|
Getting your Trinity Audio player ready…
|

विदुर, नुवाकोट, माघ ८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुलाई आगामी चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
नुवाकोट महोत्सवको उद्घाटन समारोहमा बोल्दै ढकालले मुलुक निर्वाचनमय अवस्थामा रहेको र दलहरु घोषणापत्र तयार पार्ने प्रक्रियामा भएकाले अर्थतन्त्रको विकासलाई साझा एजेण्डा बनाउनुपर्ने आवश्यकता औंल्याए ।
“मुलुकको आर्थिक विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ। त्यसका लागि निजी क्षेत्रले अघि सारेका एजेण्डालाई घोषणापत्रमा पहिलो प्राथमिकता दिनुपर्छ,” ढकालले भने ।
उनले रोजगारी सिर्जना, उद्योग–धन्दा र कलकारखानाको विस्तारमार्फत औद्योगिक विकासलाई अघि बढाउन निजी क्षेत्रका प्रस्तावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। अघिल्लो आर्थिक संकटको समयमा सरकार र निजी क्षेत्रको सहकार्यले अवस्था सुधारिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य अपरिहार्य हुने टिप्पणी गरे ।
ढकालले जुनसुकै दलको सरकार बने पनि अर्थतन्त्रलाई साझा एजेण्डा बनाउनुपर्ने र निजी क्षेत्रसँग सहकार्यलाई आत्मसात गर्नुपर्ने सुझाव दिए। उनले आर्थिक अवस्थाको यथोचित वृद्धि भए मात्र सुशासन र समृद्धि सम्भव हुने भन्दै दलहरुलाई आर्थिक एजेण्डालाई साझा एजेण्डाका रुपमा विकास गर्न आग्रह गरे।


Leave a Reply