|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत २५ । ‘नेपाल स्टर्डिज् इन रसिया’ विषयक संगोष्ठी काठमाडौंस्थित रसियन हाउसमा सम्पन्न भएको छ। यसले नेपाल–रूसबीचको कूटनीतिक सम्बन्धको ७ दशक पूरा भएको अवसरलाई चिन्हित गरेको हो।
शैली थिएटर र रसियन हाउसले संयुक्त रूपमा आयोजना गरेको एकदिने कार्यक्रममा शैक्षिक, सांस्कृतिक तथा कलात्मक सहकार्यलाई प्रमुख विषय बनाइएको थियो।
नेपालस्थित रसियन दूतावासका कार्यवाहक प्रमुख रिन्चेन राखशाएभले सांस्कृतिक तथा शैक्षिक आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने बताए ।
रूसका लागि पूर्व नेपाली राजदूत प्रा. डा. जंगबहादुर चौहानले मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै कवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक मस्को भ्रमणलाई सांस्कृतिक कूटनीतिको महत्वपूर्ण क्षणका रूपमा स्मरण गरे। उनले रूसमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन लगायतका क्षेत्रमा नेपाल विकासमा पुर्याएको योगदानलाई विशेष रूपमा उल्लेख गरे।
शैली थिएटरका नवराज बुढाथोकीले रसियन हाउससँगको १७ वर्ष लामो सहकार्यबारे प्रस्तुति दिए। उनले विगतमा प्रस्तुत गरिएका रसियन नाटकहरूको अनुभव साझा गर्दै भविष्यमा पनि नयाँ प्रस्तुति र कलात्मक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
रसियन हाउसकी निर्देशक आनास्तासिया खोखलोभाले शैली थिएटरलाई सांस्कृतिक आदानप्रदानमा पुर्याएको योगदानका लागि बधाई दिँदै शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई अझ मजबुत बनाउन रसियाको प्रतिबद्धता दोहोर्याइन्। उनले नेपाल–रूसबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउन विभिन्न क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि उल्लेख गरिन्।

Leave a Reply