मार्क ब्याटरसनले भनेका छन, ह्वेन् गड ब्लेसेस् यु फिनान्सियल्ली, डन्ट रेज योर स्ट्याण्डर्ड अफ लिभिङ्, रेज् योर स्टेण्डर्ड अफ गिभिङ्’ (अर्थात् भगवानले तपाइँलाई धन दिए भने आफ्नो जीवनशैली हैन अरूलाई दिने क्षमता बढाऊ) । यो प्रत्येक मानिसको जीवनको मूल मन्त्र हुनुपर्छ । र, यदि हामी सही रूपमा सफल हुन चाहान्छौ भने मानिससँग तीन वटा कुरा आफ्नो हुनुपर्छ । त्यो भनेको ‘मन’ जोसँग सुत्छौं । ‘बोलाइ’ जुन हामी बोल्छौं । र, ‘गराइ’ जुन काम गर्छौं । यो तीनवटा कुरा जसले मिलाउन सक्छ त्यो मान्छे अवश्य सफल हुन्छ । क्षणिक सफलता भनेको सफलता नै होइन । सफलताको एकदम चरम उचाइमा पुग्न सकिन्छ, त्यो सजिलो पनि छ । तर त्यो चरम उचाइमा पुगेपछि त्यहाँ टिकेर बस्न अप्ठ्यारो छ । यदि कोही व्यक्ति त्यो चरम सफलताको उचाइमा पुगेर टिकेर बस्न सकेको छ भने बल्ल त्यसलाई हामी सफल व्यक्ति भन्छौं ।
रिभोसाइन्सले यस अंक नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रमा उचाई चुमेका र त्यो शिखरमा आजसम्म टिकिरहेका एक व्यक्तिको कहानी प्रस्तुत गर्दैंछौ ।
इन्जिनियर कमरेडका रूपमा शहरमा परिचित छन उनी । यही नाम र उपनामले गनिए चुनिएका व्यक्ति हुन इ. गणेश साह । जनकपुरको लोहना गाँउमा जन्मी हुर्की काठमाडौं खाल्डोमा भित्रिएका साहले झेलेका संर्घषका पहाड र चुमेका सफलताका किस्सा आजका हामी जस्ता यूवा पुस्ताका लागि प्रेरणादायी कहानी हुदै हो । यूवाहरूका प्रिय पात्र उनै साहको कहानी,उनकै शव्दमा
जन्म, वाल्यकाल
जनकपुर नजिकै लोहना गाँउको जन्म, मध्यम वर्गिय परिवार । सन् १९४९ मा धनुषामा जन्मेका हुन उनी, पिता स्वर्गीय सीताराम साह, माता देवकी साहको कोखवाट माइलो पुत्रको रूपमा । आफ्नो बालापन सम्झिरहेछन साह यतिखेर मध्यवानेश्वरको आफ्नै निवासमा । भन्छन् ‘मावली मदरापुर भारतमा थियो, हामी भन्दा सम्पन्न ।’ माता पिता खेतीपाति गर्नुहुन्थ्यो । उही कृषक माता पिताका सन्तान आज शहरमा इन्जिनियरको रूपमा जति परिचित छन । त्यो भन्दा वढि व्याज खाइरहेछन मन्त्री पदको । यीनलाई इन्जिनियरको रूपमा जतिले चिन्छन र जान्छन त्यो भन्दा ठूलो संख्याले चिन्दछ विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा । त्यही भूपु भइसकेको मन्त्रीको पदप्रति उनमा उतिसाह्रो आशक्ति छैन ।
शिक्षा, दिक्षा
