2025-07-01

 चट्याङको जोखिम

लक्ष्मण नेवा

प्रि–मनसुन अर्थात् बर्खा सुरु हुनुभन्दाअघि पहाडी भेगका घर चट्याङ प्रतिरोधी बनाउनुपर्छ ।

तस्वीरः श्रीराम शर्मा

काठमाडौं । चैत महिना लागेसँगै चट्याङको जोखिम बढ्दै जानछ । विज्ञहरू भन्छन्–‘असार–साउनसम्म यो जोखिम कायमै रहन्छ ।’ तर, नेपालमा यसबारेमा आममानिस तथा सरकारले चासो लिएको पाइँदैन । यद्यपि, विज्ञहरू भने प्रि–मनसुन अर्थात् बर्खा सुरू हुनुभन्दाअघि पहाडी भेगका घर चट्याङ प्रतिरोधी बनाउनुपर्नेमा जोड दिन्छन् । जोखिमबाट बच्ने प्रविधि स्वदेशमा भित्रिए पनि अवलम्बन गर्न नसकेको विज्ञहरूको भनाइ छ । चट्याङले हरेक वर्ष सयौंको संख्यामा मानवीय तथा पशुपक्षीको क्षति हुने गरेको तथ्यांक छ ।

चट्याङबाट जोगिन के गर्ने ?
बर्खासम्म चट्याङ पर्ने हुँदा त्यसबाट जोगिन सावधानी अपनाउनुपर्ने हुन्छ । समयमै त्यस्ता सावधानी वा चट्याङ प्रतिरोधी प्रविधिजस्ता अपनाउन नसक्दा यसबाट वर्षेनी जनधनको क्षति भइरहेको विज्ञहरूको भनाइ छ । गत वर्ष मात्रै करिब १ सयजना मानिसको चट्याङका कारण मृत्यु भएको चट्याङविद् डा. श्रीराम शर्माले बताउँछन् ।

उनका अनुसार अहिलेसम्म गाउँका घर कतै पनि सुरक्षित छैनन् । घरलाई सामान्यतः ८–१० हजार रुपैयाँ खर्च गरी प्रविधि जडान गर्न सकेमा सुरक्षित गर्न सकिन्छ । ‘हामी त्यति पनि गर्न सकिरहेका छैनौं,’ उनी भन्छन्, ‘यति रकम लगानी गर्न कन्जुस्याइ गर्न हुँदैन ।’ सरकारले पुनर्निर्माण गर्न लागेको घरमा ८–१० हजार बढी खर्च गरेर चट्याङप्रतिरोधी बनाउनुपर्ने उनको धारणा छ ।

‘चट्याङबाट बच्न जनचेतना जरुरी छ’

डा. श्रीराम शर्मा, चट्याङविद्

चट्याङविद शर्माका अनुसार झापाको दक्षिणपूर्व क्षेत्रदेखि नवलपरासीको चुरे क्षेत्रमा अत्यधिक चट्याङ पर्छ । तीबाहेक त्रिशुली नदी आसपासका क्षेत्रमा चट्याङले क्षति गर्दै आएको छ । शर्माका अनुसार चट्याङको बेला रूखमुनि बस्नु हुँदैन । पौडी खेलेको बेला तथा जमिनभन्दा अग्लो भएर बस्दा पनि खतरनाक हुन्छ । रूखमुनि बस्दा बढी दुर्घटना भएको पाइएको छ ।

चैत, वैशाख र जेठ महिनामा उठ्दै गरेको बादल सेतोबाट खैरो अनि कालो बनेमा त्यो दिन चट्याङ पर्ने सम्भावना अत्यधिक हुन्छ । बादल कालो बन्दै गएको छ भने दुई–तीन बजे पछाडिको समयमा भरसक घरबाट बाहिर निस्कन हुँदैन । त्यस्तो बेलामा सुरक्षित स्थानमा बस्दा राम्रो हुन्छ ।

शर्माका अनुसार सामान्यतया चट्याङ भनेको विद्युतीय करेन्टको प्रवाह हो । बादलमा भएको धनात्मक वा ऋणात्मक चार्ज एक आपसमा जुध्दा विद्युत करेन्ट प्रवाह हुन्छ । यसरी करेन्ट प्रवाह हुँदा औसतमा २० किलो एम्पेर विद्युत बहन्छ ।

नेपाली मौसमविद्हरूले भूउपग्रहले खिचेको तस्बिरका आधारमा मौसमसँगै चट्याङको पनि प्रक्षेपण गर्दै आएका छन् । यसबारेमा जल तथा मौसम विभाग, मौसम भिवष्यवाणी महाशाखाका मौसमविद् बरूण पौडेल भन्छन् , ‘प्रि–मनसुनको बेलामा बढी लाइटिङ हुने हुनाले मौसम भविष्यवाणीसँगै दिने गरिएको छ । दिउँसो, बेलुका वा पूर्वी वा पश्चिमी जहाँ–जहाँ चट्याङ पर्ने सम्भावना हुन्छ, मौसम फोरकास्ट गर्दा त्यो ठाउँमा हामी पूर्वसूचना दिन्छौं ।

अनुसन्धानको खाँचो
मौसम पूृृवानुमान विभागले पूर्वसूचना दिए पनि मानिसले चट्याङबाट बच्ने उपाय नजान्दा बढी क्षति हुँदै आएको विज्ञहरूको भनाइ छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले क्षति कम गर्न जनचेतनामूलक काम गर्दै आएको छ । नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेल भन्छन्, ‘स्वदेशमा भित्रिएका चट्याङ प्रविधिमा समस्या देखिएका छन् । यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा अनुसन्धान गर्नुपर्ने देखिन्छ । तिनीहरूलाई कसरी भरपर्दो बनाउने भन्ने महत्वपूर्ण पक्ष हो ।

तस्वीरः श्रीराम शर्मा

नास्टले भूकम्पछि पुनर्निर्माणका क्रममा बन्ने घरमा चट्याङप्रतिरोधी प्रविधि जडान गर्न पहल भइरहेको जनाएको छ । पुनर्निर्माण प्राधिकरण धेरै संख्यामा भूकम्प प्रतिरोधक घर बनाउने भनेर अगाडि बढिरहेको छ । चट्याङ अवरोधक संयन्त्रको त्यहाँ अनिवार्य रूपमा स्थापना गर्नका लागि आग्रह गर्दै आएको नास्टको भनाइ छ ।

चट्याङले २०६८ सालयता झन्डै ७ सय मानिसको ज्यान लिइसकेको छ भने सयौं घाइते भएका छन् । यसकारण चट्याङ पर्ने समयमा टेलिफोन, कम्प्युटर, रेडियो, टेलिभिजनजस्ता सामग्री नचलाउँदा राम्रो हुने विज्ञहरूको सुझाव छ । खुल्ला चौरमा थोरै क्षेत्रफल ओगट्ने गरी घुँडाले भुइँ टेकेर टाउको निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्ने हुन्छ । तीबाहेक घर निर्माण गर्दा अनिवार्य रूपमा चट्याङप्रतिरोधी प्रविधि व्यवस्था गर्नुपर्ने देखिन्छ । यस्ता प्रविधिको सहायताले करिब ९० प्रतिशत जनधन सुरक्षा गर्न सकिन्छ ।

सबैभन्दा बढी चट्याङ पर्ने ठाउँ
सन् २०१४ मा उत्तरी भारतको ब्रह्मपुत्र उपत्यकामा अंग्रेजी महिनाको अप्रिल र मे महिनामा सबैभन्दा बढी चट्याङ परेको अमेरीकी वैज्ञानिक अनुसन्धान केन्द्रको खोजले देखाएको थियो । तर, पछिल्लो समय भेनेजुयलाको माराकाइबो ताल क्षेत्रलाई सबैभन्दा बढी चट्याङ पर्ने ठाउँ भनिएको छ । त्यहाँ प्रति वर्ग किलोमिटरमा करिब २ सय ५० पटक बिजुली चम्किने गर्छ । अनुसन्धानले के देखाएको छ भने प्रत्येक एक मिनेटमा २८ पटकसम्म बिजुली चम्किने गरेको छ ।

