‘नेपालमै विदेशीस्तरको शिक्षा दिने योजना छ’

प्रविणराज जोशी, निर्देशक, वृहस्पति विद्यासदन, नक्साल, काठमाडौं

प्रविणराज जोशी नक्सालस्थित वृहस्पति विद्या सदनमा निर्देशकका रूपमा कार्यरत छन् । सन् १९८३ मा उनको पिता पुरुषोतमराज जोशीले वृहस्पति विद्यासदन सुरुमा मैतीदेवीमा स्थापना गरेका थिए । शिक्षित परिवारमा हुर्किएका जोशी काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ एन्ड कम्युनिकेसनमा स्नातक गरेपछि थप अध्ययनका लागि अमेरिकाको स्टेट युनिभर्सिटी अफ अलावा गएका थिए । त्यहाँ उनले कम्प्युटर साइन्समा मास्टर्स गरे । अमेरिकामा बस्दा उनले नेसनल साइन्स फाउन्डेसनमा पनि काम गरे । उनी भन्छन्, ‘शैक्षिक वातावरणमा जन्मे–हुर्केकाले मलाई शिक्षण पेसा मन पथ्र्यो । त्यही भएर म अमेरिकाबाट वृहस्पति विद्यासदनमा काम गर्न फर्किएको हुँ ।’ उनले वृहस्पतिमा काम गरेको करिब ११ वर्ष बितिसकेको छ । वृहस्पतिका विद्यार्थीलाई विश्वका अन्य विद्यार्थीसरह बनाउन उनी लागि पर्दै आएका छन् । शैक्षिक योजना तथा आगामी कार्ययोजनाबारे रिभोसाइन्स मासिकले निर्देशक जोशीसँग गरेको कुराकानीको सम्पादित अंशः

अमेरिका पुगेको मान्छे कसरी वृहस्पतिमा जोडिन पुग्नुभयो ?
पहिलेदेखि नै मेरो शैक्षिक क्षेत्रमा रुचि थियो । सम्पूर्ण परिवारले अध्यापन पेशा अँगालेका थिए । भित्रदेखि नै पढाउने इच्छा थियो । यहाँ आइसकेपछि किताबी ज्ञानबाहेक प्राविधिक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोच पलायो । त्यसका लागि केही खोज गरेँ । उदाहरणका लागि पब्लिक स्पिकिङ तथा साइन्सको प्रयोगात्मक शिक्षा सुरु भयो । विद्यार्थीलाई रमाइलो लाग्ने अनि सजिलो पनि हुने रेडियो, इलेक्ट्रोनिक तथा कम्प्युटरको प्रयोगात्मक शिक्षा सुरु गरियो । त्यसपछि बाँकी समय स्कुल व्यवस्थापनको जिम्मा लिएर त्यसमा केन्द्रित रहेको छु ।

सुरुमा वृहस्पति कुन उद्देश्यले सञ्चालन गरिएको थियो ?
मैतिदेवीनजिक सानो संरचनाबाट वृहस्पति सुरु गरिएको हो । तत्कालिन अवस्थामा नेपालको पढाइ त्यति स्तरीय भएन भनी यहाँका विद्यार्थी दार्जिलिङ लैजाने चलन थियो । मेरो बुबाले पनि मलाई उतै लगेर पढाउनुभयो । यही चिज काठमाडौंमै गर्न सकिन्छ भनेर मेरो बुबाले स्कुल खोल्नुभएको हो । उहाँले पहिलो कुरा गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।

तपाईहरूसामु मुख्य रूपमा कस्ता चुनौती छन् ?
स्थापनाकालमा स्थानीय रूपमा स्कुल राम्रो भए हुन्छ भन्ने थियो । तर, अहिलेको परिप्रेक्षमा विश्वका अन्य मुलुकका विद्यार्थीसरह कसरी यहाँका विद्यार्थीलाई राम्रो बनाउने भन्ने चुनौती छ । आजभोलि विद्यार्थीहरू विदेश जाने चलन व्याप्त छ । त्यसका लागि यहाँ विदेशीस्तरकै पढाइ आवश्यक हुन्छ । संसारभर चलेको गुणस्तरीय शिक्षा नेपालमा लागू गर्ने भन्ने चुनौती छ ।

यसलाई अझै प्रस्ट पारिदिनुहुन्छ कि ?
खासगरी गुणस्तरीय जनशक्ति भेटिदैन । कतिपय शैक्षिक सामान पनि सर्वसुलभ रूपमा यहाँ पाइँदैन । अहिले संसारभरि ‘रासवरी पाइ’ बाट शिक्षा दिने चलन बढेको छ । त्यो यहाँ ल्याउन चुनौती छ । ‘स्ट्याम एडुकेसन’ को माध्यमबाट नयाँ–नयाँ सामानबारे सिकाउन सकिन्छ । इनोभेसन, थ्रिडी प्रिन्टिङबारे सिकाउन सकिन्छ । हामीलाई त्यो प्रिन्टर किन्न गाह्रो हुन्छ ।

