
स्टकहोम, स्वीडेन । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले २०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार जापानका सुसुमु कितागावा, बेलायतका रिचार्ड रोबसन र जोर्डनका ओमार एम. याघीलाई प्रदान गरिने घोषणा गरेको छ। उनीहरूलाई धातु–जैविक संरचना(एमओएफ) को विकासमा गरेको कार्यका लागि सम्मानित गरिएको जनाएको छ।
यी तीन वैज्ञानिकको अनुसन्धानले विशाल आन्तरिक खाली स्थान भएको आणविक संरचना निर्माण गर्न सम्भव बनाएको छ, जसबाट ग्यास तथा रसायनहरू सजिलै प्रवाहित हुन सक्छन्। त्यस धातुको प्रयोग अहिले मरुभूमिको हावाबाट पानी संकलन गर्न, कार्बन डाइअक्साइड नियन्त्रण गर्न, विषालु ग्यासहरू भण्डारण गर्न तथा रासायनिक प्रतिक्रिया उत्प्रेरित गर्न जस्ता विविध क्षेत्रमा भइरहेको छ।
उनीहरूको नवप्रवर्तनको केन्द्रमा एक नयाँ प्रकारको आणविक वास्तुकला रहेको छ। धातु आयनहरूलाई संरचनात्मक नोडको रूपमा प्रयोग गरिन्छ, जुन लामो कार्बन-आधारित अङ्गहरूद्वारा जोडिन्छन्।
यी अङ्गहरू मिलेर ठूलो खाली ठाउँ भएको क्रिस्टल संरचना बनाउँछन्, जसलाई धातु–जैविक संरचना (एमओएफ) भनिन्छ। निर्माण सामग्री परिवर्तन गरेर वैज्ञानिकहरूले एमओएफलाई विशेष पदार्थहरू समात्न, भण्डारण गर्न वा विद्युत् प्रवाह गर्न सक्षम बनाउन सक्छन्।
“धातु–जैविक संरचनाहरूले अकल्पनीय सम्भावनाहरू ल्याएका छन्, जसले नयाँ कार्यक्षमता भएका सामग्रीहरू निर्माण गर्न मार्ग खोलिदिएको छ,” नोबेल रसायन समितिका अध्यक्ष हाइनर लिङ्केले भने।
“यो वर्षको पुरस्कारले जलवायु परिवर्तनदेखि स्वच्छ ऊर्जा समाधानसम्मका विश्वव्यापी चुनौतीहरू समाधान गर्न सामग्री विज्ञानको बढ्दो महत्त्वलाई उजागर गरेको छ।”
यो यात्रा सन् १९८९ मा सुरु भएको थियो, जब रिचार्ड रोबसनले परमाणुहरूको मौलिक गुण प्रयोग गर्दै सकारात्मक आवेश भएका कपर आयनहरूलाई चार हात भएको अणुसँग संयोजन गरे। यस संयोजनले धेरै खाली ठाउँ भएको क्रिस्टल निर्माण गर्यो, जुन हिराको जस्तो देखिने तर अनगिन्ती गुहाहरूले भरिएको थियो।
तर प्रारम्भिक संरचना अस्थिर थियो। सुसुमु कितागावा र ओमार याघीले यस विधिलाई मजबुत आधार दिए। सन् १९९२ देखि २००३ सम्म उनीहरूले पृथक रूपमा महत्त्वपूर्ण खोजहरू गरे।
कितागावाले ग्यासहरू संरचनामा प्रवाहित हुन सक्ने देखाए र एमओएफ लचिलो बनाउन सकिने भविष्यवाणी गरे। याघीले अत्यन्त स्थिर एमओएफ निर्माण गरे र तर्कसंगत डिजाइन प्रयोग गरेर यसलाई नयाँ गुणहरू प्रदान गर्न सकिने देखाएका थिए ।
पुरस्कार विजेता वैज्ञानिकहरू:
- सुसुमु कितागावा — जन्म: १९५१, क्योटो, जापान। पीएचडी: १९७९, क्योटो विश्वविद्यालय। हाल: प्राध्यापक, क्योटो विश्वविद्यालय।
- रिचार्ड रोबसन — जन्म: १९३७, ग्लसबर्न, बेलायत। पीएचडी: १९६२, अक्सफोर्ड विश्वविद्यालय। हाल: प्राध्यापक, मेलबर्न विश्वविद्यालय, अष्ट्रेलिया।
- ओमार एम. याघी — जन्म: १९६५, अम्मान, जोर्डन। पीएचडी: १९९०, इलिनोइस विश्वविद्यालय, अमेरिका। हाल: प्राध्यापक, क्यालिफोर्निया विश्वविद्यालय, बर्कली।
Leave a Reply