|
Getting your Trinity Audio player ready…
|

बर्दिवास, चैत २३ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा चैत २० र २१ गते बर्दिवासमा दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा नियमन महाशाखा प्रमुख शाम्भ राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन सम्पत्ति शुद्धीकरण निवारण कानूनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै बीमा क्षेत्रको भूमिकालाई महत्वपूर्ण बताए। उनले बीमकहरूले ग्राहक पहिचान, जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोवारको समयमै प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे।
त्यस्तै, उपनिर्देशक पदम प्रसाद सोडारीले बीमा क्षेत्र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी रोकथामका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावलले कार्यक्रमले ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानूनी अनुपालनमा एकरूपता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यमान कानून तथा नियम, प्राधिकरणबाट जारी निर्देशन, जोखिम पहिचान, ग्राहक पहिचान, शंकास्पद कारोवारको प्रतिवेदन पेश गर्ने प्रक्रिया लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै कानूनी दायित्व, संस्थागत उत्तरदायित्व, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा अनुपालन सुनिश्चित गर्ने उपायबारे जानकारी दिइएको थियो।
कार्यक्रमको सञ्चालन सहायक निर्देशक सुस्मा थापा र महेश मण्डलले गरेका थिए। कार्यक्रममा सहायक प्रथम निकेश लाल कर्णसहित बीमा कम्पनीका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply