February 10, 2025

‘जीन बैंक’ स्थापना गरिने


काठमाडौं– राष्ट्रिय वनस्पति उद्यान ललितपुरमा लोपोन्मुख वनस्पति प्रजातिको कोषको अंश राख्ने केन्द्र ‘जीन बैंक’ स्थापना गर्न लागिएको अधिकारीले बताएका छन् । ‘जीन बैंक’ स्थापनाले नेपालमा मात्र पाइने तथा खतराको सूचीमा रहेका डेढ सय प्रजातिको बीउ–बिजन सुरक्षित हुने वनस्पतिविज्ञले आशा व्यक्त गरेका छन् ।

पछिल्लो पटक सरकारले जंगली वनस्पतिको बीउ–बिजन संरक्षणका लागि बजेट छुट्याएपछि वनस्पतिविद्को एक दशकदेखिको सपना पूरा हुन लागेको हो । यो कार्यले नेपालमा पाइने तथा लोपोन्मुख घोडताप्रे, सुनाखरी तथा सुनगाभाजस्ता वनस्पति प्रजातिको संरक्षणमा थप टेवा पुग्ने वनस्पतिविद्को भनाइ छ ।

उनीहरूका अनुसार, सरकारले अन्नबालीको वंश जोगाउन ‘जीन बैंक’ स्थापना गरेको भए पनि दुर्बल वनस्पतिको बीउ जोगाउने ‘जीन बैंक’ यस अघि स्थापना गर्न सकेको थिएन ।

‘जीन बैंक’ स्थापनाको फाइदाबारे वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादव भन्छन्, ‘केही बीउको बाँच्ने तथा अंकुरण गर्ने समय कम हुन्छ । त्यो प्रजाति अंकुरणको लागि चाहिने बीउ टाढाबाट ल्याउनु पर्छ । त्यस्ता बीउलाई तुरुन्तै ‘सिड जीन बैंक’ राखिदियो भने त्यसको आयु निरन्तर रहन्छ ।’

महानिर्देशक यादव ‘जीन बैंक’मा यसरी लोपोन्मुख वनस्पतिको बीउबिजन सय वर्षसम्म जीवित राख्न सकिने उल्लेख गर्छन् । कुनै प्रजाति लोप हुन लाग्यो भने त्यसको बीउ ल्याएर संरक्षण गर्न सकिन्छ । त्यस्ता बीउबिजनको सय वर्षसम्म आयु हुनेछ ।

ललितपुर गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानका पूर्वप्रमुख तथा वनस्पतिविद् डा. महेशकुमार अधिकारी भन्छन्, ‘विगतमा पटक–पटक स्थापनाका लागि कुरा उठाइए पनि ‘जीन बैंक’ स्थापना गर्न सकिएको थिएन ।’ तर, त्यसरी बीउबिजन ‘जीन बैंक’ मा राख्न सके दुर्लभ वनस्पति चाहिएको समयमा उमार्न सकिने वनस्पतिविद् अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘जीन बैंक राख्नाले हामीलाई कुनै बेला दुर्लभ वनस्पति चाहियो भने तुरुन्त बैंकबाट निकालेर त्यसलाई उमार्न सक्छौं ।’

यसरी जीन बैंक स्थापना गर्दा आफ्नो देशमा मात्र नभई अन्य देशलाई चाहिएको खण्डमा बीउबिजन बिक्री गर्न सकिने वनस्पतिविद्को धारणा छ । तर, छरपस्ट रूपमा बीउ संरक्षण कार्यक्रम सञ्चालन गर्नुभन्दा छुट्टै जीन विभाग खडा गरी दीर्घकालीन संरक्षणका लागि काम गर्नुपर्ने वनस्पतिविद् अधिकारी बताउँछन् । उनी भन्छन्,‘राज्यले ‘जीन बैंक’ भन्दै खडा गरेर त्यसलाई एउटा विभागकै रुपमा लैजान सकेमा अझ प्रभावकारी हुन्छ ।’

अहिले सुरु गर्न लागिएको ‘जीन बैंक’ आधुनिक खालका नहुने महानिर्देशक राजदेवप्रसाद यादवले बताए । उनले जीन बैंक स्थापनाका लागि सरकारले अहिले छुट्याइएको रकम अति कम भएको बताए । आफूहरूले बैंक स्थापनाका लागि १ करोड माग गरेको भए पनि सरकारले कम रकम उपलब्ध गराएको उनले गुनासो गरे । अहिलेको रकमले बैंकका लागि आवश्यक रेफ्रिजेरेटर तथा भवनको मर्मत गर्ने उल्लेख गरे ।

नेपालमा फूल फुल्ने र नफुल्ने गरी करिब ११ हजार वनस्पति रहेको र तीमध्ये लोपोन्मुख तथा खतराको सूचीमा करिब डेढ सय हाराहारीमा रहेको वनस्पतिविद्ले बताएका छन् । यसरी ‘जीन बैंक’को स्थापनाले ढिलै भए पनि लोपोन्मुख वनस्पतिको बिउबिजन संरक्षणमा थप टेवा पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

सम्बन्धित सामाग्री

‘रेडन साइन्स एण्ड रोबो एक्स्पो’ सम्पन्न

विद्यालयमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नु हाम्रो दायित्व हो: पूर्व विज्ञान मन्त्री गणेश साह

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×