काठमाडौं । जडान, सञ्चालन, संरक्षण र मर्मत् यी चार लक्ष्य छन्—मिसन अक्सिजन टिमको । एमओटीमा देशभरका १ सयभन्दा बढी ‘बायोमेडिकल इन्जिनियर’ को आवद्धता रहेको छ ।
पछिल्लो समय कोभिड१९को दोस्रो लहर राजधानी उपत्यकालगायत देशभर प्रभावित भएपछि प्राणवायु भनिने ‘अक्सिजन’ अभाव तथा अक्सिजन उत्पादन समाग्री उपलब्धतालाई ध्यानमा राखेर एमओटी सञ्चालन गरिएको जनाएको छ । रोबोटिक्स एशोसियसन अफ नेपाल, वायोटेक्नोलजी सोसाइटी अफ नेपाल र वायोमेडिकल इन्जिनियरिङ फाउण्डेसन नेपालको अगुवाइमा ‘एमओटी’ सञ्चालन भैइरहेको छ ।
‘अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर विग्रिएको खबर एमओटीमा आउनासाथ देशभरको हाम्रो नेटवर्कमा रहेका इन्जिनियरले काम गर्नेछ, ’ वायोटेक्नोलजी सोसाइटी अफ नेपालका अध्यक्ष नविननारायण मुनंकर्मीले बताए ।
मुनंकर्मीका अनुसार ‘बायोमेडिकल इन्जिनियरहरुको काम भनेको विग्रिएको अक्सिजन कन्सन्ट्रेटर मर्मत गर्ने, नयाँ जडान गर्ने तथा उपहार स्वरुप प्राप्त भएको अक्सिन कन्सन्ट्रेटर उपकरणको परिक्षण तथा वितरणमा सहयोग गर्ने रहेको छ । नयाँ अक्सिजन प्लान्ट निर्माणका लागि पनि ती इन्जिनियरहरुले सहयोग गर्नेछ।
अहिलेसम्म एमओटीले गैरआवासीय नेपाली संघले प्रदान गरेको ४३३ अक्सिजन कन्सन्ट्रेटरको गुणस्तर मापना तथा परिक्षण गरिसकेको छ । ती उपकरणलाई देशभरका सरकारी ६० वटा अस्पताललाई प्रदान गरिने एमओटीले जनाएको छ ।
Leave a Reply