेत्रमा ‘कन्सेप कम्पिटिसन’ गर्न ठोस कदम चाल्ने छ ।
विभिन्न कार्यक्रमहरूमा सहभागि हुँदै आएका अधिकारीले जापानमा नेपाल स्काउटको प्रतिनिधि गरेर १५ औं निपोप्न अन्तर्राष्ट्रिय स्काउट ज्याम्मेरीमा पनि भाग लीने अवसर पाएका थिए । नेपालमा हुनेगरेका विभिन्न किसिमका विज्ञान प्रदर्शनीहरूमा पनि उनले सफलता हात पार्दै आएका छन् । गत वर्ष नेपाल खगोलिय समाजले आयोजना गरेको नेशनल ओलम्यिाडमा सहभागी भई रोमानियामा भएको अन्तर्राष्ट्रिय एस्ट्रोनोमि ओलम्पियाडमा सहभागी भएका थिए ।
अन्तरिक्षमा बस्तीको नमुना
प्रतियोगिताको सफलता सम्झँदै खुसी भएका किरणले आफ्नो जीवन र प्रतियोगिता बारे सविस्तार लगाउँदै भने, ‘सेन्ट जेभियस कलेजको अन्य विज्ञान प्रयोगशालामा प्रवेश गरेपछि मलाई लाग्यो कि वास्तवमा नै विज्ञान भनेको किताबमा छापिएका केहि शुत्रहरूभन्दा फरक धेरै विशाल रहेछ ।’ अमेरिकाको नेशनल एरोनोटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा)ले प्रत्येक वर्ष संसारभरका विद्यार्थीलाई अन्तरिक्षमा बस्ती बसाउने सपना देखाउँदै र बस्तीको डिजाइन प्रतियोगिता आयोजना निरन्तर रूपमा गर्दै आएको छ । सन् १९९४ देखि गरिंदै आएको यस्तो प्रतियोगितामा विभिन्न देशबाट हजारौं विद्यार्थी सहभागी हुने गरेका छन् । यस प्रतियोगितामा यस वर्ष हार्मोनीको डिजाइन कक्षा १२ तर्फको क्याटोगरीमा दोस्रो हुन सफल भयो । अन्तरिक्षमा एउटा सुन्दर घर बनाउने सपना बोकेका हामीहरूले यस प्रतियोगिताको लागि धेरै मेहनत गरेका थियौं । मेरो आशा प्रथम स्थानमा नै थियो । तर दोस्रो भएपनि निकै खुसी लागेको छ ।
आफ्नो अभियानलाई हार्मोनी स्पेश सेटलमेन्ट नाम दिएका अधिकारीले यस प्रतियोगिताको नेतृत्व गरेका थिए । उनी भन्छन्, हार्मोनी स्पेश सेटलमेन्ट टोलीले यस्तो महत्व पूर्ण उपलब्धि हासील गर्दा पनि विज्ञान सचिवले बधाइ समेत नदिएकोमा खल्लो महशुस भएको छ ।’ यस प्रतियोगितामा सहभागी भएको अधिकारीको टोली सेन्ट जेभियर्स उच्च माविमाका विद्यार्थीहरू हुन् । किरणसँगै अध्यनरत ललित सिंह, कृष्ण पन्थी, क्षितिज सिंह, जीवन क्षेत्रीको समूह प्रतियोगितामा सहभागि भएका थिए । हार्मोनीको टिमलाई सुपरिवेक्षणको भूमिका निर्वाह रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलले गरिदिनु भएको थियो । किरण भन्छ्न्, कुनै पनि योजना बनेर मात्र हुँदैन, त्यसलाई पूर्ण गर्न अभिभावकत्व भूमिका गहन हुन्छ–त्यो हामीले लक्ष्मण दाईसँग पाएका थियौं । दाई हामीलाई अमेरीकि अन्तरिक्ष एजेन्सी नासा एम्स रिसर्च सेन्टरमा पठाउन पूर्व सोध्नु भएको थियो, किरण भाई हाम्रो योजना प्रथम हुने चान्स कतिको छ, भन्दा मैले ९० प्रतिशत चान्स बताएका थिए । तर हामी दोस्रो भएका छौं ।
किरण, ललित, मनिष, जीवन, क्षितिज र कृष्ण सवै कक्षा १२ सकेका विद्यार्थीहरू हुन् । प्रतियोगिताका लागि किरण, ललित र मनिषले यानको भित्र बाहिरको बनावट र अन्य विषयलाई हेरेका थिए भने जीवन, क्षितिज र कृष्णले त्यहाँको पर्यावरणीय चक्रको निमार्णमा योगदान गरेका थिए ।