भारतबाट गुरूजी ल्याएर घरमै अक्षराभ्भ भयो । आफ्ना् वालापन सम्झदै साह सुनाउछन्— त्यो वेला गुरूको नाम काटेर बोलाउने चलन थिएन । सोही कारण गुरूको नाम याद भएन । ‘लोहना बहनगा’मा यी दुई गाविसको बीचमा थियो कन्टिर झा स्कूल सोही स्कूलले ढोका खोल्यो औपचारिक शिक्षाको । कन्टिर झाले २२ विघा जग्गा दान दिएपछि स्थापना भएको स्कूल हो त्यो । जो अहिले हाइस्कूल बनेको छ । स्कूल शिक्षासँगसँगै अगाडि वढ्यो जनकपुरको पावनभूमीबाट उनको राजनीतिक जीवनको यात्रा ।
नेकपा सयुक्त पार्टीका अध्यक्ष समेत रहेका साह शिक्षा सँग–सँगै राजनीतिको यात्राको सुरूवात भएको सुनाउँछन । सोही स्कूलबाट आठ कक्षा सम्मको शिक्षा पूरा गरेपछि ९ कक्षामा भर्ना हुनका लागि उनको पाइला सरस्वती हाइस्कूलमा पुगेर अडियो । राणाकालमा नै स्थापना भएको सरस्वती हाइस्कूलकै उत्पादन हुन । वर्तमान राष्टपति डा. रामवरण यादव । शिक्षाविद् सुरेशराज शर्मा, अहिलेका भौतिक योजना मन्त्री विमलेन्द्र नीधि । सोही स्कूलका विद्यार्थी साह फ्ल्यासव्याकमा स्मरण गर्दछन् कट्टु लगाएर खाली खुट्टा हातमा किताब चेपेर स्कूल गएका ती दिन । हरेक मान्छेका लागि कति प्रिय हुन्छ आफ्नो वालापन, आफ्नो इतिहास । त्यहि आफ्नो वालापन सम्झदै छन साह यतिखेर । अहिले पहाडिया र मधेश बीचको द्वन्द्व सम्झदै्र गर्दा उनको दिमागमा कहिले काही पूरानो यादले झड्का हानेर जान्छ ।
नौ कक्षा पास गरी दश कक्षामा भर्ना हुँदै गर्दामा मधेशी र पहाडियाको झगडा भएको सम्झनामा आउँछ वारम्वार । यही प्रकरण पछि चार शिक्षक र चार विद्यार्थी निष्कासित भए । भन्छन् ‘सभ्भवत म पनि निष्कासित हुन्थे तर स्कूलका सञ्चालक रामसागर साह थिए त्यही कारण म जोगिए ।’
गंगाधर दत्त उक्त स्कूलका प्रचार्य । उहाँबाट नै मैले जीवनमा अनुशासन सिकें । भनिन्छ, मान्छे सफलताको चुचुरोमा पुग्न त सक्छ तर टिकिराख्न सक्दैन । आज गुरू गंगाधरदत्तबाट सिकेको त्यही अनुसाशनको पाठले नै आफू राजधानीमा टिकेको तर्क छ साहको । जीवन सधैं सोचेजस्तो सरल रेखामा कहाँ हिड्छ ? विं. स. २०२१ सालको एसएलसीको नतिजा सम्झदै भन्छन् ‘उल्टो नतिजा निस्कियो ।’
सोचेको थिए दाजुले राखेको रेकर्डलाई क्रमभंग हुन दिन्न अरूणा लामाले गीतमा भनेझैं सोचेजस्तो हुन्न रहेछ जीवन । पीडावोध भयो, समाजमा मुख देखाउनै गाह्रो भयो । भनाई पनि छ मान्छे आफ्नो दुखले भन्दा अरूको प्रगति र सुःखले दुखी हुन्छ । उनको किशोर मस्तिकलाई यही वाक्यले झड्का नहानी रहन सकेन । साथीहरू प्रथम श्रेणीमा उत्र्तीण, म दोश्रो श्रेणीमा ।
मनभरी सपना र झोलाभरी भविष्य बोकेर लोहनालाई विदाईको हात हल्लाउदै उनी काठमाडौं भित्रिए । सम्झन्छन वुवा रक्सोल देखि विरगञ्ज सम्मको बस चढाई दिनका लागि आउनुभएको थियो । विरगञ्जबाट काठमाडौं सम्म दुई वटा मात्र बस चल्दथ्यो । खासै ठूलो सपना थिएन । उच्च शिक्षा अध्ययन गर्ने राजधानी भित्रदा खुद्रा अक्सर अरूले देख्ने जस्तै सपना देख्थे साह जागिर खाने ।
