पर्सिद उल्का वर्षा हुँदै

एक घण्टामा करीव डेढ सयवटा उल्का खस्न सक्ने छ ।

उपेन्द्र ढु‌गाना

काठमाडौं । साउन २८ र २९ गते राती पर्सिद नक्षत्रमा उल्का वर्षा भएको दृष्य देख्न सकिन्छ । खगोलविद्हरुका अनुसार काठमाडौंको आकाशबाट प्रति घण्टा डेढ सय वटासम्म उल्का खस्ने सम्भावना छ ।

यो उल्का वर्षा अन्य उल्का वर्षाभन्दा अधिक हुने भएकोले यसलाई वर्षकै ठूलो उल्का वर्षा मानिन्छ ।

खगोलविद्हरु हरेक वर्ष जुलाई १७ देखि अगस्त २४ लाई अधिक उल्का वर्ष हुने समय भएको बताउँछन् । त्यस समयमा हुने उल्का वर्षा नेपालभरबाट सजिलै देख्न सकिन्छ ।

‘स्विफ्ट टर्टल’ नामको पुछ्रेताराले अन्तरिक्षमा छोडेको कणहरु पर्सिद नक्षत्रबाट पृथ्वीको वायुमंण्डलमा ठोक्किएर उल्काको रुपमा पृथ्वीमा खस्ने भएकोले यस उल्का वर्षालाई पर्सिद उल्का वर्षा भनिन्छ ।

पृथ्वीको उत्तर ध्रुवीय क्षेत्रबाट अवलोकन गर्न सकिने यस उल्का वर्षालाई काठमाडौँमा मंगलवार राति ८ः४५ देखि बुधवार बिहान ५ः ४५ सम्म अवलोकन गर्न सकिन्छ ।

काठमाडौँमा बढ्दो धुवाधुलो र बस्तीको प्रकाशले कम देखिन्छ । यद्यपी मध्यरातमा निकै चम्किला उल्काहरु खस्दै गरेको मनमोहक दृष्य देख्ने खगोलविदहरुको भनाइ छ ।

खगोलविदहरु पर्सिद उल्का वर्षालाई सबैभन्दा चम्किला उल्का वर्षाको रुपमा लिन्छन । तर चन्द्रमाको प्रकाशले मधुरो उल्काहरु खसेको भने देख्न सकिदैन ।

उल्का वर्षा नाङ्गो आँखाले देख्न सकिन्छ । त्यसलाई हेर्न आँखालाई कम्तिमा पन्ध्र मिनेटसम्म अध्यारोमा नियाल्नु पर्दछ र लगतै अध्यारोमा बसेर उल्का वर्षा हेर्नुृ पर्दछ ।