|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १२ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औं वार्षिक साधारण सभा राजधानीमा बुधवार सम्पन्न भएको छ।
सभामा अध्यक्ष नरेशलाल श्रेष्ठले संघले हालसम्म करिब ८ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको र करिब ३० हजार महिलालाई रोजगारी प्रदान गरेको जानकारी दिए। उनले उत्पादनका लागि आवश्यक कच्चा पदार्थ न्यूजिल्याण्डबाट आयात गरिने बताए। साथै, निर्यात उद्योगलाई सरकारले व्यवस्था गरेको भए पनि व्यापार घाटा पूर्ति गर्ने सहयोगी संस्थामाथि कर बढाइएको गुनासो गरे।
श्रेष्ठले अन्य वस्तुको निर्यात घट्दो क्रममा हुँदा पनि ऊनी फेल्टको निर्यात बढ्दै गएको उल्लेख गर्दै संघले ३९ प्रतिशत वृद्धिदर हासिल गरेको बताए। यसै अवसरमा एभरेस्ट फेसनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छ। सभामा निर्यातमा कमी आउनु भनेको सरकारी काम अव्यवस्थित हुनुको परिणाम भएको टिप्पणी पनि गरिएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अनावश्यक रूपमा अख्तियारको दायरामा लैजान लाग्दा महासंघको पहलमा तत्कालीन सरकारले रोकेको जिकिर गरे।
कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल, फेल्ट उद्योगकी संस्थापक मिरा भट्ट, हस्तकला महासंघका अध्यक्ष, सिएनआइका अध्यक्ष, व्यापार तथा निकासी प्रवर्द्धन महानिर्देशक शरद विक्रम राणा, सिएनआइका अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतका उद्योगी व्यवसायीहरूले आन्तरिक उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
सभामा सहभागीहरूले उत्पादनको गुणस्तर सुधार, नयाँ बजार विस्तार तथा कच्चा पदार्थ व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्न साझा पहल आवश्यक रहेको औंल्याए। उद्योगीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धा, ढुवानी खर्च वृद्धि तथा नीतिगत जटिलताका कारण निर्यातमा थप चुनौती उत्पन्न भएको बताए।
यी समस्याहरू समाधान गर्न सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको धारणा थियो।
सभापति चक्रमणि देवकोटाले उपाध्यक्षको समापन सम्बोधन गर्दै कृषि, पर्यटन र रोजगारी दिने वातावरण निर्माणमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

Leave a Reply