प्रदुषणको मारमा उपत्यकाको चमेरा

पर्यावरणमा चमेरा वहुगुणी भएकोले संरक्षणमा जोड दिनु पर्दछ ।

तस्वीरः मर्लिन डी टटल

काठमाडौं । उपत्यकामा पछिल्लो समय तुलनात्मक रुपमा चमेराको संख्या घटेको पाइएपछि विज्ञहरुले संरक्षण गर्नमा जोड दिएका छन् । यसरी चमेरा घट्नुमा बासस्थानमा कमी, पोखरी सुक्नु, नाङ्गा विजुलीका तार, वायु प्रदुषण, पानी प्रदुषण तथा कृषिमा विषादी दोषी रहेको विज्ञहरुले औल्याएका छन् ।

उनीहरुका अनुसार उपत्यकामा चोरी शिकारी तथा औषधि बनाउने जस्ता मानविय क्रियाकलाप न्यून भएका छन् । तैपनि चमेरा पाइने स्थानहरु कम मात्रामा भेटिन्छन् । ति बाहेक उपत्यका आसपासका गुफाहरुमा चेन गेट लगाइएका छन् जसले ठूला आकारका चमेराहरुका प्रजाति भित्र छिर्न नपाउँदा बासस्थान परिवर्तन गरेको अनुसन्धानकर्मीहरु बताउँछन् ।

उनीहरुका अनुसार विश्वमा झण्डै एघार सय प्रजातिका चमेराहरू पाइन्छन्। त्यसमध्य नेपालमा अहिले सम्म रेकर्ड भएको ५५ प्रजातिका चमेरा पाइन्छ भने त्यसमध्य ३२ प्रजातिका चमेराहरु उपत्यकामा पाइन्छन् ।

काठमाडौंको सुन्दरीजल, गोकर्ण, नारायणहिटि संग्रालय, नागरजुन, स्वयंभू, गुजेश्वरीजस्ता स्थानमा बाक्लै उपस्थिति हुन्थ्यो तर अहिले न्यून प्रतिशत जति देखिन्छन्, साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसन्धानकर्मी सान्जन थापा बताउँछन् ।

अनुसन्धानककर्मी थापाका अनुसार हँगेरीका वैज्ञानिकले पहिचान गरेको सोर्वा मुसाकाने चमेरो अर्थात् मुसाको जस्तो कान भएको चमेरो नेपाल मात्रै पाइन्छ । ति बाहेक घोड नाले (राइनो लोफस) घोडाको नाल जस्तो नाक भएको चमेराहरु, पातको जस्तो नाक भएको पत्र नाके (हिपो साइडोरस) चमेराहरु नेपालमा पाइने बताएका छन् ।

सन् १९७० मा गरेको एक अनुसन्नधानले नारायणहिटि दरबार वरपर पाइने ठूला आकारका गोल्डेन क्राउन्ड फ्लाइङ फक्स वर्गमा पर्ने व्वासोको जस्तो मुख भएको राज चमेरो अर्थात वदुरा विजुलीका नाङ्गा तारले असर गरेको रिपोर्ट भएको थियो । अहिले पनि त्यस्तै खाले समस्या विद्यमान भएको बताइन्छ ।

यद्यपी अहिले नारायणहिटि दरबार आसपास कम चमेरो पाइनुमा रानी पोखरीको पानी सुक्नु पनि एक प्रमुख कारण हो भन्छन् अनुसन्धानकर्मी सान्जन थापा । यसले रानी पोखरीको असर चमेरासमेत देखिएको छ । किनभने राज चमेरोले रानी पोखरीको पानी खाने गर्दथ्यो । ति बाहेक अन्य कारण पनि हुन सक्छन् यसमा विस्तृत अध्ययन भैसकेको छैन तर पनि विश्वका अन्य देशहरुको गरेको अध्ययनको आधारमा भन्न सकिने अनुसन्धानकर्मी सान्जन थापाको भनाइ छ ।

 चमेरा मनिसले चस्तै बच्चा जन्माउने तथा स्तनधारी निसाचर प्राणीमा पर्दछ । चमेराहरू जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिन्छन् । विज्ञका अनुसार चमेराहरूमा मांसाहारी चमेरा र फलाहारी चमेरोमा विभाजित छन् ।

मांसाहारी चमेराले कीरा, फट्याङ्ग्राहरू मात्र खान्छन् । फलाहारी चमेराले फलफूल खान्छन् । यद्यपी ठूला स्तनधारी प्राणी बाघ, भालू तथा गैंडा जसरी यसको संरक्षण हुन नसकेको विज्ञहरुको भनाइ छ ।

साना स्तनधारी प्राणी चमेरो संरक्षणमा महत्वाकासाथ नहेरिदा कतिपय प्रजाति लोप हुने अवस्था भएको अनुसन्धानकर्मीहरुको भनाइ छ । “त्यसकारण आफूहरु चमेरो संरक्षणका लागि पाँच वर्षे कार्य नीति बनाउन सम्वन्धित सरोकारबालाहरुसँग छलफल चलाएका हौं,”  थापा भन्छन् ।

 पर्यावरणमा बनस्पतिहरुको परागमन प्रक्रियामा चमेरोले पनि सहयोगी भूमिका खल्ने हुँदा यसको पनि महत्व हुन्छ । “त्यसकारण चमेरा जोगाउन हामीसँवैको दायित्व भित्र पर्दछ,” प्राणीशास्त्री प्राध्यापक करणबहादुर शाहा भन्छन्, “यसको महत्व सर्वसाधारण तथा सरकारी तवरमै पुर्‍याउन सकेनौं । यस बारेमा सरकारले स्पष्ट नीति बनाएर काम गर्नु पर्ने देखिन्छ ।” त्यसकालागि साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले तयार पारेको उपत्यकाको चमेरो संरक्षण गर्ने पाँच वर्षे कार्य नीतिका मस्यौदा माथिको छलफल स्रहानिय हुनेमा प्राध्यापक शाह आशावादी छन् ।

उपत्यकामा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रतिनीति, जिल्ला वन कार्यलय, नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), गोदावरी नगरपालिका, बनस्पति विभाग सम्वन्धित सरोकारवाला निकायहरुको सहभागिता थियो ।