सन् १९६० तिर विज्ञहरूले बहुमूल्य धातु युरेनियमको भण्डारण भएको क्षेत्र आसपासमा बढी चट्याङ पर्छ भन्ने मान्यता राख्थे । तर, पछिल्ला खोजले यो मान्यता तोडिएको छ । वैज्ञानिकहरूको पछिल्लो खोजमा तलाउको तल्ला भागबाट माथितिर आएको मिथेन ग्यासले माथिल्लो भागको खुला क्षेत्रमा हुने वायुको प्रवाहक तत्व बढाइदिन्छ । यस्तो दाबी वैज्ञानिकले प्रमाणित भने गर्न सकेका छैनन् । वैज्ञानिकले उक्त क्षेत्रको वर्णन र हावाको दिशाको बहावअनुसार हुने गरेको दाबी गरेका छन् ।

चट्याङ कसरी पर्छ ?
चट्याङ एक प्रकारको विद्युत प्रवाह हो । आकाशमा ‘क्युमिलोनिम्बस’ भन्ने बादलको कारणले जमिनमा विद्युतीय करेन्टको प्रवाहसहित ठूलो आवाज आउँछ । वायुमण्डलमा बादलका पिण्ड एकआपसमा ठक्कर खाँदा बादलमा भएका चार्जका कारण पैदा हुन्छ । यस्तो अवस्था पैदा गर्नुलाई ‘थन्डरस्ट्रम’ भनिन्छ ।

थन्डरस्ट्रमलाई एक विद्युतीय आँधी, चट्याङ अथवा थन्डर साबर पनि भनिन्छ । यो पृथ्वीको वायुमण्डलमा हुने स्वाभाविक प्रक्रिया हो, जसका कारणले वायुमण्डलमा बिजुली चम्कनुको साथै चट्याङ पर्छ । यस्ता थन्डरस्ट्रम क्युमुलोनिम्बस भन्ने एक प्रकारको काउली आकारको बादलले पैदा गर्दछ । यसकै कारण वायुमण्डलमा आँधी, भीषण वर्षा र कहिलेकाही असिनापानी आउनुको साथै यसले वातावरणलाई चिसो बनाइदिन्छ ।

वायुमण्डलको तल्लो तहमा यसले सुपरसेल पैदा गर्दछ । बादल आकाशतिर २० किलोमिटरभन्दा माथि पुग्दा बादल चिसिए काउलीजस्तो बादल देखापर्दछ । जब बादलको तापक्रम शीतको तापक्रम जति हुन आउँछ, बाफ चिसिएर पानीको थोपा वा हिउँमा परिणत हुनेछ । यतिखेर त्यसको कोषभित्र कम चाप पैदा हुन्छ । यस्ता बादल वायुमण्डलमा लामो दूरी पार गरेमा यसबाट ठूलो मात्रामा थन्डरसेल पैदा गर्ने मान्यता रही आएको छ । यस्ता सेलका कारण हुरीबताससहित वायु तीव्र गतिमा पैदा हुने गर्दछ । यस्ता तीव्र गतिका बादल एकआपसमा ठक्कर खाँदा धनात्मक वा ऋणात्मक चार्ज एकआपसमा जुध्दा गई विजुली पैदा भई चट्याङ पर्ने गर्छ । यस्ता बिजुली लहर बनाइ पैदा भएको देखिन्छ । बादलबाट बादल पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यसबाट आएको आवाज २० किलोमिटरसम्म सुन्न सकिन्छ । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको पाइन्छ । सबै चट्याङले विद्युतको लहर उत्पन्न गराउँछन् ।

चट्याङ विभिन्न प्रकारका हुन्छन् । जस्तैः बिनाआवाजको चट्याङ । यस्तो चट्याङलाई ‘उष्ण बिजुली’ भन्ने गरिन्छ । अर्को, सुक्खा चट्याङ हुन्छन् । यस्तो चट्याङले जमिनमा कुनै प्रभाव पार्न सक्दैन । कहिलेकाही भकुण्डो आकारको चट्याङ पनि पर्छ । यस्तो आकारको चट्याङ १५ देखि २० सेन्टिमिटरको अर्धव्यास बनाएर देखा पर्दछ ।

फेरि अर्को, तापसहितको चट्याङ आकाशमा देखापर्छ । यसको थन्डरसेलसँग कुनै साइनो हुँदैन । बादलबाट वायुमण्डलमा हुने चट्याङले हावामा चार्ज फैलन्छ । वायुमण्डलको माथिल्लो तहमा बिजुली चम्काइ वा चट्याङ पर्ने गर्छ । यस्तो चट्याङ बादलको माथिल्लो सतहमा हुने गर्छ ।

