|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत २० । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)ले रूसी विज्ञान तथा संस्कृति केन्द्रसँगको सहकार्यमा शुक्रबार काठमाडौंको रूसी हाउसमा “रूसी फिल्म डेज” उद्घाटन गरेको छ । सो अवसरमा अन्तरिक्षमा खिचिएको पहिलो चलचित्र प्रदर्शन गरिएको छ।
उद्घाटन समारोहमा नेपालस्थित रूसका कार्यवाहक राजदूत तथा परामर्शदाता रिनचेन सोक्सायेभ र नेपाल ललितकला प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र कुमार काफ्ले उपस्थित थिए।
सोक्सायेभले समाजमा सिनेमाको प्रभावलाई जोड दिँदै चलचित्रकर्मीहरूबीच सद्भाव कायम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नीफ को नवौं संस्करणमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीका निर्देशक, अभिनेत्री तथा छायाकारसँगको भेट सम्झिए।
प्रतिष्ठानका काफ्लेले नेपाल–रूसबीचको ७०औं कूटनीतिक सम्बन्धको अवसरमा भएको सहकार्य विशेष महत्वको भएको बताए।
नीफ अध्यक्ष केपी पाठकले यस साझेदारीले द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
सह–अध्यक्ष अनास्तासिया खाख्लोभाले दर्शकलाई रूसी हाउसमा आयोजना गरिएको चलचित्र प्रदर्शन तथा एआई फिल्म कार्यशालामा सहभागी हुन आमन्त्रण गरिन्।
महोत्सव अगस्ट नामक द्वितीय विश्वयुद्धमा आधारित थ्रिलर चलचित्रबाट सुरु भएको हो। इल्या लेबेदेभ र निकिता भिसोत्स्कीले सह–निर्देशन गरेको यस चलचित्रले सोभियत प्रतिउपगुप्तचर निकायले रातो सेनामाथि सम्भावित पछाडिबाट हुने आक्रमण रोक्न गरेको प्रयासलाई चित्रण गर्छ।
अन्य प्रदर्शन हुने चलचित्रहरूमा क्लिम शिपेन्कोले निर्देशन गरेको अन्तरिक्षमै खिचिएको पहिलो चलचित्र द च्यालेन्ज; माक्सिम भोल्कोभको साहसिक पारिवारिक चलचित्र द डिनो फ्यामिली; र इभानोभा अलेक्जान्द्राले निर्देशन गरेको विद्यालयमा हुने दुव्र्यवहारबारे केन्द्रित अल रङ्ग गर्ल समावेश छन्।
सबै चलचित्रहरू रूसी हाउसमा निःशुल्क प्रदर्शन गरिनेछ।

Leave a Reply