नयाँ किसिमले सञ्चालन गरौं भन्ने लागे पनि एसइइमा राम्रो गर्नुपर्ने हुन्छ । साइन्स इन्जिनियरिङमा फोकस गर्नुपर्ने हो, तर, हाम्रा अभिभावक शैक्षिक कुरामा केन्द्रित देखिन्छन् । त्यसकारण विश्व र स्थानीय स्तरको ‘सिनारियो’ मिलाउन चुनौती छन् ।

विद्यार्थीको प्रगति कस्तो छ ?
–धेरै विद्यार्थीसँग नियमित अन्तक्र्रिया हुँदैन । हाम्रा केही विद्यार्थी टेलिभिजनमा काम गर्छन् । त्यहाँ देख्दा खुसी लाग्छ । अस्पताल जाँदाखेरि विद्यार्थी भेटिन्छन्, खुसी लाग्छ । व्यापारिक क्षेत्रमा पनि लागेका छन् । उनीहरुले अन्य क्षेत्रमा पनि राम्रो गरेका छन् ।

 शैक्षिक पाठ्यक्रमबाहेक थप कक्षा के–के छन् ?
हामीले थप कक्षाको लागि कोसिस गरिराखेका छौं । समस्या के हो भने तलदेखि नै घोकन्ते विद्यामा केन्द्रित भएकाले उनीहरू अलिकति हिच्किचाउँछन् । यसले उनीहरूमा डर विकास गरेको पाएको छु । स्रोतसाधनको व्यवस्था भए पनि उनीहरूले सिर्जनात्मक कार्य गर्न नसकेको जस्तो लागेको छ । यसलाई सुधार्न विद्यार्थी, शिक्षक तथा अभिभावकमा पनि कमी भएको मैले अनुभव गरेको छु ।

स्कुलका लागि शिक्षक छनोट गर्दा कस्तो मापदण्ड तय गर्नुभएको छ ?
हामीले सकेसम्म अनुभवी शिक्षक राख्ने हाे। सकेसम्म विद्यार्थीलाई राम्रोसँग पढाउनसक्ने शिक्षक छानेका छौं । नयाँ कार्यक्रम ल्याउन लागेको अवस्थामा उनीहरूलाई तालिम दिने गरेका छौं । शैक्षिक सत्र सुरु हुनभन्दा अगाडि ‘ट्रेनिङ’ व्यवस्था गर्दै आएका छौं । वार्षिक योजना पनि दिने गरेका छौं । शिक्षकलाई गोल सेटिङ अर्थात् लक्ष्य निर्धारण गर्न प्रेरित गरेका छौं ।

प्रयोगात्मक शिक्षालाई सुधार गर्न के गर्नुपर्ला ?
पाठ्यक्रम नियमित पुनर्मूल्यांकन गर्नुपर्छ । कक्षा ९ र १० पछि एकैचोटि कक्षा ११ मा विज्ञान शिक्षा अध्ययन गर्न कठिनाइ पर्नसक्छ । उनीहरुलाई प्रयोगात्मक कक्षाका लागि ध्यान केन्द्रित मुस्किल पर्नसक्छ । विद्यार्थीका लागि एउटा नयाँ कक्षा थप्नेबित्तिकै आतिनसक्छन् । तर, त्यसो होइन, उनीहरुलाई प्रयोगात्मक शिक्षाप्रति लगनशील हुन प्रेरित गर्नुपर्छ ।

वृहस्पतिमा विद्यार्थी संख्या कस्तो छ ?
माध्यमिक तहमा २ सय ४० जना विद्यार्थी छन् । विज्ञान संकायमा मात्र लगभग १ सय जना छन् ।

प्रयोगात्मक शिक्षाको व्यवस्था कस्तो छ ?
सुविधासम्पन्न प्रयोगशाला छन् । प्रत्येक विद्यार्थीले छुट्टाछुट्टै बसेर आफ्नो प्रयोगात्मक कार्य गर्नसक्छन् ।

अन्य शैक्षिक संस्थाको दाँजोमा वृहस्पतिको शुल्क कस्तो छ ?
अन्य प्राइभेट कलेजको दाँजोमा हाम्रो शुल्क मध्यम खालको छ ।

वर्षभरिमा कक्षा ११ र १२ मा कति खर्च हुन्छ ?
कक्षा ११ र १२ मा गरी १ लाखको हाराहारीमा खर्च हुन्छ ।

