|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत ९ । ग्लोबल मनी विक २०२६ को अवसरमा राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले विद्यालय तहदेखि नै वित्तीय साक्षरताको आवश्यकता औंल्याउँदै पैसाको उचित व्यवस्थापनले व्यक्तिगत जीवनमा लाभ बढाउन सकिने बताए। उनले सूचना प्रविधिको बढ्दो प्रयोगले वित्तीय क्षेत्रमा चुनौती थपिएको भन्दै अपरिचित फोन, एसएमएस वा सामाजिक सञ्जालका लिंकमा विश्वास नगर्न आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूले वित्तीय सचेतनाबारे प्रश्न राखेका थिए। बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्टसहित अन्य अधिकारीहरू सहभागी भएका थिए।
ग्लोबल मनी विक हरेक वर्ष मार्च १६ देखि २२ सम्म विश्वव्यापी रूपमा मनाइन्छ। यस अवसरमा राष्ट्रिय वाणिज्य बैंकले देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave a Reply