|
Getting your Trinity Audio player ready…
|

फ्लोरिडा, चैत १९ । नासाको एर्टेमिस–२ मिसन बुधबार साँझ प्रक्षेपण भएको छ, जसले अपोलो युगपछि पहिलो पटक मानवलाई चन्द्रमाको परिक्रमा गर्न पठाएको छ।
स्पेस लञ्च सिस्टम (एसएलएस) रकेट साँझ इस्टर्न डे लाइट टाइम ६:३५ बजे फ्लोरिडाको केनेडी स्पेस सेन्टरको ‘लञ्च प्याड ३९ बी’ बाट उडान भरी, ओरियन स्पेसक्राफ्टमा रहेका चार अन्तरिक्ष यात्रीलाई करिब १० दिन लामो परीक्षण यात्रामा पठाएको हो।
कमाण्डर रिड विसम्यान, पाइलट भिक्टर ग्लोभर, मिशन स्पेसलिस्ट क्रिस्टिना कोच, र क्यानाडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सनले ओरियनका प्रणालीहरू परीक्षण गर्दै भविष्यका चन्द्र अवतरण र मंगल ग्रह यात्राको तयारी गर्नेछन्।
“एर्टेमिस–२ परीक्षण उडान हो, र परीक्षण अहिले मात्र सुरु भएको छ,” नासा सहयोगी प्रशासक अमित क्षत्रियाले भने, “आगामी १० दिनमा टोलीले ओरियनलाई परिक्षण गर्नेछ ताकि भविष्यका मिशनहरू आत्मविश्वासका साथ चन्द्र सतहमा पुग्न सकून्।”
उडानपछि ओरियनले सौर्य प्यानलहरू फैलाएर ऊर्जा संकलन सुरु गरेको छ। “इन्टीग्रेटी” नाम दिइएको स्पेसक्राफ्ट उच्च पृथ्वी कक्षमा प्रवेश गर्नेछ, त्यसपछि योजनाबद्ध इन्जिन फायरिङले यसलाई चन्द्र परिक्रमा मार्गमा पठाउने बताइएको छ ।
अप्रिल ६ मा हुने बहु-घण्टे चन्द्र परिक्रमा क्रममा टोलीले चन्द्रमाको टाढा भागका तस्वीर र अवलोकन गर्नेछ। त्यसपछि उनीहरू प्रशान्त महासागरमा सुरक्षित अवतरण गर्नेछन्।
यो नासाको एर्टेमिस कार्यक्रमअन्तर्गत पहिलो मानवयुक्त उडान हो । यस यानको उद्देश्य चन्द्रमामा दीर्घकालीन उपस्थितिको आधार तयार गर्नु र मंगल ग्रहमा मानव पठाउने तयारी गर्नु हो भनिएको छ ।

Leave a Reply