
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा झन्डै ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले सोमबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, सो अवधिमा बैंकको नाफा ३२.८० प्रतिशतले वृद्धि भएको हो।
बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ७० करोड २३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो। संचालन नाफा पनि ३१.६३ प्रतिशतले वृद्धि भई ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने हैसियत बनाएको छ। अघिल्लो वर्ष यो क्षमता ३८.०६ प्रतिशत थियो।
हाल बैंकको चुक्त पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ भने जगेडा तथा कोषमा १३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ३७.९९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ कायम भएको छ।
खराब कर्जा दर पनि घट्दै ०.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ०.७१ प्रतिशत थियो।
Leave a Reply