/रिभोसाइन्सको विज्ञान र संस्कृतिको सम्बन्ध र अन्तर्य

रिभोसाइन्सको विज्ञान र संस्कृतिको सम्बन्ध र अन्तर्य

पुरूषाेतम लम्साल

पुरुषाेतम लम्साल

कुनैबेला मलाई आनन्दमूर्तीका प्रवचन खास लाग्थे । ओशो दर्शनमा चाख राख्नुअघि (चाख मात्र राखें, पछि लागिन) म आनन्द मार्ग र जीवन चक्रको नियम बुझ्न झण्डै गुरुकूलको शिष्य बन्न तयार भएको । किनकि, संस्कृति र जीवनको विषयमा आनन्दमूर्तीका प्रवचन र लेखन मन पर्न थालेको थियो । पछि यो अन्यत्र सर्यो । संस्कृतिका तमाम अभिव्यक्तिको संकलित रुपलाई सभ्यता मान्ने आनन्दमूर्तीले ‘मान्छे वैभवले सम्पन्न भए पनि सुसंस्कृत नहुनसक्छ’ भन्दा मनमनै ताली बजाउनेमा म पनि थिएँ । ‘विज्ञानले सभ्यताको भौतिक पक्षको र संस्कृतिले अभिव्यक्ति, कला र सौन्दर्यको विशिष्ट क्षमतालाई देखाउँछ’ भन्ने उनको बैचारिक दृष्टिकोण मन परेको हो मलाई ।

संस्कृत नै कम्प्युटरको लागि सबैभन्दा उत्कृष्ट मैत्री भाषा हो भनेर फोब्र्स पत्रिकाले मात्र होइन नासाले पनि स्वीकार गरेको प्रमाणित तथ्य हो । यसैको आधारमा हिन्दू धर्म र दर्शनका साठीहजार पाण्डुलिपीमाथि नासाले अध्ययन गरिरहेको पछिल्लो समाचारले हामीलाई अलिकति भने पनि काउकुति लाग्न पर्छ ।

भर्खरै मात्र एकजना मित्रले माघ ५ गते काठमाण्डौको कमलादीमा ‘विज्ञान र संस्कृतिः सम्बन्ध र अन्तर्य’ विषयमा कार्यक्रम हुन लागेको सूचना पठाएपछि सम्झेको हूँ मैले आनन्दमूर्तिलाई (भलै म आनन्दमार्गबाट दीक्षित र शिष्य केही होइन) । सभ्यताको सन्दर्भमा उत्तरआधुनिकतावादको ‘डिस्कोर्स’ संस्थागत हुनुअघि नै नवमानवतावादी बिचारको बहस प्रगतिशील प्रयोगवादी सिद्धान्तमार्फत सतहमा आएको थियो आनन्दमूर्तीको । यसैमा भौतिकवादी विकास, वैज्ञानिक विकास, विज्ञानको आयू, अर्थ र स्थायित्व, सभ्यता, संस्कृति र परम्परा जस्ता विषयमा तर्कवितर्क शुरु हुँदा जिज्ञासु विद्यार्थीको नाताले यताउता भौंतारिनु अस्वाभाविक थिएन ।

विज्ञानको चमत्कारपूर्ण उन्नती र प्रगतिले संस्कृति र सभ्यतालाई कम बलियो र बढी कमजोर बनाइरहेको मान्छु म । विज्ञानले समाजको प्रभुत्वशाली र निरीह दुबै बर्गको संस्कृतिलाई आधुनिकीकरणको शिकार बनाइरहेको मान्छु । र, सरकारी प्रतिवेदनमा पूर्ण साक्षर देखाइए पनि धादिंङ जिल्लाका सरकारी कामकाजमा प्रयोग भइरहेका हजारौं ल्याप्चलाई आधार मान्दा प्रभुत्वशालीको प्रचार र निरीहको नियति खोतल्न केही न केही बाटो मिल्छ । शहर छिरेर मैले आफैंलाई बिर्सिएँ भन्नेहरुको भीडबाट उदाहरण लिंदा पनि यसबारे केही साक्षी मिल्छ । विज्ञान र आधूनिकताको वकालत गर्दा गर्दै विज्ञानले धेरै सभ्यता र संस्कृतिको चिरहरण गरेका दृष्टान्त अनेक छन् । अहिले दृष्टान्तको बहसमा नलागौं ।

