
नयाँ अध्ययनले गहुँको परालबाट बनेको बायोचारले कम पानी भएका अवस्थामा मकैको उत्पादनमा लाभ पुर्याएको छ । बायोचार जर्नलमा प्रकाशित अनुसन्धान अनुसार बायोचारको दीर्घकालीन प्रभाव त्यसको निर्माण सामग्रीमा निर्भर हुनेछ ।
चीनको नर्थवेस्ट एन्ड एएफ युनिभर्सिटी र डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनका वैज्ञानिकहरूले ग्रीनहाउसमा २०२१ र २०२२ मा गरिएको प्रयोगमा गहुँको पराल र सफ्टवुडबाट बनेको बायोचारको तुलना गरेका थिए। तीन प्रकारका सिँचाइ विधिहरु पूरा सिँचाइ, कम सिँचाइ र वैकल्पिक जरा सिँचाइ अन्तर्गत मकैमा बायोचारको प्रभाव परीक्षण गरे।
सो अनुसार गहुँ पराल बायोचारको प्रभाव मकैको कुल बायोमास ३०% ले वृद्धि भएको देखिएको छ । त्यस्तै, पानी प्रयोगको दक्षता २७% ले सुधार र नाइट्रोजन प्रयोगको दक्षता १०% ले बढेको थियो।
यी लाभहरू माटोमा सूक्ष्मजीवहरूको सक्रियता र नाइट्रोजनको उपलब्धता बढेको कारण देखिएको अनुसन्धाकर्ताले उल्लेख गरेका छन्। यसले जराको विकास र पोषण ग्रहण गर्न प्रोत्साहन गरेको छ ।
योसँगै सफ्टवुड बायोचारले पहिलो वर्षमा सूक्ष्मजीवहरूको श्वसन र नाइट्रोजन उपलब्धता घटाएको देखियो । जसले कमजोर जरा प्रणाली र कम उत्पादन ल्याएको थियो । तर दोस्रो वर्षमा माटोको सूक्ष्मजीवमा स्थिर कार्बन संरचनाको अनुकूलन गरेपछि असर कम भएको उल्लेख छ ।
अनुसन्धानमा उल्लेख भएअनुसार वैकल्पिक जरा सिँचाइ विधिले माटोमा सुक्खा र भिजाइको चक्रलाई बढावा दिँदै पोषण तत्वहरू मुक्त गराउने सूक्ष्मजीवहरूलाई सक्रिय बनाएको छ। यो विधि गहुँ पराल बायोचारसँग मिल्दा अझ प्रभावकारी भएको हो ।
मुख्य लेखक हेङ वानले भने, “एकपटक प्रयोग गरिएको गहुँ पराल बायोचारले सटीक सिँचाइसँग मिलेर बहुवर्षीय लाभ दिन सक्छ। यसले माटोको उर्वरता र बाली उत्पादन कायम राख्न सहयोग गर्छ, साथै पानी र मलको प्रयोग घटाउँछ।”
अनुसन्धानकर्ताहरूले सिँचाइ बचत गर्ने विधिसँग बाली अवशेषबाट बनेको बायोचारलाई समावेश गर्न सिफारिस गरेका छन्। यो रणनीति सुक्खा क्षेत्रको कृषि प्रणालीमा दीर्घकालीन खाद्य सुरक्षाका लागि उपयोगी हुने देखिन्छ ।


Leave a Reply