
नासा/ईएसए हबल स्पेस टेलिस्कोपद्वारा गत सेप्टेम्बर १२, २०२५ मा सार्वजनिक गरिएको यो तस्बिरमा एक आकर्षक तारापुञ्जबाट उत्पन्न भएको बादलजस्तो तारामण्डल देखिन्छ। यो दृश्य डोरेडो र मेन्सा तारामण्डलमा अवस्थित लार्ज म्याजेलेनिक क्लाउड नामक एक बौना ग्यालेक्सीमा रहेको हो । यो पृथ्वीबाट करिब १,६०,००० प्रकाश वर्ष टाढा छ।
लार्ज म्याजेलेनिक क्लाउड (एलएमसी) को द्रव्यमान मिल्की वे ग्यालेक्सीको कुल द्रव्यमानको १०–२०% बराबर छ। यो हाम्रो ग्यालेक्सीको वरिपरि परिक्रमा गर्ने दर्जनौं साना ग्यालेक्सीहरूमध्ये सबैभन्दा ठूलो हो।
एलएमसीमा विशाल ताराजन्य नर्सरीहरू छन्, जहाँ ग्यासका बादलहरू जसरी यो तस्बिरमा देखिन्छ त्यसरी एकआपसमा मिसिएर नयाँ ताराहरूको जन्म दिन्छन्। यो तस्बिरमा ग्यालेक्सीको दोस्रो ठूलो तारानिर्माण क्षेत्र ‘एन११’ को एक भाग देखाइएको छ।
एलएमसी भित्रकै सबैभन्दा ठूलो र सक्रिय तारानिर्माण क्षेत्र ‘टारान्टुला नेब्युला’ हो, जुन हबल टेलिस्कोपको बारम्बारको अध्ययनको विषय बनेको छ। यस दृश्यमा चम्किला, युवा ताराहरूले ग्यासका बादलहरू उज्यालो बनाइरहेका छन् र तीव्र अल्ट्राभायोलेट विकिरणद्वारा धुलोका थुप्राहरूलाई आकार दिइरहेका छन्।
यो तस्बिर दुई दशकको फरकमा गरिएको अवलोकनको संयोजन भएको नासाले जनाएको छ । जसले हबल टेलिस्कोपको दीर्घायु र वैज्ञानिक योगदानलाई प्रमाणित गरेको छ। पहिलो चरणको अवलोकन सन् २००२–२००३ मा गरिएको थियो, जसमा त्यतिबेला नयाँ जडान गरिएको ‘एडभान्स्ड क्यामेरा फर सर्भे’ को उच्च संवेदनशीलता र स्पष्टता प्रयोग गरिएको थियो।
खगोलशास्त्रीहरूले हबललाई ‘एन११’ तारापुञ्जतर्फ मोडेर पहिलोपटक यस्तो प्रयास गर्दा सूर्यको द्रव्यमानको १०% देखि १०० गुणासम्मको द्रव्यमान भएका सबै ताराहरूको सूची तयार पारिएको छ ।
नासाका अनुसार दोस्रो चरणको अवलोकन हबलको नयाँ क्यामेरा ‘वाइड फील्ड क्यामेरा ३’ बाट गरिएको थियो। यसले तारापुञ्जभित्र फैलिएका धुलोयुक्त बादलहरूमा केन्द्रित तस्बिरहरू खिच्न सफल भएको छ । जसले हामीलाई ब्रह्माण्डीय धुलोको नयाँ दृष्टिकोण प्रदान गरेको उल्लेख छ ।


Leave a Reply