मुख्य कुरा नेपाली समाजमा पनि सभ्यता र संस्कृतिको सापेक्षमा विज्ञानको प्रयोग र, उपयोग अहिलेको चासो हो । अझ भन्दा संस्कृतिको वैज्ञानिक व्याख्या अझ महत्वपूर्ण । वैज्ञानिक व्याख्या नै नखोजी प्रयोजित रुपमा आरोपित गर्ने परम्पराले नेपालका केही सांंस्कृतिक विशिष्टतामाथि नै धावा बोलिरहेको सन्दर्भ पेचिलो भइसकेको छ । त्यसैले विज्ञान पक्षधर र संस्कृति पक्षधरबीचको खाडल पुर्नभन्दा पनि दूरी कम गर्ने अभियानको पहिलो अध्याय रेभोसाइन्स मिडियाले शुरु गरेको सुन्दा खुसी लाग्यो ।

पक्का पनि कार्यक्रममा विद्वानहरुले औद्योगिकीकरणलाई, विज्ञानलाई, प्रविधि र यसको द्रूत परिवर्तनशील चरित्रलाई निषेध गर्न सम्भव छैन भन्लान् । यी सबलाई हाम्रो सभ्यता र संस्कृतिअनुकूल कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे बहस भइदिए अझ राम्रो हुन्थ्यो । हाम्रो सभ्यताको समाजको संस्कृतिको कला, सौन्दर्य कति विज्ञानसम्मत छ भनेर खोजिनीति (प्रकृति र परिणामको बहसमा नजाम्) परम्परा नयाँ होइन । तर, विज्ञानको आडमा संस्कृतिलाई निषेध गर्नु र संस्कृतिको पक्षपोषण गर्दा विज्ञानलाई तिरस्कार गर्ने अहितकारी सोच र अभ्यासबारे आगे बहस भइदिए हुन्थ्यो । विज्ञानले संस्कृतिलाई विकृत बनाइरहेको छ ? वा, विज्ञानलाई सापेक्षमा उपयोग गर्न नसक्दा हाम्रो पारम्पारिक तथा सांस्कृतिक मूल्यमा ह्रास आइरहेको छ ? विज्ञानका कर्मी र धर्मका पण्डितहरुले सार्वजनिक मञ्चबाटै बहसको थालनी गरिदिए उपयुक्त हुन्थ्यो ।

‘लेनीनलाई नपढी मैले मेरो समाजमा के खराब भइरहेको छ भनेर जान्न सकिन’ भन्थे रे समाजवादी वैज्ञानिक हाल्देन (भारतमा माक्र्सवादी द्वन्दत्मक भौतिकवादको कुनै सन्दर्भमा कतै पढेको सम्झना मात्र हो) । हिन्दू दर्शनमा आकर्षित भएपछि उनले कतै लेखेको धमिलो याद छ, ‘प्रविधिको पक्षमा मात्र जोड दिंदा विज्ञानले मानवताको आध्यात्मिकताको सुन्दरतालाई ध्वस्त बनाउँदै लगेको छ । र, धर्मले अप्रासंगिक र अवैज्ञानिक आधारहरुमाथि पुनःविचार गर्न नसक्दा पतनोन्मुख दिशामा छ’ । रिभोसाइन्स मिडियाका मित्रले अन्तक्रिया र बहसको विषयबारे जानकारी गराउँदा साठी वर्ष अगाडि जे एस हाल्डेनको माथिको टिप्पणीमा हामी बल्ल औपचारिक र सार्वजनिक बहस गर्न गइरहेका छौं भनेर खुसी लाग्नु अनौठो होइन ।