१ सय ५० पृष्ठ लामो अन्तरिक्षमा बस्ती बासाउने योजना बनेपछि सवैले आ–आफ्नो जिम्मेवारी लिएका थिए । योजनालाई तोकिएको समयमा पुरा गर्न किरण अधिकारीको टोलीले दुई वर्षभन्दा बढी समय लागेको थियो । अधिकारीले भन्छन्, ‘नासाले कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि फरक–फरक प्रतिस्पर्धा गराएको थियो । २१ ओटा देश सहित अमेरीकाको १४ ओटा राज्य गरी ९ सय ९४ समुहको सहभागिता रहेको प्रतिस्पर्धामा तीन हजारभन्दा बढी विद्यार्थी र उनीहरका सुपरिवेक्षण गर्ने ३ सय ८० शिक्षकको सहभागिता थियो ।’
प्रतियोगिताको तयारी सम्झँदै किरण भन्छन्, नासाको वेबसाइटमा प्रतियोगिता सम्बन्धि सूचना देखेपछि उनले टिम बनाएर कंयौ रात नसुति काम गरको अनुभव सुनायँछन् । ‘सुरूको केहि महिना हामीहरू अन्तरिक्ष यान बेलनाकार, गोलाकार अर्थात कस्तो आकारको बनाउने भन्ने विषयमा छलफल गरेपछि तीन तल्ले अन्तरिक्ष यानको कल्पना गरेको हो ।’
“मेरो विचारमा हामीले अहिलेकै प्रविधिको प्रयोग गरेर बनाउन सकिन्छ । तर त्यसको लागि ७० वर्ष लाग्नेछ । विभिन्न चरणहरूमा गरियो भने संसारको पुरै जनसंख्यालाई अन्तरिक्ष पु¥याउन सकिने सम्भावना छ । म र मेरा साथिहरूले यस अवधारणा विज्ञान तथा प्रविधिको क्षेत्रले आजसम्म प्राप्त गरेको उपलब्धीको आधारित भएर निमार्ण गरेका हौं ।” हाम्रो अवधारणामा ९० किलोमिटर रेडियस (व्यास)को सबैभन्दा ठुलो वृत्त हुनेछ भने प्रत्येक वृत्तकारभित्र सा, रे, ग, म, प, ध, नी, सा को शहर हुनेछ । प्रत्येक वृत्तकारभित्र ८ ओटा शहर हुन्छ भने एउटै शहर न्यूयोर्क शहर बराबर हुन्छ । मलाई लाग्छ, राम्रोसँग व्यवस्थापन गर्न सकियो भने अमेरिकाको टेक्सास राज्यमै अहिले भएको सबै मानिसलाई राख्न सकिन्छ । मैले कल्पना गरेको शहरको जनघनत्व मुम्बइको भन्दा कम हुन्छ । मेरो अवधारणामा एउटा मानिसका लागि चाहिने २० मिटर लिभिङ स्पेस, अस्पताल, पार्क, स्कुल बाटोघाटो सबैको व्यवस्था बनाउन सकिने बुझाइ किरणको छ ।
यस प्रतियोगितामा भाग लिने विद्यार्थीले नयाँ संसारको विषय कल्पना गर्नुपर्ने हुन्छ । मानिसले जे जति ज्ञान प्राप्त गरेको छ त्यसैको आधारमा अर्को संसारको परिकल्पना गर्ने हो । मैले ‘राज्य व्यवस्था र संविधान कस्तो बनाउने लगायतका सबै कुरामा मानिस समान हुन्छन् भन्ने कल्पना गरेको छु । त्यस संसारमा ठुलो सानो कोहि नभएर सबैले बराबरी अधिकार प्राप्त गर्ने छन् । तर, मैले गरेको कल्पनाको संसारमा जानु पूर्व समानताको व्रmान्ति भने पृथ्वीमा नै हुन्छ ।’ यो नयाँ परिकल्पना हो, किरणले सुनाए ।
उनी भन्छन्, ‘गुरूत्वाकर्षण विना मानिस अन्तरिक्षमा रहन नसक्ने भएकाले अन्तरिक्षमा गुरूत्वाकर्षण कसरी ल्याउने भन्ने समस्याले लामो समयसम्म पिरोलेको थियो । तर त्यस समस्याको पनि समाधान निकलेपछि अन्तरिक्षमै यान बनाएर, बस्ती बसाउने योजना बनायौं । ‘पहिलो चरणमा ७० वर्ष लगाएर अन्तरिक्ष यान पुगेपछि त्यसमा बढ्ने जनसंख्या र अन्य विषयलाई ध्यान दिँदै यानबाट बाहिरका लागि हामीसँग दोस्रो चरणको डिजाइन समेत गरेका छौं । तेस्रो चरणको योजना अनुसार फेरि पृथ्वीमा बस्न योग्य बनाएर यतै फर्किने । एशियामा भारत र चीनमा दुई स्थान रहेका छन् । मानववस्तीबाट पर तर पानी र खनिज पदार्थ भएको स्थानलाई छानेका छौं । सुर्य र पृथ्वीमा ठूलो अन्तरिक्ष यान राख्न सक्ने पाँच ओटामात्रै स्थान छ भने त्यसमा पनि एउटा पृथ्विभन्दा निकै पर छ र अर्कोमा कहिल्यै पनि घाम लाग्दैन । घाम नलाग्ने ठाउ पनि हटायौं किनभने हाम्रो ऊर्जा नै सौर्य हो ।
पृथ्वि संकटमा पर्छ कि ?
