‘सरकारले भौतिकशास्त्रीलाई टिकाउन सकेन’

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. उदयराज खनालले सरकार तथा नेपालको वैज्ञानिक समुदायले सर्वसाधारणलाई विज्ञान बुझाउन नसकेको बताएका छन् । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे) ले राजधानीमा आयोजना गरेको ‘नेपालमा भौतिक शास्त्रको अवसर तथा चुनौती’ विषयक अन्तक्र्रियामा कार्यपत्र प्रस्तुतकर्तासमेत रहेका खनालले उक्त कुरा बताएका हुन् ।

‘हाम्रा नेता विज्ञानको विकासले सफल भएका विभिन्न देशका उदाहरण दिन्छन् तर उनीहरूले यहाँ चाहिँ विज्ञानको उपयोगिता देख्दैनन्,’ खनालले भने, ‘विज्ञानको उपयोगिता वुझाउन नसक्नुमा नेपाली वैज्ञानिक पनि उत्तिकै भागिदार छन् ।’ अमेरिकास्थित इन्टेल कम्पनीमा नेपाली भौतिकशास्त्री जगत शाक्य माइक्रो प्रोसेसर विभागका इन्चार्ज भएको उदाहरण दिँदै उनले राम्रो क्षमता भएका नेपाली वैज्ञानिकले नेपालमा निराश भएर बस्नुपर्ने अवस्था रहेको बताए । ‘जबसम्म भौतिकशास्त्रलाई धनको विज्ञानका रूपमा बुझ्न सकिँदैन, तबसम्म देश गरिब रहन्छ,’ उनले भने । तीस वर्ष पहिले पाकिस्तानी वैज्ञानिक अव्दुस सलामले नेपालमा एउटा उच्चप्रविधियुक्त प्रयोगशाला खोल्ने योजना बनाए पनि सरकारी रवैयाकै कारण पूरा नभएको उनले गुनासो गरे ।

अहिलेसम्म विज्ञानलाई राजनीतिक नाराका लागि मात्र प्रयोग गरिरहेको खनालले उल्लेख गरे । ‘यहाँ वैज्ञानिक शिक्षा वा वैज्ञानिक भूमिसुधार भनिन्छ, तर विज्ञानलाई चाहिने आवश्यक चीजबीज व्यवस्था गर्न सकिँदैन । विज्ञानमा काम नगर्ने खालि वैज्ञानिक हुन मात्र ध्यान गएको देखिन्छ‚ यसमै हामी भुलिएका छौं,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्राध्यापक डा. लोकनारायण झाले नेपालमै भौतिकशास्त्रको अवसर भए पनि सरकारले रोजगारीको सिर्जना नगरेको आरोप लगाए । ‘३० वर्षअघि छुट्याइएको दरबन्दीसमेत खारेज गरेर सरकारले भौतिकशास्त्र अध्ययन गरिरहेका विद्यार्थीकोे अवमूल्यन गरेको छ,’ उनले दुखेसो पोखे । नेपालमा कति भौतिकशास्त्री चाहिन्छ भनेर सरकार भन्न नसक्ने र भएकालाई पनि देशमा टिकाउन नसक्ने अवस्था रहेका बताए । भौतिकशास्त्र किन चाहियो भन्ने राज्य सञ्चालकलाई थाहा नभएको अवस्था रहेको उनको भनाइ छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले नेपालमा २५ प्रतिशत जनता गरिब रहेका र त्यसको न्यूनिकरण गर्न विज्ञान–प्रविधिको भूमिका गहन हुने बताए । ‘योजनाबद्ध ढंगबाट काम गर्न नसकेको तथा समस्यालाई समष्टिगत ढंगले समाधानतर्फ उन्मुख गर्न सकिएको छैन,’ उनले भने ।

१४४६ सालमा हाम्रा पूर्खाले विकास गरेको धारोमा अहिलेसम्म पानी आउने अवस्था रहेको उल्लेख गर्दै त्यस्ता प्रविधि ओझेलमा परेका उनको भनाइ छ । ‘भूकम्पछि भवन निर्माण संहितामा जुन खाले प्रविधिको प्रयोग गर्ने कुरा गरिएको छ‚ त्यो लिच्छविकालमै जुम्लामा निर्माण गरेको पाइन्छ,’ उनले भने ।

काठमाडौं विश्वविद्यालय विज्ञान संकायका डीन प्राध्यापक डा. मोहनविक्रम ज्ञवालीले नेपालमा तीस वर्षअघि हाइटेक सेन्टर स्थापना भएको भए प्रविधिको क्षेत्रमा निकै अगाडि बढ्नसक्ने विचार व्यक्त गरे । उनले भने, ‘विज्ञान प्रविधिको विकासका लागि राष्ट्रिय आविष्कार प्रद्धतिले काम गर्छ । सरकारी विज्ञान नीति‚ विश्वविद्यालय निर्माण भएका नवीन अन्वेषणलाई उद्योगले कसरी अनुसरण गर्छ, त्यसमै भर पर्छ ।’

त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका डिन प्राध्यापक डा. रामप्रसाद खतिवडाले भौतिकशास्त्र अध्ययन गर्ने विद्यार्थीले आफूले सिकेका कुरा बोधगम्य तरिकाले प्रस्तुत गर्न सक्नुपर्ने बताए । ‘नेपाली समाजलाई सुहाउँदा प्रविधिको विकास गर्न र भौतिक विज्ञानका कुरा व्यवहारमा लागू गर्न पहलकदमी गर्नुपर्छ,’ उनले थपे । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, एसियन ब्याट्रीका प्रमुख कार्यकारी अधिकृत सुरेश लोहनी, बिपी प्लानेटोरियम तथा अब्जरभेटरीका कार्यकारी निर्देशक शोभाकान्त लामिछाने, त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका निवर्तमान डिन प्राध्यापक चिरिकशोभा ताम्राकार, त्रिवि केन्द्रीय भौतिकशास्त्र विभागका प्राध्यापक डा. जीवनज्योति नकर्मीले त्रिचन्द्र कलेज भौतिकशास्त्र विभागकी प्रमुख प्राध्यापक डा. निलम प्रधान श्रेष्ठ, नेपाल भौतिक शास्त्र समाजका अध्यक्ष प्राध्यापक डा. प्रदीप भट्टराई, नेपाल खगोल समाजका अध्यक्ष सरेश भट्टराईलगायत विज्ञान तथा भौतिकशास्त्रका विविध पक्षबारे विचार राखेका थिए ।