/कामचलाउ भौतिकशास्त्रको अध्ययन

कामचलाउ भौतिकशास्त्रको अध्ययन

नेपालमा भौतिकशास्त्रको पठनपाठन सुरु भएको करिब शताब्दी लाग्दैछ । तर, यस बीचमा नेपालमा सयौं भौतिकशास्त्री उत्पादन भए पनि यसको खपत स्वदेशभन्दा विदेशमा बढी भइरहेको देखिन्छ । भौतिकशास्त्रीलाई देशमा टिकाउन नसक्नुमा सरकारी नीति कारक रहेको छ ।

इतिहास हेर्ने हो भने प्राध्यापक फडिन्द्रप्रसाद लोहनी, जसलाई नेपालकै पहिलो भौतिकशास्त्री मानिन्छ, उनैले नेपालमा भौतिकशास्त्रको अध्ययन–अध्यापनको आधारभूत जग हालेका थिए । उनले राणाकालीन समयमा समेत भौतिकशास्त्रको महत्व बुझी यसलाई अगाडि बढाएको देखिन्छ । त्यसपछिका भौतिकशास्त्रका प्राध्यापक तथा अगुवाले यो विषयको किताबी ज्ञान बाँड्नेबाहेक खासै काम गर्न सकेनन् ।

पछिल्ला वर्षहरूमा विश्वविद्यालयमा भौतिकशास्त्र अध्ययनको कोटा तीन गुणा बढ्दा समेत यो विषयमा गुणात्मक प्रगति हुन सकेको छैन । विद्यार्थीको चाप बढेपछि कोटा थपेर ७ सय हाराहारीमा पु¥याएको छ । यद्यपि, राजधानी बाहिरका कलेजहरूमा भने लक्षित कोटामा विद्यार्थी संख्या भर्ना हुन हम्मे पर्छ । यसको कारण राज्य र विश्वविद्यालयबाटै यसको अपहेलना तथा यसलाई पनि अन्य विषयसरह प्रभावकारी कार्यक्रम ल्याउन नसक्नु हो । यसका साथै त्रिवि केन्द्रीय भौतिकशास्त्र विभागले पनि समयानुकुल पाठ्यक्रम तथा जनशक्तिको व्यवस्था मिलाउन सकेको छैन ।

विडम्बना नै भनूँ, त्रिविले हालसम्मका भौतिकशास्त्रमा स्नातकोत्तर गर्नेहरूको यकिन तथ्यांक दिन सक्दैन । विश्वमा भौतिकशास्त्र अध्ययन गर्ने विद्यार्थी घटिरहेको अवस्था नेपालमा अहिलेको विद्यार्थी संख्याप्रति विदेशी प्राध्यापक चकित पर्छन । तर, नेपालमा भने सुगा रटाइमा भौतिकशास्त्रको अध्ययन हुँदै आएको यथार्थ छिपेको छैन । उत्पादित जनशक्तिमध्ये केहीले शिक्षण पेसा अँगाले पनि बाँकी कता जान्छन् भन्ने कुनै लेखाजोखा छैन । एकातिर, सरकारले भौतिकशास्त्रमा स्नातकोत्तर गरेकाहरूलाई रोजगारी सिर्जना गर्न नसकेको स्थिति छ भने अर्कोतर्फ त्रिविले विश्व परिवेश सुहाँउदा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको दायरा फराकिलो पार्न सकेको छैन ।

आजकाल अर्थशास्त्रीय प्रक्षेपण गर्न भौतिकशास्त्रको सिद्धान्त प्रयोगमा आउन थाली सकेको भौतिकशास्त्रका प्राध्यापक बताउँछन् । यसको उपयोगले बालुवाका कण धनमा परिवर्तन गरी आफ्ना राष्ट्रको मुहार फेरेका छन् । नेपालबाट वर्षेनी ६०/७० को हाराहारीमा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका अमेरिकालगायतका देशहरूमा जाने प्राध्यापकहरूको भनाइ छ । त्यही विज्ञान आज नेपालमा बामे सर्न नसकेको अवस्था देखिन्छ । यहाँ उत्पादित जनशक्ति पनि विषयगत शिक्षाको प्रयोग नहुने देखेपछि राजस्व, अनुसन्धान जस्ता क्षेत्रमा गएका उदाहरण प्रशस्त छन् ।

भौतिकशास्त्रलाई मुख्य रूपमा सहयोग गर्ने भनेको औद्योगिक क्षेत्र नै हो । तथापि, नेपालको औद्योगिक क्षेत्र राजनीतिक खिचातानीले धराशायी अवस्थामा छ । रसायनशास्त्रीले पाएको स्थान पनि यसले नपाएको देखिन्छ । राष्ट्रिय अनुसन्धान केन्द्रमा यसले प्राथमिकता पाउन सकेको छैन । ती संस्था तथा सरकारी निकायमा वृत्ति विकासका लागि भनेर छुट्याइएको रकम पनि खर्च गर्न नसकी फिर्ता गएको दृष्टान्त छ । यसले भावी दिशालाई गन्तव्यहीन बनाउने छर्लंग छ ।

भौतिकशास्त्रको अध्ययनपछि सबै वैज्ञानिक आइन्सटाइन बन्ने रहर सबैले पालेका हुँदैनन् । तर, उनीहरू अनुसन्धान तथा आविष्कारका भोका भने पक्कै हुन्छन् । उनीहरू यहाँको परिवेश सुहाउँदो काम स्वदेशमा गर्न चाहान्छन् । तर, राज्यले न रोजगार दिन्छ न अनुसन्धानका काम । राज्यका विज्ञानसम्बन्धी संस्थामा भौतिकशास्त्र अटाउनसक्ने अनुसन्धान गर्नसक्ने, अनुभवी प्राध्यापक/वैज्ञानिकलाई स्थान दिनु टड्कारो आवश्यकता देखिन्छ, नकि कुनैं कर्मचारी वैज्ञानिक ।

(रिभाोसाइन्वस मासिक र्ष ६ अंक ५ मा प्रकाशित)