यस प्रतियोगितामामात्रै होइन अन्तरिक्षमा बस्तीको कल्पना नासाले पनि यसको संभावना बारेमा अध्ययन गर्दै आएको छ । अन्तरिक्षमा मानव बस्तीको सम्भाव्यता यसको लागि आवश्यक तत्वहरूको खोजि हुँदै आएको छ । यसरी अध्ययन अगाडी बढ्नुको कारण पृथ्वी संकटमा पर्ने वाला छ र त्यसको वैकल्पिक उपायका लागि हो त ? अधिकारी भन्छन्, ‘म पनि प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङ्गसले पृथ्वीमा निकै जोखिम बढेको छ, स्पेशमा नगई सुखै छैन भनेको पंक्तिमा सम्झिएर झस्किएको छु । किनकी पृथ्विमा जनसंख्या बढिरहेकाले पृथ्वीको भारबहन गर्ने क्षमता पनि निश्चित मात्रै छ ।
हकिङ्ग्सको भनाइलाई आधार मानेर फ्युचर अफ ह्युमनिटी इनस्टिच्युटले पनि अध्ययन गरेको थियो । अध्ययन गरिसके पछि फ्युचर अफ ह्युमनिटी इनस्टिच्युटले सन् २१०० अघि नै नानो प्रविधिको हतियार, रोबटहरू जस्तो आर्टिफिसियल इन्टेलिजेन्सका कारण ५ प्रतिशत र युद्धको कारण र परमाणु युद्धको कारण ४ र १ प्रतिशत पुरै पृथ्वीबाट मावन सभ्यता लोप हुने अनुमान गरेको बताएका थिए । कतै यो पृथ्वी साँच्चिै ध्वस्त त हुँदैन भनेर म पनि तर्सिएको थिए । मेरो नासाले गरेको प्रतियोगिताको लागि अवधारणा तयार पार्दाको दुई वर्ष सकसमा बितेको थियो ।
आगामी योजना
आगामी महिना क्यानाडामा आयोजना हुने आइएसडिसी क्यानडाका कार्यव्रmममा सहभागी हुनको लागि तयारी गरिरहेको छ किरणको टोलीले । प्रतियोगितामा खाना र बस्ने व्यवस्था भएपनि प्लेन टिकट चाँही आफैले खर्चिनु पर्ने हुन्छ । तर कुनै चाँजोपाँजो मिलेको छैन । तरपनि उनको यस्ता बौद्धिक प्रतियोगिताहरूमा आगामी दिनहरूमा पनि सहभागी हुँदै जाने सोच छ । नासाले गरेको यस प्रतियोगीतामा प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ । हाम्रो यो सफलताले भविष्यमा अन्य विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी हुन प्रेरणा मिल्नेछ । सफलता प्राप्तिका लागि अभिभावक, शिक्षक र विद्यालयले आवश्यक प्रबन्ध मिलाइदिन सक्नुपर्छ ।
‘आफुले सोचेको र देशले मागेको जनशक्ति वीचको खाडल सायद मेरो भविष्यको सबैभन्दा ठूलो दुविधा हो । एउटा सफल भौतिकशास्त्री आजको नेपालको माग त पक्कै होइन भन्ने मैले राम्रोसँग बुझेको छु, किरण भन्छन्, ‘मैले भविष्यमा पत्ता लगाउने खगोलको नियमले कर्णलीको जनतामा प्रत्यक्ष हाँसो लेराउन नसक्ने कुराको पनि म मा बोध छ । तसर्थ मैले मेरो भविष्यमा भौतिकशास्त्र सँसँगै अर्थशास्त्रको विस्तृत अध्ययन गर्ने र नेपाल जस्तो विकासोन्मख देशको लागि उपयूक्त अर्थशास्त्रको शिद्धान्तको अनुसन्धान गर्ने सोचेको छु ।’ उनलाई लाग्छ, ‘भौतिकशास्त्रले प्रकृतिको अध्ययन गर्छ र अर्थशास्त्रले समाजको । जब मानिसले प्रकृति र समाजको पुरा ज्ञान पाउँछ उ सामाजिक र प्राकृतिक हिसाबले पुर्ण हुन पुग्छ । यसै विचार अनुरूपले पनि उनले भविष्यमा अर्थशास्त्र र भौतिकशास्त्रको विस्तृत अनुसन्धन गर्ने विचार गर्नुकासाथै संसारमा हुने गरेका विभिन्न खाले नयाँ कार्यक्रमहरूमा अवसर पाएसम्म सहभागि हुने उनको धाको छ ।
Leave a Reply