खुला आकाशमा बिजुली चम्केको देख्नु भएकै होला । बिजुली चम्किँदा आकाशमा कुनै बादल देखिँदैन, किन ? कारणः अन्यत्र सहर वा टाढा बादल भएको आँखाले नदेखिने हुन्छ किनभने १६ किलोमिटरभन्दा माथि रहेको सफा आकाशमा यस्ता दृश्य देख्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

बादलभित्रको विभिन्न तहको तापक्रममा फरक परेपछि बादल गतिमान भई हिँड्छ , जसका कारणले बादल र बादलको बीचमा घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्ज उत्पन्न गराउँछ । त्यसपछि हुरीबतास चल्ने, आकाशको माथिल्लो भागको बादलभित्रै बिजुली चम्किने गर्दछ । यतिखेरको चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ । यस्तो चट्याङले जमिनमा भएको वस्तुमा कुनै असर गर्दैन । तर, निकै समयपछि हावाहुरी पैदा भई जमिनसम्म आइपुग्छ । त्यसपछि पृथ्वीको सतहमा आँधीबेहरी चल्न थाल्छ ।

सबैभन्दा डरलाग्दो बादलदेखि जमिनसम्मको चट्याङ हो । यसैको कारण मानिसको मृत्यु तथा पशुपक्षी एवं चौपाया हानी–नोक्सानी हुने गरेको छ । बादलबीच घर्षणका कारण धेरै मात्रामा चार्ज बनेपछि बादलमा भएका चार्जको कारणले पृथ्वीमा विपरीत किसिमका चार्ज उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्ज र पृथ्वीमा भएको विपरीत चार्जमा विभिन्न प्रतिक्रिया हुने गर्दछन् । आकाशमा बिजुली चम्किएको बेला तापक्रम वृद्धि हुने अनुसन्धानकर्ताको भनाइ छ । यसले वायुमण्डललाई आकस्मिक रूपमा लगभग ३० हजार डिग्री सेल्सियससम्म पुर्याउने सम्भावना छ । यतिखेर चट्याङको आवाज पनि ठूलो हुन्छ, जसलाई मेघ गर्जन भनिन्छ । पहिले बिजुली चम्कन्छ, पछिमात्र आवाज सतहसम्म आइपुग्छ । भ्याकुममा ध्वनिभन्दा प्रकाशको गति ९० लाख गुणा बढी हुन्छ । प्रकाशको गति करिब ३ अरब मिटर प्रतिसेकेण्ड छ भने ध्वनिको गति करिब ३ सय ४३ मिटर प्रतिसेकेण्ड रहेको छ । यसकारण पृथ्वीमा ध्वनीको तरङ विजुलीको प्रकाशको भन्दा निकै ढिलो आउने गर्दछ । यसैकारण आकाशमा विजुली चम्कने र मेघ गर्जने एकैसाथ भए पनि जमिनमा भने फरक महशुस हुन्छ ।

अधिकांश चट्याङ तलाउ तथा रूख भएको स्थानमा पर्ने हुनाले त्यसबाट बच्ने उपायतर्फ ध्यान दिनुपर्दछ । चट्याङ सुचालक भएको वस्तुमा वहने हुँदा सकेसम्म खेतको कान्लामुनि मुन्टो लुकाएर टुक्रुक्क बस्नुपर्छ । चट्याङ परेको बेलामा रूखमुनि कहिले पनि बस्नु हँुदैन । वरिपरि जमिन र बीचमा एउटा रूख भएको स्थान छ, त्यहाँ चट्याङ पर्न सक्छ । त्यस्तो अवस्था खेतमा काम गरिरहेको अवस्था छ भने उभिएर नबसीकन कान्लामुनि लुकेर बस्न सकिन्छ ।पहिले मानिस वा कुनै वस्तुमा परेपछि चट्याङ रूखमा प्रवाह हुन सक्छ । यो भनेको खुला क्षेत्र चौर वा खेत देखि नजिकै रूख हुँदा सक्छ । यदि जंगलमा भएको बेलमा चट्याङ परेमा तीन वटा रुखको बीचमा कान छोपेर टुक्रुक्क टाउको घोडामुिन लुकाए बस्नुपर्दछ । त्यतिखेर जुत्ताचप्पल लगाएको हुनुपर्दछ । त्यस स्थानमा चट्याङ परिहाले कम क्षति हुनसक्ने विज्ञको भनाइ छ ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×