मनु मखुः मस्र्या खः
राजधानी भित्रिएकै दिन सुन्धारा झरी उनी झोंचे तिर लम्किए, जहाँ उनका दाजु डेरा गरी बस्दथें । त्यही घरमा डेराको बास थियो वर्तमान राष्टपति डा. रामवरण यादवको । जव साहले घरको ढोकामा ढकढकाए कसैले सोध्यो को मान्छे हो ? झ्यालबाट हेरेकी अर्काे महिलाले जवाफ फर्काइन माँ, मनु मखु मस्र्या ख ः । आश्चर्य मदेशीलाई काठमाडौंले मान्छेको रूपमा देख्दैन थियो त्यो समय । यस्ता घटनाक्रमहरू उनका जीवनमा घट्दै रहे । यही बीचमा भर्ना भए तत्कालिन पब्लिक साइन्स कलेजमा । र, उनको जीवनमा भेटिएका आर्दश पुरूषहरूको भीडमा थपिए अमृत प्रसाद प्रधान । एसएलसीमा पाएको हण्डर र ठक्करका कारण उनको बुद्धिको विर्काे खोलिसकेको थिए । अध्ययनमा दोव्वर मेहनत लगाए, राजनीतिलाई छाडिदिए परिणाम आइएस्सीमा प्रथम श्रेणीमा उत्र्तीण भए । जीवनका सपनाहरू वयस्क हुँदै थिए । उनका जेठा दाजु गौरी नारायण युगोस्लाभियामा पढ्दैहुनुहुन्थ्यो । जो ४० वर्षको अल्पायुमै दुर्घटनामा परी वित्नुभयो । उहाँकै प्रेरणाले ‘इलोक्ट्रोमेकानिक्स’ विषयमा अध्ययन गर्नका लागि रूस जाने सपना देख्न थाले साह ।
इन्जिनियरिङ मोह
जनकपुरमा हाइस्कूलमा अध्ययन गर्दै गर्दा त्यही आखैं अगाडि देखिन्थ्यो जनकपुर चुरोट कारखाना, जो रसियनहरूले बनाएका थिए । रसियन प्रतिको आकर्षण त्यही बाट बढ्यो । दोस्रो दाजु गौरीनारायणका उत्प्रेरणाका कारण इन्जिनियर प्रतिको मोह रह्यो । आइएस्सी पास गरेपछि स्कोलरसिपको खोजीमा झण्डै डेढ वर्ष डेरामै बसियो साह सुनाउँछन । त्यो बीचमा जेटिए भएर कृषिमा काम गरे । आइएस्सी पास गरेपछि लोकसेवा लडेर जेटिए बने । नार्कको पहिलो जेटिए नै म । अहिलेको नार्क रहेको स्थानमा घाँस उत्पादन गरियो, फार्म चलाइयो । झण्डै ५० वर्ष अगाडिको विगतको पाना केलाउदै छन् साह । दश महिना जेटिए भएर काम गरे । विहान टिउसन पढाउथें, बेलुका आइएस्सी पढ्ने केटालाई टिउसन पढाउथें । संर्घषको प्रतिफल कस्तो निस्कियो भने सेक्सन अफिसरको तलव त्यो समय २५० थियो । त्यो भन्दा वढि पैसा म आफैं कमाउथें । म जुन डेरामा बस्थे त्यही डा. रामदयाल राकेश पनि बस्नुहुन्थ्यो । उनीहरूको नजरमा म हल्लेर खाने धनी बावु आमाको छोरा थिए, तर म काममै तल्लिन हुन्थें । अहिलेका प्लस टु र व्याचलर लेभलका विद्यार्थीहरूका लागि साह सुझाउँछन् विद्यार्थी हुँदा जे जस्तो ‘डर्टि वर्क’ गरियो भने श्रम प्रतिको सम्मान बढाउँदछ । काम सानो ठूलो हुदैन भेटिए र पाए सम्मका काम गर्नुपर्दछ । दीर्घराज कोइराला शिक्षा मन्त्रालयमा हुनुहुन्थ्यो । उहाँ मधेश प्रति सदभाव राख्नुहुन्थ्यो । त्यही समयमा मेरो नाम निस्कियो । फूल स्कोलरसिपमा हामी १३ जना रूस जाने भयौं । चाइना रिर्टन ८ जना थिए । अरू फ्रेस ।
