
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइसिटिपि २०२६ आगामी फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिकमा आयोजना हुने भएको छ। आयोजकहरूले मंगलबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्।
रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपालका सचिव ई. विरोध रिजालले सम्मेलनको उद्देश्य नेपालमा प्राविधिक सम्मेलन र वैज्ञानिक प्रकाशनको स्तर उकास्नुका साथै शैक्षिक संस्थाभित्र अनुसन्धान संस्कृतिलाई मजबुत बनाउनु रहेको बताए। उनका अनुसार नेपाल, कोरिया, चीन, भारत र भियतनामका प्राध्यापक तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् र आफ्ना अनुसन्धान प्रस्तुत गर्नेछन्।
डा. अरुण तिमल्सिना, आइट्रिपलई नेपाल सेक्सनका अध्यक्ष,ले अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने जानकारी दिए। उनले प्रविधि मानकीकरण, अनुसन्धानको गुणस्तर मापन तथा विश्वस्तरीय सम्मेलनहरूको प्रवद्र्धनमा आइट्रिपलईको महत्त्वलाई जोड दिए।
सम्मेलनमा दक्षिण कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा विशेष कार्यशाला सञ्चालन हुनेछ। यस कार्यशालामा विभिन्न देशका सरकारी अधिकारी, नीति निर्माता तथा डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरू सहभागी भई डिजिटल गभर्नेन्सका उदीयमान नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछन्।
आयोजकहरूले यस सम्मेलनले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने अवसर दिलाउने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्ग पहिचान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा सम्मेलनका अध्यक्ष, चीनको नान्जिङ विश्वविद्यालयका प्रा. डा. विकास नकर्मीको भिडियो सन्देशसहित अन्य वक्ताहरूका सन्देशहरू पनि प्रस्तुत गरिएको थियो।
आइसिटिपि २०२६मा आविष्कार र नवपरिवर्तनलाई प्रेरित गर्ने, विश्वव्यापी सहकार्यलाई बलियो बनाउने तथा दिगो प्राविधिक विकासलाई समर्थन गर्ने उद्देश्यले विभिन्न सत्रहरू समावेश गरिनेछन्। यसले व्यापक अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनलाई प्रमुख विश्वविद्यालय, इन्जिनियरिङ कलेज, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्। आयोजकहरूले यसलाई नेपाली अनुसन्धानकर्ताहरूका उच्च गुणस्तरका कार्यहरू प्रदर्शन गर्ने जीवन्त मञ्चका रूपमा प्रस्तुत गर्ने बताएका छन्।
यो सम्मेलन रिसर्च एण्ड इन्नोभेसन सेन्टर नेपाल (रिकन) र नेपाल इन्जिनियरिङ कलेज (नेक)ले संयुक्त रूपमा आयोजना गरेका हुन्। यसमा आइट्रिपलई नेपाल च्याप्टर तथा आइट्रिपलई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक सहयोग रहेको छ।


Leave a Reply