|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पुस २ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।
कम्पनीको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्सका मुख्य कार्यकारी अधिकृत विलास पवारले बुधबार राजधानीमा आयोजित विशेष समारोहमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा तथा बन्दीपुर केबल कार लिमिटेडका सिइओ डा. रोमन मान श्रेष्ठको उपस्थिति रहेको थियो। उनीहरूले यस सहकार्यले नेपालको पर्यटनलाई विश्वमा चिनाउने र बन्दीपुरलाई प्रमुख गन्तव्यको रूपमा विकास गर्ने विश्वास व्यक्त गरे।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासमा सक्रिय अग्रणी संस्था हो भने लेमन ट्री होटल्स भारतको प्रमुख होटल शृङ्खला हो, जसको एसिया र मध्यपूर्वमा उल्लेखनीय उपस्थिति छ। यस ब्राण्डको वैश्विक आरक्षण नेटवर्क, कर्पोरेट यात्रा खण्ड तथा लक्जरी–मध्यम श्रेणीका ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स” ब्राण्डअन्तर्गत सञ्चालनमा आउनेछ। यसले होटल व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ। कम्पनीले यसलाई रणनीतिक टर्निङ पोइन्टका रूपमा लिएको छ।
अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटलको अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन तथा ब्राण्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता वृद्धि गर्ने र पर्यटन–केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनालाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
यस सहकार्यबाट बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटक आगमन बढ्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, सेवाको गुणस्तरमा सुधार हुने तथा पर्यटन पूर्वाधारमा उल्लेखनीय प्रगति हुने अनुमान गरिएको छ। सम्झौतापछि बन्दीपुरको होटल शीघ्र लेमन ट्री होटल्सको ब्राण्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने जनाएको छ ।


Leave a Reply