त्यो समय विई कोर्स चार वर्षको हुन्थ्यो एक वर्षको प्रिपेडी फ्याक्ल्टी हुन्थ्यो । त्यहाँ म अध्ययन गर्ने समयमा १ सय १० देशका विद्यार्थीहरू पढ्दथे । अध्ययन गर्दै गर्दा विश्वविद्यालयको नेतृत्व तहमा, युनियनको नेतृत्व तहमा बसेर काम गरें, कहिले महासचिव हुदैं अध्यक्ष सम्म भएर काम गरियो । विरामी भए, कक्षा छोडिन ।
उनीहरूको परीक्षाको सिस्टम नै अर्कै हुन्छ, तीन क्याटोगोरी हुन्छ ।
मस्कोमै क्रान्तिकारी विवाह
विद्यार्थी हुँदा त्यही विवाह गरे । मस्कोस्थित पिपल्स फ्रेन्डशिप विश्वविद्यालयबाट मेकानिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका साह किसान नेता श्रीराम शर्मा (सापकोटा) र सुभद्रा शर्मा सापकोटाकी सुपुत्री कल्याणी शर्मा (साह) सँग विवाह बन्धनमा बाधिए । मस्कोको जनमैत्री विश्वविद्यालयमा कल्याणी साहहरू पढ्न जाने समयमा गणेश साह त्यही विश्वविद्यालयको विद्यार्थी तथा युनियनको नेता । त्यसैले नेपाली विद्यार्थीहरू सुरूमा जाँदा भाषा नजान्ने तथा अन्य समस्या पर्ने हुँदा पहिला गएका विद्यार्थी र युनियनका पदाधिकारीले विशेष सहयोग गर्ने चलनजस्तै थियो । यही क्रममा सन् १९६९ मा कल्याणी साहसँग पहिलो पटक भेट गणेश साहको भेट भयो । सन १९७३ मा मस्कोमै अन्तरजातीय विवाह गर्यौं । नेपाली समाजमा अन्तरजातीय विवाहलाई सहजरूपमा लिने चेतना अझै उठिसकेको छैन । अझ आजभन्दा करिब ३६ वर्ष अगाडि त्यसबेला समाज झनै पछि थियो । त्यसैले त्यसबेलाको समाजमा कल्याणी र गणेश साहले जसरी अन्तरजातीय विवाह गर्नुभयो त्यो आफैमा एउटा क्रान्तिकारी कार्य थियो । मध्यम स्तरीय परिवारमा जन्मिएर राम्रै शिक्षा दिक्षा लिएकी कल्याणी र गणेशको जोडीलाई अन्य विषयले खासै दुःखको अनुभूति गर्नु परेन तर राजनीतिक कारणले भने धेरै संर्घष गर्नुपर्यो । स्वदेश फर्किए सँगै कम्युनिष्ठ मुलुकमा अध्ययन गरी फर्किएका कारण अनेक लाञ्चना लगाउने काम भयो राज्यबाट ।कति जेल नेल भागियो त्यस्को कतै हिसाब छैन । नेपालमा त्यतिखेर निलाम्वर आचार्य,प्रा डा माधव शर्माहरूले भर्खरै मित्रगुञ्जको स्थापना गरेका थिए । नेपाल प्रति रसियनहरूको धेरै ठूलो सद्भाव रहेको पाउछन्, साह भन्छन्, ‘पूर्व पश्चिम राजमर्ग,जनकपुर चुरोट कारखाना,विरगञ्ज चिनी कारखाना,कृषि औजार कारखाना,कान्ती बाल अस्पताल उनीहरूले नै बनाइदिएका हुन ।’
