
युटा विश्वविद्यालय र भर्जिनिया टेकको संयुक्त अनुसन्धान अनुसार एशियाली उच्च हिमाली क्षेत्रका हिमनदीहरू हरेक वर्ष २२ गिगाटनभन्दा बढी बरफ गुमाइरहेका छन्, जुन करिब ९० लाख ओलम्पिक पौडी पोखरी बराबर हुनेछ।
जसअनुसार बढ्दो जलवायु तापमानले हिमनदी पग्लिने प्रक्रिया तीव्र भएको स्पष्ट छ। तर, यो नयाँ अध्ययनले दक्षिण एसियाली मनसुनी वर्षा र हिमपातको समय तथा तिब्रता (इन्टेनसिटी) परिवर्तनले पनि हिमनदी पग्लिने दरलाई अझ बढाइरहेको देखाएको छ।
युटा विश्वविद्यालयका सह–प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक सोनाम शेर्पा भन्छन्, “दक्षिण एशियाली मनसुनद्वारा प्रभावित हिमनदीहरू जस्तै केन्द्रीय हिमालय, पश्चिमी हिमालय र पूर्वी हिमालय विशेष रूपमा संवेदनशील छन्। यदि मनसुनी समय र तिब्रता निरन्तर परिवर्तन भइरह्यो भने, यो बरफ गुमाउने दरलाई तीव्र बनाउनेछ र नदी तटीय लाखौं जनताको पानी आपूर्तिमा खतरा उत्पन्न गर्नेछ।”
“तेस्रो ध्रुव” को संकट
एशियाली उच्च हिमाली क्षेत्रलाई “तेस्रो ध्रुव” भनिन्छ, किनभने यो आर्कटिक र एन्टार्कटिकबाहेक विश्वकै सबैभन्दा ठूलो हिमनदी बरफको भण्डार हो। यहाँका हिमनदीहरूले दक्षिण र मध्य एसियाका १.४ अर्बभन्दा बढी जनसंख्यालाई खानेपानी, कृषि, जलविद्युत र नदी प्रणालीमार्फत जीवन धारा प्रदान गर्छन्।
भर्जिनिया टेककी सह–प्राध्यापक सुसाना वेर्थ भन्छिन्, “यदि हिमनदीहरू छिटो पग्लिन थाले भने, भविष्यमा नदी प्रवाहको मुख्य स्रोत हिमनदी पग्लावटबाट वर्षाततर्फ सर्नेछ, जसले खडेरीको जोखिम बढाउनेछ।”
उनका अनुसार केन्द्रीय हिमालयको दक्षिणी भागमा हिमनदीहरू गर्मीमा बरफ संचित गर्छन्, जाडोमा गर्दैन। उच्च उचाइमा मनसुनको वर्षा हिमपातमा रूपान्तरण भएर हिमनदीलाई पोषण दिन्छ। तर, यदि हिमपात घट्यो वा पग्लावट बढ्यो भने, हिमनदीहरू पछाडि सर्ने प्रक्रिया सुरु हुन्छ।
जलवायु तातो हुँदा वर्षा र हिमपातको ढाँचा परिवर्तन हुन्छ । जसले वर्षा ऋतु छोट्याउँछ, वर्षा मात्रा घटाउँछ, वा हिमपातको सट्टा वर्षा गराउँछ। यसले हिमनदीमा संचित हुने बरफ घटाउँछ, र पग्लावट अझ तीव्र बनाउँछ।
छिटो पग्लिने हिमनदीहरूले हिमताल विस्फोटको सम्भावना बढाउँछन्, जुन अहिले विश्वभरका हिमाली क्षेत्रहरूमा बढ्दो खतरा बनेको छ। यससँगै पहिरो, नदी बाढी, र अन्य श्रृंखलाबद्ध जोखिमहरू पनि उत्पन्न हुन्छन्। शेर्पा भन्छन्, “यो जोखिम केवल दीर्घकालीन पानी अभावको मात्र होइन, मानव जीवन र पूर्वाधारमा तत्कालीन खतरा पनि हो।”
उपग्रह डाटा र प्रमुख निष्कर्षहरू
अध्ययनमा नासाको ग्रेस मिशनबाट प्राप्त उपग्रह डेटा, जलविज्ञान र मौसमसम्बन्धी अभिलेखहरू प्रयोग गरिएको थियो। यसले जलवायु तातो हुँदै जाँदा, वर्षा–हिमपातको मौसमीता परिवर्तन, र मनसुन ढाँचाको विकासले हिमनदी पग्लावट र जलचक्रमा पार्ने प्रभावको मूल्याङ्कन गरेका थिए ।
अनुसन्धानकर्ताले मुख्य तीन निष्कर्ष प्रस्तुत गरेका छन् । पहिलो, केन्द्रीय र पश्चिमी हिमालयमा गर्मीमा हिमनदी बढ्ने हुँदा वर्षा वृद्धिसँग बरफ गुमाउने दर सम्बन्धित छ। दोस्रो, पूर्वी हिमालयमा हिमपात घट्ने कारणले हिमनदीको गतिशीलता प्रभावित हुन सक्छ.
तेस्रो, हिमनदीको पछाडि सर्ने ढाँचा ३ देखि साँढे ४ वर्ष र ५ देखि८ वर्षको चक्रमा दोहोरिन्छ, जुन मनसुनको प्राकृतिक परिवर्तनशीलतासँग मेल खान्छ।
त्यस्तै, अनुसन्धानकर्ताहरूले वर्षा, हिमपात र जलवायु सम्बन्धी चरहरूको निगरानी गर्न घना र सटीक अवलोकन प्रणालीको आवश्यकता औंल्याएका छन्। यस्ता प्रणालीले मनसुन परिवर्तनको प्रभाव पूर्वानुमान गर्न र अनुकूलन रणनीति निर्माण गर्न सहयोग पुर्याउनेछ।
यो अध्ययन् आइइइ जर्नल अफ सेलेक्टेड टपिक्स अन एप्लाइड अर्थ अव्जरभेसन एण्ड रिमोट सेन्सिङमा सन् २०२५ अगस्ट १ मा प्रकाशित भएको छ ।
Leave a Reply