
चितवन, मंसिर २२ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याउने ६७ शाखा कार्यालयहरुको सहभागितामा “बिजनेस मिट २०८२” चितवनको सौराहामा सम्पन्न गरेको छ।
मंसिर १८ र १९ गते दुई दिनसम्म चलेको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान गर्दै बैंकले निभाउनुपर्ने भूमिकाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।
बैठकमा शाखा कार्यालयहरुले सम्भावित ग्राहकहरूको अवस्था सहित आफ्ना कार्य योजना प्रस्तुत गरेका थिए। निक्षेपलाई गुणात्मक कर्जामा रुपान्तरण गर्ने उपाय, कर्मचारी क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारका सम्भावनाबारे छलफल भएको थियो। अध्यक्ष ढकालले सरकारी बैंकप्रति जनमानसमा थप सकारात्मक दृष्टिकोण बनाउनुपर्ने र सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन निर्देशन दिए ।
त्यसैगरी सञ्चालक समिति सदस्य हरि कुमार सिलवालले बैंकको मानव संसाधन युवा र उर्जावान रहेको उल्लेख गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले निक्षेपलाई अवसरको रुपमा सदुपयोग गर्दै गुणस्तरीय कर्जा विस्तार र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिए । उनले शाखा प्रबन्धकहरुलाई सेवाग्राहीप्रति सकारात्मक व्यवहार कायम राखी गुनासो रहित वातावरण सृजना गर्न निर्देशन दिए ।
कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरे भने विभागीय प्रमुख आनन्द सुवेदीले औपचारिक कार्यक्रम सञ्चालन गरेकाेे थियाे । नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य राखे ।
कार्यक्रममा उपकार्यकारी अधिकृतहरु विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, राम कुमार थापा, विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो।
यसरी सम्पन्न “बिजनेस मिट २०८२” ले बैंकको आगामी व्यवसाय विस्तार, गुणस्तरीय कर्जा प्रवाह तथा सेवा सुधारमा महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको मानिएको छ।


Leave a Reply