त्यसो भए विज्ञानको नैतिकीकरण कसरी गर्ने ? नेपाली समाजको सांस्कृतिक आदर्श र सभ्यताको वैत्रानिकीकरण कसरी गर्ने ? प्राचीन परम्पराको तार्कीकीकरण कसरी गर्ने ? कि नेपालका प्रगतिशील चिन्तक भनेर चिनिएका आहूती बुढाले नेपाली टोपी दिवसको सन्दर्भमा ‘बांग्लादेशको राजधानी ढाका आएकाले ढाकाटोपी भएको’ भनेजस्तै पाङ्मुङे तर्कबाट संस्कृतिभित्र प्रगतिशीलता खोल्ने हो ? बाहूनवादको खुट्टा तान्दै गर्दा वा हिन्दु संस्कृतिलाई विकृत र पाखण्डी करार गर्दै गर्दा अब कसले कुन प्रामाणिक परिकल्पना, परीक्षण र सिद्धान्तको आधारमा खेती गरिरहेका छन् भनेर खोज्नका लागि पनि माघ ५ गतेको कार्यक्रम प्रस्थानबिन्दू होस् । किनकि, संस्कृत र हिन्दू संस्कृतिका धेरै सार्वभौमक, वैज्ञानिक व्याख्याहरुलाई आधुनिक विज्ञानले स्वीकार गरिसकेका तथ्यहरुबाट नेपालमा बाहूनबादको ढोल पिटेर चुल्हो बाल्ने एउटा जमात बेखबर रहेको अभिनय गरिरहेका छन् भन्दा अनर्थ हुँदैन ।

यहाँ विज्ञान र संस्कृतिको सम्बन्ध र अन्तर्यभित्र साध्य के हो र साधन के हो भनेर ठोस् बहसको थालनी हुनुपर्दछ भन्न खोजिएको हो । विज्ञानका मूल्य र मान्यतासँग जोड्दा अब राष्ट्रिय संस्कृति र बर्गीय संस्कृतिको भेदलाई पनि सम्बोधन गर्ने पद्दति आरम्भ हुनपर्दछ । विज्ञान र शिक्षाको बलमा संस्कृतिमाथि मडारिएको बर्ग एकाधिकारको बादल फटाउने सुत्रहरुको खोजी पनि आरम्भ हुनपर्दछ । अर्को चुनौतीपूर्ण सवाल, संस्कृतिको प्रेमजालमा परेर हामी आधुनिकीकरणको दिशामा उत्प्रेरित चाँहि नहुने ? संस्कृति र परम्पराको जगेर्नाको नाममा देशका अल्पसंख्याक तथा सीमान्तकृत बर्गको वैज्ञानिकीकरण गर्ने कि नगर्ने ? उनीहरुलाई मूलधारमा पनि ल्याउन पनि पर्ने र उनीहरुको जातीय, भाषिक, सांस्कृतिक, सामूहिक पहिचान र संस्कृति पनि तत् तत् अवस्थामा राख्न पर्ने ? यो सम्भव छ ? हो, अब विज्ञानका कर्मीहरु र धर्मका पण्डितहरु र संस्कृतिका मुखियाहरुले बहसलाई विज्ञान र संस्कृतिको सम्बन्ध र अन्तर्यमा केन्द्रित गर्न अबेर भयो भन्न खोजिएको हो ।

अन्त्यमा, अमेरिकी अन्तरीक्ष अनुसन्धान संस्था नासाले जनाएअनुसार सन् २०२५ सम्ममा अत्याधुनिक कम्प्युटरको छैटौं पुस्ता संस्कृत भाषामैत्री भएर आउँदैछ । र, त्यसको अर्को ९ वर्षपछि आउने तोकिएको सातौं पुस्ताको कम्प्युटर पनि संस्कृत मैत्री नै आउने बताइएको छ । किनकि, संस्कृत नै कम्प्युटरको लागि सबैभन्दा उत्कृष्ट मैत्री भाषा हो भनेर फोब्र्स पत्रिकाले मात्र होइन नासाले पनि स्वीकार गरेको प्रमाणित तथ्य हो । यसैको आधारमा हिन्दू धर्म र दर्शनका साठीहजार पाण्डुलिपीमाथि नासाले अध्ययन गरिरहेको पछिल्लो समाचारले हामीलाई अलिकति भने पनि काउकुति लाग्न पर्छ ।

सकारात्मक बहसको थालनीप्रति शुभकामना ।

आगे, विज्ञान र संस्कृति दुबैको जय होस् ।