|
Getting your Trinity Audio player ready…
|

ललितपुर, चैत २६ । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार मित्रहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने परम्परा निरन्तरता पाएको उल्लेख गर्दै, यो कार्यक्रम केवल धन्यवाद मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने अवसर भएको बताए।
ढकालले आफ्नो नेतृत्वकालको सुरुवातमा देशको अर्थतन्त्र कोभिड–१९ महामारी, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गरे ।
उनले आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना, र व्यवसायीहरूको सम्मान तथा सुरक्षा जस्ता पाँच प्राथमिकता अघि सारेका थिए ।
तीन वर्षको अवधिमा नीतिगत सुधार, लगानी प्रवर्द्धन, संस्थागत रूपान्तरण र सुशासनमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले बताए।
ढकालले पत्रकारहरूको योगदानलाई “अतुलनीय” भन्दै तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावले नीतिगत सुधारलाई मार्गदर्शन गरेको बताए। पत्रकारिता समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति भएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाउन आग्रह गरे।
ढकालले आफ्नो कार्यकालमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन र ३० भन्दा बढी कानुन संशोधन सिफारिस गरेर नीतिगत सुधार ल्याएको जिकिर गरे।
त्यस्तै निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा, सरकारको पहिलो क्याबिनेट बैठकले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको उल्लेख गर्दै, उनले थप भने, “१० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना, भारत, चीन, यूएई, कतार, बेलायतलगायत मुलुकमा द्विपक्षीय लगानी सम्मेलन गरिएको थियो ।”
महासंघको विधान संशोधन, नेतृत्व चयन प्रक्रियामा पारदर्शिता, महिला सहभागिता वृद्धि, जिल्ला–नगर प्रतिनिधित्व सुदृढीकरणकालागि संस्थागत रूपान्तरण गरिएको उनले दावी गरे
अध्यक्ष ढकालले आफ्नो तीन वर्षे कार्यकाललाई परिणाममुखी बनाउन पत्रकार मित्रहरूको साथ, सहयोग र समर्थन महत्वपूर्ण रहेको भन्दै कृतज्ञता व्यक्त गरे। उनले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले नेपाललाई समृद्ध बनाउन सक्ने दृढ विश्वास व्यक्त गरे।

Leave a Reply