
वासिङ्टन । नासाको आर्टेमिस अभियानअन्तर्गत नासाले वासिङ्टन राज्यको केन्टस्थित ब्लू ओरिजिनलाई १९० मिलियन डलर सम्मको मूल्य भएको कमर्शियल लुनार पेलोड सर्भिसेस (सिएलपीएस) कार्यादेश प्रदान गरेको छ । जसमा भाइपर रोभरलाई सन् २०२७ को अन्त्यतिर चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याउनु पर्ने सम्झौतामा उल्लेख छ।
भोलाटाइल्स इन्भेस्टिगेटिङ पोलर एक्सप्लोरेसन रोभर (भाइपर) ले चन्द्र सतहमा पानीजस्ता अस्थिर स्रोतहरूको खोजी गर्नेछ र भविष्यको चन्द्र तथा मंगल ग्रहको अन्वेषणलाई सहयोगी वैज्ञानिक तथ्यहरू संकलन गर्नेछ। यो मिसनले स्थायी रूपमा छायामा रहने क्षेत्रहरूमा पुग्ने लक्ष्य राखेको छ, जसले भविष्यका अवतरण स्थलहरू र दीर्घकालीन मानव बसोबासका सम्भावनाहरूबारे जानकारी दिनेछ।
“नासा चन्द्रमाको अझ धेरै भाग अन्वेषण गर्दै विश्वको नेतृत्व गरिरहेको छ,” कार्यवाहक नासा प्रशासक सीन डफीले भने। “यो डेलिभरी अमेरिकी उद्योगको सहयोगमा चन्द्र सतहमा दीर्घकालीन उपस्थिति सुनिश्चित गर्ने प्रयासहरूमध्ये एक हो।”
यो ब्लू ओरिजिनलाई दिइएको दोस्रो सिएलपीएस डेलिभरी हो। पहिलो मिसन यसै वर्ष प्रक्षेपणको लक्ष्यमा छ, जसमा ब्लू मून मार्क १ (एमके१) रोबोटिक ल्याण्डर प्रयोग गरी नासाले लुनार-प्लुम सतह अध्ययनका लागि स्टेरियो क्यामेराहरू र लेजर रेट्रोरिफ्लेक्टिभ एरे पेलोडहरू चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याइनेछ।
नयाँ सिएस-७ कार्यादेशले रोभरको डेलिभरीका लागि डिजाइन र परीक्षणको जिम्मेवारी ब्लू ओरिजिनलाई दिएको छ। एमके१ ल्याण्डरको पहिलो उडानको समीक्षा पछि नासाले डेलिभरी विकल्प प्रयोग गर्ने निर्णय गर्नेछ। भाइपर रोभरको एक सय दिने वैज्ञानिक मिसनको लागि सन् २०२७ को अन्त्यतिर अवतरण गर्ने लक्ष्य तय गरिएको छ।
ब्लू ओरिजिनले सम्पूर्ण ल्याण्डिङ मिसनको संरचना तयार गर्नेछ, जसमा डिजाइन, परीक्षण, र पेलोड एकीकरण समावेश हुनेछ। नासाले रोभर सञ्चालन र वैज्ञानिक योजना बनाउनेछ। भाइपर रोभर नासाको एम्स रिसर्च सेन्टर, क्यालिफोर्नियामा विकास गरिएको हो, जसमा ह्युस्टनस्थित जोनसन स्पेस सेन्टरले इन्जिनियरिङ सहयोग गरेको छ।
“चन्द्र सतहमा पानीबारे अध्ययन भविष्यको मानव अन्वेषणका लागि अत्यावश्यक छ,” नासाको विज्ञान मिसन निर्देशनालयकी एसोसिएट प्रशासक निक्की फक्सले भनिन्। “निजी क्षेत्रद्वारा विकास गरिएको यो क्षमता हाम्रो लगानीलाई केन्द्रित गर्न मद्दत गर्छ र अन्तरिक्षमा अमेरिकी नेतृत्वलाई मजबुत बनाउँछ।”
नासाका उप-एसोसिएट प्रशासक जोएल कर्न्सले भने, “यो डेलिभरीले चन्द्र सतहमा पानीको स्रोतहरू कहाँ सजिलै उपलब्ध छन् भन्ने देखाउन सक्छ, जसले भविष्यका मानव मिशनहरूलाई सहयोग पुर्याउनेछ। साथै, यस्ता अस्थिर स्रोतहरूको अध्ययनले सौरमण्डलभरि तिनीहरूको वितरण र उत्पत्तिबारे महत्वपूर्ण जानकारी दिन्छ।”


Leave a Reply