
फ्रान्स गुएनाको कोरुस्थित युरोपेली अन्तरिक्ष केन्द्रबाट १३ अगस्टका दिन एरियन-६ रकेटमार्फत ‘मेटओप सेकेन्ड जेनेरेसन’ नामक नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।
युरोपेली अन्तरिक्ष संस्थाका अनुसार यो उपग्रह ध्रुवीय कक्षबाट मौसम र जलवायु निगरानी गर्ने नयाँ शृंखलाको पहिलो उपग्रह भएको हो।
यस उपग्रहमा समावेश गरिएको ‘कोपर्निकस सेन्टिनल–५’ नामक अत्याधुनिक उपकरणले वायुमण्डलीय प्रदूषण, ओजोन तथा जलवायु सम्बन्धी ग्यासहरूको निगरानीका लागि महत्वपूर्ण डाटा प्रदान गर्ने जनाएको छ ।
सफल प्रक्षेपण र उर्जा उत्पादन
स्थानीय समयअनुसार १२ अगस्ट राति ९:३७ बजे (१३ अगस्ट २:३७ केन्द्रीय युरोपेली ग्रिस्म समय, सिइएसटी) प्रक्षेपण गरिएको चार टन तौलको मेटओप–एसजी–ए वान उपग्रह ४:४७ सिइएसटी मा सौर्य प्यानल फैलाएर उर्जा उत्पादन गर्न सफल भएको पुष्टि गरिएको थियो।
यसले मौसम पूर्वानुमान र जलवायु विश्लेषणमा नयाँ क्षमताहरू देखाउने थप विश्वास गरिएको छ ।
पहिलो पुस्ताका मेटओप उपग्रहहरूको सफलतामा आधारित यो दोस्रो पुस्ताको मेटओप–एसजी मिशनले विश्वव्यापी मौसम पूर्वानुमान तथा जलवायु विश्लेषणका लागि अत्यावश्यक डाटा निरन्तर उपलब्ध गराउनेछ।
यस शृंखलामा तीन जोडी उपग्रहहरू रहनेछन्—प्रत्येक जोडीमा ए र बी प्रकारका उपग्रहहरू रहनेछन्, जसले परिपूरक उपकरणहरूद्वारा विस्तृत अवलोकन गर्नेछन्।
अन्तर्राष्ट्रिय सहकार्य
यो मिशन युरोपेली अन्तरिक्ष संस्था (इएसए) र युमेटसाटबीचको दीर्घकालीन सहकार्यको परिणाम हो। इएसएले उपग्रहको डिजाइन तथा निर्माणको जिम्मेवारी लिएको थियो भने युमेटसाटले प्रक्षेपण सेवा, ग्राउन्ड सेग्मेन्ट विकास, सञ्चालन तथा डाटा वितरणको जिम्मा लिएका थिए।
वायुमण्डलीय गुणस्तर निगरानीमा योगदान
इएसए की पृथ्वी अवलोकन कार्यक्रम निर्देशक सिमोनेटा चेलीले भनिन्, “आजको प्रक्षेपणले इएसए, युमेटसाट, युरोपेली आयोग, एरियनस्पेस तथा युरोपेली अन्तरिक्ष उद्योगबीचको बलियो साझेदारीको मूल्य दर्शाउँछ।”
उनले थपिन्, “अत्यधिक अनियमित मौसम प्रणालीका कारण समयमै र सटीक पूर्वानुमान अत्यावश्यक भएको छ। मेटओप–एसजी मिशनले मौसम पूर्वानुमान र जलवायु निगरानीमा महत्वपूर्ण भूमिका खेल्नेछ। सेन्टिनल–५ ले वायु प्रदूषण निगरानीका लागि समयसापेक्ष डाटा उपलब्ध गराउनेछ।”
चरम मौसमी चुनौती
युमेटसाटका महानिर्देशक फिल इभान्सले भने, “पछिल्ला ४० वर्षमा युरोपमा चरम मौसमका कारण अरबौं युरोको क्षति र हजारौंको ज्यान गएको छ। बोरिस, ड्यानियल, हान्सजस्ता आँधी, रेकर्ड गर्मी र डढेलोहरू यसको ताजा उदाहरण हुन्।”
उनले मेटओपको प्रक्षेपणले सदस्य राष्ट्रहरूलाई जीवन रक्षा, सम्पत्ति संरक्षण तथा जलवायु संकटसँग जुध्न सहयोग पुर्याउने बताए।
विश्वव्यापी डाटा वितरण
युरोपेली आयोगका क्रिस्टोफ कौट्जले सेन्टिनल–५ए को सफल प्रक्षेपणमा संलग्न सबैलाई बधाई दिँदै भने, “प्रत्येक १ सय मिनेटमा पृथ्वीको परिक्रमा गर्ने यो उपकरणले दैनिक रूपमा वायु प्रदूषक र ट्रेस ग्यासहरूको विश्वव्यापी डाटा प्रदान गर्नेछ। यी डाटा कोपर्निकस वायुमण्डलीय निगरानी सेवा तथा जलवायु परिवर्तन सेवामा पठाइनेछ, जसले नीति निर्माणमा सहयोग पुर्याउनेछ।”
उच्च प्रविधियुक्त उपकरणहरू
मेटओप– एसजी मिशन अन्तर्गत आगामी २० वर्षसम्म सञ्चालन हुने छ वटा उपग्रहहरू रहनेछन्। ए प्रकारका उपग्रहमा ६ उपकरणहरू अत्याधुनिक इन्फ्रारेड साउन्डर, माइक्रोवेभ साउन्डर, मल्टिस्पेक्ट्रल इमेजिङ रेडियोमिटर, मल्टिभ्युइङ मल्टिच्यानल इमेजर, रेडियो ओक्ल्टेसन साउन्डर, र सेन्टिनल–५ स्पेक्ट्रोमिटर रहनेछन् ।
बी प्रकारका उपग्रहमा स्क्याटरमिटर, रेडियो ओक्ल्टेसन साउन्डर, नयाँ माइक्रोवेभ इमेजर, आइस–क्लाउड इमेजर, र अग्रोस–४ डाटा संकलन प्रणाली रहनेछन्। यी इएसएद्वारा विकास गरिएका पहिलो उपग्रहहरू हुन्, जसमा मिशन समाप्त भएपछि सक्रिय रूपमा पृथ्वीको वायुमण्डलमा नष्ट हुने प्रणाली जडान गरिएको छ।
पृथ्वीको विस्तृत अवलोकन
मेटओप–एसजी उपग्रहहरू ध्रुवीय कक्षमा पृथ्वीको परिक्रमा गर्छन् । प्रत्येक २४ घण्टामा सम्पूर्ण पृथ्वीको अवलोकन गर्न सक्ने क्षमता प्रदान गर्दछ।
यिनको तुलनामा मेटियोसाट शृंखलाका उपग्रहहरू स्थिर भू–कक्षमा रहन्छन्, जसले तीव्र गतिमा परिवर्तन हुने मौसम प्रणालीको निरन्तर निगरानी गर्न सहयोग पुर्याउँछ।
जुलाईमा प्रक्षेपण गरिएको दोस्रो मेटियोसाट तेस्रो पुस्ताको उपग्रह एमटिजी–एस१ मा पनि सेन्टिनल–४ उपकरण समावेश गरिएको छ। यी दुई प्रकारका मिशनले पृथ्वीको फरक दृष्टिकोणबाट अवलोकन गरेर मौसम पूर्वानुमान, मोडेलिङ तथा जलवायु विश्लेषणमा डाटा वितरणको प्रभावकारिता बढाउनेछ।
Leave a Reply