यो शुल्कले धान्न पुगेको छ ?
–अलि गाह्रो हुन्छ । हाम्रो हिसाब चाहिँ के हो भने कुनै दिन ११ र १२ को पाठ्यक्रम सुधार भएर आएमा धान्न सकिन्छ । कतिपय अवस्थामा हामीले यही खाना खुवाउने भन्छौ । शैक्षिक सत्रको सुरुआतमा एउटा दर निर्धारण गरेका हुन्छौं । पछि मार्केट भाउ एक्कासि बढेर आउँछ । यसले समस्या पार्ने हुन्छ । प्रयोगात्मक कक्षाको सामग्री पनि त्यसरी बढ्छ, त्यतिखेर धान्न गाह्रो हुन्छ । शैक्षिक सत्रको बीचमा शुल्क बढाउने अवस्था हुँदैन ।

अतिरिक्त कक्षा कसरी सञ्चालन गर्नुभएको छ ?
–बेला बेलामा विज्ञहरू बोलाउने गरेका छौं । हामी आफैंले पनि कक्षा दिने गरेका छौं । समयमै पाठ्यक्रम सिध्याउनुपर्ने भएकाले अप्ठ्यारो भएको छ । वर्षभरिमा १२ जना विज्ञ ल्याउने, १२ वटा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेका छौं । नैतिक शिक्षा, मौखिक प्रस्तुति, विज्ञान प्रयोगात्मक शिक्षालाई जोड दिएका छौं ।

विद्यार्थी उत्तीर्ण प्रतिशत कस्तो छ?
–८५ प्रतिशतभन्दा माथि छ ।

शतप्रतिशत नतिजा ल्याउन केले बाधा पु¥याएको छ ?
भौतिकशास्त्रमा समस्या छ । विद्यार्थीलाई बढी गाह्रो लाग्दोरहेछ । पाठ्यक्रम हेर्दा कक्षा १० बाट ११ को ग्याप अजङको छ । असार–साउनमा कक्षा सञ्चालन हुन्छ । छोटो समयमै कोर्स सिध्याउनुपर्ने बाध्यता छ । कक्षा १० बाट सिधै कक्षा ११ मा सञ्चालन हुने हो भने २–३ महिना बढी समय पाउन सकिन्छ । त्यसले केही राहत मिल्ने देखिन्छ ।

उपत्यकाबाहिरका विद्यार्थी कतिजति छन् ?
उपत्यका भित्र र बाहिर गरी दुवै ठाउँका विद्यार्थी छन् । यो संख्या आधा–आधाजस्तै होला । मेरो विचारमा सानैदेखि यही पढेको विद्यार्थी भएमा राम्रो हुन्छ । अन्यत्रबाट ठूलो कक्षामा आएको विद्यार्थीको बानीव्यवहोरा चिन्न केही समय लाग्छ । सुझाव–सल्लाह दिनेबेला ऊ हिँडिसक्छ ।

उत्कृष्टताको हिसाबले उपत्यका बाहिर वा भित्रमध्ये कहाँको विद्यार्थी राम्रो हुन्छ ?
–खासै फरक देखिँदैन । उपत्यका बाहिरबाट आउने विद्यार्थीमा अंग्रेजी भाषाको केही समस्या हुन्छ । उनीहरूका लागि अंग्रेजी कक्षामा जोड दिन्छौं ।

‘करिअर काउन्सिलिङ’ गर्नुहुन्छ ?
काउन्सिलिङ गर्ने गरेका छौं । हरेक विद्यार्थीपिच्छे काउन्सिलिङ गर्न चाहिँ समय लाग्ने हुन्छ । उसको रुचि र आकांक्षा बुझ्न समय लाग्ने हुन्छ । समूहगत रूपमा काउन्सिलिङ गर्न त्यति समस्या पर्दैन ।

अन्त्यमा, विद्यार्थीले वृहस्पति विद्यासदनमै किन पढ्ने ?
यसमा २–३ वटा पक्ष स्पष्ट छन् । सबैतिर विज्ञान लगभग उस्तै तरिकाबाट पढाउने गरेको पाइन्छ । सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम पनि उही छ । अव वृहस्पति नै किन पढ्ने भन्ने सवालमा यहाँ प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै पढ्ने वा प्रयोगात्मक गर्ने वातावरण तयार गरेका छौं ।

उसले के गर्न खोजेको छ भनी बुझ्न र उसलाई प्रोत्साहन गर्न सकिन्छ । यहाँको प्रणाली अन्यत्रभन्दा फरक छ । विद्यार्थीलाई परिवारको सदस्यको रूपमा लिने गरिन्छ । समय–समयमा ‘इनोभेसन’को ट्रेनिङ दिने गरेका छौं । त्यसबाहेक विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि हामीले काम गरेका छौं ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *