
काठमाडौँ । स्पारो एसएमएसलाई आधिकारिक रूपमा ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त गर्दै नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु गरेको जानकी टेक्नोलजी प्रालि जनाएको छ।
नेपालमा ‘बल्क एसएमएस’ सेवा प्रदायकका रूपमा परिचित स्पारो एसएमएसले नयाँ प्लेटफर्ममार्फत व्यवसायहरूलाई ग्राहकहरूसँग छिटो र सुरक्षित रूपमा सम्पर्क गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। यस सेवामा मेटासँग प्रत्यक्ष इम्बेडेड साइन-अप सुविधा समावेश गरिएको छ, जसले ‘ह्वाट्सएप एपीआइ’ को प्रक्रिया नेपालमै सहज र स्थानीयकृत बनाएको छ।
यस प्लेटफर्ममा ब्लु टिक भेरिफिकेसन, ह्वाट्सएप ब्रोडकास्ट, मल्टि एजेन्ट च्याटका साथै ‘नो-कोड च्याट फ्लो बिल्डर’ जस्ता सुविधाहरू उपलब्ध छन्। स्पारो एसएमएसका अनुसार यी उपकरणहरूले ग्राहक संलग्नता र प्रतिधारण सुधार गर्न मद्दत गर्नेछन्।
“मेटा एपीआइमार्फत प्रदान गरिएको हाम्रो ह्वाट्सएप सेवा खुद्रा पसलदेखि ठुला उद्योगसम्म सबै व्यवसायका लागि ग्राहक सम्पर्कलाई अझ प्रभावकारी, विश्वसनीय र पहुँचयोग्य बनाउँछ,” स्पारो एसएमएसका सिइओ मनोज थापाले विज्ञप्तिमा भने।
एक दशकभन्दा बढी समयदेखि स्पारो एसएमएस नेपालका सरकारी निकाय, वित्तीय संस्था, शैक्षिक संगठन तथा निजी उद्यमहरूको डिजिटल संवाद साझेदार रहँदै आएको जनाएको छ। कम्पनीले नवीनता र ग्राहक–केन्द्रित सेवामार्फत नेपालमा डिजिटल सञ्चार प्रणालीलाई अझ मजबुत बनाउन लक्ष्य राखेको उल्लेख छ।


Leave a Reply