
काठमाडौं, असोज २२ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच आज दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । जसअन्तर्गत वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिनेछ। सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहयोग पुर्याउने लक्ष्य लिएको छ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे।
२० मिलियन युरोको ऊर्जा सहयोग
वित्तीय सहयोग अन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’मा २० मिलियन युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभर भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ।
परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ। कार्यान्वयनका लागि प्राधिकरण र जर्मन विकास बैंकबीच छुट्टै सम्झौता हुनेछ। यो परियोजना सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ।
प्राविधिक सहयोगमा २१ मिलियन युरोको प्रतिबद्धता
प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता तथा सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ। यसअन्तर्गत जर्मनीले २१ मिलियन युरो सम्मको सहयोग निम्न क्षेत्रहरूमा पुर्याउनेछ।
सम्झौता हस्ताक्षरपछि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । “यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्छन्,” उनले भने। उनले जर्मन सरकार तथा जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको दीर्घकालीन योगदानप्रति धन्यवाद पनि दिए।
त्यसैगरी, राजदूत उडो भोल्जले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रमा नेपालसँगको सहकार्य अझ सशक्त हुने विश्वास व्यक्त गरे।
Leave a Reply