जागिरे यात्रा
रूसबाट फर्किएपछि सुरूमा बालाजु यन्त्रशाला र पछि खानेपानी संस्थानमा जागिर खानपुगे । जागिर खाँदै गर्दा रूसमा पढेर फर्किएकाहरूको संस्था मित्रकुञ्जमा थियौं । ०४२ सालमा त मित्रकुञ्जमा बस्ने सबै कम्युनिष्ट हुन् भन्दै सरकारले साहलाई जागिरबाट बरखास्त गर्दै गिरफ्तार गर्यो ।
त्यही बीचमा बालाजुमा रहेको मेकानिकल ट्रेनिङ्गं सेन्टरमा नौ महिना जति पढाए । त्यतिबेला खानेपानी ढल निकास समिति थियो । दाजुको साथीको पहलमा विश्व विकास बैंकको सहयोगमा सञ्चालित उक्त संस्थामा जागिर भयो । उक्त योजनाको प्रमुख रत्नमान श्रेष्ठ । त्यही दिन जागिर भयो । अहिलेको केयुकेएल । भोलिपल्ट कार्यलय गए । एउटा वल्डिगं मेसिन, दुईवटा डेलिगं मेसिन र दुइजना मिस्त्री मात्र थिए । त्यसले गर्दा म दुःखी भए ।
११ वर्षसम्म सो संस्थामा रोजगारी गरें । । जति पनि खानेपानी ‘इलेक्टोमेकानिकल स्टिम’को कामै थिएन त्यतिखेर जति पनि थिए ‘ग्रयाभिटी स्टिम’मा चलेका थिए । म आए पछि पम्पिग स्टिममा गयौं । ४० विएचपीको चापागाँउ, वालाजु पम्प राखेका थियौं । सायद मलाई मन्त्री भन्दा वढि खानेपानीका स्टाफले आज पनि चिन्ने गर्दछन् । मन्त्री भनेको पदले सम्मान गर्ने हो त्यो भनेको मनले गरेको सम्मान हो । फर्फिङ पम्पिगं स्टेशन चलायौं । कीर्तिपुरको सूर्यज र्टिटमेन्ट सिस्टम सञ्चालनमा आउन सकेन । वाटर टेष्टिग प्रयोगशाला बनायौं । अहिले काठमाडौंमा जताततै क्वालिफर्म भेटिएको छ । यो समाचार पढ्दा ‘सक्’ बन्न पुगेको छु । पढेको त ‘इलेक्ट्रोमेकानिकल इन्जिनियर’ तर काम गर्दै जाँदा ‘पानी इन्जिनियर’ पो बन्न पुगें ।
त्रिपुरेश्वरको महिला जेलमा श्रीमतिलाई राख्यो । दुवैजना हामी जेलमा, बालक छोराहरू बाहिर त्यति मात्र होइन । मलाई सात महिनासम्म थुनामा राखेपछि छाडिदियो । कल्याणीलाई भने बर्षनै थुनामा राख्यो । जतिबेला म जेलमै थिएँ त्यसबेला पटकपटक जेल सारेका र बेपत्ता पारेका अझ हत्या गरेकासमेत समाचार प्रकाशित हुन्थ्यो, जसबाट एक किसिमको पीडा त हुन्थ्यो । तै पनि म आफू विचल्लित भइनँ । लागि नै रहे ।
सानो, सुःखी परिवार
गणेश र कल्याणीका दुईछोराहरू छन् । जेठो छोरा निरज साह अमेरिकामा छन् उनले यही दशैंका बेला अमेरिकी युवतीसँग विवाह गरी अनलाइन विजनेश गरेर उतै अमेरिकामा बसेका छन् । कान्छो छोरा पंकज साह पनि विदेशमै छन, उनले बाटुले बैंकमा काम गर्दैछन् । कान्छी बुहारी दाँतको डक्टर छन् । कान्छाको जोडी पनि विदेशमै छ ।
