|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, पुस २२ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका सबै प्रकारका भुक्तानी अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत बैंक खातामा गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।
प्राधिकरणले आज जारी गरेको निर्देशनअनुसार आगामी माघ १ गतेदेखि जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूले सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।
प्राधिकरणले जारी गरेको निर्देशनमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ अनुसार बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त तथा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।”
नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी डिजिटल माध्यममार्फत बैंकिङ प्रणाली प्रयोग गरेर गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिसकेको सन्दर्भमा प्राधिकरणले बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो।
यसअघि प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा अन्य कर्मचारीलाई दिइने पारिश्रमिक तथा ज्याला पनि अनिवार्य रूपमा बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरिसकेको थियो।
बीमा प्राधिकरणका अनुसार नयाँ व्यवस्था लागू भएपछि बीमा क्षेत्रको पारदर्शिता, आर्थिक शुद्धता तथा डिजिटल रूपान्तरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


Leave a Reply