
प्यारिस, फ्रान्स । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए)को मार्स एक्सप्रेस र एक्जोमार्स ट्रेस ग्यास अर्विटरबाट संकलित २० वर्षको तस्बिर विश्लेषणपछि वैज्ञानिकहरूले मंगल ग्रहमा देखा पर्ने १ हजार ३९ धुलो बवण्डर (डस्ट डेभिल्स) को ट्र्याकिङ गरेका छन्।
साइन्स एडभान्सेसमा अक्टोबर ८ मा प्रकाशित यस अध्ययनले मंगलको मौसम र जलवायुबारे अझ स्पष्ट जानकारी दिएको छ।
स्विजरल्याण्डको बर्न विश्वविद्यालयका वैज्ञानिक भ्यालेन्टिन बिकेलको नेतृत्वमा गरिएको अध्ययनले पहिलो पटक यस्ता बवण्डरहरूको गति र दिशा मापन गर्दै सम्पूर्ण ग्रहभरि हावाको नक्सा तयार गरेका थिए ।
“धुलो बवण्डरले अदृश्य हावालाई देखिने बनाउँछ,” बिकेलले भने। “हामीले तिनीहरूको गति र दिशा मापन गरेर मंगलको सतहभरि हावाको नक्सा बनाउन थालेका छौं, जुन पहिले सम्भव थिएन।”
धुलो बवण्डरहरू मंगलको विभिन्न स्थानमा देखिए पनि अमाज अमेजोनिस प्लानिशिया जस्ता विशेष क्षेत्रहरूमा बढी सक्रिय देखिएका छन्। यी बवण्डरहरू प्रायः वसन्त र गर्मी मौसममा, स्थानीय समय अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म देखा पर्ने गर्छन्, जसले पृथ्वीको मरुभूमि क्षेत्रसँग समानता देखाएका छन्।
अनुसन्धानमा उल्लेख भएअनुसार मंगलको धुलोले तापक्रम नियन्त्रण, बादल निर्माण र जलवाष्पको अन्तरिक्षमा पलायनमा भूमिका खेल्दछ। पृथ्वीमा वर्षाले धुलो हटाउँछ भने मंगलमा धुलो लामो समयसम्म वायुमण्डलमा रहन्छ।
यस अध्ययनले मंगलको जलवायु मोडेललाई सुधार गर्न सहयोग पुर्याउनुका साथै भविष्यका रोभर र ल्याण्डरहरूको योजना बनाउँदा सौर्य प्यानलमा जम्ने धुलोको अनुमान गर्न मद्दत मिल्ने बताइएको छ।
तस्बिरको ‘नॉइज’बाट वैज्ञानिक डाटा निकाल्ने
मार्स एक्सप्रेस र एक्सोमार्स टीजीओ मूलतः हावाको गति मापन गर्न डिजाइन गरिएको थिएन। तर वैज्ञानिकहरूले तस्बिरको विभिन्न च्यानलबीचको समय अन्तराल प्रयोग गरेर धुलो बवण्डरको गति मापन गरेका छन्। तस्बिरमा देखिने रंगको सानो ‘अफसेट’लाई प्रयोग गरेर तिनीहरूको गति र दिशा पत्ता लगाइएको हो।
इएसएका परियोजना वैज्ञानिक कोलिन विल्सन भन्छन्, “धुलोले मंगलमा स्थानीय मौसमदेखि कक्षबाट लिइने तस्बिरसम्म सबै कुरा प्रभावित गर्नेछ, त्यसैले धुलो चक्रको महत्व कम आँक्न सकिँदैन।”
वैज्ञानिक कोलिन विल्सनका अनुसार यस अध्ययनले मंगलको सतहमा हावा र धुलोको चलायमानता बुझ्न नयाँ ढोका खोलेको छ, जसले वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष अन्वेषण दुवैलाई सुरक्षित र प्रभावकारी बनाउनेछ।
Leave a Reply