प्रचण्ड मन्त्रीमण्डलमा विज्ञान मन्त्री
संविधान सभाको पहिलो चुनाव पछि माओवादी सत्तामा गयो । पुस्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । सोही समय उनी विज्ञान मन्त्री बन्न पुगे । अर्थात ६२÷६३ को जनआन्दोलन पछिको पहिलो विज्ञान मन्त्री बन्न पुगे । प्रचण्ड र वावुरामसँग उनको केमेष्ट्रीले मेल खायो । त्यो समयमा मन्त्रालयमा सचिव थिएन । गृह सचिव उमेश मैनाली ल्याए । नेपाली समाजले विज्ञानप्रविधि र अनुसन्धानको महत्व बुझेको थिएन । माओवादीको अगाडि सेना समायोजन लगायतका चुनौती थियो । सम्झन्छन् मैले स्वतन्त्र रूपमा मन्त्रालय हेरेका हो । मन्त्रालयका कर्मचारीहरूले मन्त्रीलाई असयोग गर्ने सम्बन्धमा, उनी भन्छन् ‘कर्मचारीलाई कतिको जिम्वेवारी दिइन्थ्यो त्यसमा नै भर पर्ने हो ।’ विज्ञान मन्त्रालयलाई नेपाली समाजमा चिनाउन महत्वपूर्ण भूमिका खेले साह सम्झन्छन । पाचौं राष्ट्रिय विज्ञान सम्मेलन भयो । झण्डै १२ सय सहभागि थिए । स्थान नपुगेर पालमा भयो । विज्ञान गरीवलाई चाहिन्छ भन्ने मेरो धारणा थियो । केही नीतिगत काम भयो । विज्ञान मन्त्रालय त्यो समय अन्तराष्ट्रिय जगतमा पनि चिनियो । विज्ञान मन्त्रालयलाई अन्तराष्ट्रिय सहयोग खाँचो छ भन्ने हिसावले काम गरियो । विज्ञान भन्ने वित्तिकै विशुद्ध विज्ञान मात्र होइन एप्लाइड साइन्स, वातावरण विज्ञान, जलवायू विज्ञान पनि यसमा पर्दछ । सार्क भित्र अन्य मन्त्रीका फोरम थियो विज्ञान मन्त्रीहरू विदेशमा जानेक्रम पनि सुरू भयो । भनिन्छ, व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ । विज्ञान तथा प्रविधि मन्त्री हुँदा नचाहिदो काम केही गरिन । आज वैकल्पिक उर्जाले जति फड्को मारेको छ । यो क्षेत्रमा हिजो धेरै काम गरेको हुँ । विस्तारै विज्ञान तथा प्रविधिको क्षेत्र पनि महत्वपूर्ण मानिदै गएको छ । यस पटक बजेट बढेको छ । शिक्षामा फ्याक्टिलीहरू वढेकाछन् । हुँदाहुदा नेपाली आफैं ‘एप्स’ निर्माण गर्न थालेका छन् । यो निकै सकरात्मक कुरा हो नेपाली विज्ञान तथा प्रविधिको क्षेत्रका लागि ।
धर्मकर्म
भन्ने गरिन्छ कम्यूनिष्टहरूको कुनै धर्म हुदैन । कुनै जात पनि हुँदैन । यी इन्जिनियर कमरेडको धर्म प्रतिको धारणा के छ ? प्रश्न भुँइमा खस्न नपाउदै धाराप्रवाह सुनाए, ‘धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ ।’ धर्म स्वतन्त्रता हो । आफ्नो सामाजिक परिपाटीलाई हामी विद्रोह गर्दछौं विद्रोह त वीपीले पनि गरेका हुन । पार्टी भित्रको जीवनमा हामी धर्मनिरपेक्ष भन्दछौं । धर्मले मानिसलाई मानशिक शान्ति पनि प्रदान गर्दछ । जिन्दगीमा सबैभन्दा वढि रामायण र हनुमान चालिसा वढेको छु । गान्धीजी सेभन्स साइन्स भन्नुहुन्थ्यो । साइन्स उथ वाउट ह्युमानिटी नो साइन्स भन्ने गरिन्छ । विज्ञान मानवीय पक्षमा उपयोग भएन भने हिरोसिमा, नागासाकि बन्दछ । अध्यात्मिक भावना भएन भने त्यसमा मानवीयता रहदैन ।
