सोलार कर्जामा अनुदान

बैंकहरूले २ प्रतिशत ब्याजदरमै सोलार जडानका लागि उपभोक्तालाई कर्जा दिन थाले सँगै यस्तो कर्जा लिनेको संख्या वढ्न थालेको छ । वातावरण तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले ब्याजमा ७५ प्रतिशतसम्म अनुदान दिएपछि बैंकहरूले सोलार जडानका लागि वार्षिक २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका हुन ।

वैकल्पिक प्रर्वद्धन केन्द्रसँगको सहकार्यमा सोलार कर्जा दिन १७ वटा वैंकहरुले प्रस्तावना पत्र बुझाएकामा ७ वटा बैंकलाई वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले छानेको छ । एनएमबी बैंक, सिभिल बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, हिमालयन बैंकसँग सम्झौता भइसकेको छ भने चाडै नै टुरिजम डेभलपमेन्ट बैंकसँग सम्झौता हुन लागेका केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउनुहुन्छ ।

सोलार कर्जामा अनुदान पाइने भएपछि उपभोक्ताहरुको यस तर्फको आर्कषण वढ्दो छ । पछिल्लो एक महिनाको अवधीमा सिभिल बैंकबाट सोलार कर्जा लिनेको संख्या मात्र दुई सय भन्दा वढि नाघिसकेको कर्जा शाखाका प्रमुख यूवराज गुरागाई बताउँछन् । उनका अनुसार पछिल्लो एक महिनामा मात्र यस्तो कर्जा लिनेको संख्या साढे दुई सय नाघेको छ । उस्ले २.२५ प्रतिशत व्याजदरमा सोलार कर्जा दिइरहेको छ ।

एनएमबी बैंकले पनि २.२५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएका छन् ।

सोलार धितोमा र ऋण तिर्न सक्ने आम्दानीको स्रोत देखाउने ग्राहकलाई २.२५ प्रतिशत ब्याजमै ऋण दिन सकिन्छ,’ एनएमबी बैंक नविकरणीय ऊर्जा तथा लघुवित्त विभागका गोकर्ण सेढाईंले भने, ’घरायसी प्रयोजनका लागि सोलार जडान गर्न चाहने उपभोक्ताले ऋण लिन चाहे ५ वर्षका लागि दिने व्यवस्था गरेका छौ ।’ बैंकहरुले सय वाटभन्दा बढी क्षमताको सोलार जडानका लागि कर्जा दिइरहेका छन् ।

ऊर्जा संकट देखिन थालेपछि केन्द्रले सोलार जडानका लागि कर्जाको व्यवस्था गरेको हो । बैंकहरु व्यापारिक प्रयोजनका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा यस्तो कर्जा दिन थालेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले सबैभन्दा कम २ प्रतिशतमै घरायसी सोलार जडानका लागि ऋण दिइरहेको छ ।

५ सय वाटभन्दा बढी क्षमताका सोलार जडान गर्दा नगद १५ हजारसम्म जडान लागतमा अनुदान दिने व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताले बताए । ’घरायसी प्रयोजनका लागि ७५ प्रतिशतसम्म र व्यवसायीका लागि ५० प्रतिशतसम्म ब्याजमा अनुदान दिने व्यवस्था गरिएको छ,’ उनले भने, ’वैकल्पिक ऊर्जाको पहुँच बढाउन उपभोक्तालाई यस्तो सुविधा दिइएको हो ।’

शहरी क्षेत्रलाई लक्षित गरी यस्तो ऋण दिन थालिएको बैंकहरु बताउँछन ।’ यसले बिजुली, खाना पकाउन सहयोग पुग्नेछ,’ कार्यकारी निर्देशक धितालले भने, ’सोलार जडानका लागि उपभोक्तालाई नयाँ योजनाले राहत हुनेछ ।’

यद्यपि, ११८ वटा सोलार कम्पनी सञ्चालनमा रहेकोमा ती कम्पनीहरुको एकाधिकार रहेको बैंकहरुको गुनासो रहेको छ ।