
काठमाडौं । असोज १८ गतेदेखि देशभर भएको अविरल वर्षापछिको बाढी–पहिरोका कारण परेका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीहरूले करिब रू. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी गरिसकेको बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणमा दर्ता भएका १३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, हालसम्म ७८१ प्रारम्भिक बीमा दाबी परेका छन्। ती दाबीको कुल रकम करिब रू. ४ अर्ब ४ करोड रहेकोमा ६७ दाबी भुक्तानी भइसकेको छ।
सम्पत्ति बीमातर्फ ४१० दाबीमा करिब रू. ३ अर्ब ४५ करोड ३५ लाख मागिएकोमा २० दाबीमा रू. ८३ लाख भुक्तानी भएको छ। इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ दाबीमा करिब रू. ५० करोड ३७ लाख मागिएकोमा ६ दाबीमा रू. २ लाख भुक्तानी भएको छ।
त्यस्तै, कृषि तथा बाली बीमातर्फ २१० दाबीमा करिब रू. ४ करोड १४ लाख मागिएकोमा ३१ दाबीमा रू. १३ लाख भुक्तानी भएको छ। मोटर बीमा (निजी) तर्फ ४० दाबीमा करिब रू. ३ करोड मागिएकोमा ९ दाबीमा रू. ८७ लाख भुक्तानी भएको छ।
सामुद्रिक बीमातर्फ ३ दाबीमा करिब रू. १० लाख मागिएकोमा १ दाबीमा रू. ३ लाख भुक्तानी भएको छ। यद्यपि मोटर बीमा (सार्वजनिक) तर्फ १० दाबीमा करिब रू. १ करोड ८ लाख र लघु बीमातर्फ २ दाबीमा करिब रू. १२ लाख भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।


Leave a Reply