जीवन दर्शन
झण्डै सात दशक बसन्त काटिसकेका साह अझै पनि यूवा देखिन्छन । उनको केश फुले पनि विज्ञान तथा प्रविधिको क्षेत्रको विकासका लागि लाग्ने यूवा मन सधै जोश र उत्साहले भरिएको भेटिन्छ । उनी जहाँ पुग्छन यूवापक्तिंलाई मोटिभेट गरिरहेका भेटिन्छन । जीवनलाई हेर्ने उनको आफ्नै दृष्टिकोण छ । आफ्नै दर्शन छ भन्छन् ‘डगलाई सबैले लखेट्छ, जो आफ्नो लागि मात्र बाच्दछ भने त्यस्को हालत डगको हुन्छ । जो अरूका लागि बाच्दछ त्यो गड बन्दछ । आफ्नो पेट त कुकुरले पनि पाल्दछ । डग र गड तीनवटा शव्दले बनेको हुन्छ ।’ तसर्थ साहको सिद्धान्तले भन्छ तिमीसँग जे छ त्यो समाजलाई देउ । दान दिए पछि सकरात्मक उर्जा आँउछ यो गुण उनले आफ्ना दिवंगत माता पिताबाट सिकेको हुन । छुट्नै लाग्दा उनले विज्ञान र संष्कृतको भेद छुट्याए संस्कृत सन्तोषम् पर्म सुःखम भन्दछ विज्ञान काट्छ ‘असन्तोषम् परम् सुःखम’ भन्दै खण्डन गर्दछ । सायद यही ‘सन्तोषम् परम सुखम’को मन्त्र उच्चारण गरेको बसेको भए ९ सय ९९ असफलताको वावजुत पनि थोमस एल्वा एडिसनले विजुलीको चिमको अविष्कार गराइ छाडे र अन्तत उनी नै विज्ञानको दुँनियामा उनी नै सबैभन्दा वढि अविष्कार गर्ने वैज्ञानिक बन्न सफल भएँ । सधै नयाँ अध्ययन अनुसन्धान गर्नु नै विज्ञानको धर्म हो उनले आफ्नो जीवन र सफलताको रहस्य सुनाए ।
र, अन्यत्मा
हाल उनी नेकपा संयुक्त पार्टीको अध्यक्ष छन् । सामान्यतय कार्यकाल ५ वर्षको हो । म आफैं जनवर्गीय संगठन ट्रेड यूनियनबाट आएको हुनाले सबैलाई एक गराउने उदेश्य अनुरूप जिफन्टलाई अझै मजभुत बनाउने योजना छ । चारवटा ‘प’ मा काम गर्ने आफ्नो योजना सुनाए, पूर्वाधार, पानी, प्रविधि र पुस्तकालय । आफ्ना अनुभवहरूलाई समेटेर पुस्तक लेख्ने साहको सोख छ तर समस्या छ लेखनको । भन्छन् ‘जीवनको मेरो धेरै ठूलो चुनौती हो लेखन ।’ म राम्रो वोल्न सक्छु तर लेख्न सक्दिन । तर आफ्नो भोगाइहरूलाई पुस्तककार दिने सोचाई पनि छ । भौतिक जीवनको जति चर्चा गरे पनि म साधरण जीवन विताउन रूचाउछु । मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ, मेरो सिगों जीवन यसको प्रमाण हो रूजवेल्ट भनाइसँगै उनले आफ्नो जीवनको कहानीको विट मारे ।
प्रस्तुतीः हरि गजुरेल
Leave a Reply