|
Getting your Trinity Audio player ready…
|
६ करोड ६ लाख वर्ष पुरानो रहस्यलाई वैज्ञानिकहरूले उजागर गरेका छन्, जसले हाम्रो ग्रहलाई उष्णकटिबन्धीय हरितगृह अवस्थाबाट आजको बरफले ढाकिएको संसारमा रूपान्तरण गर्यो।

हालै प्रकाशित अध्ययनले डायनासोरहरू नष्ट भएपछि पृथ्वीको तापक्रममा आएको ठूलो गिरावट समुद्रमा क्याल्सियमको स्तरमा भएको ठूलो कमीका कारण हुनसक्छ।
साउथह्याम्पटन विश्वविद्यालयको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञ टोलीले पत्ता लगाए अनुसार गत ६ करोड ६ लाख वर्षमा समुद्रमा क्याल्सियमको सघनता आधाभन्दा बढी घटेको थियो।
प्रोशिडिङ अफ द न्यासनल एकाडेमी अफ साइन्सेस (पीएनएस) मा प्रकाशित अध्ययनमा उल्लेख गरेअनुसार क्याल्सियममा आएको नाटकीय परिवर्तनले वातावरणबाट प्रमुख हरितगृह कार्बन डाइअक्साइड ग्यास सोस्न सक्ने सम्भावना छ, जसले विश्वव्यापी चिसोपन बढी भयो।
मुख्य लेखक डा. डेविड इभान्स, साउथह्याम्पटनका समुद्र तथा पृथ्वी वैज्ञानिक भन्छन्, “समुद्री पानीको रासायनिक संरचनामा भएको ठूलो परिवर्तन नै जलवायु परिवर्तनको प्रमुख चालक हुनसक्छ।”
उनले थपे, “हाम्रो नतिजाले के देखाउँछ भने सेनोजोइक युगको सुरुवातमा, डायनासोरहरू पृथ्वीमा विचरण गरेपछि आजको तुलनामा समुद्रमा घुलित क्याल्सियम स्तर दुई गुणा बढी थियो।”
“जब यी स्तरहरू उच्च थिए । त्यसबेला समुद्रले फरक तरिकाले काम गर्थ्यो । कम कार्बन समुद्री पानीमा भण्डारण गर्थ्यो र कार्बन डाइअक्साइड हावामा छोड्थ्यो।”
“तर स्तर घट्दै जाँदा, कार्बन डाइअक्साइड ग्यास वातावरणबाट सोसियो, र पृथ्वीको तापक्रम पनि घट्यो, जसले जलवायुलाई १५ देखि २० डिग्री सेल्सियससम्म चिसो बनायो।”
यस अध्ययनमा संलग्न साउथह्याम्पटनका अनुसन्धानकर्ताहरू चीन, अमेरिका, इजरायल, डेनमार्क, जर्मनी, बेल्जियम र नेदरल्याण्डका वैज्ञानिकहरूसँग सहकार्य गरेका थिए।
उनीहरूले समुद्रको सतह तलको अवसादबाट उत्खनन गरिएका स-साना समुद्री जीवहरूको जीवाश्म प्रयोग गरेर समुद्री रसायनशास्त्रको अहिलेसम्मकै विस्तृत अभिलेख तयार गरेका थिए ।
फोरामिनिफेरा भनिने जीवाश्मको रासायनिक संरचनाले समुद्री पानीमा क्याल्सियमको मात्रा र हावामा कार्बन डाइअक्साइडको स्तरबीचको घनिष्ठ सम्बन्ध देखायो।
कम्प्युटर मोडेल प्रयोग गरेर टोलीले देखायो कि उच्च क्याल्सियम स्तरले समुद्री जीवहरू जस्तै: प्रवाल र प्लाङ्कटनले कति कार्बन “स्थिर” गर्छन् भन्ने कुरा परिवर्तन गर्छ। यसले कार्बनलाई समुद्र र वातावरणबाट हटाएर समुद्रतलको अवसादमा भण्डारण गरिदिन्छ।
लाखौं वर्षमा घुलित क्याल्सियम स्तर घट्दै जाँदा, यी जीवहरूले समुद्रतलमा क्याल्सियम कार्बोनेट उत्पादन र गाड्ने तरिका परिवर्तन भयो, चीनको टोंगजी विश्वविद्यालयकी सह-लेखक डा. जियाओली झोउले भनिन्।
उनले थपिन्, “यस प्रक्रियाले वातावरणबाट कार्बन डाइअक्साइडलाई सोस्छ र भण्डारण गर्छ। यस परिवर्तनले वातावरणको संरचना नै बदल्न सक्थ्यो, जसले ग्रहको ‘थर्मोस्टाट’ घटायो।”
विज्ञहरूले अझै खुलासा गरेका छन् कि क्याल्सियममा आएको गिरावट समुद्रतल फैलावट (नयाँ समुद्री सतह बनाउने ज्वालामुखी प्रक्रिया) सुस्त भएको दरसँग मिल्दोजुल्दो थियो।
“समुद्र तल उत्पादनको दर सुस्त भएपछि, ढुंगासँग समुद्री पानीको रासायनिक आदानप्रदान बदलियो, जसले घुलित क्याल्सियमको स्तरमा क्रमिक गिरावट ल्यायो,” अमेरिकाको रटगर्स विश्वविद्यालयका सह-लेखक प्राध्यापक याएर रोसेन्थलले भने।
उनले थपे, “समुद्री पानीको रसायनशास्त्रलाई सामान्यतया जलवायु परिवर्तन ल्याउने अन्य कारकहरूको प्रतिक्रियाको रूपमा हेरिन्छ, कारणको रूपमा होइन।
“तर हाम्रो नयाँ प्रमाणले देखाउँछ कि पृथ्वीको जलवायु इतिहास बुझ्न हामीले समुद्री पानीको रसायनशास्त्रमा भएको परिवर्तनलाई ध्यान दिनैपर्छ,” उनले भने, “यी गहिरा पृथ्वी प्रक्रियामा भएको परिवर्तन नै भूगर्भीय समयभर भएका ठूला जलवायु परिवर्तनहरूको जिम्मेवार हुनसक्छ।”


Leave a Reply